प्राकृतिक सौन्दर्यले भरिपूर्ण अनि भौगोलिक, जैविक, वातावरणीय तथा कला, संस्कृति, भेषभूषा, धर्म, परम्परा र रितिरिवाज जस्ता अनेकौं पक्षको विविधताले परिपूर्ण पश्मिाञ्चल विकास क्षेत्रअर्न्तगत पूर्वीउत्तर भेगमा अवस्थित लमजुङ जिल्ला अत्यन्तै रमणीय छ। नेपालको राजनीतिक परिवर्तन सँगै गरिएको नक्सांकन र सीमांकनका हिसाबले यो ठाउँ प्रदेश नं ४ मा पर्छ। बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, करापुटार र राइनासटार गरि ५ नगरपालिका र ३५ गाविसमा पाइने फरक–फरक हावापानी, प्राकृतिक सौन्दर्य र अनेकौं विविधताले गर्दा यी ठाउँ घुम्दै गर्दा स्वर्गकै एउटा टुक्रा झैं लाग्छ।
गुरुङ जातिको बाहुल्य रहेको यस जिल्लामा देशकै संस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्यधिक पाउन सकिन्छ। नेपालको मौलिक संस्कृतिमध्येे दोहोरी गीतको उद्गमस्थलको रुपमा यस जिल्लालाई लिइन्छ। भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङको सांस्कृतिक र सांगीतिक क्षेत्रलाई थप उँचो बनाएको छ।
हिमाली क्षेत्रमा पशुपालन, पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य जमिन छ। यो जिल्ला पर्यटकीय दृष्टिले पनि उत्तिकै महŒवपूर्ण छ। प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा यस जिल्लाको सदरमुकाम बेसीसहरबाट सुरु हुन्छ। यो मार्गमा बर्सेनि १८ देखि २० हजारसम्म पर्यटक आएको तथ्यांक छ। झन्डै डेढ दशकदेखि जिल्लामा ग्रामीण पर्यटनको अवधारणा भित्रिएको छ। घलेगाउँ, गाउँसहर, घनपोखरा, भुजुङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर पर्यटकीय गाउँको रुपमा प्रस्तुत भई नमुनाको रुपमा चिनिँदै आएका छन्। सुन्दर घलेगाउँ सार्कभिलेजका रुपमा परिचित छ। राइनासकोट, गाउँसहर, चेपेघाट, सिन्दुरेढुंगा, दूधपोखरी, पुरानकोट, समेत सुन्दर पर्यटकीय क्षेत्रको रुपमा अघि बढिरहेका छन्। यहाँ रहेका दूधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, इलमपोखरी जस्ता मनमोहक ताल पर्यटकीय दृष्टिकोणबाट अति नै महŒवपूर्ण मानिएका छन्। बेसीसहरमा रहेको तमु संग्रहालय र त्यहाँ स्थापना गरिएको स्वर्गीय हर्क गुरुङको प्रतिमाले जिल्लाको गौरव अझै बढाएको छ। बाहुनडँाडा र ताघि्रङको जगतमा रहेको तातोपानी पनि पर्यटकीय आकर्षण बनेका छन्। बेसीसहरबाट सुरु भई, उत्तरकन्या, घनपोखरा, भुजुङ, पसगाउँ हँुदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्ग लगायत यहाँ आधा दर्जनभन्दा बढी पदमार्ग छन्।
लमजुङ हिमालको काखमा अवस्थित यस जिल्लामा धार्मिक रुपबाट चर्चित गाउँसहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीसहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीसहर बजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाका मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्युल्सोह्यु गुम्बा लगायत दर्जनौं स्थानमा रहेका बौद्धगुम्बा र अन्य मठमन्दिर, मस्जिद र चर्च समेत जिल्लाका अमूल्य निधि हुन्।
