स्मार्ट बन्दैछन् किसान

आइतबार, ०३ पुष २०७३, १० : १० सन्तोष न्यौपाने  | @santyneupane


काठमाडौं- सेताम्मे हिमालमा घाम टल्किँदा सुन्तली दनुवार बारीमा गोडमेल गर्दै थिइन्। बारीमा काउली, टमाटर जस्ता तरकारी हुर्किरहेका छन्। यिनै तरकारीको गोडमेल गर्नु उनको दिनचर्चा हो। काभ्रे, महादेवस्थानको भोटेरुम्टीकी सुन्तलीको घरमा पुग्दा आगनमा उनका नाति खेल्दै थिए। 'आज बूढाले खेताला लिएर धान उठाउन खेत गएका छन्,' बारीबाट घरतिर उक्लँदै उनले भनिन्, 'घाम ताप्दै, यसो तरकारी बारीमा पसेकी।'

पछिल्लो दुई वर्षयता उनको परिवारले व्यावसायिक तरकारी खेती गर्दैछ। वर्षको तीन लाख आम्दानी गर्छ सुन्तलीको परिवार। घरमै तरकारी खेती राम्रो हँुदै गएपछि मलेसिया गएका श्रीमान् स्वदेश मात्र फर्केनन् ज्यामि काम गरेर दुई छाक टार्ने यो परिवारले खेतला लगाउने भइसकेको छ। आफ्ना पाँचजना छोरीलाई कहिल्यै स्कुल नदेखेकी सुन्तली नातिनीलाई फकाइफुल्याई स्कुल पठाउन थालेकी छन्।

एक सानो किसानको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ। यो परिवर्तन सुन्तलीको घरमा मात्र होइन, काभ्रेका हजारभन्दा धेरै किसानको घरमा आएको परिवर्तन हो। यसको कारण हो पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिको आत्मसात। जसका कारण प्रत्यक्ष रुपमा हजारौं कृषकको जीवनशैलीमा परिवर्तन मात्र आएको छैन, 'विषादी' भनेर चिनिएको गाउँमा वातावरणमैत्री कृषिको विकास पनि भइरहेको छ। 

गाउँका कृषकहरू दुई वर्षदेखि तरकारीमा विषादी प्रयोग गर्न छोडेका छन्। यसको सट्टामा घरमै तयार हुने झोल मल प्रयोग गर्छन्। उत्पादित तरकारी बेच्न सहरतिर भौंतारिनु पर्दैन। व्यापारी आफैं फोन गरेर तरकारी लिन आउँछन्। अर्कोतिर, व्यापारीले सस्तोमा किनेर ठग्लान् कि भन्ने चिन्ता लिनु पनि पर्दैन। काठमाडौं, कालीमाटीको तरकारी भाउ कृषकको मोबाइलमा आइपुग्छ।

त्यत्ति मात्र होइन, घामपानी, तरकारीको बीउ–बिजन, रोगब्याधी सबैको जानकारी कृषकका हातकै मोबाइलमा आउँछ। ज्ञानगुन र जनचेतनाका कुरा बु‰न टाढा जानु पर्दैन, गाउँमै १८ वटा कृषक समूह बनाएका छन् जहाँ महिला सशक्तीकरण, वातावरण मैत्री तरकारी खेती, मल, बीउ–बिहिन, बजार, सरसफाइ लगायतका विषयमा छलफल हुन्छ। यिनै प्रविधी र ससक्तिकरणका कारण सुन्तली जस्तै हजारभन्दा धेरै किसानले वर्षको २–३ लाख कमाउन थालेका छन्। तरकारी किनेर खाने परिवार आफै उत्पादन गरिरहेका छन्।

यि सबै परिवर्तन ल्याउन नेपाल सरकारसँग मिलेर इसिमोड र सिप्रेड नामक संस्थाले सघाइरहेका छन्। पछिल्लो समय काभ्रेमा पाएको सफलतापछि सरकारले देशका अन्य ठाउँहरूमा पनि यस्तै किसिमका कार्यक्रमहरू सुरु गरेको छ।

जलवायु मैत्री गाउँ (रेसिलियन्ट माउन्टेन भिलेज) कार्यक्रम अर्न्तगत हाल काभ्रेका एक नगरपालिका र ४ गाविसका ८ गाउँमा यो कार्यक्रम संचालन भएइरहेको छ, जहाँ एक हजार ८ घरधुरी प्रत्यक्ष सहभागी भइरहेको इसिमोडका इकोसिस्टम म्यानेजमेन्ट विशेषज्ञ लक्ष्मीदत्त भट्टले बताए।

कार्यक्रमबाट कृषकहरू खासगरी तीन तहबाट लावान्वित भएका छन्। पहिलो हो, झोलमलको प्रयोग। कुनै समयमा काभ्रेका तरकारी अत्याधिक विषादी प्रयोगमा भयो भनेर आलोचना भएको थियो। जसले उपभोक्ताको स्वास्थ्य मात्र होइन, माटो बिग्रिएको र उत्पादन नै कम हुन थालको कृषक नै बताउँछन्। विषादीका प्रयोगबाट निराश भएका किसानलाई घरकै बनाइएको झोल मलले राहत दिएको छ।

