७ वैशाख २०८१ शुक्रबार
राजनीति

सम्पत्ति विवरण पत्याइनसक्नु !

काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको चार महिनापछि बल्ल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वाहालवाला मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ।

मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित ३१ जनाको सम्पत्ती विवरण सार्वजनिक गरे पनि उनीहरुको जीवनशैली र सार्वजनिक सम्पत्तीमा विवरण प्रति भने आमजनता भने आश्वस्त हुने प्रकारको छैन। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहलको सम्पत्तीका विषयमा टिकाटिप्पणी भैरहेको बेलामा उनले जम्मा श्रीमतीको नाममा चितवन भरतपुरमा १ कठ्ठा र तीन तोला सुन मात्र सम्पत्ती रहेको विवरण देखाएका छन्। प्रधानमन्त्री दाहालले देखाएको सम्पत्ती पनि पैतृक रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

गरीवी निवारण मन्त्री हृदयराम थानीले सुर्खेत विरेन्द्रनगरमा पैत्रिक घर सम्पत्ती रहेको विवरण बुझाएका छन्। उनीसँग ६६ तोला सुन र तीन किलो चाँदीको भाँडा र गहगहना रहेको छ। उनले आफूसँग विभिन्न बैंकमा २ लाख ८ हजार रकम रहेको विवरण दिएका छन्।

प्रधानमन्त्री बाहेक उपप्रधान तथा मन्त्रीहरुले पनि आफ्नो भन्दा पनि पैतृक सम्पत्तीलाई नै जोड दिएका छन्। उनीहरुले आफ्नो आम्दानी खासै सम्पत्ती नजोडेको विवरण उल्लेख गर्दै अधिकांसले श्रीमतीका नाममा सम्पत्ती रहेको विवरण दिएका छन्। सार्वजनिक विवरण अनुसार नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरु धनि रहेको विवरण छ।

मन्त्रीहरु विभिन्न कम्पनीको प्रमोटरदेखि क्रसर व्यावसायी हुँदै चिया बगानको मालिसकसम्म रहेका छन्। विवरण अनुसार आर्थिक अवस्थामा सबैभन्दा कमजोर प्रधानमन्त्री दाहालनै छन्। उनले आफूसँग घर समेत नरहेको सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री सुशिल कोइराला भन्दा थोरै मात्र सम्पन्न देखिएका छन्। पूर्व प्रधानमन्त्री कोइरालाले आफूसँग जम्मा तीन वटा मोवाइल मात्र रहेको विवरण प्रधामन्त्री कार्यालयलाई बुझाएका थिए।

४१ सदस्यीय दाहाल नेतृत्वको वर्तमान सरकारका १० राज्यमन्त्रीले भने सम्पत्ती विवरण बुझाएका छैनन्। केही दिन अघि मात्र राज्यमन्त्री जिम्मेवारी सम्हालेका उनीहरुको विवरण बुझाउने समय अझै बाँकी छ। दाहालले साउन २० गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

धनी उपप्रधान मन्त्री निधी

उपप्रधानमन्त्री तथा गृह मन्त्री बिमलेन्द्र निधीले श्रीमतीको नाममा भक्तपुर कटुन्जेमा विभिन्न तीन स्थानमा गरी एक रोपनी १३ आना जग्गा रहेको विवरण बुझाएका छन्। उनीसँग दाइजो, पेवा र उपहार गरी ६० तोला सुन, १ सय ५० तोला चाँदी रहेको छ। यस्तै घरमा नगद १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ पनि रहेको छ। यस्तै निधीको श्रीमतीका नाममा हिमालय बैंकमा २८ लाख ३७ हजार ५ सय ९३ रुपैया र अनकल निधिका नाममा कृषि विकास बैंकमा २९ हजार २२ रकम छ।

निधिसँग श्रीमती र आफ्नो नाममा २ लाख १५ हजार बराबरको सेयर, निशान गाडी र धनुषामा सगोल परिवारका नाममा एक बिघा १० कठ्ठा जमिन छ भने उनले विभिन्न व्यक्तिलाई १३ लाख ५० हजार ऋण दिएका छन्।

