६ वैशाख २०८१ बिहीबार
ब्लग

कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली?

सुन्दरी पर्दामा उनीहरू चम्किला देखिन्छन्। कतिपयले उनीहरूलाइ रोल मोडलै मान्छन्। कमाइ पनि आकर्षक नै गर्छन्। काम र नामले मालामाल देखिने फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरुका केही फरक दु:ख छन्। यो भन्दा फरक एउटा तीतो यथार्थता छ- उनीहरू बिना कारण कसैको अश्लिल र भद्दा गाली सुन्न विवश छन्।

फेसबुक, ट्विटर र इन्स्टाग्रामले सेलिब्रटीहरूलाई जनतासँग जोड्न सजिलो पारिदिएका छन्। अन्तरक्रिया बढाइदिएका छन्। इन्टरनेट समाजको अर्को पाटो यो छ कि यी माध्यम प्रयोग गरी आउने अश्लिल र भद्दा गाली सामना गर्न अभिनेत्री तथा मोडलहरूलाइ गाह्रो हुन थालेको छ। धेरै अभिनेत्रीहरु यस्ता अश्लिल गालीगलौजलाई सार्वजनिक रेस्पोन्स दिँदैनन्। मन दु:खाउँछन्, चुपचाप बसिदिन्छन्। बिर्सन खोज्छन्, अर्कैतिर मोडिन्छन्। व्यस्त अभिनेत्री प्रियंका कार्कीले आइतबार फेसबुकबाट हाम्रो समाजभित्रको यो समस्या भावनात्मक ढंगले सार्वजनिक गरिदिइन्। 'मेरो मन रुवाउने' शीर्षकका उनले लेखेको पोस्टले यो विषयलाइ फेरि एक पटक सार्वजनिक चर्चामा ल्याइदिएको छ।


बिहान उठेदेखि दिनरात व्यस्त रहने अभिनेत्रीमाथिको यो व्यवहार हाम्रो समाजको अर्को फरक वास्तविक अनुहार पनि हो। आफ्नो घरमा छोरीचेलीलाई कसैले हेर्‍यो भने खाउँला झै गर्ने समाज सदस्यहरू एकान्तमा के सोच्छन्? के बोल्छन्? यी प्रश्नहरूको व्यवहारिक जवाफप्रति प्रियंकाले निकै भावुक प्रस्तुति राखिन्। हुन त नेपाली समाज यसै पनि अभिनेत्रीप्रति सकारात्मक देखिँदैन। कुनै एउटा ट्याग झुन्डाइदिएर उनीहरुमाथि प्रहार गर्न यो सधैँ तयार छ। त्यस्ता मान्छेहरुको यहाँ जगजगी नै छ। आफ्नो परिवारका सदस्य, दिदीबहिनी, आमा, भाउजू, छोरीहरुको कुरा अर्कै भयो। अभिनेत्रीलाई जति भद्दा गाली गरे पनि हुन्छ भन्ने सोच व्याप्त छ। समाज रुपान्तरणको ठूलाठूला बहस सहरमा चल्छन्। महिलाअधिकारका नाउँमा अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट झिकाएरै ठेलीका ठेली सिद्धान्तमाथि छलफल चलाइन्छन्। मिडियामा चर्का बहस छेडिन्छन्। तर समाजको यो कुरुप पाटो न्युन गर्न यीसबले कहाँनेर सघाइरहेछ?

परिवार सबैको परिवार नै हो। त्यसका मूल्य र आदर्श समान हुन्। हरेक अभिनेत्रीको परिवार छ। उनीहरुलाई कामका लागि वातावरण बनाइदिने पनि त्यही परिवार हो भन्ने बुझाइ हामीले कहिले बुझ्ने? यो पक्षलाई हामीले कहिले स्वीकार्ने? बहस वा तर्कको तहमा स्वीकार्नु एउटा पक्ष इन्टरनेटमा एक्लै हुँदा पनि हामी त्यतिकै भद्र कहिले हुने? यसको व्यवहारिक जवाफ खोजिनु पर्छ।

आफन्त र परिवार सदस्यको ठूला गल्ती लुकाउने र अरुको सानो गल्तीलाई पहाड बनाउने साझा प्रवृत्ति हाम्रो समाजमा व्याप्त देखिन्छ। भनिन्छ पढेलेखेका मान्छेहरुको सोचको दायरा फराकिलो हुन्छ। उनीहरु भद्र हुन्छन्। व्यवहार हेर्दा त्यस्तो लाग्दैन। 'नेटस्याबी' कोही अनपढ होला भनेर म अनुमान गर्न सक्दिनँ। ट्विटर, फेसबुक र इन्स्टामा सक्रिय युवा शिक्षित होलान् भन्ने मलाई लाग्छ। अब त्यहाँ व्यक्त अभिव्यक्ति हेर्नुहोस्। त्यहाँबाट एउटी अभिनेत्रीलाई गरिएको सम्बोधन हेर्नोस्। त्यो कुहिएको आलुजस्तो गन्हाउने र तल्लोस्तरको छ। त्यसैले यो विषय शिक्षासँग होइन सोचसँग जोडिएको छ।

आर्थिक र शारीरिक शोषणबाट पीडित बनिरहेका अभिनेत्रीहरु यस्तो अपमान सहेर बस्नु पछाडिका बाध्यता अनौकौ होलान्। अभिनेत्रीहरुले आफ्ना समस्याबारे आवाज बुलन्द बनाउन नसक्दा पीडकहरुलाई सजिलै उन्मुक्ति मिलिरहेको छ। मनोरञ्जन क्षेत्रमा सबै अभिनेत्रीको उस्तै स्थान छैन। सबै एकै पृष्ठभूमिबाट आएका पनि होइनन्। र सबै एउटै उद्देश्यले यो क्षेत्रमा भित्रिएका हुन् भन्ने पनि नसकिएला। त्यस प्रस्ट हुन जरुरी छ सबैलाई एउटै रंगिन चस्माले हेर्नु दृष्टिदोष हो। अभिनेत्रीको रुप र यौवन उनीहरुको कमजोरी होइन। तिनलाई 'रन्डी', 'भालु', 'वेश्या' जस्ता अश्लिल शब्द प्रयोग गरेर आनन्द लिनु अपराध हो। यस्ता मानसिक रोगीहरुको स्वास्थ्य उपचार निश्चय नै हुनुपर्छ। सँगै यसको कानुनी उपचार पनि खोजिनु आवश्यक छ।

प्रकाशित: ८ वैशाख २०७३ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App