८ वैशाख २०८१ शनिबार
समाज

२७ मुक्त कमलरी बेखबर

दाङ- घरमा हातमुख जोर्न मुस्किल परेपछि घोराही–२, क्वाडीका चुतरबिज चौधरीले १० वर्षीया छोरी शर्मिलालाई 'कमलरी' पठाउने सोचे। यही क्रममा उनका एक आफन्तले राजधानीस्थित एक नर्सको घरमा 'कमलरी' चाहिएको बताए।

नर्सकी सानी छोरी रेखदेख गरिदिनुपर्ने र त्यसबापत वार्षिक चार हजार रुपैयाँ 'ज्याला' दिने सर्तमा परिवारले शर्मिलालाई 'कमलरी' पठाउने निधो गर्‍यो। राजधानी पुर्‍याइएकी शर्मिला र परिवारका सदस्यबीच सुरुमा कुराकानी हुन्थ्यो। तर, अचानक उनी बेखबर भइन्। केही दिनपछि साहुले शर्मिला हराएको खबर सुनाइदिए। ०५९ देखि 'कमलरी' बस्न गएकी शर्मिलाको अहिले अत्तोपत्तो छैन।

'डेढ दशकयता कैलालीका १२, बाँकेका ६, दाङका ५ र बर्दियाका ४ कमलरीको अत्तोपत्तो छैन'

'सुरुमा घरमा खबर हुन्थ्यो,' शर्मिलाका काका बधुलाल भन्छन्, 'भाँडा माझ्न गएकी थिई, हराइहाली भनेर साहुले खबर गरे।' उनका अनुसार साहुले घरमा काम गर्दागर्दै भागेको बताएका थिए।

यसबीच, शर्मिलाका बाबुआमा दुवैको मृत्यु भइसकेको छ। बधुलालले खोजबिनका लागि पहल गरे पनि शर्मिला फेला परिनन्। 'खोजतलासका लागि छोरालाई धेरै ठाउँ पठाएँ,' उनले भने, 'तर, छोरीलाई कतै फेला पार्न सकिएन।'

हेकुलीकी सीता चौधरी पनि १४ वर्षदेखि बेखर छिन्। दाङ तुलसीपुरस्थित एक साहुको घरमा उनी ०५९ मा 'कमलरी' बसेकी थिइन्। वार्षिक ज्यालामा सम्झौता गरेर कमलरी बस्न पठाइएकी सीता त्यहीँबाट बेपत्ता बनिन्। 'कमलरी बस्न गएकी हो,' उनका बाबु झिंगुले भने, 'जुन दिन कमलरी बस्न भनेर घरबाट पठाएँ, त्यस दिनदेखि फर्केर आइन।'

खोजीका लागि विभिन्न सहयोगी संस्थालाई सहयोग माग्दा पनि सीताको कुनै पत्तो लागेन।

मानपुरका हिमलाल चौधरी पनि कमलरी बस्न गएकी छोरी मनीको खोजीमा भौँतारिन थालेको १२ वर्ष भइसक्यो। तर, उनकी छोरी कहाँ छिन् भन्ने पत्तो छैन। मनी ०६१ मा नेपालगन्जस्थित साहुको घरमा कमलरी बस्न गएकी थिइन्। त्यसयता उनी बेखबर छिन्। 'साहुले घरबाट आफैँ हराएको हो भन्छन्,' हिमलालले भने, 'सारा ठाउँ खोजी गर्दा पनि पत्तो लागेन।'

शर्मिला, सीता र मनी 'कमलरी' दासताका कारण बेपत्ता भएका प्रतिनिधि पात्र हुन्। उनीहरूजस्तै वार्षिक ज्यालामा साहुको घरमा काम गर्न पठाइएका तीन दर्जनभन्दा बढी कमलरी अहिले बेपत्ता छन्। करिब डेढ दशकयता दाङ, बाँके, बर्दिया र कैलालीका २७ कमलरी परिवारको सम्पर्कमा नआएको कमलरी क्षेत्रमा क्रियाशील संस्था मुक्त कमलरी विकास मञ्चले जनाएको छ।

मञ्चका अनुसार सबैभन्दा बढी कैलालीमा १२ कमलरी बेपत्ता छन्। त्यस्तै, बाँकेका पाँच, दाङका पाँच र बर्दियाका चार कमलरी सम्पर्कविहीन रहेको मञ्चले जनाएको छ। यीमध्ये अधिकांश काठमाडौंबाटै बेपत्ता भएको उल्लेख गरिएको छ।

'दाङलगायत चार जिल्लाका २७ कमलरी नानीहरु हराएका छन्,' मञ्चकी सल्लाहकार उर्मिला चौधरीले भनिन्, 'हामीले उनीहरूको परिवारसँग सम्पर्क गरिरहेका छौँ, हराएका भनिएका २७ मध्ये कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।' उनका अनुसार हराएका कमलरीको अवस्था यकिन साथ भन्न सकिँदैन।

पाँच वर्षअघि काठमाडौंमा एक कमलरीको मृत्युलाई लिएर पूर्वकमलरी आन्दोलित भएका थिए।

देउखुरीकी सिर्जना चौधरीको मृत्युलाई 'हत्या' भन्दै पूर्वकमलरीले गरेको आन्दोलनका क्रममा सरकारले हराइरहेका कमलरीबारे अनुसन्धान गर्ने सम्झौता गरेको थियो। छानबिन समिति निर्माण गरेर अनुसन्धान गर्ने बताइए पनि काम अगाडि बढ्न नसकेको उर्मिलाको भनाइ छ।

'मृत्यु भएकी सिर्जना र अन्य बेखबर कमलरीबारे अनुसन्धान गर्ने भन्दै छानबिन समिति बनाइएको थियो,' उनले भनिन् 'तर, त्यो समितिले कामै गरेन।'

बेपत्ता कमलरीको अवस्था सार्वजनिक गर्न पटक–पटक दबाब दिए पनि सरकारले चासो दिन नसकेको उनको भनाइ छ।

स्थानीय प्रशासनले भने हराइरहेका भनिएका कमलरीबारे पुष्टि हुन नसकेको जनाएको छ। यसबारे प्रशासनले चासो राखे पनि हराएको भनी पुष्टि गर्न नसकेको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए। 'हामीले यस विषयलाई चासो साथ लियौँ,' उनले भने, 'तर, तिनीहरू बेपत्ता भएका हुन् भनी पुष्टि गर्न सकेका छैनौँ।' यसबारे सरकारी तबरबाट अनुसन्धान अगाडि बढाउने उनको भनाइ छ।

बेखबर कमलरी खोजबिनबारे प्रहरीमा अहिलेसम्म उजुरी नपरेको दाङ जिल्लाका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए। 'यसबारे हामीलाई कुनै जानकारी छैन,' उनले भने, 'प्रहरीमा निवेदन दिएर खोजतलासका लागि अनुरोध नगरेकाले हामीलाई यसबारे थाहा नभएको हो।'

प्रकाशित: १ पुस २०७३ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App