coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कलाकारको वर्गीकरण, भत्ता दिने संकेत

काठमाडौं – सरकारले फिल्मकर्मीलाई तीन श्रेणीमा वर्गीकृत गरेको छ। विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन तह निर्धारण गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डमार्फत १३ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरिएको छ।

सञ्चारमन्त्री शेरधन राईको हातबाट विशिष्ट श्रेणीको परिचयपत्र ग्रहण गर्नेमा यादव खरेल, नीर शाह, भुवन चन्द, वसुन्धरा भुसाल, किरण खरेल, लक्ष्मीनाथ शर्मा, शुभद्रा अधिकारी, शकुन्तला गुरुङ, उद्धव पौड्याल र मञ्जुकुमार श्रेष्ठ छन्।

विशिष्ट श्रेणीकै तीन फिल्मकर्मी हरिप्रसाद रिमाल, चेतन कार्की र गेहेन्द्र धिमाल कार्यक्रममा अनुपस्थित थिए।

सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सैद्धान्तिक रुपमा कलाकारलाई परिचयपत्र नचाहिए पनि व्यावहारिक रुपमा आवश्यक देखेर परिचयपत्र वितरण गरिएको बताए। 'फिल्म क्षेत्रमा विशिष्ट योगदान दिएका फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र दिएका छौं। जसले जुनस्तरको योगदान दिएका छन्, तिनलाई त्यही स्तरका परिचयपत्र दिनेछौं,' सचिव थपलियाले थपे, 'परिचयपत्रलाई कलाकारले सकारात्मक रुपमा लिएकाले हामी उत्साहित छौं । यसको कार्यविधिलाई थप परिमार्जन गर्दै जानेछौं ।'

सरकारले भविष्यमा विशिष्ट चलचित्रकर्मीका लागि भत्ताको व्यवस्था पनि गर्नसक्ने संकेत दिए। 'हामी अहिले चलचित्रकर्मी वृत्ति कोष स्थापना गर्ने प्रक्रियामा छौं, कम्तिमा विशिष्ट श्रेणीका चलचित्रकर्मीलाई केही न केही दिलाउने पहल हुनेछ,' सचिव थपलियाले आश्वासन दिए। उनले चलचित्र विकास बोर्डलाई नीतिगत र वित्तीय रुपमा छिट्टै स्वायत्त निकाय बनाउन आपूm लागिपरेको कुरा दोहोर्याए। बोर्डलाई दलीय राजनीतिको दलदलबाट मुक्त गर्नुपर्ने उनले सुझाए ।

विशिष्ट, वरिष्ठ र सामान्य श्रेणीका परिचयपत्र क्रमशः रातो, नीलो र हरियो रङका छन्। कार्यविधिले निर्धारण गरेका मापदण्ड अनुसार फिल्मकर्मीलाई वर्गीकरण गरिएको परिचयपत्र सिफारिस समितिका सदस्य सचिव हरिहर शर्माले बताए। 'सयौं कलाकारका विवरण हामीलाई प्राप्त भएको छ, ती सबैको अध्ययन तथा अनुसन्धान गर्न समय लाग्ने रहेछ,' शर्माले भने, 'अहिले परिचयपत्र छाप्दाछाप्दै सुरुवात भइहालोस् भनेर सांकेतिक रुपमा मात्र परिचयपत्र वितरण गरेका हौं, सबै कलाकारले परिचयपत्र पाउनेछन् ।'

चलचित्र विकास बोर्डले ल्याएको परिचयपत्रको अवधारणालाई सञ्चारमन्त्री र सञ्चार सचिवले सकारात्मक रुपमा लिइदिएकाले नै वितरणको अवस्थासम्म आइपुगेको बोर्डका अध्यक्ष राजकुमार राईले अवगत गराए। 'परिचयपत्रले चलचित्रकर्मीलाई प्रशस्त फाइदा दिनेछ। यो फिल्मकर्मीप्रति सम्मान पनि हो, भविष्यमा अझ थप विशिष्ट श्रेणीका परिचयपत्र वितरण हुनेछ,' अध्यक्ष राईले भने।

चलचित्र क्षेत्रमा मन्त्रालयले के–के गर्नुपर्छ, सुझावहरु उपलब्ध गराउन सञ्चारमन्त्री शेरधन राईले आग्रह गरे। 'राष्ट्र निर्माण र अर्थतन्त्रमा फिल्मका कलाकारले कसरी सघाउनसक्छ, सोचौं,' मन्त्री राईले भने, 'चलचित्र क्षेत्रको उन्नतिका लागि सबैले पुराना चिन्तन, पुराना कुण्ठा र पुराना दृष्टिकोण त्याग्नुपर्छ।'

परिचयपत्र पाएका कलाकारहरुमा सामाजिक उत्तरदायित्व र भूमिका बढेको बताउँदै कलाकार नीर शाहले भने, 'त्यो उत्तरदायित्व र जिम्मेवारी इमानदारीका साथ वहन गर्न सकेमा मात्र यो परिचयपत्रप्रति न्याय हुनेछ ।'

परिचयपत्र दिएर सरकारले कलाकारलाई पहिचान दिनु सकारात्मक नै रहेको फिल्म निर्देशक यादव खरेलले बताए । कार्यक्रममा किरण खरेल, वसुन्धरा भुसाल र चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र केसीले परिचयपत्रको आवश्यकताबारे बोलेका थिए ।

मन्त्रालयका उपसचिव पुष्पराज नेपालले चलचित्र विकास बोर्डको व्यवस्थापन सुधारको मार्गचित्र प्रस्तुत गरे । उनका अनुसार बोर्डका पदाधिकारी र कर्मचारीहरुप्रति आचारसंहिता लागू गरिनुका साथै बोर्डको नीतिगत तथा संरचनात्मक सुधार हुनेछ ।

प्रकाशित: ३० चैत्र २०७२ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App