८ वैशाख २०८१ शनिबार
अन्य

बर्खामा चल्दैनन् सडक

बाजुरा, मार्तडी–पाण्डुसेन सडकखण्ड अवरुद्ध भएपछि लाममा रहेका ट्याक्टर । तस्बिर: नागरिक

कृष्ण ओली

बाजुरा–वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका झण्डै आधा दर्जन सडक अवरुद्ध छन् । सडक बिग्रिएपछि जेठ अन्तिम सातायता जिल्लाका तिपाडा–मार्तडी, सेरा–आटीचौर, बेतालमाडौं–झाली, मार्तडी–पाण्डुसैन र मार्तडी–जुगाडा सडक अवरुद्ध भएका छन् । ती सडकमा यातायात सेवासमेत सञ्चालन हुन सकेको छैन ।  
मनपर्दी रूपमा खनिएका सडकमा बर्खायाममा पहिरो झर्ने गरेको छ । ‘सडक मापदण्डलाई लत्याएर उपभोक्ता समितिले मनपर्दी रूपमा सडक खन्ने गरेका छन्,’ स्थानीय धनराज सागरले भने, ‘यसले सडक गुणस्तरीय बन्न सकेको छैन ।’ सडक गुणस्तरीय नहुँदा बर्सेनि अवरुद्ध हुने गरेको उनले बताए ।

ग्रामीण क्षेत्रका अधिकांश सडकको चौडाइ र स्लोप पनि मापदण्ड अनुरूप नहुने गरेको प्राविधिक नै स्वीकार्छन् । उपभोक्ता समितिमार्फत निर्माण गरिने सडक डोजरका भरमा खनिन्छन् । जिल्लामा कतिपय सडक वातावरणीय प्रभाव मूल्यांकनै नगरी खनिएका छन् ।
सडकमा गरेको लगानी प्रभावकारी हुन नसकेको जानकार बताउँछन् । जिल्लामा विकास बजेटको आधा बढी रकम सडक निर्माणमा खर्च हुने गरेको छ । चालू आर्थिक वर्षमा जिल्लाको कूल १४ करोड ८ लाख विकास बजेटमध्ये सडकमा ७ करोड ४४ लाख २६ हजार छुट्याइएको छ । जुन झण्डै ५३ प्रतिशत हो ।

ग्रामीण क्षेत्रमा सडक निर्माणमा डोजर प्रयोग अत्याधिक हुने गरेको सर्वसाधारण बताउँछन् । ‘डोजरले मनपरी सडक खन्दा पहिरोको जोखिम भन् बढेको छ,’ सागर भन्छन्, ‘जसका कारण सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गरेको छ ।’
यातायात सेवा सञ्चालन हुन नसकेपछि सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । सडक अवरुद्ध भएपछि हिँडेर जिल्ला सदरमुकाम आउनुपरेको स्थानीय भानुभक्त जैशीले बताए ।

सडक गुणस्तरीय बनाउन सरोकारवालाले प्रभावकारी भूमिका खेल्न नसकेको सर्वसाधारणको आरोप छ । ‘मापदण्ड लत्याएर बनेका सडक पनि पैसा खुवाएर ‘पास’ गर्ने प्रवृति छ,’ एक सर्वसाधारणले भने, ‘कारबाही हुन नसक्दा भ्रष्टले झन् पश्रय पाएका छन् ।’
वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको भएको बाजुरा यातायात समितिका प्रकाश रावलले बताए । ‘सडक गुणस्तरीय नहुँदा बर्खायाममा सवारी चलाउनै मुस्किल हुन्छ,’ रावलले भने, ‘आवश्यकता भन्दा पनि राजनीतिक पहुँचका आधारमा सडक खन्ने प्रवृतिले यस्तो भएको हो ।’

उपभोक्ता समिति र स्थानीय राजनीतिक दलले मनोमानी रूपमा सडक खन्ने गरेकाले गुणस्तरीय बन्न नसकेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । उपभोक्ता समितिले प्राविधिक स्टिमेटलाई बेवास्ता गरेकाले सडक गुणस्तरीय हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जंगबहादुर थापा बताउँछन् । राजनीतिक दलका कार्यकर्ताको उपभोक्ता समितिमा हालिमुहाली हुने भएकाले कार्यालयको निर्देशन पनि लत्याउने गरेको उनको भनाइ छ ।

सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएको छ । ढुवानी भाडा बढेकाले मूल्य बढेको व्यापारी बताउँछन् । ‘खच्चडबाट ढुवानी गर्दा भाडा महँगो भएकाले उपभोग्य सामग्रीको मूल्य बढेको हो,’ एक व्यापारीले भने ।
सडक योजनाबारे सरोकारवालाले चासो नदिँदा सडकको अवस्था झन् दयनीय बनेको नयाँ शक्तिका जिल्ला संयोजक दीलिप शाहीले बताए । जिल्लाका बिच्छ्या, रुगिनी र साप्पाटामा सडक विस्तार हुन सकेको छैन ।

 

प्रकाशित: १७ असार २०७३ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App