७ वैशाख २०८१ शुक्रबार
कला

दुबईमा दयाहाङ र नम्रता उत्कृष्ट

अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काउँदै अभिनेता राजेश हमाल। तस्बिरः अनिल यादव

अनिल यादव

दुबई– पुस ९  दुबईमा सम्पन्न नेफ्टा अवार्डको नवौँ संस्करणमा दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए।

दयाहाङले फिल्म कबड्डी कबड्डी र नम्रताले क्लासिकबाट अवार्ड पाएका हुन् । यसैगरी गत वर्ष राम्रो समीक्षा बटुलेको फिल्म ‘पशुपतिप्रसाद’ वर्षकै उत्कृष्ट फिल्म घोषित भयो । तर, कार्यक्रममा सहभागी भएर पनि फिल्मका निर्देशक दीपेन्द्र के खनाल अवार्ड थाप्न स्टेज चढेनन् । उत्कृष्ट फिल्मको घोषणा हुनुअघि उज्ज्वल घिमिरेलाई फिल्म ‘वडा नम्बर ६’बाट उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको थियो । ‘उत्कृष्ट निर्देशक जो हुन्छ, उसकै फिल्म उत्कृष्ट हुनुपर्ने हो,’ नागरिकको जिज्ञासामा निर्देशक खनालले भने, ‘त्यसैले उत्कृष्ट फिल्मको अवार्ड थाप्न अप्ठेरो लाग्यो । मेरो विचारमा एउटा राम्रो फिल्म बन्न पहिले निर्देशक उत्कृष्ट हुनुपर्छ ।’ दीपेन्द्र स्टेज नचढेपछि ‘वडा नम्बर ६’का निर्माता दीपकराज गिरीले उक्त अवार्ड थापिदिएका थिए ।

पपुलरसहित कुल ३१ विधामा बाँडिएको अवार्ड समारोहमा ‘प्रेम गीत’ले सर्वाधिक ६ विधामा अवार्ड पायो । प्रेमकथा श्रेणीको यो फिल्मबाट संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर रेनाशा राई, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले अवार्ड थापे । यही फिल्मबाट उत्कृष्ट डे«स डिजाइनमा युबी थापाले अवार्ड पाइन् भने अभिनेत्री पूजा शर्मालाई पपुलर हिरोइनको उपाधि दिइयो ।

त्यसैगरी चलचित्र ड्रिम्स, फन्को, पशुपति प्रसाद र वडा नम्बर ६ ले तीन–तीन विधामा अवार्ड पाए । पशुपतिप्रसादले संवाद, खलनायक र उत्कृष्ट फिल्मको अवार्ड पायो भने वडा नम्बर ६ निर्देशन, कलानिर्देशन र संगीत संयोजन विधामा उत्कृष्ट चुनियो । पशुपतिप्रसादबाट  खगेन्द्र लामिछानेले अवार्ड जिते भने नकारात्मक चरित्रमा विपिन कार्की उत्कृष्ट ठहरिए । यता, फिल्म फन्कोबाट उत्कृष्ट पटकथामा सुवर्ण थापा, सम्पादनमा विपिन मल्ल र पाश्र्व संगीतमा सुजिल कर्माचार्यले अवार्ड जिते । ड्रिम्सले नवअभिनेत्री, पपुलर अभिनेता र फिल्मबाट अवार्ड पायो । साम्राज्ञीराज्य लक्ष्मी शाहले नवअभिनेत्रीको अवार्ड सोही फिल्मबाट पाए भने अनमोल केसीले पपुलर अभिनेताको अवार्ड पाए । भुवन केसी निर्देशित फिल्म ड्रिम्स पपुलर फिल्म दरियो । उत्कृष्ट गीतकारको उपाधि फिल्म ‘नाइँ नभन्नु ल ४’बाट डा. कृष्णहरि बरालले पाए ।

समारोहमा वर्ष ०७२ मा भित्रिएका नवकलाकारमध्ये पल शाह  अभिनेतातर्फ उत्कृष्ट ठहरिए । फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट पलले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।

३६ वर्षदेखि नेपाली फिल्मको भान्सामा रहेर कलाकर्मीलाई खाना खुवाउँदै आएका कुलबहादुर महत (जेठा दाइ)लाई  लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइयो । उनीसँगै नन्दबहादुर गुर्माछाने मगरलाई २५ वर्षदेखि नेपाली फिल्ममा स्पट ब्वायका रुपमा काम गर्दै आएकोमा सोही सम्मान प्रदान गरियो । दुवैलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी, समारोहमा नेपालको पहिलो फिल्म आमाका तीन अभिनेत्रीहरु भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवी सिंहलाई स्वर्णिम सम्मान प्रदान गरियो भने निर्देशक दीपाश्री निरौलालाई फिल्म ‘छक्का पन्जा’बाट प्रोत्साहन सम्मान दिइयो । दुई स्थानमा भूकम्पपीडितको वस्ती बसालेका धुर्मुस–सुन्तलीलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवाललाई पनि सिआइबीको उदाहरणीय कामको प्रशंसा गर्दै कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा मध्यपूर्वी देशमा नेपाली फिल्मको बजार विस्तार गरेको भन्दै दुबईको कन्सेप्ट भिजन फिल्म्स् प्रोडक्सन एन्ड डिस्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र सुवास सिंह ठकुरी (अनिश)लाई चलचित्र प्राविधिक संघले विशेष सम्मान प्रदान ग¥यो ।

नेपालबाट लगिएका फिल्मकर्मी र पत्रकार गरी एक सय २० जनाको टोली आइतबार स्वदेश फर्कंदै छ।
 

 

प्रकाशित: १० पुस २०७३ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App