coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विकासमा 'भगवान' को कमाइ

पाथीभरा (ताप्लेजुङ)– 'मन्दिरको देश' भनिने नेपालका ठूला मठ–मन्दिर, तीर्थस्थल र धार्मिक गुफाहरुमा दिनहुँ लाखौं भेटी संकलन हुन्छ। त्यस्ता मन्दिरमा भक्तजनले चढाउने भेटी, चन्दा रकम र मन्दिरकै नाममा रहेका जग्गाजमिनलगायत भौतिक सम्पत्तिका आयस्ता हेर्दा लाग्छ, भगवान् निकै धनी छन्।

यथार्थ भने त्यस्तो छैन।

अधिकांश भेटी रकम हिनामिना भएरै सकिन्छ। 'धन देख्दा महादेवको पनि तीन नेत्र' भनेझैं मन्दिरमा संकलन हुने करोडौं रकम अधिकांश ठाउँमा सदुपयोग हुन सकेका छैनन्। कहीँ महन्त, कहीँ पुजारी त कहीँ मन्दिर व्यवस्थापन समितिका नाममा त्यस्तो रकममा ब्रह्मलुट हुने गरेका घटना बेलाबेला सार्वजनिक भइरहन्छन्।

यद्यपि, नेपालमा केही यस्ता मठमन्दिर र तीर्थस्थल पनि छन् जहाँ भेटीकै आम्दानीले विकास निर्माणका उदाहरणीय काम भएका छन्। भेटी रकमकै भरले चलेका आश्रम, मन्दिर र त्यहाँ भएका विकास, निर्माण एवं व्यवस्थापनका काम हेर्दा भक्तजनलाई लाग्छ– मैले चढाएको भेटीको साँच्चै सदुपयोग भएछ।

कहीँ महन्त, कहीँ पुजारी त कहीँ मन्दिर व्यवस्थापन समितिका नाममा भेटी रकममा ब्रह्मलुट भइरहँदा पाथीभरा क्षेत्रको मुहार भने 'भगवानकै कमाइ'ले फेरिँदैछ।

यस्तै एउटा नमुना मन्दिर हो– ताप्लेजुङको पाथीभरा जहाँ भेटी रकमबाट त्यस क्षेत्रकै मुहार फेरिँदै छ।

मनले चिताएको पूरा हुने विश्वासमा देवीलाई खुसी पार्न भक्तजनले चढाएको पैसा, सुन, चाँदी बैंकमा जम्मा गरिन्छ। त्यसबाट विकासको काम हुन्छ। धर्मशाला, बाटो, बिजुली, खानेपानीलगायत पूर्वाधार विकासमा ३ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष डिल्लीजंग मादेन बताउँछन्।

समितिको बैंक खातामा करिब १ करोड २० लाख रुपैयाँ छ। त्यस्तै गत फागुनमा मात्रै गठित पाथीभरा भेटीघाटी व्यवस्थापन समितिको खातामा पनि ६६ लाख रुपैयाँ जम्मा भइसकेको छ। त्यसबाटै मन्दिरका आठ कर्मचारीले तलब पाउँछन्। डाँडामा बस्दै आएका दुई गुरु, चार सहयोगी, फेदीमा बस्ने एक स्वास्थ्यकर्मी र फुङलिङमा कार्यरत अर्का कर्मचारीले तलब पाउँछन्।  

स्थानीयले २०४८ सालमा समिति गठन गरेपछि पाथीभरामा पूर्वाधार विकासको काम सुरु भएको हो। ३ हजार सात सय ९४ मिटर अग्लो डाँडामा त्यति बेला खुला आकाशमुनि देवीको शिला र केही रूखमात्रै थिए। अहिले मन्दिर व्यवस्थित छ। नजिकै आधादर्जन धर्मशाला छन्। पुजारी तथा कर्मचारीका लागि छुट्टै आवासगृह बनाइएको छ।

मन्दिर क्षेत्रमा बार बारिएको छ। अकासेपानी संकलन गर्न ट्यांकी राखिएको छ। फावाखोलाबाट बिजुली ल्याइएको छ। 'सदरमुकाम फुङलिङबाट मन्दिर आउने बाटोमात्रै होइन', मादेन भन्छन्, 'अरू गाउँगाउँबाट आउने गोरेटो सुधारमा समेत हामीले भेटी खर्च गरेका छौं।'

समिति स्थापना भएसँगै भेटी संकलन सुरु गरिएको थियो। पाथीभरालाई चढाइएको भेटी वा अन्य जिन्सी सामान घरमा ल्याउनु हुँदैन भन्ने मान्यता छ। 'यहाँको भेटी वा अन्य सामान चोरेमा घरमा अनिष्ट हुन्छ', पुजारी डिल्लीरमण आचार्य भन्छन्, 'त्यही धार्मिक विश्वासले मान्छे पैसा टिप्दैनन्।'