समुद्री सतहदेखि ३ सय ८५ मिटर उचाइको नेपालकै मध्यभाग मानिने र लमजुङकै होचो भूभाग रम्घाटारदेखि ८ हजार १ सय ६२ मिटर उचाइको मनास्लु हिमालसम्मको भौगोलिक अवस्थितिमा रहेको हुनाले यहाँ बेसी, मध्यपहाडी, उच्चपहाडी र हिमाली भूभागका अनेकौं विविधता पाइन्छ। यहाँका अधिकांश पहाडी भूभाग हरियालीले ढाकेको छ। जिल्लाको कुल क्षेत्रफल १ हजार ६ सय ९२ वर्ग किलोमिटरमा ६६ हजार ६ सय ७३.६० हेक्टर वनले ढाकेको छ। यहाँका जंगलमा साल, सिसौ, उत्तिस, बकाइनो, सिरिस, सिमल, टुनी, कटुस, चिलाउने, मौवा, खयर जस्ता ३ दर्जनभन्दा बढी प्रजातिका रुख बिरुवा पाइन्छन्। लमजुङ सुन्तला, अलैंची, कफी, मह, चिया जस्ता कृषि उत्पादनको लागि उर्वरथलो हो। यार्सागुम्बा, पदमचाल, निरमसी, जटामसी, पाँचऔंले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखनबेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडीबुटीहरु समेत यहाँ पाइन्छ। लमजुङ जडीबुटीको अथाह भण्डार भए पनि यसको पर्याप्त खोजी, पहिचान र व्यावसायिकीकरणतर्फ प्रभावकारी कार्य हुन सकेको छैन।
हिमाली हावापानीको प्रभावले यहाँका वनजंगल हरियालीसँगै रसिला पनि छन्। पहाडबाट सदाबहार मूल फुट्ने र पानी बगिरहेको पाइन्छ। अन्नपूर्ण हिमशृंखलाबाट उत्पति भएको हिमनदी मर्स्याङ्दी हिमालपारिको जिल्ला मनाङबाट लमजुङको मध्यभाग हुँदै बगेको छ। जिल्लामा मर्स्याङ्दी, मादी, चेपे, मिदिम, दोर्दी, खुदी, ङादी, नाउँदी, पाउँदी, रुदी, किसेदी, रिस्ती, लाङ्दी लगायत मध्यम–ठूला दर्जनौं नदी छन्।
यिनै नदीहरुबाट यहाँ आधा दर्जनअधिक जलविद्युत आयोजनाको विभिन्न चरणमा काम भइरहेको छ। ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत आयोजना, ५ मेगावाटको सिउरी जलविद्युत आयोजना, ४.४० मेगावाटको राधी साना जलविद्युत आयोजना र ४ मेगावाटको खुदी जलविद्युत आयोजना गरी ७३.४० मेगावाट विद्युत उत्पादन भइसकेको छ। त्यस्तै, ६ सय मेगावाटको अपर मर्स्याङ्दी २, एक सय ५० मेगावाटको अपर मर्स्याङ्दी १ र ५० मेगावाट क्षमताको अपर मर्स्याङ्दी ए निर्माणाधीन अवस्थामै छन्। जिल्लाका विभिन्न गाउँका स्थानीयले आफ्नै सक्रियतामा लघुविद्युत आयोजना निर्माण गरेका छन्। संयोग नै मान्नुपर्छ, लमजुङ जिल्लाले देशमा भएको 'लोडसेडिङ'को मार खेप्नुपरेको छैन।
यहाँबाट देखिने हिमशृंखलाले पर्यटकको मन जितेका छन्। मुख्य गरी मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङचुली, पिक २९, बुद्ध लगायतका हिमाल छन्। यसैगरी मर्स्याङ्दी, मादी लगायत नदीमा र्याफ्िटङ, कायाकिङ र दर्जनौं मनमोहक छाँगा र झरनामा क्यानोनिङको सम्भावना छ। क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा झरनामा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ। ५ वर्षअघि एसियामै पहिलोपटक उत्तरी भेगको ताघि्रङ र घेर्मु गाविसमा क्यानोनिङ आयोजना गरिएकोमा विभिन्न देशबाट २०५ जना विदेशी क्यानोनरले भाग लिएका थिए।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा पूर्वाधार तथा संरचना विकासको क्रममा अघि बढ्दै गरेको र चक्रीय अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार समेत भएकाले यहाँ पर्यटकीय गतिविधि समेत बढ्दै गएको छ। पछिल्लो समयमा जिविस, नगरपालिका, गाविस तथा निजी क्षेत्रका तर्फबाट यहाँको उद्योग, व्यापार, पर्यटन, कृषि, जडीबुटी, जलविद्युत लगायतको क्षेत्रलाई माथि उकास्ने लक्ष्यका साथ विभिन्न प्रयास हुँदै आएको छ। यसै सन्दर्भमा यही मंसिर २४ देखि पुस ३ गतेसम्म आयोजना