coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सन्दर्भ वर्षायाम: प्रसंग उत्पादन

वर्षायाम भनेको नेपालको सन्दर्भमा उत्पादनको याम हो। कृषिमा निर्भर नेपालीहरु यही वर्षायाममा आफ्ना लागि उत्पादनको प्रक्रियामा संलग्न हुने गर्छन्। यही क्रममा असार साउन महिना भनेको धान रोप्ने समय हो भनेर एउटा संस्कृति नै बसिसकेको छ। असारे भाकाको प्रचलन, दही च्युरा खाने सन्दर्भ र पछिल्लो समयावधिमा असार १५ लाई धान दिवसका रूपमा मनाउने सरकारी निर्णय यही वर्षायामको उत्पादन प्रक्रियासँग जोडिएका संस्कृति हुन्। हामीले यी संस्कृतिलाई त निरन्तरता दिइरहेका छौँ नै, तर हाम्रो वर्षे उत्पादनको अवस्था कस्तो छ भन्ने विषयमा भने त्यति धेरै चिन्ता र चासो देखिँदैन।
राज्यको चासोको कुरा गर्ने हो भने पछिल्ला केही वर्षयता उत्पादनको क्षेत्रमा लगानी न्यून गर्दै गएको छ। सामाजिक सुरक्षाका नाममा वितरणलाई प्राथमिकता दिएर उत्पादनको क्षेत्रमा क्रमशः लगानी घटाउँदै गएको छ । यता नागरिक स्तरमा पनि हेर्ने हो भने कृषिजन्य उत्पादनमा त्यति आकर्षण देखिँदैन । खेत बाँझा छन्, युवाले हलो र हिलोलाई घृणा गरिहरहेको देखिन्छ । तर असार १५ लाई धान दिवसका रूपमा मनाउने संस्कृति भने बेजोड बन्दै गएको छ । अघिल्लो वर्षको धान दिवसमा मन्त्रीले देखाएको चर्तिकलाले यो दिनलाई रोमान्सको दिनका रूपमा लिने पनि रहेछन् भन्ने देखिन्छ भने यो पालिका कृषि मन्त्रीको कार्यक्रम हेर्दा धान दिवस केवल औपचारिकतामात्र हो भन्ने झल्कन्छ । खेतमा पस्ने र उत्पादन प्रक्रियामा जोडिनेको संख्या घट्दैछ ।
त्यसो त उत्पादन बढाउनका लागि सबैले खेतमा श्रम गर्नुपर्छ भन्ने छैन । नेपालका ८० प्रतिशत जनताले अझै पनि आफ्नो व्यवसाय कृषि लेख्ने गरेको जनगणनाको तथ्यांकले देखाउँछ । यत्रो जनसंख्या कृषिमा संलग्न हुँदा पनि नेपाल कृषिमा किन आत्मनिर्भर हुन सकिरहेको छैन त ? यो सवालको जवाफ हाम्रा नीति निर्माताले खोज्नुपर्ने देखिन्छ । जापानको कुरा गर्ने हो भने २० प्रतिशत नागरिक पनि कृषि पेशामा संलग्न छैनन् । तर, कृषि उपजमा ऊ आत्मनिर्भर छ । धेरै जनसंख्या कृषिमा लागेर मात्रै आत्मनिर्भर भइँदोरहेनछ भन्ने कुरा नेपाल र जापानको यो तथ्यांक हेर्दा थाहा हुन्छ । अब उत्पादन बढाउनका लागि उत्पादनको क्षेत्रमा स्पष्ट नीतिका साथ राज्य प्रस्तुत हुन जरुरी छ । अवैज्ञानिकरूपमा भइरहेको प्लटिङ, कृषिको क्षेत्रमा श्रम गर्नेहरुको विकर्षण, कृषिका लागि आवश्यक अत्याधुनिक औजार तथा उपकरणहरुको उपलब्धता, कृषि प्राविधिकहरुमा व्यावसायिकताको ज्ञान अभिवृद्धि जस्ता कुरा अहिलेका प्रमुख एजेन्डा हुन् र तिनलाई सम्बोधन गर्न जरुरी छ । यो पाटोलाई चटक्कै बिर्सेर नेपाली समाजको संस्कृतिको पाटोलाई मात्र स्मरणमा राख्दै औपचारिक कार्यक्रममा रमाउँदा सामाजिक सञ्जालहरुमा त त्यसको परिणाम देखिएला तर उत्पादन प्रक्रियामा भने कुनै फरक पर्ने छैन ।