अचेल वर्षमा साढे दुई लाख तीर्थालु पाथीभरा दर्शन गर्न आउँछन्। आठ वर्ष भयो तीर्थालु बढ्न थालेको। पहिलापहिला खाने/बस्ने सुविधा नहुँदा कमै आउँथे। 'सुरुवाती दिनमा कहिले महिना दिनमा कहिले हप्ता दिनमा मन्दिरको भेटी टिपिन्थ्यो', आचार्य सुनाउँछन्, 'हिजोआज हरेक साँझ भेटी टिप्छौं।'

प्रहरी, पुजारी र कर्मचारीको रोहबरमा पैसा टिपेर गन्ती गरिन्छ। अनि समय मिलाएर ताप्लेजुङ सदरमुकामको बैंकमा जम्मा गरिन्छ। सुन र चाँदी लकरमा राखिन्छ। 

पहिलापहिला मन्दिरमा चढाइएको नोट त्यत्तिकै कुहिएर र सडेर जान्थ्यो, अहिले सदुपयोग भएको छ। चार वर्षअघि मन्दिरमा १२ किमि परको फावाखोलाबाट १५ किलोवाट बिजुली किनेर ल्याइएको छ। फावाखोलाको लघु जलविद्युत् आयोजनामा लगानी गरेर मन्दिरसम्म तार, खम्बा जोरजाम पार्दा करिब डेढ करोड रुपैयाँ खर्च भएको मादेन बताउँछन्।

पुजारी आचार्यका अनुसार भर्खरै मन्दिरमा टायल छाप्न, पुजारीको आवास बनाउन र भुइँमा ढुंगा बिच्छ्याउन ९५ लाख रुपैयाँ खर्च भएको छ। त्यसबाहेक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ र लाखे जात्रा व्यवस्थापन समितिले जनैपूर्णिमामा आयोजना गर्ने पाथीभरा गोल्डकप पाथीभरा देवीलाई नै चढाइएको दुई किलो चाँदी र तीन तोला सुनबाट बनाइएको छ।

पाथीभराको फेदीमा नेपाल प्रहरीको अस्थायी पोस्ट छ। त्यहाँ पाँच प्रहरी बस्छन्। तिनलाई तरकारी खर्च भनेर समितिले मासिक ५ हजार रुपैयाँ दिँदै आएको मादेनले जानकारी दिए। यो त भयो स्थानीयले गठन गरेको समितिको काम। सरकारले पनि २०५३ मा छुट्टै पाथीभरा क्षेत्र विकास समिति गठन गरेको छ। तर, सरकारले बर्सेनि दिने बजेट त्यहाँका कर्मचारीको तलब खर्चमै सकिन्छ। पाथीभरा क्षेत्रको पूर्वाधार विकासमा सरकारी समितिले खासै काम गरेको देखिँदैन। 'हामीलाई सरकारले वार्षिक जम्मा २५ लाख रुपैयाँ बजेट दिन्छ', समिति अध्यक्ष सजन पौडेल भन्छन्, 'गुरुयोजनाअनुसार मन्दिरको पूर्वाधार विकासमा काम गर्न पैसा पुग्दैन।'

पुजारी आचार्यले मासिक ७५ सय रुपैयाँ तलब पाउँछन्। उनी मन्दिरका पुराना कर्मचारी हुन्, ०५८ सालदेखि यहाँ बसेका। सुरुमा उनको तलब २५ सय रुपैयाँ थियो। उनीभन्दा पछाडि बसेका अर्का पुजारी टीकाराम पौडेलले मासिक ८ हजार पाउँछन्। अरू सहयोगीले ७५ सयदेखि ९५ सय रुपैयाँसम्म पाउँछन्।

भक्तजनलाई टीका लगाइदिएपछि पुजारीले पाउने दक्षिणा चाहिँ उनीहरूकै निजी हुन्छ। 'हामीलाई तलबले पुग्दैन', आचार्यले सुनाए, 'भक्तजनबाट पाइने दक्षिणाबाट परिवारको गुजारा चलाइरहेका छौं।'

तीर्थालुको स्वास्थ्य समस्या समाधान गर्न पुरानो समितिले फेदीमा एकजना अहेब पनि व्यवस्था गरेको छ। पाथीभरा थाप्लोमै स्थायी प्रहरी चौकी आवश्यक देखिन्छ। फेदीको अस्थायी प्रहरी पोस्टलाई स्थायी गर्नुपर्ने गाउँलेको माग छ। 'स्थायी पोस्ट भएमा प्रहरी धेरै हुन्थे। हामीले तरकारी खर्च पनि दिनु पर्दैनथ्यो', अध्यक्ष मादेन भन्छन्, 'सरकारले हाम्रो माग सुनेन।'