गरिएको पाँचौं लमजुङ महोत्सव–२०७३ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा गर्न सकिन्छ। उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवर्द्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उँचो बनाउँदै लमजुङको प्रतिष्ठा बढाउने विश्वास गर्न सकिन्छ। महोत्सवको नारा ‘उद्योग, व्यापार, पर्यटन तथा कृषिको प्रवर्द्धन : जलविद्युतमा लगानी र संस्कृतिको संरक्षण’ छ। सोही अवसरमा लमजुङको उद्योग, व्यापार, पर्यटन, कृषि, जडीबुटी र जलविद्युत लगायत समग्र विकासका लागि महोत्सवलाई कसरी परिणाममुखी बनाउन सकिन्छ भन्ने सवालमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र पाँचौं लमजुङ महोत्सव मूल आयोजक समिति अर्न्तगत कार्य सम्पादन समितिका पदाधिकारीको धारणा यहाँ प्रस्तुत गरिएको छ :
मोहनबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी लमजुङ :
पहाडी जिल्लामा यो जिल्ला यस वर्षको महोत्सवको नाराले समेटे जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, जडीबुटी, जलस्रोत लगायतको क्षेत्रमा प्रचुर सम्भावनाले भरिएको पाएँ। ती सबै सम्भावनालाई ठोस र प्रभावकारी योजना बनाएर अघि बढ्न सक्ने हो भने निकट भविष्यमै यहाँको विकासले लामो फड्को मार्न सक्ने देखिन्छ। तसर्थ यो महोत्सवलाई औपचारिकतामा सीमित नगरी यसले उठाएको नारालाई साकार पार्नेतर्फ केन्द्रित गरेर लैजान सके महोत्सव थप सफल हुनेछ।
शेखर पौड्याल, स्थानीय विकास अधिकारी लमजुङ :
यो जिल्ला कृषि, जडीबुटी, जलविद्युत, पर्यटन लगायतका थुप्रै क्षेत्रमा प्रबल सम्भावनाहरुले भरिपूर्ण छ। यिनको नियमित र योजनाबद्ध तरिकाले उजागर गर्ने, प्रर्वद्धन गर्ने र तिनलाई व्यावसायिकीकरण गराउनु पर्ने आवश्यकता देखिएको छ। सोही अनुरुप कम्तीमा महोत्सवकै माध्ययमबाट भए पनि ती प्रयासको यात्रा थालौं भन्ने हेतुले जिविस लमजुङ लगायत प्रशासनिक र निजी क्षेत्रको सहकार्यमा पाँचौं लमजुङ महोत्सव आयोजना गरिएको हुँदा हामी यसलाई परिणाममुखी बनाउन सफल हुनेछौं।
रामकुमार श्रेष्ठ, संयोजक, पाँचौं लमजुङ महोत्सव २०७३ एवं अध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ : लमजुङ उद्योग, व्यापार, पर्यटन, कृषि, जडीबुटी र जलविद्युत हरेक दृष्टिकोणबाट बलियो सम्भावना भएको जिल्ला हो। यी सबै पक्षको विकास र प्रर्वद्धन गर्ने गरी एकीकृत ढंगको बहस, पैरवी, सम्भावनाको उपलब्धिमूलक खोजी र प्रभावकारी योजना निर्माण हुन सकेको छैन। जिल्लामा हुने ठूला खालका मेला तथा महोत्सवलाई उद्योग व्यापारसँग एकाकार गर्दै ती विषयवस्तु माथि बहस गर्ने थलोका रुपमा प्रयोग गर्न सक्नु पर्दछ भन्ने मान्यताका साथ यो महोत्सवको आयोजना गरेका छौं।
राजेश थापा, सदस्य, पाँचौं लमजुङ महोत्सव २०७३ कार्यसम्पादन समिति एवं प्रथम उपाध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ :
मेला महोत्सव सञ्चालन गरेपछि कुनै पनि ठाउँको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने कुरा स्वाभाविक नै हो। तर लमजुङ जलविद्युत उत्पादनका हिसाबले निकै सम्भावना देखिएकाले यो महोत्सवकै अवसरमा जिल्लालाई हाइड्रोमोडेल जिल्लाका रुपमा स्थापित गराउने र यहाँको पर्यटन प्रर्वद्धनमा पनि ठोस कदम चाल्ने प्रयासको खोजी गर्ने प्रयासका साथ अघि बढेका छौं। तसर्थ विगतका तुलनामा यो महोत्सव थप परिणाममुखी बन्ने छ।