अर्थ मन्त्रीसँग सुनचाँदी नै छैन

अर्का उपप्रधानमन्त्री कृष्ण बहादुर महरासँग रोल्पामा दुई तले नेपाली शैलीको घर र १ तले गोठ छ। उनले उक्त घर र गोठ स्थानिय सहकारी संस्थालाई प्रयोग गर्न दिएका छन् भने उनीसँग ८ रोपनी सुख्खा पाखो जमिन छ। अर्थमन्त्री समेत रहेका महरासँग पारिश्रमिक बाहेक अन्य सुन चाँदी हिरा जवारत केही छैन। उनीसँग एभरेष्ट बैंकमा ८० हजार छ।

परराष्ट्र मन्त्रीको श्रीमतीका नाममा धेरै

परराष्ट्रमन्त्री प्रकाश शरण महतले श्रीमती विना महतको नाममा काठमाडौंमा साढे दुई तलाको घर रहेको विवरण बुझाएका छन्। महतको घर ७ आना २ पैसा जग्गामा छ। उनीसँग नुवाकोटमा  ५० रोपनी खेतवारी सगोलमा छ। श्रीमती विना महतको नाममा काठमाडौंका चपलीमा २० आना, इलाममा १० रोपनी र झापाको तोपगाछीमा ५ विघा चार कठ्ठा जग्गा छ। सुन ३० तोला, चाँदी करिब १२ सय तोला,  हिरा मोती र जवाहरतका केही गहनाहरु रहेको उल्लेख छ। सिटिजन्स बैंकमा श्रीमतीको नाममा ४२ लाख ६१ हजार, हिमालय बैंकमा एक लाख र नागरिक लगानी कोषमा साढे ५ लाख छ। मन्त्री महतले आफ्नो नाममा साढे तीन बैंकमा ४ लाख छ।

महतले सिटिजन्स बैंकको संस्थापक सेयरका रुपमा ९७ हजार ५ सय ५० कित्ता, कुमारी बैंकमा एक सय कित्ता, सिद्धार्थ बैंकमा २ हजार कित्ता र एक्सन एजुकेसनमा १५ हजार कित्ता सेयर श्रीमतीको नाममा देखाएका छन्। महतको नाममा विभिन्न शैक्षिक संस्थामा गरी २२ हजार ७ सय ५० कित्ता सेयर र श्रीमतीको नाममा ९ लाख ५० हजारको सेन्ट्रो कार छ।

स्वास्थ्य मन्त्रीको ५५ कम्पनीमा सेयर

स्वास्थ्य मन्त्री गगन थापासँग आफ्नो नाममा जम्मा ९ हजार रकम मात्र रहेको छ। उनले नगद मौजदात ५ हजार र बैंकमा ४ हजार रहेको विवरण बुझाएका छन्। थापाले आमाको नाममा काठमाडौं ज्ञानेश्वरमा दुई तले र साढे दई तलाको दुई वटा घर, बुबाको नाममा सोलुखुम्बुमा २२ रोपनी ८ आना, इटहरीमा १२ धुर जग्गा र हजुरबुबोका नाममा रहेको सहगोल जग्गा सोलुखुम्बुमै ७८ रोपनी ८ आना जमिन रहेको विवरण देखाएका छन्।

श्रीमती अन्जनाको नाममा १६ तोला सुन, २ सय तोला चाँदी, हिराको केही गहन, २० लाख १५ हजार रकम स्ट्यान्डर्ड चार्टड बैंक र नबिल बैंकमा र श्रीमती, छोरी गार्गी, बुबा र आफ्नो नाममा विभिन्न ५५ कम्पनीमा ७३ लाख १३ हजार एक सय रुपैयाँ बराबरको सेयर छ।

बैंकमै करोडौँ

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग विभिन्न बैंकमा गरी एक करोड २९ लाख ७५ हजार ८ सय ८० रुपैयाँ रकम छ। श्रीमती प्रतिमाको नाममा विभिन्न बैंकमा २१ लाख ४० हजार ४२ रुपैयाँ रकम छ। उनको नुवाकोटमा आफ्नो नाममा ५८ रोपनी जग्गा र काठमाडौंमा श्रीमती प्रतिमाको नाममा गंगबुमा १५ आना २ पैसा जग्गा र घर, ललितपुर सैंबुमा ८ आना १ पैसामा घर र जग्गा, काठमाडौं र ललितपुरको ग्रामिण क्षेत्रमा ७ रोपनी भन्दा बढी जग्गा छ। ३० लाख  रुपैयाँ ऋण दिएका मन्त्री केसीसँग २ सय र श्रीमतीका नाममा दुई सय ५० कित्ता सेयर छ। ३१ लाख ५० हजारको गाडी रहेका मन्त्री केसीसँग ५० तोला सुन, ५ सय २५ तोला चाँदी पनि छ।

