coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

'सुर्केथैली' पछ्याउँदै 'पूर्वपश्चिम रेल'

काठमाडौं- नेपाली फिल्म वडा नम्बर ६ को 'सुर्केथली खै' गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्योभन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ। लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा 'सुर्केथैली खै' रहिरहेको छ। यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ। बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ।

'सुर्केथैली' पछ्याउँदै छक्कापन्जा फिल्मको गीत 'पूर्वपश्चिम रेल' उत्कृष्ट १० को दोस्रो स्थानमा छ। हालै ठूलो पर्दाको हलमा सयौं दिनको प्रदर्शनको खुसी छक्कापन्जाले मनाइसकेको छ। वडानम्बर ६ को गीतभन्दा धेरैपछि युट्युबमा पसेको यो गीत हेर्नेको संख्या एक करोड निकट पुग्दै छ। बिहीबारसम्म यो गीत हेर्नेको संख्या  ८५ लाख ६४ हजार ३ सय ९ पुगेको छ।

'सुर्केथैली खै' लाई युट्युबमा हेर्नेको संख्या बिहीबार साँझसम्म एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ।

लोकलयमा गाईएका यी दुवै गीत अचेल हरेक पार्टी, बिहेभोज, पिकनिक वा रमाइला कार्यक्रमका प्रमुख आकर्षण बनिरहेका छन्। यी दुवै गीतका गायक राजनराज शिवाकोटी हुन्। दुवै गीतमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन्।

युट्युबमा हिट नेपाली फिल्मको तेस्रो स्थानमा 'हाउफन्नी' को 'शिरैमा शिरबन्दी' रहेको छ। यो गीत अहिलेसम्म ६० लाख १ हजार २ सय ४१ जनाले हेरेका छन्। चौथो नम्बर फिल्म 'पुरानो डुंगा'को 'निर जहिले रिसाउने'ले ओगटेको छ। कालीप्रसाद बास्कोटाले गाएको यो गीत हेर्नेको संख्या बिहीबारसम्म ५८ लाख ९८ हजार १० पुगेको छ।

बास्कोटाले हालसम्म ६० वटा गीतमा संगीत भरेका छन्, सात वटा गीत गाएका छन्। भनेजस्तो स्वर नपाएपछि 'रेसम फिलिली' को 'पारि त्यो डाँडामा' उनले आफैं गाएका थिए। त्यो गीत निकै हिट भएपछि उनी संगीतबाट गायनमा प्रवेश गरे।

 युट्युबको चौथो नम्बरमा 'नाई नभन्नु ल ३' को 'कम्मरमाथि पटुकी' बोलको गीत छ। यो गीत हेर्नेको संख्या हालसम्म ५५ लाख ५३ हजार एक सय ५२ पुगेको छ।

पाचौं नम्बरमा 'प्रेमगीत' फिल्मको 'म यस्तो गीत गाउँछु' कायम छ। यो गीत अहिलेसम्म ४९ लाख २७ हजार ७ सय ५० जनाले हेरेका छन्।

छैटौं  नम्बरमा भने प्रशान्त तामाङले गाएको 'परदेशी' फिल्मको 'कुरा खाँटी छ' बोलको गीत छ। यो गीत हेर्नेको संख्या ४४ लाख ८७ हजार २ सय ३८  छ। यो गीतलाई रिलिज नै नभएको 'लुट टु' को 'ठमेल बजार' गीतले पछ्याइरहेको छ।  यो गीत कालीप्रसादले नै रचना गरेका हुन्। गीतमा कालीप्रसाद बास्कोटा, मीना निरौला र भानुभक्त ढकालले स्वर भरेका छन् । काठमाडौं आसपासको काठे भाका टिपेर उनले ठाडो भाकामा 'ठमेल बजार' को रचना गरे, जसल नेपाली दर्शकमाझ नौलो स्वाद भर्‍यो। छैटौं नम्बरमा रहेको यो गीत युट्युबमा हेर्नेको संख्या बिहीबारसम्म ४३ लाख ३६ हजार ७ सय ८० पुगेको छ। 

सातौं नम्बरमा एक वर्षअघि राखिएको 'अधकट्टी' फिल्मको 'तिम्रो फिगर कोकाकोला' गीत रहेको छ। यसलाई ३६ लाख ६१ हजार २ सय ९३ जनाले हेरेका छन्। नवौं नम्बरमा 'नाइ नभन्नु ल ४' को प्रेम परियारले गाएको 'मैना राजा मैना रानी' बोलको गीत छ। अहिलेसम्म यो गीत ३५ लाख ७१ हजार ८ सय ५० जनाले हेरेका छन्। दसौं नम्बर 'नाई नभन्नु ल २' को प्रेम परियारकै 'मर्ने कसैलाई रहर हुँदैन' ले ओगटेको छ। यसलाई ३४ लाख ८ हजार ४ सय ८२ जनाले हेरेका छन्।

प्रकाशित: ८ पुस २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App