४ वैशाख २०८१ मंगलबार
विचार

विद्युत् माफियामाथि प्रहार

झिलिमिली नेपाल! विद्युत् माफियाहरू हावी हुन सकेनन् भने देशको परिचय यही हुनेछ। कुलमान घिसिङको साहसिक कदमले काठमाडौं आजको मितिसम्म लोडसेडिङ्गमुक्त छ। देशका अन्य भागमा विगत वर्षका तुलनमा लोडसेडिङ्ग कम छ। विद्युत् आपूर्ति बन्द हुँदा दिनमा काम बन्द गर्नुपर्ने र रातमा अन्धकारमा बाँच्नुपर्ने बाध्यताबाट गुजि्ररहेका नेपालीको दैनिकी बदलिएको छ। अँध्यारोबाट उज्यालोतर्फको यात्राले मानिसमा उत्साह थपिएको छ। नेपालमै भविष्य खोज्न चाहनेको संख्या बढ्न सक्ने देखिँदैछ। ऊर्जामा हुने गरेको बढी खर्च जोगिन थालेको छ। महँगो मूल्यमा इन्भर्टर खरिद गरेर जोड्दा खपत हुने बढी विद्युत्का कारण मारमा पर्थे उपभोक्ता। एकातर्फ नेपाल विद्युत् प्राधिकरण आवश्यक विद्युत् आपूर्ति गर्न नसक्दा आलोचित थियो। मानिस गालीको भाषामा अपराधीसमेत भन्थे। अर्कोतर्फ, उपभोक्ता पहिलेभन्दा बढी विद्युत् महसुल तिर्न बाध्य थिए। यस्तो अवस्थाबाट जनता मुक्त हुने अवस्था सिर्जना भएको छ। धेरैलाई फेरि लोडसेडिङ होला कि भन्ने भय छ। स–साना उद्योग चलाएर बसेकाहरू समेत लोडसेडिङ नहुँदा प्रतिउद्योग वर्षको लाखभन्दा बढी बच्ने भन्दै उत्साही छन्। नागरिकमा उत्साह छ। अबचाहिँं अन्धकारमा बस्नुपर्दैन, नेपाल निर्माणको दिशामा द्रुत गतिमा बढ्छ कि भनेर आशाको किरण देखिरहेका छन्। अँध्यारोबाट उज्यालोतर्फको महानतम कार्य कुलमानले गरेर देखाए। उनी जनताको प्रिय भन्दैमा विगतमा देश र जनतालाई अन्धारमा राख्ने भ्रष्टहरूले उन्मुक्ति पाउनुहुँदैन। विद्युत् चोरी सामाजिक अपराध भएकाले देशलाई लोडसेडिङ्गको चपेटामा पार्ने महाचोरहरूमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ।

खलनायकहरू पराजित हुनुपर्छ, उज्यालोका पक्षधर नायकहरू जित्नुपर्छ। तबमात्र नेपाल सदाका लागि झिलिमिली बन्छ। रोजगारीका अवसर सिर्जना हुन्छन्। आशाका बत्ती बाल्ने कुलमानहरूको उदय भइरहन्छ।
 

चोर को?

नेपाल विद्युत् प्राधिकरणले एउटा सूचना जारी गर्थ्यो– विद्युत् चोरी सामाजिक अपराध हो। हुन पनि ऊर्जा संकटमा रहेको देशमा उत्पादित विद्युत् चोरी हुनु गम्भीर विषय हो। यस्तो चोरी उपभोक्तासम्म विद्युत् पुग्दा हुकिङ्ग या मिटर बाहिरबाट तार जोडेर गर्ने चोरीलाई लिइन्थ्यो। यथार्थ यतिमा मात्र सीमित रहेनछ, विद्युत्को चोरी त नेपाल विद्युत् प्राधिकरणभित्रै हुँदोरहेछ। ऊर्जा मन्त्री जनार्दन शर्माले प्राधिकरणभित्रबाट नै चोरी हुने खुलासा गरिसके। त्यसबारे गहिरो छानविन भइरहेको र चाँडै प्रष्ट पार्ने आश्वासन दिएका छन्। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले समेत आन्तरिक चुहावटबारे संकेत गर्दै भित्रै हुने चोरीको संकेत गरिसके। यस्ता चोरलाई सामाजिक अपराधमा मात्र सीमित राखेर हुँदैन। यो राष्ट्रघात हो। जनतालाई अन्धकारमा राखेर देशमाथि घात गर्नेहरूको अपराध कुनै हालतमा क्षमायोग्य हुँदैन। राजनीतिक ओहदादेखि राजनीतिक नियुक्ति अनि प्राधिकरणको उच्च पदमा रहेकाहरूको संलग्नताबारे शंका गरिएका छन्। प्रमाण संकलन हुँदै होला। समयले राष्ट्रघातीहरूको कर्तुत उजागर गर्ला। अहिलेलाई अनुमान लगाउनेमात्र हो। योचाहिँं निश्चित छ कि प्राधिकरणबाट चुहावटका नाममा चोरी हुने गरेको थियो।