भौतिक मन्त्रीका ६ घर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको काठमाडौं, कञ्चनपुर र बैतडीमा गरी ६ वटा घर छन्। काठमाडौं चन्दागिरी नगरपालिकामा ६ आना जग्गामा साढे दुई तलाको घर छ भने कञ्चनपुरमा ५ विघा १० कठ्ठा १३ धुर र बैतडीमा १३ रोपनी पैत्रिक सम्पत्ती छ। उनीसँग ३० तोला सुन र ५० तोला चाँदी छ। उनले आफ्नो बैंक खातामा २० हजार रुपैयाँ रहेको देखाएका छन् भने आफन्तको नाममा ५ लाख ३० हजार रुपैयाँ रकम देखाएका छन्। उनीसँग १५ लाख २४ हजार रुपैयाँ बराबरको सेयर र २ वटा मोटरसाइकल छ।

रक्षा मन्त्रीको २१ ठाँउमा जग्गा

रक्षा मन्त्री बालकृष्ण खाँणसँग रुपन्देही र काठमाडौं गरी ५ वटा घर छन्। काठमाडौंमा श्रीमती मञ्जु खाँणको नाममा ४ आना २ पैसा जग्गामा घर छ भने रुपन्देहीमा ३ वटा घर आफ्नै नाममा र एउटा आफन्तको नाममा छ। उनीसँग काठमाडौं, ललितपुर, चितवन, सिराह, रुपन्देहीमा पैत्रिक र खरिद गरेको गरी २१ ठाँउमा जग्गा छ।

उनीसँग ४० तोला सुन, ६० तोला चाँदी र घरमा नगद १० लाख छ। विभिन्न बित्तिय संस्थाका १३ वटा खातामा २६ लाख १२ हजार ९ सय २० रुपैयाँ रकम छ भने विभिन्न ११ वटा कम्पनीको गरी १२ सय ६९ कित्ता सेयर र ६५ लाख ८९ हजार मुल्य बराबरको सेयर छ। उनले ३१ लाख रुपैयाँ ऋण देखाएका छन्। उनीसँग दुई वटा गाडी र एउटा मोटरसाइकल छ।

सञ्चारमन्त्रीको भारतमा घर

सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको भारतको सिक्किम र दार्जलिङमा घर र जग्गा छ। श्रीमतीको नाममा घरजग्गा रहेको भनिए पनि तर कति छ भन्ने विवरण उनले उल्लेख गरेका छैनन्। छोराको नाममा भक्तपुर झौखेल र सिपाडोलमा १९ आना २ पैसा जग्गा छ। उनीसँग १० तोला सुन छ भने विभिन्न बैंकका ५ वटा खातामा गरी १४ लाख रुपैयाँ छ।

गरगहनामा धनी मन्त्री

उद्योग मन्त्री नविन्द्रराज जोशीको आफ्नो नाममा काठमाडौंमा २ आना २ दाममा ५ तले घर रहेको विवरण दिएका छन्। श्रीमती सपनाको नाममा काठमाडौंमा ८ आना जग्गा रहेको छ।  उनीसँग अन्दाजी एक सय ६ तोला सुन, हिराको सेट २, हिराको औंठी १६, हिराको टप ६, निलम र हिराको सेट १, माणिक २, मणि २, मंगलसुत्र १, हिरा र पन्ना १, मोतिको सेट ४, मोतिमा सनु जडेको १ सेट, मुगाको माला ५, हिराको चुरा २, माणिकको चुरा १, र मोतिको चुरा १ रहेको छ। उनीसँग विभिन्न बैंकमा गरी ११ लाख ९५ हजार ३ सय ६७ रुपैयाँ रहेको छ। यस्तै उनीसँग ३५ सय ५० कित्ता सेयर र केसीएमआइटी कलेजमा ४२ प्रतिशत शेयर र सम्पूर्ण एकेडेमिमा एक लाख २५ हजारको लगानी रहेको छ। उनीसँग एउटा गाडी पनि छ।

