coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसोले किशोरीसहित तीनको मृत्यु

सप्तरी तिलाठीस्थित एक घरमा आगो बालेर बच्चालाई स्याहार्दै एक महिला । एक्कासि बढेको चिसोले बालबालिका र वृद्ध प्रभावित भएका छन् ।  तस्बिर: जितेन्द्रकुमार

पूर्वेली ब्युरो

विराटनगर— शीतलहर थेग्ने न्यानो लुगा अभावमा आइतबार राति १३ वर्षीयाकिशोरीले ज्यान गुमाएकी छिन् । सप्तरी,हनुमाननगर–योगिनिमाई नगरपालिका‘टापु गाउँ’ गोबरगाढाकीमुनचुन मुखियापुत्री १३ वर्षीयावन्दनकुमारीको न्यानो कपडा अभावले मृत्यु भएको हो । 

केही दिनयता एक्कासि बढेको शीतलहर र हुस्सुका कारण रुघाखोकी र ज्वरोले थलिएकी वन्दनको आइतबार राति सुतेकै अवस्थामा मृत्यु भएको परिवारले जनाएको छ । वन्दनको मृत्युपछि सिंगो गाउँ नै शोकाकुल भएको स्थानीय हरिनारायण यादवले बताए। 

‘एकातिर गाउँमा शोकको माहोल रहेको छ भने अर्कोतिर बहुसंख्यक विपन्नबढ्दो चिसोबाट आफ्ना बालबालिकाकसरी जोगाउने भन्ने चिन्तामाछन्,’ यादवले भने, ‘पहिला बाढीको पीडा अहिले शीतलहरको चिन्ता।’ सदरमुकाम राजविराजबाट करिब २० किलोमिटर पूर्वमा रहेको गोबरगाढा चारैतिर कोसी नदीले घेरिएर रहेको छ।

त्यस्तै, चिसोले कठ्यांग्रिएर महोत्तरीमा दुईको मृत्यु समेत भएको उनीहरूको परिवारले जनाएको छ । तर, उनीहरूको मृत्यु चिसोकै कारणले भएको भन्ने जानकारी महोत्तरी प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौशाला–५ का ६५ वर्षीया शलवदेवी सदा र मटिहानी–४ की ७० वर्षीय नथुनी पासवानको कठ्यांग्रिएर मृत्यु भएको उनीहरूको परिवारले जनाएको छ ।

प्रत्येक वर्ष चिसोबाट महोत्तरीमा मानिसको ज्यान जाने गरेको छ । तर, प्रशासनले मानवीय क्षति रोक्न अहिलेसम्म खासै तयारी गरेको छैन । रिक्सा, ठेला तानेर जीविकोपार्जन गर्दै आएका मजदुर र दैनिक ज्यालादारीमा काम गर्नेलाई चिसोले समस्या थपेको छ ।

ठन्डीले जनजीवन प्रभावित

बिहानैदेखि चिसो हावासँगै हुस्सुले छोपिँदा मध्यपूर्वी मधेसमा कठ्यांग्रिदो ठन्डीबढेको छ । लगातारको ठन्डीले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 
एक्कासि अत्यधिक चिसो बढेपछि महोत्तरीका सहरी तथा ग्रामीण क्षेत्रका सर्वसाधारण प्रभावित भएका छन् । विपन्न र दलित समुदायलाई एक सातादेखि सुरु भएको ठिही कसरी काट्ने चिन्ताले पिरोल्न थालेको छ । चिसोबाट प्रभावित समुदायलाई जोगाउन सरकारी तथा सरोकारवालाको उदासीनताले उनीहरू कष्टकर जीवन बिताइरहेका छन् । 

विगत वर्षमा पुस दोस्रो सातादेखि चिसो बढ्ने गरे पनि यस वर्ष समयअगावै मंसिरको दोस्रो सातादेखि नै एक्कासि चिसो बढेपछि सर्वसाधारण चिसोबाट बच्न पूर्वतयारी समेत गर्न नपाएको जलेश्वर–१६ का मेराज अन्सारीले बताए ।  एकाबिहानै लाग्ने बाक्लो हुस्सुले दिउँसै पनि सडकमा भिजिबिलिटी कम हुँदा सडकमा मोटरसाइकल, ठेलागाडा, बयलगाडा, रिक्सालगायत यातायात साधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । 

