६ वैशाख २०८१ बिहीबार
प्रविधि

नेपालमा पोकेमन गो सुरु

काठमाडौं- युवापिढीको बहुप्रतीक्षित मोबाइल खेल 'पोकेमन गो' नेपालमा सार्वजनिक भएको छ। वास्तविक लोकेसनमा आधारित उक्त खेल एकैसाथ दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकामा समेत सार्वजनिक गरिएको हो। चर्चित कार्टुन सिरिज पोकेमनमा आधारित यो खेल अमेरिकामा सार्वजनिक भएको छोटो समयमै २०१६ को सबैभन्दा बढी नाफा कमाउने गेम बनेको थियो। गेम सार्वजनिक भएको झन्डै ५ महिनापछि नेपाल लगायत दक्षिण एसियाली देशमा सार्वजनिक गरिएको हो।

यो गेम द पोकेमन कम्पनीसँगको सहकार्यमा नियान्टिकले विकास गरेको हो। गत असारमा सार्वजनिक भएको खेल अमेरिका, क्यानडा, अस्टे्रलिया लगायत मुलुकमा मात्रै थियो। नेपालमा समेत यो खेल अनधिकृत डाउनलोड (क्र्याक भर्सन) हुन थालेपछि नियान्टिकले गेम रिलिज नभएका देशहरूमा 'जियो ब्लक' गरेको थियो।

के हो 'पोकेमन गो'

'पोकेमन गो' गेम मोबाइलमा जिपिएस लोकेसन र डाटा अन गरेर खेल्ने गरिन्छ। गेममा पोकेमन ट्रेनरहरूले पोकेमन पक्रने, खोज्ने र पोकेमनबीच ब्याटल गर्न सक्ने भएकाले खेल्दै हिँड्ने गरिन्छ। यो गेम एन्ड्रोइड किटक्याटभन्दा माथिका अपरेटिङ सिस्टममा मात्र चल्छ। यो एउटा साधारण मोबाइल गेममात्र नभएर यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग जोड्ने हुनाले झनै लोकप्रिय बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। समाचार संस्थाका अनुसार प्रयोगकर्ताको स्मार्टफोन लोकेसनको आधारमा क्यामरामार्फत यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग भेट गराइदिन्छ। फोनको क्यामेरा एक ठाउँमा प्वाइन्ट गरेपछि आसपास कहीँ पनि पोकेमन देखिन सक्ने हुन्छ। खेलमा ती पोकेमनलाई समात्दा खेलमा नम्बर प्राप्त हुन्छ।

प्रयोगकर्ता बढेको बढ्यै 

यो खेल रिलिज भएको एक सातामै टुइटरका दैनिक प्रयोकर्तालाई उछिनेका कारण मोबाइल गेमको दुनियाँमा नयाँ तरंग पौदा गरेको थियो। समाचार संस्थाहरुका अनुसार अमेरिकामा मात्रै एक साताको अवधिमा ९ लाख ५० हजार मानिसले यो गेम खेल्ने गरेको रिपोर्ट 'रिकोर्ड'ले सार्वजनिक गरेको थियो। रिलिज भएको एक सातामा 'नियान्टिक'ले निर्माण गरेको यो गेमले आइफोनको एप डाउनलोडमा समेत नयाँ रेकर्ड राखेको थियो। यता चर्चित समाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताभन्दा दोब्बर पोकेमानका प्रयोगकर्ता विश्वव्यापी रुपमा रहेको कम्पनीले जनाएको छ।

खेलका कारण दुर्घटना पनि

पोकेमनका काराण गम्भीर दुर्घटनाका समाचार समेत प्रकाशित हँुदै आएका छन्। पोकेमन समात्न हिँड्दा दुर्घटनामा पर्ने गरेका तथा एक सहरबाट अर्को सहरमा मात्र नभई एक देशबाट अर्को देशमा समेत मानिस पोकेमन समात्न पुग्ने गरेको समाचार सार्वजनिक भइरहेको छ। त्यस्तै एक प्रयोगकर्ताले अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसमा पस्न खोजेको समाचारले समेत सञ्चारमाध्यममा स्थान पाएको थिए।

धेरै देशमा प्रतिबन्ध

यो खेल व्यक्तिगत तथा राष्ट्रिय सुरक्षाका कारण अधिकांश मुस्लिम देशहरुमा प्रतिबन्ध लगाइएका खबर प्राप्त भएका छन्। यो गेमलाई चीनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। विभिन्न मुलुकका सुरक्षा निकायले यो गेममा मोबाइलको क्यामेरा प्रयोग हुने भएकाले सुरक्षामा दखल पुग्ने, लोकेसन र महŒवपूर्ण जानकारी चोर्न यो गेमको रुपमा कुनै शक्तिले सुराकी गर्ने आशंकामा विभिन्न देशले सुरक्षा अनुसन्धान सुरु गरेका जनाइएको छ। रुसले पनि यसले खतरा निम्त्याउने भन्दै तत्कालका लागि सञ्चालन अनुमति नदिने जनाएको छ।

 नेपालमा के हुन्छ?

नेपालमा पनि यो खेल सञ्चालनमा आउने नियान्टिकले वेबसाइटमार्फत जानकारी गराए पनि सुरक्षासँग जोडिएको उक्त खेलमा नेपाल प्रहरीले अनविज्ञता प्रकट गरेको छ। नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्लले नेपालमा यो गेमले पार्न सक्ने प्रभावबारे अनुसन्धान गरिने जनाकारी दिए। 'यो गेमबारे प्रहरीमा खासै जानकारी प्राप्त भएको छैन,' उनले भने,'त्यसले पार्न सक्ने प्रभावबारे अनुसन्धान गर्दै वास्तविक विषय बाहिर ल्याउने छौं।'    

प्रकाशित: १ पुस २०७३ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App