८ वैशाख २०८१ शनिबार
कला

पहिलो र अन्तिम नै राप्रपा :  रेखा थापा

काठमाडौं- २ वर्षअघिे माओवादी पार्टीका अध्यक्ष प्रचन्डसँग पार्टी प्रवेश कार्यक्रममा एमालेकी नेतृ उर्मिला अर्यालसँगै टीका लगाएकी अभिनेत्री रेखा थापाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको हातबाट माला ग्रहण गर्दै पार्टी प्रवेशको उद्घोष गरिन्।  तर माओवादी छाडेर किन राप्रपामा भन्ने प्रश्नमा रेखाले आफूले कहिलैपनि माओवादीको सदस्यता नलिएको दाबी गरिन्। सोमबार नयाँ बानेश्वरस्थित इन्द्रेणी पार्टी प्यालेसमा रेखाले नागरिकका सामीप्य राज तिमल्सेनासँग कुरा गर्दै माओवादीको सदस्य लिएको प्रमाण पेश गर्न चुनौति दिइन्।

कुनै समय माओवादी नेता प्रचन्डसँग 'नलाउ माया दुईतिर' भन्दै नाच्नु भएको थियो। आखिर तपाईले नै माया दुईतिर बाँडनु भयो हैन?

मैंले कहिले पनि माया बाँडेको छैन। उतिबेला जनमत प्रचन्डको पछि थियो र देश र जनताका लागि केही गर्नु हुन्छ कि भन्ने थियो तर केही नगर्ने देखेपछि टाढिएकी थिएँ। उहाँहरुले पनि राम्रो गर्नुहोेस् मेरो माया सधैं रहिरहनेछ।

तर माओवादी छाडेर राप्रपा आउँदा अवसरवादी भन्लान् भन्ने डर लागेन?

पहिलो कुरा त के स्पष्ट पार्न चाहान्छु भने, म माओवादी थिइँन र होइन पनि। त्यही भएर म अवसरवादी होइन।

तर तपाईंले बकाइदा माओवादी मुख्यालय पेरिस डाँडामा पार्टी प्रवेश गरेको समाचार आएको थियो। फोटाहरु पनि छन्।

हो मैंले टीका लगाएकी थिएँ तर सदस्यता लिएकी थिइँन।

तपाईंलाई त माओवादीले चुनावमा टिकट पनि दिएको थियो? तर पछि प्राविधिक कारणले फिर्ता गरेको समाचार आयो । सदस्यता नलिएको मानिसलाई चुनावमा उठ्ने टिकट दिइन्छ? सदस्यता लिएको प्रमाण भेट्टियो भने?

प्रमाण लिएर आउनुस्। भेट्नु भएछ भने त्यो दिन कुरा गरौंला।

तपाईंले उतिबेला म क्रान्तिकारी स्वभावकी केटी हुँ। माओवादी र मेरो स्वभाव मिल्छ त्यही भएर माओवादीमा आएकी भनेर नी भन्नु भएको थियो। अहिले राप्रप्रासँग चैं के मिल्यो?

क्रान्तिकारी त म अहिले पनि छु। अनि के राप्रप्रा चैं अग्रगामी पार्टी हैन र? जहाँसम्म यो पार्टीसँग के मिल्यो भन्ने कुरा छ, मेरा धेरै कुरा मिल्छन्। पहिले त म हिन्दु नारी हँु। हिन्दु संस्कार, संस्कृति, परम्परासँग नजिक छु। अधिकार लिने दिने नाममा जुन विकृति असंगतिहरु आएका छन् यस्ता सबै कुरामा राप्रप्राको दृष्टिकोण स्पष्ट छ। यस्ता धेरै कुरा छन् जुन कारणले गर्दा मलाई राप्रप्रा सही गन्तव्य लाग्यो।

राप्रपाका दुइटा मुख्य एजेन्डा छन्, हिन्दु राष्ट्र र राजतन्त्र। तपाईंलाई पनि देशका लागि राजा चाहिन्छ भन्ने लागेको हो?

यो विषयमा म व्यक्तिगत टिप्पणी गर्न चाहान्न। पार्टीको आधिकारिक धारणा के छ त्यो बुझेर मात्र अगाडि बढ्छु। अहिलेलाई यत्ति बुझ्नुस् राप्रपाका धेरै कुरा राम्रा लागेर यसमा आएकी हुँ।

तपाई नेपालको नम्बर एक अभिनेत्री राप्रपा भित्र तपाईंको स्थान के हुन्छ?

मलाई थाहा छ धेरै मानिसले रेखा ठूलै पद पाएर गई भन्ने भ्रममा हुनुहुन्छ। विश्वास गर्नुस् आजका दिनसम्म पनि म यो वा त्यो भनेर वार्गेनिङ गरेर पार्टीमा आएको होइन। पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई इमान्दारीका साथ पूरा गर्ने प्रयास गर्नेछु। म पदका लागि राप्रपा आएको होइन।

तर तपाईलाई नजिकबाट चिन्नेहरु तपाईंको चञ्चलताले कसैसँग पनि लामो समय टिक्न दिँदैन भन्छन्? यो पार्टीमा पनि कतिन्जेल रहनु होला?

पार्टी राजनीतिमा राप्रपा मेरो पहिलो र अन्तिम पार्टी हो।

 

 

 

प्रकाशित: २८ मंसिर २०७३ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App