चिसो बढेर जनजीवन प्रभावित भएको असर विभिन्न सार्वजनिक स्थलमा पनि देखिन थालेको छ । बिहान सबेरैदेखि गुल्जार बन्ने जिल्लाका अधिकांश बजार बिहान अबेरसम्मै नखुल्ने र साँझ पनि छिटै बन्द हुन थालेका छन् । ‘केही दिनयता बढेको चिसोले बजारमा चहलपहल पूरै घटेको छ,’ बिर्तामोडका व्यवसायी शंकर केसीले भने, ‘जाडोले सताउन थालेपछि यस्तो अवस्था आएको हो ।’ चहलपहल कम भएपछि कारोबार पनि घट्ने उनको भनाइ छ । ‘चिसो बढेयताको तीन दिनमा ३० देखि ४० प्रतिशत कारोबार घटेको छ,’ उनले भने ।

शीतलहरले गहुँ, टमाटर, आलु, प्याज, लसुन लगायत तरकारीबालीमा पनि असर पार्ने कृषि विकास कार्यालय महोत्तरीले बताएको छ ।

तापक्रम घट्दो

शीतलहर सुरु भएसँगै मधेसमा लगातार मौसमको तापक्रम ओरालो झरिरहेको छ । मंगलबार विराटनगरको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । जनकपुरको अधिकतम तापक्रम २२.२३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, झापाको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम १३, सुनसरीको अधिकतम २३ र न्यूनतम १२, सिरहा र सप्तरीको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको मौसममापन केन्द्रले जनाएको छ । अधिकतम तापक्रमभन्दा न्यूनतम तापक्रम ज्यादै कम रहेकाले यो क्षेत्रमा ठन्डी बढी महसुस भइरहेको छ ।

अत्यधिक ठन्डीले विराटनगर, इटहरी, बिर्तामोड, इनर्वा, राजविराज, लहान र जनकपुरका बजार ढिलो खुल्छ । सर्वसाधारणको चहलपहल समेत पातलिएको छ । साँझ बर्फिलो हावाले जिउ नै कठ्यांग्रिने र बाक्लो हुस्सुले सवारीसाधन चलाउन समेत समस्या भइरहेको छ । 

निमानिया, कोल्डडायरिया, रुघाखोकीका बिरामी बढे

अत्यधिक ठन्डीले अस्पतालमा निमोनिया, कोल्डडायरिया र रुघाखोकीका बिरामीको चाप बढेको छ ।एक्कासि चिसो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन् । ‘चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आइहाल्छ,’ काँकडभिट्टाका सवास्थ्यकर्मी दिलीप सुवेदीले भने, ‘तीन दिनयता चिसोजन्य समस्या लिएर उपचारका लागि ज्यादा आइरहेका छन् । त्यस्तै,मेची अञ्चल अस्पताल भद्रपुरमा पनि त्यस्तै समस्या लिएर आउने बिरामी संख्या बढेको छ । बालबालिकामा बढी मात्रामा छातीको समस्या, घ्याघ्र्यार हुने समस्या रहेको डा. रवीन रेग्मीले जानकारी दिए । दमका दीर्घरोगीलाई पनि चिसोले बढी सताउन थालेपछि अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । 
चिसोका कारण जिल्ला अस्पताल जलेश्वरमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको छ । चिसोका कारण हुने रोगका बिरामी दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि जलेश्वर अस्पतालमा आउन थालेको चिकित्सकले बताएका छन् । 
    
विमान सेवा पनि प्रभावित
तीन दिनयता मौसम एक्कासि चिसिएर शीतलहर सुरु भएपछि कमजोर भिजिबिलिटीका कारण विराटनगर, जनकपुर र भद्रपुर विमानस्थलको हवाई उडान पनि रद्द भएको छ । विराटनगर विमानस्थलको भिजिबिलिटी आठ सय मिटर मात्र देखिएपछि बुद्ध एयरको पाँच, यति एयरलायन्सको चार, सौर्य र नेपाल एयरलायन्सको १–१ हवाई सेवा प्रभावित भएको छ। 

