६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

दिदीको कलेजोले भाइलाई नयाँ जीवन

काठमाडौं- भूकम्पमा घर भत्किएपछि भक्तपुर, सूर्यविनायकका ३६ वर्षे बलराम नागा तनाब भुल्ने बहानामा अत्यधिक मदिरा सेवन गर्न थाले। मदिराको लतले अन्ततः उनको जीवनलाई गम्भीर खतरामा पुर्‍यायो। 'अल्कोहलिक लिभर सिरोसिस' ले कलेजोले पूरै काम गर्न छाडेका बलराम जीवनमरणको दोसाँधमा थिए। शुक्रबार स्वास्थ्यमन्त्री गगन थापाको पहलमा मानवअंग प्रत्यारोपणसम्बन्धी नियमावली संशोधनलगत्तै बलरामले नयाँ जीवन पाए।

बलरामको फेल भएको कलेजोको ठाउँमा ४१ वर्षे दिदी सानुमाया लागेजूको कलेजोको ६० प्रतिशत सफल प्रत्यारोपण गरिएको छ। चिकित्सा विज्ञानमै जटिल मानिने मानवअंग प्रत्यारोपण शल्यक्रियाअन्तर्गत नेपालमा कलेजोको यो पहिलो सफल प्रत्यारोपण हो।

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा कोरियाली विशेषज्ञको सहयोगमा नेपाली चिकित्सकले बुधबार सफल शल्यक्रिया गरेका हुन्। अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिले कलेजो दाता र प्रत्यारोपण गरिएका दुवैको स्वास्थ्य राम्रो रहेको र सुधार कायम रहे साताभित्रै डिस्चार्ज गरिने जानकारी दिए।

प्रत्यारोपण सफलताको दोस्रो दिन स्वास्थ्यमन्त्री गगन थापा अस्पताल गएर सेवाको निरन्तरतामा सघाउने वचन दिएका थिए। मन्त्री नियुक्तलगत्तै ६ महिनाभित्र कलेजो प्रत्यारोपण गराउने घोषणा गरेका थापाले अंग प्रत्यारोपण सम्बन्धी नियमावलीलगायत कानुनी अड्चन हटाएर तीन महिनामै प्रत्यारोपणको वातावरण बनाउन सकिएको बताए।

मानवअंग प्रत्यारोपणसम्बन्धी नियमावली मन्त्री थापाकै पहलमा गत शुक्रबार संशोधन गरिएको थियो। 'शुक्रबार नियमावली संशोधनपछि आइतबार नियमावली मन्त्रालय आइपुग्यो, सोमबार त प्रत्यारोपण गर्ने निर्णय नै भयो,' मन्त्री थापाले भने।

नेपालमा कलेजो प्रत्यारोपण सेवा नहुँदासम्म विकल्प भारत थियो। भारतमा यो सेवा लिन १ देखि डेढ करोड रुपैयाँ लाग्छ। नेपालमा करिब १५ लाख हाराहारीमै सेवा दिन सकिने डा. श्रेष्ठले जनाए।

प्रत्यारोपण टोलीमा सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको नेपाली टोलीमा मुटु कलेजो सर्जन डा. प्रवीण जोशी, सर्जन डा. मोहनदेव भण्डारी र डा. सम्पूर्ण तुलाधर थिए। बिरामीको एनेस्थेसिया एवं उपचारपछिको सघन उपचार व्यवस्थापन टोलीको नेतृत्व त्रिवि शिक्षण अस्पतालका आइसियु युनिट प्रमुख डा. सुवास आचार्यले गरेका थिए। डा. श्रेष्ठ र डा. जोशी कलेजो प्रत्यारोपण सर्जन हुन्। श्रेष्ठले बेलायत र जोशीले कोरियाबाट प्रत्यारोणसम्बन्धी तालिम लिएका छन्।

नेपाली टोलीलाई दक्षिण कोरियाको सियोलस्थित सामसङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञ जी. वाङ जो नेतृत्व टोलीले सघाएको थियो। यसअघि भियतनाम, मंगोलिया, इजिप्ट, जर्जियालगायत देशमा भएका कलेजो प्रत्यारोपणमा समेत सघाएको यो टोलीले केन्द्रको आग्रहमा आगामी दिनमा समेत थप केही प्रत्यारोपणमा सघाई नेपाली टोलीलाई आफ्नै नेतृत्वमा प्रत्यारोपण गर्न सक्षम बनाउने अस्पतालले जनाएको छ।

केन्द्रमा प्रत्यारोपण तयारी भइरहँदा १० भन्दा बढी विरामी सम्पर्कमा आइसकेका छन्। तीमध्ये सबैभन्दा बढी आवश्यकता र अन्य कुरा हेरेर तयारी गरेपछि पुनः कोरियाली टोली बोलाएर प्रत्यारोपण गरिनेछ। कम्तीमा तीनदेखि चारपटकसम्म आएर प्रत्यारोपणमा सघाइदिने प्रतिबद्धता कोरियाली टोलीले गरिसकेको छ।

