coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

'उत्कृष्ट पूर्वाधार'मा घिस्रिँदै राष्ट्रिय खेलकुद !

विराटनगर- 'पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ। राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,' दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए।

शुक्रबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको राष्ट्रिय खेलकुद सदस्यसचिव विष्टलाई गिज्याउँदै पूर्वाञ्चलमा घिसि्रइरहेको छ। साढे दुई दशकको इतिहास बोकेको राष्ट्रिय खेलकुद सातौं संस्करणमा पुग्दा पहिलो पटक पूर्वाञ्चल आएको छ। सदस्यसचिव विष्ट पूर्वाञ्चलकै उदाउँदो सहर इटहरीका स्थानीय बासिन्दा हुन्। इटहरीलाई नै आधार बनाएर नेकपा एमालेको राजनीति गर्दै आएका विष्ट आफू खेलकुदको सर्वोच्च शक्तिशाली पदमा रहँदा पूर्वाञ्चलमा राष्ट्रिय खेलकुदको सबभन्दा ठूलो मेला आयोजनाको अवसर पाउँदा स्वभाविक रुपमा उत्साहित थिए।

इतिहासकै सबभन्दा राम्रो पूर्वाधारको उद्घोषलाई सुटिङ, क्रिकेट, तेक्वान्दो, भलिबललगायतका खेलस्थलले गिज्याइरहेका छन्।

त्यही उत्साहमा उनले मंसिर २४ मा पत्रकार सम्मेलन गरेर भावना पोखे, 'नेपालले १३ औं साग आयोजनाको तयारी गरिरहेको छ। हामीले त्यसको पूर्वाभ्यासका रुपमा यो प्रतियोगिता गर्ने तयारी गरेका छौं। सबै खेल हुने पूर्वाधारले अन्तर्राष्ट्रिय स्तरको न्यूनतम मापदण्ड पूरा गर्नेछन्। खेलाडीले पहिलाका राष्ट्रिय खेलकुदमा जस्तो यसपटक हिलो र धुलोमा खेल्नु पर्ने छैन। अहिलेसम्मकै सबभन्दा राम्रो पूर्वाधारमा यसपालीको राष्ट्रिय खेलकुद सम्पन्न हुनेछ।'

पूर्वाञ्चल आफैंमा राम्रो खेल संस्कार भएको ठाउँ हो। यहाँ वर्षेनी फुटबलका ठूला प्रतियोगिता दर्जनभन्दा बढी हुने गर्छन्। लगातार प्रतियोगिता आयोजना गरिरहेको अनुभवले पूर्वेली खेलकर्मीको व्यवस्थापनमा राम्रो दख्खल छ। खेल्ने भए हेर्ने र व्यवस्थापन गर्नेको कमी हुँदैन। निरन्तर प्रतियोगिता हुने भएकाले फुटबलका लागि कामचलाउ पूर्वाधार पनि छन्। पूर्वाञ्चलमा राष्ट्रिय खेलकुदको तयारी भइरहँदा आयोजक राखेपसामु यिनै पूर्वाधार, जनशक्ति र खेल संस्कारको फाइदा थियो।

यसकै बलमा सदस्यसचिव भावनामा पोखिएका हुन सक्छन्। तर व्यवहार उनको भावनाभन्दा ठिक उल्टो छ। इतिहासकै सबभन्दा राम्रो पूर्वाधारको उद्घोषलाई सुटिङ, क्रिकेट, तेक्वान्दो, भलिबललगायतका खेलस्थलले गिज्याइरहेका छन्।

शुक्रबार पुरुष क्रिकेटको पहिलो खेलका लागि एपिएफ र मध्य पश्चिमका टोली पुगिसकेपछि पनि बैजनाथपुरको मैदान सम्याउन डोजर व्यस्त थियो। निर्धारित समयभन्दा केही बेरपछिमात्र खेल सुरु भयो। सदस्यसचिवले भनेभन्दा उल्टो थियो मैदानको अवस्था। ३० यार्ड सर्कल बाहिर भर्खर सम्याइएको करिब दुई फिट पुरुवा माटो थियो। २० ओभर स्वरुपको खेलमा झण्डै चार घन्टा डुङडुङ धुलो उडाएपछि राष्ट्रिय टोलीका पूर्व उपकप्तान एपिएफका भेट्रान स्टार शक्ति गौचनले निराशा पोखे, 'यति झुर मैदानमा अहिलेसम्म क्रिकेट खेल्नु परेको थिएन। फिल्डिङ गर्दा कतै कतै धापमा दौडिएजस्तो हुन्थ्यो, खुट्टा गाडिएर दौडिनै नसकिने।'