चिसोकै कारण भद्रपुर विमानस्थलबाट दैनिक हुने पाँच उडान मंगलबार रद्द भएको छ । विमानस्थल प्रशासनका अनुसार कम्तीमा पाँच हजार मिटरसम्म हुनुपर्ने भिजिबिलिटी मंगलबार दुई हजार पाँच सय मात्रै भएपछि सबै उडान अवरुद्ध भएको हो । यहाँबाट काठमाडौंका लागि बुद्ध एयरको दुई, यतिको दुई र सौर्य एयरको एक गरी पाँच उडान हुँदै आएको थियो। 

विमानस्थलस्थित बुद्धएयर कार्यालयका अनुसार यसपटक बेलैमा शीतलहर सुरु भएपछि छिटै यस्तो समस्या देखापरेको छ । ‘पहिला पुस माघमा मात्रै यस्तो हुन्थ्यो,’ बुद्धका कर्मचारीले भने, ‘यसपटक मंसिरमै समस्या आयो ।’ उडान अवरुद्ध बन्दा दर्जनौँ यात्रु मर्कामा परेका छन्। 

बाक्लो हुस्सुकै कारण आवश्यक भिजिबिलिटी पुग्न नसकेर जनकपुरको विमानस्थल एक हप्तादेखि प्रभावित छ । मंसिर १८ गतेयता दुई दिन जहाज अवतरण नै हुन सकेन भने बाँकी हरेक दिन निर्धारित समय तल–माथि गरेर मात्रै हवाई सेवा सञ्चालन गरिएको विमानस्थलले जनाएको छ ।
    
विपन्नलाई ‘कहर’
सिरहा, सीतापुरकी पलाँस सदायलाई कसरी जाडो थेग्ने भनी पिरोलेको छ। ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा चिसोले शरीरमा समस्या पर्ला भन्ने डर उनको मनमा छ। 

‘जमिनदारको खेतमा मजदुरीबाट पेट पाल्नै हम्मे पर्छ,’ पलाँसले भनिन्, ‘हामी गरिबका लागि कठ्यांग्रिँदो जाडो काल हो ।’ चिसोबाट पीडित पलाँसजस्तै विपन्न परिवार घरभित्र धुनी जोडेर ज्यान जोगाउन बाध्य छन् । 

मजदुरी गरेर जीविका चलाउने सदाय समुदायले आर्थिक अभावका कारण जाडोमा न्यानोे छेक्ने कपडा किन्न सक्दैनन् । जमिनदारको धान काटिदिएपछि पाउने पराल चिसो भुँइमा ओछ्याएर सुत्ने ठाउँ न्यानो पार्छन् । यही परालको धुनी जोडेर चिउँ तताउँछन् । यही परालबाट चुले बालेर खाना पकाउँछन् ।

‘मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि जिउ तताउने लुगा किन्ने ? सीतापुरकी मकुन्ती सदाय भन्छिन्,‘सरकारले शीतलहरबाट हामी विपन्नको ज्यान जोगिने गरी बन्दोबस्त मिलाइदिए कठ्यांग्रिएर मर्ने थिएनौँ ।’

चिसोपीडितका नाममा जिल्ला दैवीप्रकोप कार्यालयबाट आउने राहत यो बस्तीमा नपुगेको उनको गुनासो छ । बढ्दो चिसो छल्न ओढ्ने, ओछ्याउने र लगाउने बाक्लो न्यानो लुगा जोड्न नसक्ने यहाँका विपन्न समुदायमा शीतलहर ‘कहर’ साबित भएको दलित अधिकारकर्मी विनोद बिसुन्खे बताउँछन् । आर्थिक ओढ्ने र ओछ्याउने सामग्रीको अभावमा चिसो भुइँमै सुत्न बाध्य छन् । जाडोमा ज्यानजाने अधिकतर अभावको जीवन जिउने समुदायका मानिसकै संख्या बढी पाइन्छ ।