थाप्लोका धर्मशालामा दुई सय जना बास बस्न सक्छन्। तर, त्यहाँ होटल/रेस्टुराँ छैनन्। नजिकै मुहान नभएकाले डाँडामा खानेपानीको समस्या छ। पाथीभरामुन्तिर फेदीसम्म होटल छन्। त्यहाँ खाना र बास पाइन्छ। बर्सेनी धार्मिक पर्यटक बढ्दैछन्। त्यहाँ नेपाली मात्रै होइन, आसाम, मणिपुर, मेघालय, गुहाटी, सिक्किमका साथै भुटानसम्मका तीर्थालु आउँछन्।

झट्ट हेर्दा अन्न भरिएको पाथीजस्तो देखिने भएकाले डाँडालाई पाथीभरा भनिएको हो। पाथीभरा फुरुम्बु, फावाखोला, सिकैजा, तापेथोक र लिङखिम गाविसको साझा थलो हो। पाथीभरा प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण छ। यहाँबाट कुम्भकर्ण र कञ्चनजंघा हिमशृंखला देख्न सकिन्छ।

०५८ सालमा त्यहाँ स्थापना गरिएको सिंहवाहिनी भगवतीको मूर्तिलाई अधिकांशले मुख्य मूर्ति सम्झने गरेका छन्। तर, आदिकालमा आफैं उत्पत्ति भएको भनिएको देवीको शिला सानो खोपाभित्र छ। धेरै भक्तजन तिनलाई चिन्दैनचिनी फर्कन्छन्। मन्दिरमा विसं १६१३ को घन्ट भेटिएको छ।

वर्षका १० महिना पाथीभरा दर्शन गर्न सकिन्छ। पुस–माघमा हिउँ पर्छ, उकालो चढ्न सकिँदैन। उकालोमा लेक लाग्ने डर हुन्छ, बिस्तारै जानु पर्छ। सडक ट्र्याक लम्बिँदै जाँदा तीर्थालु बढ्दैछन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १७ किमि टाढा तल्लो फेदी काफ्लेपाटीसम्म ट्र्याक खुलिसकेको छ, जिप गुड्छन्। काफ्लेपाटीबाट चार घन्टा (६ किमि) हिँडे पाथीभरा पुगिन्छ। सडक माथिल्लो फेदीनजिक बल्लु डाँडासम्म पुर्‍याउने योजना छ। फुङलिङबाट आठ किमि पर सुकेटारसम्म सडक पक्की छ, बाँकी कच्ची सडक हो। सुकेटारमा विमानस्थल पनि छ। 

भेटीमा विवाद

स्थानीयले २०४८ मा गठन गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले स्थापना कालदेखि नै भेटी संकलन गरेर विकासमा खर्चिंदै आएको छ। तर, सरकारले २०५३ मा गठन गरेको 'पाथीभरा क्षेत्र विकास समिति' ले धेरै वर्षपछि आएर त्यसमा बखेडा झिक्यो। भेटी रकम आफूमार्फत खर्च गर्नुपर्छ भन्ने अडान उसले राख्यो। संवर्द्धन समितिले पहिलेदेखि काम गर्दै आएकोमा अड्डी लियो। विवाद चर्केपछि प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलहरूको उपस्थितिमा संवर्द्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीको अध्यक्षतामा ०७२ फागुन २२ गते छुट्टै 'पाथीभरा भेटीघाटी व्यवस्थापन समिति' बनाइयो। यसको सदस्यसचिवमा सरकारी समितिका उदय भट्टराई छन्।

सरकारी समितिका अध्यक्ष सजन पौडेल र भेटिघाटी व्यवस्थापन समितिका अध्यक्ष कार्कीसँग बुझ्दा उनीहरूकै कुरा आपसमा बाझियो। पौडेलले सरकारी समिति मातहत भेटीघाटी समिति भएको दाबा गरे भने कार्कीले भेटीघाटी समिति स्वायत्त भएको बताए। मन्दिरमा चढाइएको भेटीघाटी फागुनदेखि यही नयाँ समितिको खातामा जम्मा गर्न थालिएको छ। त्यसबाटै कर्मचारीलाई तलब खुवाइन्छ। उता पुरानो समितिमा पहिलाको भेटी र दाताको चन्दासमेत गरेर १ करोड २० लाख रुपैयाँ बाँकी छ।

प्रकाशित: २५ मंसिर २०७३ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App