स्थानिय मन्त्रीलाई भुमिदान

स्थानीय विकास मन्त्री हितराज पाण्डेले गोरखामा एउटा घर त्यो पनि भूकम्पले चर्काएर बस्न नहुने अवस्थामा रहेको छ। घर रहेको क्षेत्रमा एक रोपनी ३ आना ३ पैसा एक दाम जमिन रहेको छ। उनीसँग पत्रिक सम्पत्तीका नाममा २० रोपनी र चितवनमा ११ घुर जग्गा रहेको छ। चितवनको कुरिनीटारमा रहेको जमिन भुमिदान पाएको उल्लेख छ। उनले आफूसँग झण्डै १० तोला सुनका गरगहना रहेको जनाएका छन्। उनीसँग १५ सय ६४ कित्ता सेयर र विभिन्न बैंकमा १३ लाख २५ हजार ८ सय ५३ रुपैयाँ रकम रहेको विवरण उपलब्ध गराएका छन्। उनले कुलमान गिरीलाई १० लाख रुपैयाँ ऋण दिएका छन्।

जग्गै जग्गा, सुनै सुन

पर्यटन मन्त्री जीवन बहादुर शाहीले हुम्लामा मात्र २ सय रोपनी जग्गा भएका पर्यटन मन्त्री शाहीको सिमिकोट र काठमाडौंमा गरी तीन वटा घर छन्। उनीसँग काठमाडौं मातातिर्थमा मात्र १५ रोपनी जग्गा रहेको छ भने बाँकेमा झण्डै ८ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। उनीसँग सुन, चाँदीसहित एक किलो ५७ तोलाको गरगहना रहेको छ। मन्त्री शाहीसँग विभिन्न बैंकमा गरी ५५ लाख रुपैयाँ रकम रहेको छ। उनीसँग जलबिधुत आयोजना, बैंकहरु र अन्य संस्थामा गरी ७ लाख ८२ हजार २ सय २९ कित्ता सेयर समेत रहेको छ। मन्त्री शाहीले आफूसँग ३५ लाख ५० हजार ऋण रहेको विवरण पनि बुझाएका छन्। उनले दुई कार, एक स्कुटर, ५० भेडाबाख्रा, ५० चौँरी, २५ गाइगोरु समेत रहेको विवरण समेत बुझाएका छन्।

करोडौँ ऋण दिने मन्त्री

आपूर्ती मन्त्री दीपक बोहराले श्रीमती र आफ्नो नाममा काठमाडौंमा ४ सय ७० वर्ग मिटरमा साढे तीन करोड भन्दा बढी मुल्य पर्ने घर रहेको विवरण बुझाएका छन्। मन्त्री बोहारासँग काभ्रेमा झण्डै १० रोपनी र काठमाडौंमा ४ सय ८७ वर्ग मिटर जग्गा रहेको छ। उनीसँग सुनका गहना एक सय २० तोला, हिराको गहना ३ सेट, चाँदीको भाँडा वर्तन गरी ५ सय तोला छ। श्रीमती र आफ्नो नाममा १५ लाख नगद रहेको समेत जनाएका छन्। यस्तै उनीसँग विभिन्न ९ बैंकमा एक करोड ४९ लाख ९ हजार र १९ हजार २ सय २६ अमेरिकी डलर समेत रहेको छ। उनीसँग विभिन्न बैंक तथा संस्थाहरुमा गरी ६ लाख ३ हजार ३ सय ६५ कित्ता सेयर छ। उनले तीन करोड ५० लाख ऋण दिएका छन् भने एक करोड ९९ सय लाख ३३ हजार ३ सय ३६ रुपैँया ऋण लिएका छन्। मन्त्री बोहरासँग २ वटा गाडी पनि छ।