सिरहा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने गाविस र नगारपालिकालाई दाउरा बाल्न निर्णय भएको छ । अत्यधिक जाडोमा जोखिमको जीवन बाँचिरहेका समुदायको पहिचान गरी चेतनासँगै न्यानो लुगा वितरण गर्न स्थानीय प्रशासन अगाडि बढेको देखिएको छैन । जाडोबाट मानिसको मृत्यु नभएसम्म स्थानीय प्रशासन न्यानो कपडा, आगो ताप्न दाउरा, बाँडेको पाइँदैन ।

सुनसरी बक्लौरीमा सञ्चालित कमल इँटाभट्टामा काम गर्ने भारत बंगालकी सुभद्रा ब्रमन तीन दिनयता दिउँसोदेखि साँझसम्म मात्र काम गर्छिन् । अरु बेला बिहानदेखि काम गर्ने सुभद्रा जाडो बढेपछि दिउँसो १२–१ बजेबाट मात्र काम सुरु गर्छिन् । ‘चिसोले इँटा बनाउने माटो मुछ्नै सकिँदैन,’ उनले भनिन् ।

इटहरीका विनोद विष्ट बिहान ढिलो गरी घरबाट बजारमा रिक्सा निकाल्ने गरेका छन् । अनि, साँझ पनि ५ बज्दानबज्दै घर जाने गर्छन् । जाडो बढेसँगै उनको आम्दानी पनि घटेको छ । ‘जाडोमा मान्छे पनि कोही हुँदैनन् अनि सिटी सफारी चलाउन पनि सकिँदैन,’ ५० वर्षीय विष्टले भने । 

जाडोबाट जिल्लाका घुस्की, साहेबगन्ज, कप्तानगन्ज, वसन्तपुर, रामनगर भुटाहा, राजगन्ज सिनुवारी, हरिनगरा, नरसिंह, लौकही, श्रीपुर, हरिपुर, तनमुना, चिमडी, पूर्वकुसाहा, रामगन्ज बेलगछिया, बबिया, जल्पापुर, मधेली, सोनापुरलगायत गाविसका बासिन्दा बढी प्रभावित छन् । यी बस्तीमा अति विपन्न परिवारको बसोबास रहेको छ । 

जाडो बढेसँगै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई न्यानो लुगा लगाएर सावधानी अपनाउन र जाडोमा उपयुक्त हुने खालको खानपानमा समेत ध्यान दिन सचेत गरिसकेको छ । विकल्प नै नभएका गरिबका लागि मानवीय सहायता गर्न रेडक्रससँगै अन्य मावनीय सहायता गर्ने संस्थालाई आग्रह गरिसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । 

राजमार्गमा बाक्लो हुस्सु

मंसिरको दोस्रो सातादेखि धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायत राजमार्ग दक्षिण क्षेत्रमा बाक्लो हुस्सु लाग्नुको साथै चिसो बढेको छ । जनकपुरमा मंगलबार यो वर्षकै सर्वाधिक चिसो भएको मौसम पूर्वानुमान शाखा, फिल्ड कार्यालय जनकपुरका इन्चार्ज राजीव झाले जानकारी दिए।

विगत वर्षमा पुस लागेपछि मात्रै यो क्षेत्रमा चिसो सुरु हुनेगरे पनि तुलनात्मक रूपमा यो वर्ष छिटो जाडो लागेको झाले जनाए । चिसो बढेपछि सर्वसाधारणको राहतका लागि जनकपुरको विभिन्न चोक तथा सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालयमा समेत धुनी ताप्ने व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन्। 

अजित तिवारी विराटनगर, राजु अधिकारी झापा, अमर खड्का इटहरी, मिथिलेश यादव लहान, सुरेश यादव जनकपुर र महेश दास महोत्तरी, जितेन्द्रकुमार झा
राजविराजको रिपोर्ट)

प्रकाशित: २९ मंसिर २०७३ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App