सन् २०१३ मा पंक्तिकारले अनुसन्धानमूलक पुस्तक क्राइम एन्ड मनी इन नेपालमा नेपाल विद्युत् प्राधिकरणबाट उत्पादित विद्युत्मा हुने प्राविधिक र अप्राविधिक चुहावटबारे उल्लेख गरेको छ। जसअनुसार कुल उत्पादित विद्युत्मा ७ देखि ९ प्रतिशत विद्युत्को अप्राविधिक चुहावट अर्थात् हुकिङ्ग तथा मिटर बाहिरबाट तार जोडेर हुने चोरीको तथ्यांक छ। प्राधिकरणको वार्षिक प्रतिवेदन, आन्तरिक रिपोर्टदेखि प्राधिकरणका जिम्मेवार अधिकारीसम्मको अन्तर्वार्तालाई आधार मानेर विद्युत् चोरी हुने तथ्यांंकबाट उक्त प्रतिशत निकालिएको हो। अध्ययनले प्राविधिक चुहावटभन्दा अप्राविधिक चुहावट दोब्बरभन्दा बढी प्रतिशत हुने देखाएको छ। अध्ययनअनुसार प्राविधिक चुहावट कुल उत्पादनको १६ देखि १९ प्रतिशत हुने गरेको अनुमान छ। सन् २००९ मा मात्र अप्राविधिक चुहावटका कारण झण्डै ४७ अर्ब रुपियाँ गुमेको तथ्यांक छ। प्राविधिक चुहावट अप्राविधिकको तुलनामा दोब्बरभन्दा बढी हुने तथ्यलाई आधार मान्दा अप्राविधिक चुहावटका नाममा प्रत्येक वर्ष देशले एक खर्बभन्दा बढी रकम गुमाइरहेको थियो। अप्राविधिक चुहावटकै नाममा नेपाल विद्युत् प्राधिकरणभित्रै विद्युत् चोरी हुने गरेको तथ्यको खुलासा ऊर्जा मन्त्री जनार्दन शर्माले गरिसके। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि त्यस्तै आशय व्यक्त गर्नुले विद्युत् माफियाहरूको पञ्जामा परेको प्राधिकरणमा नेपाली जनतालाई अन्धकारमा राखेर बर्सेनि अरबौँंको भ्रष्टाचार हुने गरेको रहेछ। यसमा प्राधिकरणभित्रका जिम्मेवार अधिकारीदेखि देशको जिम्मेवारी सम्हालेका प्रभावशाली नेता र कर्मचारीसमेतको संलग्नतामा अब कुनै सन्देह रहेन। चुहावटका नाममा विद्युत् चोरी गर्नेहरूले देशलाई बर्बाद पारेका रहेछन्। नैतिकताको कुनै अंशसमेत बाँकी नराखी नेपाली जनताको जीवनमाथि खेलवाड गरेर मानसिक यातनाको कारण समेत बनेका रहेछन्। यस्तो अपराधको दण्डसजायको परिभाषा नेपालको कानुनमा समेत स्पष्ट छैन होला। महाचोरहरूलाई भ्रष्टमात्र भनेर पुग्दैन, जनघाती भन्नुपर्छ।

के गुमायो देशले?

लोडसेडिङ्गका नाममा अबर्ौंंको भ्रष्टाचार छँदैछ। यो नेपाली जनताको सबैभन्दा ठूलो समस्या बन्यो। देशमा उद्योगधन्दा बन्द भए। युवाहरू विचलित भए। यसबाट रोजगारीको अवसरमात्र गुमेन, दक्ष जनशक्ति विदेशिने वातावरण निर्माण भयो। हजाराँैं युवा स्थल र हवाई मार्ग हुँदै रोजगारीका लागि विदेशिए। युवा शक्ति विदेशिँदा जमिन बाँझै भयो। बचेकुचेका उद्योगधन्दामा दक्ष मजदूरको अभाव भयो। देशमा एक जुगमा एक पटक हुने काम गर्ने उमेर समूहको बढी प्रतिशत जनसंख्याबाट जुन लाभ लिनुपर्ने हो लिन नसक्ने अवस्था पैदा भयो। आफ्नै मातृभूमिप्रति नयाँ पुस्तामा वितृष्णा हुनेसम्मको वातावरण निर्माण भयो। संसारभरका विकसित शहर रातमा झलमल हुँदा नेपालका शहर भने अन्धकार हुन्थे। रात्रि जीवन झन् कष्टकर भयो। नेपालको छवि विदेशमा समेत ऊर्जा संकटबाट गुजि्रएर विद्युत् कटौती हुने देश बन्यो। लगानी गर्न चाहने विदेशी कम्पनीहरू मुख मोडेर जाने अवस्था रह्यो।