झोल मल भनेको गोठमल, गाई वस्तुको मुत्र, जीवातु र पानी मिसाएर बनाइने जैविक मल हो। 'झोल मल तीन किसिमको बनाउन सकिन्छ,' सिप्रेडका वरिष्ट कृषी प्राविधिक रामदेव शाहले भने, 'जसले बोट विरुवाको लागि मल सहित हानिकारक रोक, किरालाई न्युनिकरण गर्छ र माटो मलिलो बनाउँछ।'

दुई वर्षदेखी कृषकहरूले यहि मलको प्रयोग गर्दै आएका छन्। प्रत्येक किसानको घरमा सुधारिएको गोठ छ, जहाँबाट मल र मुत्रलाई छुट्टाछुट्टै संकलन गरिन्छ। त्यस बाहेक गाउँमा रहेको पानीको समस्यालाई समाधन गर्न प्लाष्टिकका पोखरी बनाइएको छ। झोल मल राख्नको लागि ड्रमहरू प्रयोग गरिएको छ।

झोलमलको प्रयोगबाट पैसाको बचत, स्वास्थ्य र मलिलो माटोले गर्दा उत्पादन समेत बढ्दै गएको कृषक बताउँछन्। 'पहिला विशादी हालेको तरकारी प्रयोग गर्दा टाउको दुख्ने समस्या समेत हुन्थ्यो,' नौविशे, आइपिएम जनजागृती कृषक समूहकी सदस्य यसोदा सापकोटले भनिन, 'झोल मलको प्रयोगबाट खर्च कम हुन्छ। विषादी, वा अन्य मल किन्ने पैसा बचत भएको छ।' झोलमलको प्रयोग तरकारीमा मात्र नभएर धान लगायत अन्य खेतीमा पनि प्रयोग गर्न थालेका छन्।

 कतिपय कृषकले झोलमल राखेेर उत्पादन गरेको तरकारीको मूल्य नपाएको गुनासो गर्छन्। विषादी प्रयोग भएको र नभएको छुट्याएर मूल्य पाउनु पर्ने उनीहरूको माग छ।

सरकारले विषादी प्रयोग भए नभएको छुट्याउन दुई वर्षदेखी काठमाडौ कालिमाटीमा ल्याब परीषण गर्ने व्यवस्था मिलाएको छ। त्यहाँ नमुनाका रुपमा विषादी प्रयोग भए नभएको परीक्षण भइरहेको र नतिजा सन्तोषजनक आएको कृषी मन्त्रालयका सहसचिव काशिराज दाहालले बताए। 'मूल्यको विषय बजारले निर्धारण गर्ने हो,' दाहालले भने, 'हामीले विषादी न्युनिकरणको लागि काम भने गरिरहेका छौं।' उनले पाँच ठाउँमा विषादी परीक्षण गर्ने ल्याब राख्ने योजना रहको र बालि संरक्षण निर्देशानालयले जिल्ला जिल्लामा जनचेतनाको काम गरिरहेको बताए।

यस कार्यक्रमको प्रतिफल उत्साहजनक भएको भट्टले बताए। 'यस कार्यक्रमबाट रासायनिक औषधी र विषादीको प्रयोग भएको छैन्,' भट्टले भने, 'माटो फर्टिलिटी र उत्पादनमा सुधार भएको छ।'

त्यस्तै, काभ्रेका कृषकहरूले सूचना प्रविधिको प्रयोगबाट बजार पहुच, मूल्य, मौसम र तरकारी खेतीको जानकारी समेत पाइरहेका छन्। प्रत्येक किसानको मोबाइलमा यस विषयको जानकारी सहित एसएमएस आउँछ।

शाहका अनुसार किसानको मोबाइलमा अहिले तीन किसिमका सन्देश आउँछन्। पहिलो हो बजारमा भएको तरकारीको भाउ। काठमाडौं, कालिमाटीमा तरकारीका भाउ दरलाई किसानले मोबाइलबाटै हेर्न पाउँछन्। यसले गर्दा किसान मारमा पर्ने वा विचौलियाले धेरै नाफा खाने कम भएको स्थानीय बताउँछन्।

सयपत्री कृषक समूहकी अध्यक्ष गंगा नेपालले मोबाइलमा तरकारीको मूल्यको जानकारी आउन थालेपछि तरकारीको मूल्य पाउन थालेको बताइन्। 'पहिले कालिमाटीमा ८० रुपैया किलो काउली हुदा हामीसँग २०, ३० रुपैयाका किन्न खोज्थे,' नेपालले भनिन्, 'म्यासेज देखाएपछि कम्तीमा ५० रुपैया दिन थालेका छन्।'

