coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अष्ट्रेलिया घुम्दै कन्दरा

काठमाडौं- जब 'लेककी हे माया' गीत पप स्वादमा लोकलय भरेर आयो तब स्रोता र दर्शकले बुझ्न थाले पपगीत भनेको ड्रमसेटको तालमा कपाल हल्लाउने मात्र हैन। यसमा स्थानिय मनको स्वाद भर्न पनि सकिन्छ। पोखराका स्थानिय युवाहरुको ब्याण्ड कन्दराले त्यसपछि त्यही लयमा 'हङकङ पोखरा, निर्मोही आफ्नो को छ र,' 'तगारोमा रूमाल राखी' जस्ता थप गीतहरु लगातार दिए। जुन अझै पनि स्रोतामाझ कर्णप्रिय छ। कन्दराको पपगीतमा मादलको धुन सुन्दा पहिले अलिक नौलो लागेपनि पछि यही कुरा पप गायकहरुले लगातार अपनाउन थाले।

विभिन्न कारणले कन्दरा विचको दशकमा सुस्तायो। तर फेरि उदाउने प्रयासमा भेडी गोठैमा.. लिएर फर्क्यो। नयाँ गीत आएसँग स्रोताको मानसपटलमा उसको स्मरण ताजा भयो। कन्दरा दशक अघिको सांगितीक क्रेज फिर्ता ल्याउने कसरतका लागि संजीवनी बुटी बन्यो 'भेडी गोठैमा '।

त्यही गीतले डोहोर्यायो ब्याण्डलाई अष्ट्रेलियाका नेपाली दर्शकमाझ। आफ्नो डेढ महिना लामो अस्ट्रेलिया भ्रमणका क्रममा रहेको कन्दराले त्यहाँ गीत संगितमात्र प्रस्तुत गरेन दर्शकमाझ ओझेल परेको आफ्नो संंगित सौन्दर्य निखार्ने मौका समेत पायो। विगत पन्द्रदिनको अन्तरालमा कन्दराले ब्रिसबेन, क्यानबेरा क्षेत्रका हजारौं नेपाली दर्शक माझ गीत गाए। संगित सुनाए। सिड्नीको नेपाल महोत्सवका क्रममा दर्शक नचाउन पाउँदा उनीहरु थप प्रफुल्ल थिए। 'यति धेरै दर्शकमाझ गाउन पाउँदा निकै खुशी लागेको छ ,'गायक विवेक श्रेष्ठले भने ,'पुरानो याद र उर्जा दुबै फर्केको छ।' उनीहरु जब पोखरा आसपास गिटार र ड्रमसेट बोकेर गीत गाउन थाल्थे तब आसपासका स्थानिय झुम्मिन्थे।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियन क्यापिटल टेरिटोरी र क्विनबियन कमिटिको संयोजनमा आयोजित 'कन्दरा म्युजिकल नाइट' महोत्सवका क्रममा हुँदा कन्दराले आफ्ना पुराना र नयाँ गरि  एक दर्जन भन्दा बढी सांगीतिक प्रस्तुती देखाए।

कन्दरा समूहका मूख्य गायक बिवेक श्रेष्ठले चार ठाउँमा कन्दराले आफ्नो प्रस्तुती देखाइसकेको नागरिकसँग बताए। उनका अनुसार अन्दाजी महोत्सवमा सहभागी झण्डै पचास हजार दर्शकले कन्दराको संागितीक प्रस्तुती हेरिसकेका छन्।

हरेक दुईवर्षमा गैरआवासिय संघ अष्ट्ेलियाले महोत्सवको आयोजना गर्छ। यो वर्ष आयोजकले कन्दरालाई प्रस्तुतीका लागि बोलाएको हो। 'नेपालबाट टाढा कामका लागि आएका नेपालीहरु नेपाली गीतसंगित निकै मिस गर्छन,' गायक श्रेष्ठ भन्छन्,' हामी गर्व गर्छौ आफ्नो देश र नेपाली प्रति,त्यो माया र प्रेम हामीले नजिकबाट अनुभुत गर्यौं।' कन्दराले आफ्नो अन्तिम प्रस्तुती  मेलवर्नमा देखाउदैछ। महोत्सव हरेक दुईवर्षमा अष्ट्र्रेलियाको मूख्य ठूला शहरमा आयोजना गरिने त्यहाँ रहेका एक नेपाली भरतराज पौडेलले जानकारी दिए। 'अब मेलबर्नको बाँकी छ, उनले भने, 'शनिबार कन्दराले त्यहाँ गीत संगित प्रस्तुत गर्नेछ।' अरु दुई शहरका चार स्थानमा कन्दराले प्रस्तुती देखाइसकेको छ।

सांगितीक क्षेत्रमा बापसीको सन्देश राम्रैसँग अष्ट्रेलियाको कार्यक्रमले दिएपछि समुहका सदस्य हौसिएका छन्। विवेक श्रेष्ठ, सुनिल थापा, असिम शेरचन, अमृत गुरुङ, अनिल गुरुङ, वुद्धराज बज्राचार्य र अविनास गायक कन्दराको टोलीमा छन्। नेपाल फर्केपछि पप संगितमा नयाँ आयाम थप्न लागिपर्ने टोलीका सदस्यहरु बताउँछन्। चाँडै नै नयाँ एल्बम लिएर आउने बाचा पनि उनीहरुले दर्शक स्रोतासँग गरेका छन्।

प्रकाशित: १ पुस २०७३ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App