मृगेन्द्र घिमिरे, सदस्य, पाँचौं लमजुङ महोत्सव २०७३ कार्यसम्पादन समिति एवं द्वितिय उपाध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ :
यो जिल्लाको समग्र विकासका लागि निजी क्षेत्रबाट हामी हदैसम्म प्रयासरत छौं। सरोकारावाला निकाय, कार्यालय, संघ–संस्था र व्यक्तिहरुसँग सहकार्य गर्दै अघि बढ्ने एउटा प्रयास यो महोत्सव पनि हो। महोत्सवकै सन्दर्भमा हामीले जलविद्युतको प्रर्वद्धन, लगानीमैत्री वातावरणको सिर्जना, लगानीकर्तालाई आकर्षण गर्ने गराउने उद्देश्यले जलस्रोत मन्त्री, विद्युत प्राधिकरणका जिम्मेवार व्यक्तित्व र सरोकारवाला सहभागी गराएर कार्याशाला गोष्ठी पनि गर्ने भएका छौं। त्यसको संयोजन म आफैंले गरेको छु। त्यसकारण यो महोत्सव अन्य क्षेत्रको विकाससँगै जलविद्युतको विकासमा पनि फलदायी बन्नेमा आशावादी छु।
गुणराज सिलवाल, सदस्य–पाँचौं लमजुङ महोत्सव २०७३ कार्यसम्पादन समिति एवं तृतिय उपाध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ :
जिल्लाको समग्र क्षेत्रको विकास हुँदा मात्रै हामी व्यक्ति र समुदायको विकासको परिकल्पना गर्न सक्छौं। मुख्य रुपमा आर्थिक विकास गर्ने उद्देश्यले महोत्सव गर्ने गरिन्छ, तर पाँचौं लमजुङ महोत्सवलाई हामीले यहाँको व्यापार, व्यवसाय, उद्योगसँगै कृषि, पर्यटन, जलविद्युतको प्रर्वद्धन गर्ने गराउने लक्ष्यका साथ योजना बनाएका छौं। तसर्थ यो महोत्सवमा मात्रै सीमित नरही विकासको पहलकदमी गर्ने थलो पनि बन्ने छ।
श्रीकृष्ण लामिछाने, सदस्य–पाँचौं लमजुङ महोत्सव २०७३ कार्यसम्पादन समिति एवं महासचिव लमजुङ उद्योग वाणिज्य संघ : यो महोत्सवले जिल्लाका सम्भावित क्षेत्रको खोजी गर्दै तिनको प्रर्वद्धन, सर्म्बद्धन र कार्यान्वयन गर्ने गराउने पक्षमा हामी सरोकारवाला पक्ष एकजुट भएका छौं। महोत्सव एउटा साधन मात्रै हो, यसको भरपूर फाइदा उठाउँदै समग्र जिल्लाको विकासका लागि हामीले चिन्तन गरेको हुनाले यो महोत्सव निकै उपलब्धिमूलक हुनेछ। ्
गणेश कँडेल, सदस्य पाँचौं लमजुङ महोत्सव २०७३ कार्य सम्पादन समिति एवं कोषाध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ : लमजुङ महोत्सव समग्रमा जिल्लाबासीकै निकै ठूलो र साझा कार्यक्रम हो। त्यसैले यसमा व्यापार व्यवसाय गर्ने, रम्ने र रमाउने मात्रै काम हुनु हुँदैन भन्ने मान्यताका साथ हामी आन्तरिक योजना तयार गरी योजनाबद्ध रुपमा प्रस्तुत भएका छौं। ती योजना कार्यान्वयन गर्ने, गराउने प्रयासमा हामी अहोरात्र जुटिरहेको हुँदा दीर्घकालीन रुपमा यसको प्रभाव जिल्लाको समग्र विकासमा पर्नेछ।
पूर्णलाल श्रेष्ठ, सदस्य पाँचौं लमजुङ महोत्सव २०७३ कार्य सम्पादन समिति एवं पूर्वउपाध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ
यो महोत्सवका अवसरमा हामीले हाम्रो उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटन, जलस्रोत जस्ता क्षेत्रको सम्भावनाको खोजी गर्नुपर्ने विषयमा गहिरो चिन्तन गरेका छौं र सम्बन्धित निकायसँग सोही अनुरुप संवाद अघि बढाएका छौं। तसर्थ यसपालिको महोत्सव प्रभावकारी हुनेछ।
प्रस्तुति : किसान संगीत नेपाली
प्रकाशित: २४ मंसिर २०७३ ०४:४२ शुक्रबार