७ वैशाख २०८१ शुक्रबार
कला

किम्फमा महिलासम्बन्धी फिल्मको बर्चश्व

काठमाडौं, मंसिर - पर्वतीय फिल्महरुलाई केन्द्रित गरेर राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) महिला मैत्री फिल्म र फिल्ममेकरले भरीभराउ भइरहेको छ । किम्फअन्तर्गत आइतबार कुमारी सिनेमा हलमा देउकी प्रथामाथि निर्माण भएको 'इन सर्च अफ देवकी'प्रदर्शन गरियो । 

पत्रकार देवकी बिष्टले निर्देशन गरेको ४५ मिनेटको डकुमेन्ट्रीमा सुदूरपश्चिमको देउकी प्रथाका देउकीहरूको खोजीको कथा समेटिएको छ। 'पत्रकारिता गर्दै जाँदा देउकी प्रथा अझपनि  सुदूरपश्चिममा छ भन्ने थाहा पाएपछि अनुसन्धात्मक डकुमेन्ट्री तयार भएको हो। देउकी प्रथाबारे सबैलाई जानकारी गराएर देउकीको जीवनमा परिवर्तन होला भन्नेमा आशावादी छु,'पत्रकार देवकी बिष्टले भनिन्। 

हिमाल एसोसियसनको आयोजनामा सुरु भएको किम्फको यो १४ औं संस्करण हो। यसअघि पाँचदिने महोत्सव अन्तर्गत भेनिस फिल्म फेस्टिभलमा छनोट निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतको ‘दद्या : द वुडपिकर्स अफ रोथा’ प्रदर्शन भएको थियो । १७ मिनेट लामो फिल्ममा जुम्लाको एक दम्पतीले गाउँ छाडेर हिडेपछि उनीहरूको सम्झनामा तयार भएको दद्या निर्माणको कथा समेटिएको छ। 'कथावस्तु मौलिक भएकाले फिल्म निर्माण गर्न सम्भव भएको हो । यस्ता विषयलाई कलात्मक शैलीले प्रस्तुत गर्दा मेहेनतपनि धेरै गर्नुपर्ने हुन्छ,निर्देशक पूजा गुरुङले भनिन् । 

थारू समुदाय अन्तर्गत कमलरी प्रथाको मुक्त्ति केन्दित गरेर तयार भएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ किम्फमा प्रदर्शन गरिएको थियो । दाङकी पूर्व कमलरी उर्मिलाको पीडा र कमलरी प्रथाको मुक्ति विभिन्न अभियानमा सहभागि भएको कथा डकुमेन्ट्रीमा समावेश छ।  ८६ मिनेट लामो डकुमेन्ट्रीलाई निर्देशक सुशान ग्लुथले निर्देशन गरेकी हुन् । 

‘थारू समुदाय अन्तर्गत कमलरी प्रथाको मुक्त्ति केन्दित डकुमेन्ट्रीमा सबै कमलरीको प्रतिनिधित्व गर्दा एकपटक आत्मविश्वास बढेको छ।अब भने सरकारले मुक्त कमलरीका लागि कामको व्यवस्था गरिदिएर आर्थिक विकासमा जोड दिनुपर्छ,'पूर्व कमलरी उर्मिलाले भनिन्,' झन्डै एक सयभन्दा बढी कमलरीहरू साहुको घरमा श्रमशोषण गर्न बाध्य छन्। हामीहरू उनीहरूलाई मुक्त गराउने अभियानमै छौं ।'

त्यस्तै नेसनल जियोग्राफी च्यानलको ‘एड्भेन्चररर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राईको कथामा आधारित 'मिरा' नामक ४२ मिनेट लामो डकुमेन्ट्री समेत किम्फमा प्रदर्शन भएको छ। भोजपुरमा जन्मिएकी पूर्व माओवादी लडाकु मिरा राईको संघर्ष र साहसको कथा डकुमेन्ट्रीमा समेटिएको छ। निर्देशक लोयड बेलचरले निर्देशन गरेको डकुमेन्ट्रीभर मिरा राई देखिएकी छिन्। 

‘यस डकुमेन्ट्रीमार्फत लगनशीलता र अठोटले मान्छेलाई साहसी र सफल बनाउँछ भन्ने देखाउन खोजेको छु । मिरा राईको भोजपुरको सानोदेखि इटाली, अष्ट्रेलिया र हङकङ सहरसम्मको यात्रा फिल्ममा समेटिएको छु, निर्देशक लोयडले भने। विभिन्न देशमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने पहिलोपटक किम्फमा देखाइएको थियो । त्यस्तै ‘डटर्स अफ द कभ्र्ड मुन’, ‘द डल्स फनेरल’ र ‘लिचेज’ नामक लगायत महिला विषयमा केन्द्रित फिल्महरू किम्फमा प्रदर्शन गरिएका थियो ।

निर्देशक मिरन्डा मोर्टन र सोफी डिया पेग्रमले बनाएको 'डटर्स अफ द कभर्ड मुन’ मा जुम्लाका महिलाको बदलिँदो धारणा समेटिएको थियो । निर्देशक आर्नल्ड गलेन्टको ‘द डल्स् फनेरल’ नामक फिल्ममा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकी छोरीबारे अनविज्ञ आमाको पीडा प्रस्तुत गरिएको थियो । १२ मिनेटको फिल्ममा हराएकी छोरी जीवित छैन भन्ने भएपछि कुशको मान्छे बनाएर दाह संस्कार गरिएका मार्मिक दृश्य फिल्ममा समेटिएका थिए । ‘हजारौं मान्छे बेपत्ता भएपछि तिनको अवस्थाबारे परिवारले सत्यतथ्य थाहा पाउनुपर्छ,’ इन्टरनेसनल कमिटी अफ रेडक्रसमा काम गरेका गलेन्टले भने, ‘मृत या जीवित टुंगो नहुँदा उसको परिवारले बेहोर्ने मानसिक पीडा भयावह हुन्छ ।’

किम्फमा केसाङ छेतेनको ‘हस्पिटल’ र ज्योति केशरको ‘भुसको लोग्ने’लगायत फिल्मको वल्र्ड प्रिमियर गरियो। यसपटक किम्फमा २८ देशका ८० वटा फिक्सन फिल्म, सर्ट फिल्म, एनिमेसन, डकुमेन्ट्री र एक्सपेरिमेन्टल फिल्म समावेश गरिएको छ। 'पर्वतीय फिल्म महोत्सवले अरु पर्वतीय समाजलाई पनि नेपाली समाजसँग जोड्ने काम गर्छ भन्ने हाम्रो विश्वास छ,' अध्यक्ष बसन्त थापाले भने।

प्रकाशित: २७ मंसिर २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App