coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सदनको गाँठो फुकाउन सभामुख अग्रसर

काठमाडौं- संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध फुकाउन सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन्। सभामुख घर्तीले बिहीबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्दै संसद्मा जारी अवरोध अन्त्य गर्ने उपाय खोज्न आग्रह गरिन्। संसद बैठक सञ्चालनमा अवरोध भइरहेका कारण अन्य कार्यसमेत प्रभावित भएको जानकारी उनले नेताहरूलाई गराएकी थिइन्।

सभामुखको कार्यकक्षमा भएको भेटमा एमाले अध्यक्ष ओलीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिउन्जेल अवरोध जारी रहने बताएका थिए। 'सरकारले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिए एक सेकेन्ड पनि अवरोध हुन्न,' भेटमा ओलीले भने।

बैठकबाट बाहिरिँदै गर्दा ओलीले सञ्चारकर्मी गतिरोध लामो समयसम्म नजाने बताए। भेटमा सभामुख घर्तीले संसद्मा जारी गतिरोधका कारण चुनावका लागि आवश्यक कानुन बनाउन नसकिएको र अख्तियार दुरुपयोग अनुसन्धान  आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन नसकिएको जानकारी गराएकी थिइन्।

कांग्रेस सभापति देउवाले सभामुख घर्तीलाई संसद्मा विधेयक प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका थिए।

सरकारले प्रदेश सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको गठनसहित सातबुँदे संविधान संशोधन प्रस्ताव गत साता संसद् सचिवालयमा दर्ता गराएपछि एमालेले सदन अवरुद्ध गर्दै आएको छ। प्रमुख प्रतिपक्षी दल एमालेलगायत चार दलले संशोधन प्रस्तावको विरोधमा निरन्तर सदन अवरुद्ध गर्र्दै आएका छन्। एमालेले संशोधन प्रस्ताव फिर्ता लिन सडकबाट पनि चर्को दबाब दिँदै आएको छ।

 'सभामुखले गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग छलफल सुरु गर्नुभएको छ,' सभामुखका प्रेस सल्लाहकार बासुदेव (बबिन) शर्माले नागरिकसँग भने, 'प्रधानमन्त्रीसँग शुक्रबार बिहान छलफल गर्ने कार्यक्रम छ। '

प्रकाशित: २४ मंसिर २०७३ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App