६ वैशाख २०८१ बिहीबार
कला

पुनमको रामायण चित्रण

काठमाडौं- प्राचीन आर्य समाजको कला, संस्कृति र संस्कारको खानी मानिन्छ, तराई क्षेत्र। त्यही तराईको माटोमा हुर्की–बढेकी कलाकार हुन्, पुनम कुमारी दास। उनको चौथो एकल प्रदर्शनी अहिले अरुपण आर्ट ग्यालरी लाजिम्पाटमा चलिरहेको छ। उनले मिथिला कलामा रामायण चित्रण उतारेकी छिन्। १५ चित्रमा उनले रामसीताको विवाहदेखि रावणले हरेर लगेपछिका दृश्य झल्काएकी छन्। तीनवटा ग्रामीण जीवनका कला प्रदर्शनी यसअघि गरिसकेकाले नयाँ प्रयोगका रूपमा उनले रामायण रोजेकी हुन्। 'घरमा सासुले भनेका कथा अनि मैले सुनेका कुरा र टेलिभिजनमा हेरेको रामायणको आधारमा चित्र कोरेँ,' प्रदर्शनीमा राखिएका कलाबारे उनी भन्छिन्, 'जनकपुरको जानकी मन्दिर घुमेर पनि चित्रमा स्थानीयपन भर्न खोजेँ।'

उनका चित्रले रामायणको कथा संक्षिप्त बुझ्न दर्शकलाई सहज बनाउँछ। रामसीताको मिलनको चित्र होस वा सीताले गौरीको पूजा गरेको दृश्य। ती चित्र आफैँ बोल्छन्। रामसीताको विवाह, सीताको बिदाई, रामको वनवास, सीताहरण, अहिल्या उद्धार, सवरी दर्शन, बालि वध, लंका जोड्ने पुल निर्माण दृश्य, अशोक वाटिकाका चित्रले रामायणका कथा बोल्छन्। 'स्टोरी अफ रामायण'मा उनले आफ्नो सिंगो मिथिला मन पोखेकी छिन,' आर्ट ग्यालरीका सञ्चालक तथा कला समीक्षक रमेशनाथ खनालले थपे, 'मिथिला कलामा परेका थोरै नारी हातमध्ये उदाउँदी हुन््, पुनम।'

मिथिलाकलाको महŒव बेग्लै छ। यसमा स्थानीयका रहनसहन, व्यवहारसँगै यहाँका देवीदेवता चित्रण गरिन्छ। जनकपुर र मधुवनी गरी दुईधारका मिथिलाकला चर्चित छ। प्रायः कलाकारले एउटा धारमा चित्र कोर्ने गर्छन्। तर पुनमले भने दुवै धारका मिथक कलामा पोख्छिन्।

'जनकपुरको कलामा रंगसँग ब्रसको बढी प्रयोग हुन्छ,' उनले सुनाइन्, 'मधुवनी कलामा ब्रससँगै स्केच र लाइनको प्रयोग हुन्छन्। म यी दुवैलाई मिथिला कलामा प्रयोग गर्न रुचाउँछु।'

पुनम रंग संयोजनमा खप्पिस छिन्। प्रायः नीलो, रातो, हरियो र पहेँलो मिथिला कलाका मुख्य रंग हुन्। उनले तिनमा अरु रंगको संयोजन गरेर आफ्नो कलालाई फरकपन दिएकी छिन्। आर्टको छुट्टै विषय नपढे पनि कलामा हुने मिहीनता उनका कलाले प्रस्ट्याउँछ। उनको कलाप्रेमकै कारण यसै वर्षको राष्ट्रिय कला पुरस्कार राष्ट्रपतिका हातबाट थापिसकेकी छिन्। यसअघि ललितकला पुरस्कारबाट पनि सम्मानित भइसकेकी छिन्। प्रदर्शनीमा राखिएका उनका चित्रहरुको मूल्य १० देखि १५ हजार रुपैयाँ तोकिएको छ। मंसिर २८ देखि सुरु भएको पुनमको कला प्रदर्शनी पुस १० सम्म चल्नेछ।

प्रकाशित: ४ पुस २०७३ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App