८ वैशाख २०८१ शनिबार
विचार

विजोग संशोधन

बिहान झिसमिसे नै थियो। सधैँझंै श्रीमती उठेर कुचो लगाउन तलतिर गई। अचेल प्रदूषणले गर्दा काठमाडौंमा कुचो अलि बढी नै लगाउनुपर्ने अवस्था छ। गणतन्त्र आएपछि देशमा कि सांसद र कर्मचारीको तलब बढेको छ, कि सडकमा धूलो बढेको छ। अरु खासै बढेको पाइँदैन। भ्रष्टाचार, महँगी, अपराध आदि पनि केही बढेका त छन्। तर त्यो सरकारी रेकर्डमा छैन। त्यसैले यस्तो कुरा बढेकोबारे सरकारलाई जानकारी पनि छैन। जुन कुराबारे सरकार नै जानकार छैन, हामी कसरी जानकार रहौंला?

अँ, कुरा श्रीमतीको थियो। धूलो बढेकाले श्रीमती कुचो लिएर तल गएकी थिई। तर तल गएकी एकै मिनेट पनि भएको थिएन, अचानक बेस्कन चिच्याएको आवाज सुनियो। म त ओछ्यानमै थिएँ। श्रीमती चिच्याएको सुनेर हस्याङफस्याङ उठेर तल गएँ।

'खै गएर के गर्नु, मेरो जन्मपछि आमा/बाउमै झगडा शुरु भएको रहेछ। संसद् पठाउन जन्माएको हो, अब संसद्मै राख्नुपर्छ, घर फिर्ता लान्न भन्नुहुन्छ उहाँहरू।' उनको आँखामा आँशु टिलपिल देखियो।

'के भो? किन चिच्याएकी?' मैले पनि चिच्याएकै शैलीमा सोधेँ।

'उ...उ...त्यहाँ...त्यहाँ ' श्रीमतीले इशारा मात्रै गरी, केही बोल्न सकिरहेकी थिइन।

'के? कहाँ?' श्रीमतीले इशारा गरेतिर हेरेँ। के हो यो? घरको गेटमै एउटै आकृति थियो। बसिरहेको मुद्रामा। राम्ररी चिन्नचाहिँ सकिरहेको थिएन। को होला यो? चोर, लुटेरा पो हुन् कि? वा माग्न आएका हुन् कि? आकृति देखेर मलाई पनि डरजस्तो लाग्यो।

'ओए! को हो तिमी? यहाँ किन बसिरहेको हँ?' मैले स्वरलाई अलि कडा बनाउँदै सोधेँ।

मेरा स्वर सुनेर होला, आकृति अलिकति चलमलाएझैँ देखियो। श्रीमती हतरपतर मेरो पछाडितिर लुक्न पुगी। आकृतिले टाउको उठाए। त्यो मानव आकृति जस्तै देखिन्थ्यो। तर प्रस्ट थिएन।

'को हौ तिमी? यहाँ किन बसेको? जाउ उता!' मैले हप्काएझैँ गरेँ।

त्यसपछि आकृतिको स्वर सुनियो। अत्यन्त भारी। बु‰नै गाह्रो। दुई हात जोडेर उसले भन्यो, 'क्षमा पाउँ हजुर। म संशोधन प्रस्ताव हुँ।'

'संशोधन प्रस्ताव? के हो यो संशोधन प्रस्ताव भनेको? तिम्रो नाम हो?' मैले अनोठो मान्दै सोधेँ।

'हजुर, नामै भने पनि हुन्छ। पूरा नाम संविधान संशोधन प्रस्ताव। घर सिंहदरवार। आमा माओवादी केन्द्र, बाउ नेपाली कांग्रेस।' आकृतिको स्वर अलि प्रस्ट भयो।

संविधान संशोधन प्रस्तावको कुरा यतिखेर पत्रपत्रिका र टेलिभिजनहरूमा खुब प्रचार भइरहेको सम्झेँ। सरकारले संसद्मा दर्ता गरेको थियो भन्ने पनि सुनेको थिएँ। तर यो त्यही संशोधन प्रस्ताव हो त? हो भने यहाँ कसरी आइपुग्यो?

मैले सोधेँ, 'तिमी कुनचाहिँ संशोधन प्रस्ताव हँ? अहिले भर्खर सरकारले दर्ता गरेको भन्नेचाहिँ संशोधन प्रस्ताव कि अरु नै प्रस्ताव?'

उनले भने, 'हजुर हजुर, त्यही प्रस्ताव हो। हजूरले ठीक भन्नुभो।'

'तर त्यो प्रस्ताव त संसद्मा दर्ता भएको थियो। तिमी पनि संसदै हुनुपर्थ्यौ, यहाँ किन आएको?' मैले विस्मृत हुँदै सोधेँ।

उनले अनुहार बिगारे। अनि भने, 'हुनुपर्ने त त्यहीँ हो। तर के गर्ने, छिर्नै दिएन।'

'छिर्न दिएन? कसले?' मेरो प्रश्न।

'एमालेले।' उनले दिकदारपूर्ण स्वरमा भने, 'सरकारले दर्तामात्र गर्‍यो, तर एमालेले संसदमा छिर्नै नदिएपछि के गर्ने? म त अलपत्र पो भएछु।'

मैले यसो सोचेँ, एमालेले छिर्न नदिए मधेसी मोर्चातिर गए हुन्थ्यो नि। आखिर मधेसी मोर्चाकै लागि भनेर सरकारले संशोधन दर्ता गरेको हो। मैले भनेँ, 'त्यसो भए मधेसी मोर्चातिर गए हुन्थ्यो। उनीहरूले केही व्यवस्था गरिदिन्थे कि?'

उनको अनुहारमा कडा निराशा देखियो। खुइय्यँ सास लिँदै उनले भने, 'गएको थिएँ, तर मसँग उनीहरूको कुनै सम्बन्ध छैन भनेर फर्काइदिए। मधेसी मोर्चाले पनि भित्र्याउन नमानेपछि म अलपत्र परेँ।'

'हैन, त्यसपछि त आफ्नै आमा र बाउतिरै गए हुन्थ्यो कि। किन नगएको त?' मैले सुझाव दिएँ।

'खै गएर के गर्नु, मेरो जन्मपछि आमा/बाउमै झगडा शुरु भएको रहेछ। संसद् पठाउन जन्माएको हो, अब संसद्मै राख्नुपर्छ, घर फिर्ता लान्न भन्नुहुन्छ उहाँहरू।' उनको आँखामा आँशु टिलपिल देखियो।

संशोधन प्रस्तावको बिजोग देखेर मेरो पनि आँखा टलक्क भयो। संसद्मा दर्ता त भयो, तर न संसद्मा छिर्न सकियो, न घर जान सकियो, न घाट जान सकियो। जाने ठाउँ कहीं नपाएपछि यिनी मेरो घरको बाहिर रात काट्न आएका रहेछन्। रात त यिनले जेनतेन काटे, तर दिनचाहिँ के गर्ने हुन्? मैले पनि सोच्न सकिरहेको छैन।      

प्रकाशित: २४ मंसिर २०७३ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App