coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

ओलीको फिलिम

फिल्ममा खेल्ने अभिनेता धमाधम राजनीतिमा खेल्न आइरहेका छन्। भर्खरै रेखा थापा आइन्। त्यसअघि करिश्मा मानन्धर आएकी थिइन्। भुवन केसी पहिल्यै आइसकेका छन्। (खोइ यतिबेलासम्म गई पनि सकेका हुन् कि!) यसरी फिल्मका अभिनेताहरू धमाधम राजनीतिमा आइरहेकै बेला राजनीतिका एक नेता भने फिल्ममा जाने तयारी गर्दैछन्। उनी हुन्, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष कमरेड खड्ग ओली।

ओलीकै जीवनीमा आधारित भएर अहिले एउटा फिल्म बनाउन लागिएको रहेछ। फिल्मको नाम– रातो सूर्य। हालै बजारमा 'सेतो सूर्य' नामको फिल्म हिट भएपछि त्यसैको नक्कल गरेर 'रातो सूर्य' बनाउन लागेको हुनुपर्छ। नेताहरूको जीवनीमा फिल्म बनाउने काम पहिले पनि नभएको होइन। तर, यसपालि 'रातो सूर्य'को विशेषताचाहिँ के हुँदैछ भने यसमा ओलीको भूमिकामा अरु कोही नभएर स्वयं कमरेड नै अभिनय गर्दैछन्। ओलीको भूमिकामा ओली नै भएपछि अरु किन चाहियो?

जहाँसम्म कमरेड ओली आफैले अभिनय गर्ने कुरा छ, यसैबाट आभास मिलिरहेको छ यो एउटा धुवाँदार हास्यप्रधान फिल्म हुनेछ।

अहिले नेपाली सिनेमा बजारमा हास्यप्रधान फिल्म नै बढी चल्ने गरेको देखिन्छ। भर्खरै हिट भएको छ 'छक्का पन्जा' फिल्म। त्योभन्दा पहिले हिट भएको 'वडा नम्बर छ'। अझ त्योभन्दा पनि पहिले हिट भएको 'छ एकान छ'। अझ पहिल्यै हिट भएको 'तँ त साह्रै बिग्रिस् नि बद्री'। हास्यप्रधान फिल्म हिट हुने देखेर नै हुनुपर्छ, टेलिभिजनका सारा हास्य कलाकार अहिले हास्यप्रधान फिल्म बनाउन लागिपरेका छन्।

कुनैबेला मह जोडीका हास्यप्रधान फिल्महरू खुबै हिट हुने गर्थे। पूरा फिल्म नभए मह जोडीको सिनमात्रै भए पनि हुने गर्थ्यो। मह जोडीकै प्रेरणा पाएर अरु जोडीहरू पनि धमाधम हास्य फिल्मतिर आए।

तर, अब नेपाली हास्य फिल्म जगत्का यी तमाम हस्तीहरूको दिनचाहिँ  गएजस्तो छ। किनभने, अब हाम्रो हास्य फिल्म जगत्मा कमरेड ओली जो आउँदै हुनुहुन्छ! ओली अभिनित फिल्मले नेपाली हास्य फिल्म जगत्मा अर्को इतिहास रच्ने पक्का छ।

यतिखेर एकपछि अर्को हास्य फिल्महरू हिट भएको देखेर नै निर्माताले ओलीलाई खेलाएर यो फिल्म बनाउन लागेको हुनुपर्छ। अब हेर्नोस्, यो फिल्मको संवाद पूरै उखान टुक्का, चुट्किला र गाउँखाने कथाले भरिपूर्ण हुनेछ। दर्शकहरू संवाद सुनेरै मरीमरी हाँस्नेछन्। ओलीले खेलेपछि द्वन्द्व त हुनै नै भयो। त्यसमाथि षड्यन्त्र, रहस्य, गोप्य दाउ, ललकार, छेडछाडजस्ता मसला पनि रहने नै भयो। कुल मिलाएर भन्नु पर्दा यो फिल्मले छक्का पन्जा, जात्रा, सेतो सूर्यलगायतका फिल्मलाई चाँडै नै हलबाट उतार्ने निश्चित छ। (नउत्रिए एमालेका कार्यकर्ताहरूले उतारिदिने त छँदैछ!)

अहिले टेलिभिजनमा केही कलाकार छन् जो नक्कली खड्ग ओली बनेर दर्शक हँसाइरहेका हुन्छन्। ओलीकै जस्तो बोली, उनकै जस्तो पोशाक र शैली मिलाएर उनीहरू दर्शक हँसाउने गर्छन्। ती नक्कली ओलीहरूको अभिनय देखेर दर्शकले पूरै मनोरञ्जन लिइरहेका हुन्छन्। अब अनुमान गर्नोस्, नक्कली ओली देखेर त दर्शक यति हाँस्छन् भने सक्कली नै देख्दा झन् कति हाँस्लान्? हाँस्दाहाँस्दा पेट फुट्न बेर छैन। तसर्थ हलमा एउटा सूचनै टाँस्नुपर्ने हुन्छ– कृपया हाँस्दा पेट फुट्यो भने हामी जिम्मेवार हुने छैनौँ!

फिल्म बन्ने त भइहाल्यो। भोलि यो फिल्म रिलिज हुने बेला अरु हास्यप्रधान फिल्मचाहिँ एकै दिन रिलिज नगर्नुहोला। यसमा तपाईंहरूलाई दुइटा खतरा हुन सक्छ। एउटा, ओलीको फिल्मको खतरा, अर्को ओलीका कार्यकर्ताको खतरा। यस्तो खतरा मोलेर फिल्म किन रिलिज गर्ने?

प्रकाशित: १ पुस २०७३ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App