नेपालमा विकासको कुरा गर्ने हो भने ठूला ठूला पक्की सडक अनि ठूला ठूला भवनलाई विकास मान्ने चलन छ । बजारका सडक चौडा पारियो र त्यहाँ ठूला ठूला घर देखियो भने यो सहरको विकास भएछ भन्ने गरिन्छ । विदेशमा जानेले पनि त्यहाँको सहर हेर्छ र सहरमा रहेका १० तले, २० तले घर, अनि चौडा सडक देख्छ र त्यही नै विकास रहेछ भन्ने मानसिकताका साथ फर्कन्छ । अनि नेपालमा गाउँगाउँमा उसले त्यस्तै चौडा सडक र तले घरहरुको परिकल्पना गर्छ विकास भन्नासाथ । यो ढंगको सोचले विकासको बहसलाई धेरै कमजोर बनाइदिएको छ । यो सोच रहँदासम्म नेपालको विकासको कल्पना गर्न सकिँदैन । यसलाई अर्को ढंगले सोचौँ । विदेशमा सहरका घर र सडकलाई नै आधार मानेर विकासको मोडेलको कुरा गरौँ । त्यहाँका घर निर्माणका क्रममा प्रयोग हुने सबै वस्तु अथवा कच्चा पदार्थ त्यही देशका उत्पादन हुने गर्छन् । त्यहाँ उत्पादनको क्षेत्रमा थुप्रै लगानी हुने गर्छ र आफैँले उत्पादन गरेका वस्तु त्यहीँको निर्माणमा प्रयोग हुन्छ । त्यहाँको सडकमा प्रयोग हुने अलकत्रादेखि सबै आवश्यक वस्तु त्यहीँका उत्पादन हुन् । त्यहाँ गुड्ने गाडी पनि त्यहीँ बन्छन् । इन्धन पनि त्यहीँको हुन्छ, नभए पनि वैकल्पिक ऊर्जाको प्रशस्त प्रयोग भएको हुन्छ । त्यहाँको लगानी त्यहीँ रहन्छ र त्यो अर्थचक्रअनुसार फेरि उत्पादनको प्रक्रियाका लागि सहयोगी हुन्छ । तर हाम्रो देशमा घर बन्दा वा सडक चौडा पारिँदा त्यसको लागत नेपालमै रहन्छ कि रहँदैन ? हामी घरको वाथरुममा प्रयोग गर्ने धारा किन्न भारतको बर्डरका बजार जाने गर्छां । हामीले एउटा तले घर निर्माण गरिरहँदा हाम्रो कति लगानी स्वदेशमै रहन्छ र कति बाहिरिन्छ भन्ने हिसाबकिताब गर्दैनौँ । एउटा घर निर्माणका क्रममा हुने लगानीको झण्डै ६८ प्रतिशत हिस्सा यो या त्यो नाममा विदेशिन्छ । सडकको कुरा पनि त्यस्तै हो ।
सडकको कुरा गर्दा त अझ बेहाल छ । नेपालका सडक मल्टिनेसनल कम्पनीका उत्पादन गाउँगाउँमा पु¥याउनका लागि सहयोगी भएका छन् । इलामको चियालाई बाहेक राखेर हेरौँ, हरेक उत्तर दक्षिण सडक चाउचाउ, बिस्कुट, कोल्डड्रिंक्स् गाउँसम्म पु¥याउन प्रयोग भइरहेका छन् । उत्तरतर्फ भरिभराउ ट्रक दिनहँु हजारौंको संख्यामा जाने गर्छन् तर फर्कंदा ती ट्रकहरु खाली हुने गर्छन् । गाउँमा उत्पादन नहुने र सबै कुरा बाहिरबाट जाने गर्दा त्यहाँको पैसा सबै बाहिरिइरहेको दृष्य उत्तर दक्षिण सडकको छेउमा उभिएर फर्कने ट्रकहरु नियाल्दा देखिन्छ । यसरी उत्पादनको क्षेत्रलाई पूर्ण बेवास्ता गर्दै कंक्रिट थुपारेर विकास गरियो भन्ने हो भने त्यो खोक्रो विकास हुन जान्छ ।
