७ वैशाख २०८१ शुक्रबार
अर्थ

मह र अम्रिसोले धनी बन्दै धौवादीगाउँ

धौवादी (नवलपरासी)- 'मह बेचेरै वर्षमा ७५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्छु,' शेरबहादुर सारुमगरले भने। धौवादी–३ पोखरीगाउँका शेरबहादुरको घरमा १५ घार स्थानीय जातका मौरी छन्। १० वर्षअघि उनले चार घारबाट मौरीपालन सुरु गरेका थिए।

मह मात्रै होइन, शेरबहादुरले अमि्रसोखेती पनि गर्छन्। शेरबहादुर आफ्नो कृषि कर्मबाट सन्तुष्ट छन्। भन्छन्, 'मह र कुचो बिक्रीबाट वर्षमा दुईदेखि अढाई लाख रुपैयाँसम्म आम्दानी गर्छु।'

अहिले उनको घरमा गत वर्ष बनाएका अमि्रसोका दुई हजार कुचो छन्। यो वर्ष थप तीन हजार कुचो तयार पार्ने उनको योजना छ। 'बेच्दै जाँदा गत वर्ष राम्रो मूल्य नपाएले दुई हजार कुचो यसै राखेँ,' उनी भन्छन्, 'यो वर्ष राम्रै मूल्य पाउने आशा छ। थप तीन हजार नयाँ कुचो पनि निकाल्ने तयारी छ।'

जिल्लाको पहाडी क्षेत्र पोखरीगाउँका प्रत्येक घरमा माहुरीको परम्परागत मुढे घार र कुचो बुन्न ठिक्क पारेर छानामा सुकाएको बाँसको चोया देखिन्छ। अमि्रसोको कुचो र मौरीमह गाउँलेको आयआर्जनको मुख्य स्रोत बनेको छ। पहिला अदुवा रोप्ने गरेका किसान अहिले अमि्रसोखेती र मौरीपालनमा लागेका छन्। एउटा कुचोको गाउँलेले ५५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।

स्थानीय तिलबहादुर सारुमगर गाउँलेले अहिले अदुवाखेतीलाई घटाउँदै र मौरीपालन, अमि्रसोखेतीलाई बढाउँदै लगेको बताउँछन्। 'पहिले पाँच रोपनी जतिमा लगाउने अदुवा अहिले दुई रोपनीमा लगाउँछौँ। अमि्रसो र मौरीले अदुवाभन्दा राम्रो कमाइ दिएको छ,' उनले भने।

एउटा घारबाट वार्षिक सरदर १० माना मह उत्पादन हुन्छ। एक माना महको गाउँमै पाँच सय रुपैयाँ पर्छ। वर्षमा एउटा घारमा तीनपटक मह उत्पादन हुन्छ।  पोखरीगाउँकै लीला रानामगरको घरमा चार घार माहुरी छन्। मह बेचेर लीलाको घरखर्च राम्रैसँग चलेको छ।

मौरीपालन अन्य पशुपालनजस्तो मेहनत बढी गर्नुपर्दैन। अनि, अमि्रसोखेती पनि अन्य खेतीजस्तो बढी गोडमेल र हेरचाह गर्नुपर्दैन।

'मह र कुचो धेरै परिश्रम हुने पेसा पनि होइन,' अर्की मौरापालक विष्णुमाया सारुमगर भन्छिन्, 'माघदेखि वैशाखसम्म अमि्रसो घाँसको रूपमा गाईवस्तुलाई खुवाउन पनि पाइन्छ।'

मकै, कोदो र अदुवाभन्दा सुबिस्ताको खेती भएकाले अमि्रसोप्रति सबै गाउँलेको आकर्षण बढेको विष्णुमायाको भनाइ छ।'

पोखरीगाउँमा ३४ घरधुरी छन्। सबैका घरमा थोरै–धेरै कुचो र मह उत्पादन हुने गरेको छ। ०५४ सालयता पोखरीगाउँमा अमि्रसोखेती फस्टाएको स्थानीय लक्ष्मण सारुमगरले बताउँछन्।

'एकपटक रोपेपछि वर्षौं उत्पादन लिन पाइने भएकाले गाउँमा अमि्रसोखेती गर्नेहरू बढेका छन्,' लक्ष्मणले भने, 'रोपेको दुई वर्षसम्म गोडमेल गरे पनि त्यसपछि खासै स्याहार पुर्‍याउनुपर्दैन।'

जंगलको बिरुवा ल्याएर रोपेर नै अमि्रसो गाउँभरि फैलिएको लक्ष्मणले बताए। जंगलमा घोरलले खाएर नासिएका कारण अहिले गाउँमै अमि्रसो बढेको छ।

गाउँ मात्रै होइन, वन समिति, खानेपानी उपभोक्ता समिति र विद्यालयले पनि आम्दानीका लागि अमि्रसो लगाउने गरेको छ। स्थानीय नवजागरण प्राथमिक विद्यालयले पनि पाखामा अमि्रसोखेती गरेको छ। अमि्रसो बेचेर गत वर्ष १३ हजार ६ सय ५० रुपैयाँ आम्दानी गरेको विद्यालयका शिक्षकसमेत रहेका लक्ष्मण सारुमगरले बताए।

केरुंगा खोलाको सिरानमा पोखरीगाउँ रहेको छ। गाउँको अमि्रसोखेती र मौरीपालनले स्थानीयलाई जंगलमा धेरै आश्रित नहुनुपर्ने बनाएको छ। जसले जंगल जोगिनुका साथै अमि्रसोले भूक्षय पनि रोकेको छ। आम्दानीका साथै अमि्रसोखेती मौरीपालनले वातावरणमा पनि राम्रो प्रभाव पारेको लक्ष्मण सारुमगरले बताए।

प्रकाशित: २५ मंसिर २०७३ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App