लोडसेडिङ्गका कारण विद्यार्थीको जीवन साह्रै कष्टकर बनेको थियो। उनीहरू भनेको समयमा पढ्न लेख्न पाउँदैनथे। स्वास्थ्य क्षेत्रमा समेत ठूलो असर पर्‍यो। अस्पतालहरू ऊर्जाका अन्य विकल्प तयार गर्न बाध्य भए। उद्योगधन्दाका अलावा स्वास्थ्य क्षेत्रमा वैकल्पिक ऊर्जाका लागि आवश्यक पर्ने इन्धनका कारण अर्बौंंको डिजेल खपत हुन्थ्यो। बढी इन्धन भित्राउनुपर्दा विदेशी मुद्रा बढी बाहिरियो। उद्योगहरूको उत्पादन कममात्र भएन, डिजेलबाट मेसिन चलाउनुपर्दा उत्पादन महँगो बन्यो। मारमा उपभोक्ता परे। हरेक क्षेत्रमा यस्तो बाध्यात्मक अवस्थाका कारण जनजीवन अस्तव्यस्त जस्तै रह्यो। जनताको घरको भित्तामा हप्तैपिच्छे नयाँ नयाँ लोडसेडिङ्गको तालिका फेर्नुपर्थ्यो। क्यालेन्डरभन्दा पनि लोडसेडिङ्गको तालिका महत्वपूर्ण बनेको थियो। यसबाट मानिसको ध्यान कामभन्दा बत्तीतर्फ बढी जान्थ्यो।

अबको आशा

नेपाली जनताले नेतृत्व तहबाट ठूलो आशा पनि गरेका छैनन्। शान्ति सुरक्षा र कामका लागि आवश्यक वातावरण चाहेका हुन्। देशमा उज्यालो खोजेका हुन्। यसका लागि देशलाई अन्धकारमा राखेर आफ्नो स्वार्थ पूरा गर्दै आएका महाचोरहरू जिम्मेवार पदमा पुग्ने परम्परामा पूर्णविराम लाग्नुपर्छ। आजसम्म ऊर्जा मन्त्रालयदेखि विद्युत् प्राधिकरणमा जो जो पुगे तिनले महाचोरहरूले दिएको मह चाटेको शंका गर्ने ठाउँ छ। आफ्नो कर्तुत खुल्ने भयले महाचोरहरूलाई बचाउन खोज्नेहरू हुन सक्छन्। पर्दा धेरै खोलिइसकेको छ रोकिनुहुन्न। अँध्यारोमा देशलाई भास्ने कोही पनि जनघाती कारबाहीबाट जोगिनुहुन्न। सानालाई ऐन, ठूलालाई चैनको अन्त्य हुनुपर्छ। सम्बन्धित अधिकारीले खुलाएअनुसार आन्तरिक चुहावट जानीजानी गरिएको हो भने आजसम्मको नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार या महाचोरी भएको छ नेपाल विद्युत् प्राधिकरणमा। वार्षिक खर्बभन्दा बढी देशलाई घाटा लगाउने दुष्कार्य भएको छ। श्वेतपत्रमार्फत् जनतासामु यो घटनाको विस्तृत विषय आउनुपर्छ। जनार्दन शर्माले ऊर्जा मन्त्रीका रूपमा आन्तरिक छानविनको विषय खुलाएका छन्। उनले यसबारे प्रष्ट पार्नुपर्छ। अपराधीहरू सुकिलामुकिला बनेर प्रतिष्ठित व्यक्तिको मुकुण्डो ओढेर बसेका छन्। प्रतिष्ठित भनाउँदाहरूले गर्ने ह्वाइट कलर अपराधले देशलाई थिलथिलो बनाएको छ। लोडसेडिङ्ग गराउन खोज्ने विद्युत् प्राधिकरणको रमिते पारा जनताले देखिसके। योभन्दा नाङ्गो नाच के हुनसक्छ? समाज अँध्यारो ल्याउन खोज्ने र अराजकहरूप्रति कठोर हुनुपर्छ। त्यस्तालाई सामाजिक बहिष्कार गर्न जरूरी छ।  

सरकारले देशलाई पूर्णतया लोडसेडिङ्गमुक्त बनाइदिए काम र रोजगार आफँै सिर्जना गर्ने होनाहार नयाँ पुस्ता छन्। अझै पनि लोडसेडिङ्ग अन्त हुनेमा शंंका कायमै छ। कहीँं केहीँ समयपछि नै विभिन्न बहानामा लोडसेडिङ्ग त हुने होइन? यही शंकाले मानिस लगानीका लागि उत्साही हुन सकेका छैनन्। अँध्यारोबाट देशलाई उज्यालोतर्फ लान खोज्ने कुलमान जस्ता नायकलाई खलनायकहरूले दुःख दिने सम्भावना अझै छ। नागरिकले खलनायकमाथि औंला ठड्याए। विद्युत् माफियामाथि प्रहार हुन सक्यो। यतिले मात्र पुग्दैन, खलनायकहरू पराजित हुनुपर्छ, उज्यालोका पक्षधर नायकहरू जित्नुपर्छ। तबमात्र नेपाल सदाका लागि झिलिमिली बन्छ। रोजगारीका अवसर सिर्जना हुन्छन्। आशाका बत्ती बाल्ने कुलमानहरूको उदय भइरहन्छ।

प्रकाशित: २८ मंसिर २०७३ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App