त्यसैगरी कृषकलाई मौसमको जानकारी एसएमएसबाट जानकारी हुन्छ। यसबाट उनीहरूलाई घामपानीको बारे थाहा हुन्छ, जसले काम गर्ने समय तालिका बनाउन सजिलो भएको छ। कृषकले पाउने तेस्रो सन्देश हो प्राविधिक जानकारी हो। यसमा कुन तरकारीको विउ राख्ने बेला भयो, अहिले कस्तो खालको रोग, किरा देखिएको छ। त्यसलाई उपचार गर्न के गर्ने? जस्ता जानकारीमूलक सन्देश बोमाइलमा आउने व्यवस्था मिलाइएको छ।

कृषीको आधुनिकरण, विषादीको न्युनिकरण र माटो तथा जलवायु संरक्षण गर्न योे कार्यक्रम प्रभावकारी भएपछि नेपाल सरकारले विभिन्न मन्त्रालयबाट अन्य जिल्लमा पनि यस्तै कार्यक्रम संचालन गर्न सुरु गरेको छ। हालै नेपाल सरकारले वातावरण विभागबाट १४ जिल्लामा 'क्लाइमेट स्मार्ट भिलेज कार्यक्रम' पनि सुरु गरेको जनाएको छ। त्यस्तै कृषी मन्त्रालयका सहसचिव दाहालले सरकारले कृषी सूचना प्रणाली स्थापना गरेर कृषकसँग साक्षत्कार गरिरहेको बताए।

यसै अर्न्तगत नमुना कार्यक्रम भनेर २५ जिल्लामा चेतनामूलक कार्यक्रम गर्न सूचना प्रविधिलाई प्रयोग गर्न लागिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरे बताए। यो आर्थिक वर्ष रुपन्देही, बारा, बाँके, जुम्ला र धनकुटामा मात्र कार्यक्रम सुरु गर्न थालेका छौं,' घिमिरेले भने, 'अन्य जिल्लामा यसै आर्थिक वर्षमा जाने योजना छ।'

यस कार्यक्रम अनुसार किसान कल सेन्टर स्थापना गरेर किसानबाट आएका समस्याहरूलाई विषयवस्तुका विज्ञले जवाफ दिनेछन्। सूचना संकलन गर्न टोल फ्रि नम्बर उपलब्ध गराइएको छ। त्यस्तै, जल तथा मौसम, कृषी प्रविधका कुराहरू, रोग तथा उपचारका बारेमा जानकारी गराउँ एसएमएस सन्देश पठाइने घिमिरेले बताए। त्यस्तै, कृषक थप जानकारीका लागि 'हाम्रो कृषी मोबाइल' एप्स समेत उपलब्ध गराइएको उनी बताउँछन्।

काभ्रेमा संचालन भएको जलवायु मैत्री गाउँ कार्यक्रमको अर्को उपलब्ध भनेको जनचेतना र महिला शशक्तिकरण हो। यहाँ गठन भएका १८ वटा कृषक समूहमा ७५ प्रतिशत महिलाको सहभागिता रहेको छ। समूहमा हुने छलफलले ज्ञानगुन बढेको छ भने गाउँ सरसफाइ अभियान पनि चलेको छ।

तीन चौतारा जैविक कृषक समूहका सल्लाकार महेश्वर दाहालले गाउँमा कृषक समूह गठन गर्न ठूलो मेहनत गर्नु परेको सुनाए। समूहमा रहेर काम गर्दाका फाइदा बुझ्दै जाँदा अहिले सबै कृषक समूहमा बस्न पाए हुन्थ्यो भन्न थालेका छन्। 'सुरुमा बल्लबल्ल २५ जना पुर्‍याएर समूह गठन गरेका थियौं,' आपखोला, मखमली कृषक समूहकी अध्यक्ष सुमित्रा लम्सालले भनिन्, 'अहिले सबैले म बस्छु भन्न थालेका छन्। सबैले समूहको फाइदा बुझे।'

कृषकहरू भविष्यमा कुनै दुर्घटनाबाट नोक्सानी बेहोर्न नपरोस् भन्ने पनि सचेत भएका छन्। गाईवस्तुको इन्सुरेन्स गर्ने संख्या समेत बढ्दै गएको छ।

झोल मल बनाउने तरिका

झोलमल १

१७ किलो गोठमल, १६ लिटर गाईभैसीको मुत्र, १६ लिटर पानी र १ लिटर जीवातुको मिश्रण बनाउने। यसले माटो मुनीको किरा नियन्त्रण र मलको काम गर्छ।

झोलमल २

२४.५ लिटर मुत्र, २४.५ लिटर पानी, १ लिटर जिवातुको मिश्रण। यो जाडोमा १५ दिन र गर्मिको बेला एक हप्तामा तयार हुन्छ। यससले ढुसी, विभिन्न रोग र किरा नियन्त्रण गर्छ।

झोलमल ३

सिस्नु, तीतेपाती, वनमारा, खिरो, मेवाको पात जस्ता पिरो, टर्रो खालका विरुवाको पात तथा डाँठहरू, १ लिटर जिवातु, गाईभैसीको मुत्र र पानी एक ड्रम गरी मिश्रण बनाउने। यो लाइ किरा, झुसिल किरा, पात खाने किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...