निर्वाहमुखी कृषि प्रणालीलाई हामीले धेरै लामो समयसम्म प्रयोगमा राख्यौँ । देशको ९९ प्रतिशत जनसंख्याको पेशा कृषि हो भन्ने तथ्यांक पनि सार्वजनिक ग¥यौँ । त्यो तथ्याङ्कले पनि नयाँ पुस्तामा आकर्षण थप्न सकेन र उत्पादनको महत्व झल्काउन सकेन । त्यो प्रतिशत क्रमशः घट्दै गयो । विदेशको अनुभव हेरेको आधारमा प्रतिशत घट्नु पनि समस्या होइन । निश्चित प्रतिशतले व्यावसायिकरूपमा कृषि क्षेत्रमा काम ग¥यो भने त्यसले देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सक्छ भन्ने अनुभव पनि हामीले देखेका थियौँ । त्यसैले कृषि कर्ममा संलग्न हुनेको संख्या घट्दा पनि चिन्ता भएन । तर राज्यको उत्पादन क्षेत्रमा देखिएको उदासिनताले यो क्षेत्रलाई व्यावसायिक बनाउन सकिएको छैन । राज्यले कृषकलाई न त चित्तबुझ्दो ढंगले अनुदान दिन सक्छ, न त उन्नत बीउविजनको उपलब्धताको व्यवस्था गर्न सक्छ, न मलकै व्यवस्था गर्न सक्छ । आधुनिक कृषि उपकरण र औजारहरुको उपलब्धता त धेरै परको कुरा भइसक्यो । यो अवस्थामा नयाँ पुस्ताको आकर्षण कृषिमा देखिनु आश्चर्यजनक नै हो । अहिले पनि हामी हेर्न सक्छौँ, खेतमा हलो अघिल्लो पुस्ताले जोतिरहेको छ । उसको सन्ततिले रहरले हैन, करले जोतेको होला तर यो पुस्ता अब धेरै दिन हलो र हिलोमा टिक्ने मुडमा देखिँदैन ।
वर्षायामको समय, भर्खरै औपचारिकरूपमा धान दिवस मनाएको सन्दर्भ भएका कारण यति कुरा गरियो । उत्पादनको कुनै पनि क्षेत्रको हालत यस्तै छ । उत्पादनमा जोड नदिएर कंक्रिटको थुप्रो लगाएर विकास हुन सक्दैन । त्यसैले उत्पादनलाई जोड दिने योजना र कार्यक्रमका साथ राज्य प्रस्तुत हुनै पर्छ । बिपी कोइरालाले भनेका थिए– ‘ठूला ठूला सडक र हवाईजहाजलाई म विकास मान्दिन, आफ्नै स्रोत र साधनको अधिकतम उपयोग गरी, यहीँको जनशक्तिलाई संलग्न गराई उत्पादन बढाउनु विकास हो ।’ उनको यो भनाइको गहनता आजका नीति निर्माताले पहिल्याउन सकेनन् । सूर्यबहादुर थापाले भनेका थिए– ‘बिपीले धेरै अगाडिको कुरा गर्नुभयो, उहाँको कुरा न उहाकै साथीहरुले बुझ्न सके, न नेपाली समाजले बुझ्न सक्यो। उहाँको सोच र समाजको चेतनाको स्तर नमिलेकैले उहाँ सफल हुन सक्नुभएन।’ बिपी सफल कि असफल भन्ने बहस आफ्नो ठाउँमा छ तर अहिलेको समाजले त बिपीको विकासका सम्बन्धमा आएका अवधारणा बुझ्न सक्छ । त्यो अवधारणा र विश्व बजारको प्रवाहबीचको सन्तुलन खोज्दै विकासको बहसलाई त्यतातर्फ केन्द्रित गर्न आवश्यक देखिन्छ । नेपालका सन्दर्भमा विकासको बुझाइ नै गलत छ भन्ने टिप्पणी नयाँ पुस्ताबाट आउन थालेको छ, यसमा बहस गर्दै एउटा संश्लेषणमा पुग्न जरुरी छ।

 

प्रकाशित: १९ असार २०७३ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App