मानव शरीरमा हुनेमध्ये कलेजो मात्र यस्तो अंग हो जसलाई जीवित व्यक्तिबाट काटेर प्रत्यारोपण गर्न सकिन्छ र दाता र प्रत्यारोपण गरिएका व्यक्तिमा ८० प्रतिशत कलेजो तीन महिनाभित्रै पलाउँछ। अध्ययनले दाताभन्दा प्राप्तकर्तामा कलेजो चाँडै पलाएको देखाएको छ। '३ महिनामा ८० प्रतिशत र ३ वर्ष भित्रै ९५ प्रतिशत कलेजो पलाइसक्छ,' कोरियाली टोलीका चिकित्सक चुनले भने।

केन्द्रमा शल्यक्रियाका लागि करिब १० घण्टा लागेको अस्पतालले जनाएको छ। यस्तो शल्यक्रिया गर्दा नष्ट भएको कलेजो झिकेर स्वस्थ कलेजोको टुक्रालाई सूक्ष्म ढंगले जोडेर काम गर्न सक्ने गरी जोडिन्छ। चिकित्सा विज्ञानमा मुटुको प्रत्यारोपणपछि कलेजको प्रत्यारोपण सबैभन्दा बढी कठिन प्रत्यारोपण मानिन्छ।

चिकित्सकका अनुसार कलेजो अप्ठेरो ठाउँमा र शरीरका मूल नशासँग जोडिएर बस्ने हुनाले निकाल्न र जोड्न जोखिमपूर्ण हुन्छ। त्यसमा पनि मिर्गौला प्रत्यारोपण गर्दा डाइलसिस गर्न सकिने हुनाले स्वतन्त्र रुपमा काम गर्न पाइन्छ भने कलेजोको बिरामी बढी सिरियस हुनाले पनि कलेजो प्रत्यारोपण बढी जटिल मानिन्छ।

डा. श्रेष्ठका अनुसार कलेजोले काम गर्न छाडेको अवस्थामा मानिसमा रगतका नशा ठूलो हुने भएकाले यस्तो शल्यक्रिया नष्ट भएको कलेजो निकाल्दा र प्रत्यारोपण गर्दासमेत अत्यधिक रक्तस्राबको जोखिम हुन्छ। प्रत्यारोपणपछि समेत त्यसले तत्काल काम गर्न नथाल्दासमेत रक्तस्राब रोक्ने ठूलो चुनौती हुन्छ। मानव शरिरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सातवटा अंग निकालेर प्रत्यारोपण गर्न सकिन्छ।

नेपालमा लामो समयदेखि आँखा र आठ वर्षयता मिर्गौला प्रत्यारोपण हुँदै आएको छ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले तीनदेखि चारवटा कलेजो प्रत्यारोपण कोरियाली टिमकै निर्देशन र अनुगमनमा गरिने बताए। 'हाम्रो टिमले आफ्नै नेतृत्वमा गर्न केही महिना लाग्छ,' श्रेष्ठले भने।

एक तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब हजार जनाको कलेजो फेल हुन्छ। तीमध्ये अधिकांशले महँगो भएकै कारण उपचार नपाएर ज्यान गुमाउँछन्। गत वर्ष प्रत्यारोपणका लागि ५० जनाभन्दा बढी भारत गएको तथ्यांक छ।  अत्यधिक रक्सी सेवन, हेपाटाइटिस बी र सी संक्रमण एवं अत्यधिक बोसो जम्दा कलेजो फेल हुन्छ। नेपालमा कलेजो फेल हुने कारण ५० प्रतिशत रक्सी सेवन रहेको चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार कलेजो शान्त प्रकृतिको अंग भएकाले शल्यक्रिया जटिल भए पनि शरीरले अस्वीकार गर्ने सम्भावना रहन्न। तर प्रत्यारोपण गरेका व्यक्तिमा नयाँ अंगले कति वर्ष काम गर्छ भन्ने उसकै जीवनशैली, खानपानमा अपनाउने सावधानीमा निर्भर हुन्छ। कोरियाली चिकित्सकले प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको ५२ औं वर्षसम्म बाँचिरहेको उदाहरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्त्री थापाले कलेजको प्रत्यारोपणलाई सुचारु बनाइराख्न तालिम, जनशक्ति व्यवस्थापनलगायत पक्षमा केन्द्रलाई सहयोग जुटाइदिने बताए।

थापाले यो खबर बाहिर आएसँगै त्रिवि शिक्षण अस्पताल र अन्य निजी अस्पतालले समेत कलेजो प्रत्यारोपण गर्न तत्परता देखाएको बताए। 'आजै बिहान शिक्षण अस्पतालका चिकित्सक आउनुभएको थियो,' उनले भने। सबैभन्दा पहिले मिर्गौला प्रत्यारोपण गरेको त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपणसम्बन्धी तालिम लिएका डा. रमेश भण्डारी नेतृत्वको टिम तयार रहेको जनाइएको छ।

प्रकाशित: २४ मंसिर २०७३ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App