उर्जा मन्त्रीसँग १० गाई

उर्जा मन्त्री जनार्दशन शर्माले रुकुम मुसिकोटमा दुई वटा घर र पैत्रिक जग्गा रहेको विवरण उपलब्ध गराएका छन्। उनले खलंगा ३ मा रहेको ४८ रोपनी जग्गा बिक्रि बापत आएको ६० लाख रुपैयाँ पैसा भाइहरुसँग रहेको विवरण उल्लेख छ। उनीसँग दुई तोला सुन र २० तोला चाँदी छ। उनीसँग ५ हजार कित्ता सेयर र १० लाख रकम बैंकमा रहेको छ। मन्त्री शर्माले गाई फर्म र दाना उद्योग तथा १० वटा गाई रहेको विवरण दिएका छन्।

१४ कम्पनीका प्रमोटर मन्त्री

भुमिसुधार मन्त्री विक्रम पाण्डेले काठमाडौं र चितवन भरतपुरमा गरी ६८ लाख ८९ हजारका चार वटा घर रहेको विवरण दिएका छन्। उनीसँग काठमाडौं, चितवन र नवलपरासीमा गरी २३ स्थानमा ७ करोड २७ लाख१३ हजार ७ सय ५० मुल्यमा जग्गा खरिद गरेको विवरण दिएका छन्। त्यस्तै काठमाडौंको महांकालमा एक सय ७५ दशमल ६ वर्गमिटर जग्गा वकश पाएको पनि विवरण भरेका छन्। उनीसँग एक सय तोला सुन र दुई केजी चाँदी छ भने विभिन्न बैंकमा गरी ३४ लाख ६३ हजार १ सय ९९ रुपैयाँ रकम रहेको छ। सञ्चारमाध्यमदेखि निर्माण कम्पनीसम्म गरी विभिन्न १४ कम्पनीका प्रमोटर रहेका मन्त्री पाण्डेको ४४ लाख ८२ हजार ६ सय ४८ कित्ता सेयर रहेको छ। उनले केही ऋण लिएका पनि छन्।

सामान्य प्रशासन मन्त्रीको चियाबगान

सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको इलाममा चियाबगानमा लगानी रहेको छ। उनको इलाम नगरपालिकामा ९६ रोपनी ११ आना क्षेत्रफलमा फैलिएको चिया बगान छ। उनको इलाम, झापा र काठमाडौंमा गरी तीन ठाँउमा घर छ। उनीसँग ९ ठाँउमा २ सय ५६ रोपनी जग्गा, ९ बिघा १५ कठ्ठा १८ धुर खेत र झापाको तीन ठाँउमा घडेरी जग्गा रहेको छ। उनीसँग ५० तोला सुन र ५ सय तोला चाँदी छ। उनीसँग विभिन्न बैंकमा गरी ५० लाख रुपैँया मौजदात छ भने ३६ लाखको रुपैयाँको गाडी छ।

क्रसर उद्योगमा लगानी

सिंचाई मन्त्री दिपक गिरीको काठमाडौंमा २ रोपनी ९ आनामा बनेको २ वटा घर। दाङमा ५ वटा घर। ५ विघा २ कठ्ठा १२ धुर पैत्रिक जग्गा रहेको छ। सुन ५० तोला, चाँदी साढे एक किलो। तीन सेट हिराको गहना। ग्लोबल बैंकमा ३ लाख ९४ हजार रहेको छ। स्वर्गद्धारी क्रसर उद्योगमा १० प्रतिशत सेयर आफ्नो नाममा र श्रीमतीको नाममा योगी ब्रदर्श क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एउटा स्करपियो गाडी रहेको छ।

वन मन्त्रीको खुत्रुको बचत

वन मन्त्री शंकर भण्डारीसँग काठमाडौं र तनहुँमा घर छ। तनहुँमा आमा र भण्डारीको नाममा २९ रोपनी जग्गा छ। मन्त्री भण्डारीसँग सुन ४५ तोला, चाँदी ६० तोला र बैंक तथा सहकारीमा श्रीमती र आफन्तका नाममा २ लाख ५५ हजार रकम रहेको देखाएका छन्। भण्डारीले सहकारीमा खुत्रुके बचत गरेको विवरण देखाएका छन्। उनले काभ्रेको एक क्रसर उद्योगमा १० प्रतिशत शेयर समेत रहेको छ।

