८ वैशाख २०८१ शनिबार
प्रविधि

ह्वाट्स एपबाट 'चिट'

विराटनगर- एमबिबिएस प्रवेश परीक्षा दिन विराटनगरस्थित नोबेल मेडिकल कलेज पुगेका अधिकांश परीक्षार्थीको हातमा मोबाइल थियो। परीक्षार्थी नोबेल कलेजतर्फ जाँदै गर्दा प्रोफेसरसहित एप्सका जानकार भने एउटा कोठामा एकत्रित भइरहेका थिए।

परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै एप्सका जानकारहरूको मोबाइल बज्न थाल्यो। मोबाइलको ह्वाट्स एपमा कोड तोकिएको प्रश्नावली ह्वारह्वार आउन थाल्यो। यताबाट 'वेट सी' भन्दै एकाएक प्रश्नको जबाफ प्रोफेसरहरूले कोडमै लेखेर पठाउन थाले। काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत पहिलो पटक विदेशी विद्यार्थीका लागि नोबेल मेडिकल कलेजमा सञ्चालित एमबिबिएस प्रवेश परीक्षामा इन्टरनेटको दुरुपयोग गर्दैै चिट चोराइएको हो।

'मानव स्वास्थ्यसँग जोडिएको एमबिबिएस प्रवेश परीक्षामै एसएलसीमा जस्तै चिटिङ हुन थालेपछि उत्पादन हुने डाक्टरले कस्तो उपचार गर्लान्,' प्रोपब्लिक मोरङका अध्यक्ष उत्तम ढुंगेलले भने, 'यो त मान्छे मार्ने लाइसेन्स दिएजस्तै भयो।'

स्रोतका अनुसार बिहीबार भएको एमबिबिएस प्रवेश परीक्षामा व्यापक चिटिङ भएको थियो। परीक्षार्थीको सहयोगका लागि कलेजले परीक्षा हलमै वाइफाइसमेत व्यवस्था गरेको थियो। प्रवेश परीक्षााको नतिजा शुक्रबार प्रकाशित गरिएको छ। यसअघि केयुले काठमाडौंमै एमबिबिएस प्रवेश परीक्षा लिएर मेरिटका आधारमा प्राथमिक र वैकल्पिक सूची प्रकाशति गरी आफूअन्तर्गतका मेडिकल कलेजमा भर्नाका लागि पठाउँथ्यो। यसपटक भने नोबेल मेडिकल कलेजलाई प्रवेश परीक्षा सञ्चालनको जिम्मा दिएर केयूले अनियमितता गरेको स्रोतको दाबी छ। एमबिबिएसका लागि केयूले लिएको यो दोस्रो प्रवेश परीक्षा हो। एमबिबिएसमा भर्नाका लागि केयूअन्तर्गतका नोबेल मेडिकल कलेजलाई १ सय १५ र विराट मेडिकल कलेजलाई ७५ सिट तोकिएको छ।

विश्वविद्यालयले पहिलोपटक लिएको प्रवेश परीक्षामा पास भएका विद्यार्थी कलेजमा भर्ना हुन नगएपछि अग्रिम सिट बुक गराइएकालाई पास गराउन दोस्रोपटक परीक्षा लिइएको स्रोतको भनाइ छ।

परीक्षामा चिट चोराउन इन्टरनेटका थुपै्र जानकारलाई प्रयोग गरिएको स्रोतको दाबी छ। मेडिकल कलेजहरूले कोटाअनुसार विद्यार्थी भर्ना नपाउँदा घाटा भएको भन्दै केयूलाई प्रवेश परीक्षा खुकुलो पार्न दबाब दिइरहेका थिए। स्रोतका अनुसार मंसिर अन्तिम साता नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा र केयूका रजिस्ट्रार भोला थापाबीच भेटघाट भएको थियो। सो भेटघाटपछि केयूले एमबिबिएस प्रवेश परीक्षा काठमाडौंबाहिर सारेको हो। प्रवेश परीक्षा केन्द्र र समय सीमित विद्यार्थीलाई जानकारी गराइएको थियो।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई मोबाइल एप्लिकेसन ह्वाट्स एप माध्यमबाट वस्तुगत प्रश्नको उत्तर उपलब्ध गराइएको थियो। त्यसका लागि ह्वाट्स एपमा एसिस्टेन्ट ग्रुप र एसिस्टेन्ट ग्रुप २ युजर बनाइएको थियो। यस काममा एनसेलका दर्जनौ सिमकार्ड प्रयोग गरिएको थियो। कुनै नाम प्रयोग नगरी एनसेल र भारतीय मोबाइल नम्बर प्रयोग गरिएको थियो।

स्रोतका अनुसार दिउ“सो १ बजेदेखि सुरू भएको परीक्षामा आधा घन्टापछि परीक्षार्थीको मोबाइलमा ९३ प्रश्नको उत्तर उपलब्ध गराइएको थियो। स्रोतका अनुसार विश्वविद्यालयबाट खटिएका पर्यवेक्षकलगायत भारतीय एजेन्टको समेत संलग्नतामा यस्तो बदमासी भएको हो। प्रवेश परीक्षा उत्तीर्ण गराउन एजेन्टहरूले प्रतिविद्यार्थी १० लाखभन्दा बढी रकम लिएको स्रोतको दाबी छ।

नेपालबाहेक सार्क मुलुकका विद्यार्थीका लागि लिइएको सो प्रवेश परीक्षामा ठूलै गिरोहको संलग्नतामा अनियमितता भएको हो। विदेशी विद्यार्थीबाट बढी रकम प्राप्त हुने भएकाले अधिकांश मेडिकल कलेज त्यो सिट खाली राख्न चाह“दैनन्। एमबिबिएस/बिडिएस अध्ययनका लागि प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याउनैपर्छ। पहिलो प्रवेश परीक्षामा विदेशी विद्यार्थी कोटा खाली भएपछि विश्वविद्यालयले पुनः परीक्षा सञ्चालन गरेको हो।

काठमाडौं विश्वविद्यालयले मंसिर १९ गते पुनः प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको थियो।

प्रकाशित: ३ पुस २०७३ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App