गरिब मन्त्रीसँग तीन किलो गरगहना

गरीवी निवारण मन्त्री हृदयराम थानीले सुर्खेत विरेन्द्रनगरमा पैत्रिक घर सम्पत्ती रहेको विवरण बुझाएका छन्। उनीसँग ६६ तोला सुन र तीन किलो चाँदीको भाँडा र गहगहना रहेको छ। उनले आफूसँग विभिन्न बैंकमा २ लाख ८ हजार रकम रहेको विवरण दिएका छन्। उनको डेभलपमेन्ट क्रेडिट बैंकमा ४० कित्ता सेयर छ। उनले दिपमाला आयल स्टोर्समा २५ प्रतिशत सेयर रहेको पनि विवरण दिएका छन्। उनले अधिकांस लगानी ऋण लिएर गरेको विवरण बुझाएका छन्।

मोटरसाइकल नै चोरी

जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले आर्जन गरेको एउटा र पैत्रिक सम्पत्तीमा बनेका एक गरी कञ्चनपुरमा २ वटा घर र जग्गा जमिन रहेको छ। उनीसँग सुन २ सय ग्राम र चाँदी ५ सय ग्राम छ। विभिन्न बैंकमा गरी कुल ४ लाख ५५ हजार रकम र विभिन्न ३ वटा सवारी साधन रहेको विवरण उपलब्ध गराएका छन्। ति मध्ये एक वटा मोटरसाइकल चोरी भएको छ। उनले ५ लाख रुपैयाँ ऋण दिएका छन् भने ४ वटा मोवाइल रहेको छ।

श्रम मन्त्री सूर्य मान गुरुङसँग काठमाडौंमा १२ आना जग्गामा र ताप्लेजुङमा  एक रोपनी जग्गामा घर छ। उनीसँग ताप्लेजुङमा साढे ३० रोपनी जग्गा छ। उनले श्रमीतिलाई साढे चार रोपनी जग्गा माइतिले दिएको विवरण उपलब्ध गराएका छन्। उनीसँग सुन गरगहना ७५ तोला, चाँदी भाँडाकुँडा २ सय तोला र हिरा २ वटा रहेको छ भने १० लाख जति बैंकमा रहेको छ। उनको पनि ५ सय कित्ता सेयर रहेको छ। मन्त्री गुरुङले आफूसँग ५ लाख ऋण रहेको पनि जनाएका छन्।

वाणिज्य मन्त्री रोमी गौचन थकाली ७० तोला सुन, २ वटा मुगाको माला, कन्ठी २ वटा, हिराको गहना १० सेट, चाँदी ५ सय तोला छ । यीमध्ये केही पैतृक केही खरिद गरेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

शान्ति तथा पुनर्ि्नर्माण सितादेवी यादवसँग सुन ५३ तोला र चाँदी १ सय ९२ तोला छ। उनीसँग ७ वटा हिराको औठी समेत छ। उनले यसको स्रोत पैतृक र माइतीले दिएको उल्लेख गरेकी छिन्। खेलकुदमन्त्री दलजित विके श्रीपालीसँग गहना २ तोला सुन छ त्यो पनि विवाहमा आएको, कृषीमन्त्री गौरीशंकर चौधरीसँग सुन ५ तोला र चाँदी १० तोला छ। यसको स्रोत खुलाएका छैनन्।

शिक्षा मन्त्री धनिराम पौडेल चितवनमा चार कठ्ठा जमिनमा कच्ची घर र गोठ। बुबा हरिप्रसाद पौडेलका नाममा २ विघा जमिन। सुन ५ तोला, चाँदी ५ तोला र नगद ५ लाख। विभिन्न ३ वटा बैंकमा ४ लाख ५० हजार रुपैयाँ रहेको छ। उनीसँग २८ सय कित्ता सेयर रहेको छ। भैँसी २ र बाख्रा २ वटा छ।

कानुन मन्त्री अजय शंकर नायकले आमा र आफन्तको नाममा सिरहा, उदयपुर र धनुषामा गरी ९ बिगाहा, ८ कठ्ठा १० धुर जग्गा र दुई वटा घर रहेको विवरण दिएका छन्। उनीसँग १५ तोला सुन र ४० तोला चाँदी छ भने २ लाख नगद र एभरेष्ट बैंकमा २ लाख छ।

प्रकाशित: ३० मंसिर २०७३ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App