'यो मैदानको लेबल ठिक छैन। त्यसैले चोट लाग्ने सम्भावना धेरै हुन्छ। हामीले खेलाडीलाई चोट नलाग्ने तरिकाले खेल्नु भनेका छौं,' नागरिकसँगको कुराकानीमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध फागुनको अन्तिम साता किर्तिपुरमा हुने खेलको प्रसंग कोट्याउँदै उनले थपे, 'राष्ट्रिय टोलीको महत्वपूर्ण खेल नजिक आइरहेको छ। यस्तोमा खेलाडी फिट रहनु अत्यन्तै आवश्यक हुन्छ। यस्तो नराम्रो मैदानमा राष्ट्रिय खेलकुद हुनु नेपाली खेलकुदको बिडम्बना हो।'

पाँच वर्षअघि नै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने तय थियो। अझ निर्धारित समयमा भएको भए सातौं संस्करण सकिएको पनि अहिले तीन वर्ष भइसक्थ्यो। तर बैजनाथपुरको क्रिकेट मैदान बनाउने काम डेढ महिना अघिमात्र सुरु भएको थियो। 'गहिरो खाडल र अग्लो झाडी भएको जग्गालाई हामीले उपलब्ध समयमा हुनेसम्म राम्रो बनाएका छौं। खेल सुरु हुने बेला मैदान बनाउन थालेर हुँदैन। पर्याप्त समय र पैसा पाएको भए यो मैदान खेल्न लायक हुन्थ्यो,' मैदान निमार्ण उपभोक्ता समितीका सदस्य एवम पुर्व खेलाडी रोशन बुढाथोकीले भने, 'हामीले डेढ महिना बीचमा पनि ३५ यार्डसम्म घाँस छाप्न भ्याएकै हो। राखेपले पैसा थपेको भए पूरै मैदानमा घाँस राख्न सकिन्थ्यो। राखेपले समय र पैसा दुवै दिएन। खेल गर्ने भनेरमात्र हुँदैन। व्यवस्थापन पनि त्यस्तै गर्न सक्नुपर्छ।'

सदस्यसचिव विष्ट भने सातौं राष्ट्रियका लागि पूर्वाधार शीर्षकमा २० लाख रुपैयाँमात्र आएकाले चाहेजति खर्च गर्न नसकेको गुनासो गर्छन्। 'त्यति रकम चुन लगाउन र मैदान खुर्किन पनि पुग्दैन। तर हामीले अन्य नियमित बजेटको सदुपयोग गरेर पूर्वाधार बनाएका छौं,’ उनले भने। 

आफ्नै बाचामा खरो उत्रन नसकेका सदस्यसचिवसँग कमजोरी ढाक्न रेडिमेड बहाना छ, 'समयमा बजेट नआएकाले छोटो तयारीका भरमा सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ। उपलब्ध बजेटमा अन्य नियमित शीर्षकका रकम समेत थपेर हामीले उत्कृष्टताका लागि कुनै कसर बाँकी राखेका छैनौं।’

क्रिकेट रंगशालासँगै बैजनाथपुरमै निर्माणाधीन सुटिङ रेन्जको अवस्था शनिबार खेल सुरु हुने दिनसम्म अत्यन्तै दयनीय थियो। हलको बाहिर प्लास्टर गर्न कामदारलाई भ्याइ नभ्याई थियो भने छानो हाल्न नभ्याएकाले बिहान ११ बजेसम्म पाल टागिँदै थियो। भित्र सुटिङका लागि टार्गेट सेट गर्ने तथा धागो तान्ने काम त सुरु समेत भएको थिएन। झारा टार्ने पारामा चलिरहेको राष्ट्रिय खेलकुदमा सुटिङको अत्यावश्यक प्राविधिक व्यवस्थापन मिलाउन प्रशिक्षकहरू ढिलैसम्म लागि परे र खेल निर्धारित समय (११ बजे) भन्दा चार घन्टा ढिलो सुरु भयो।

सुटिङ रेन्जको भवन निर्माण ६० लाख रुपैयाँ लागतमा जेठमा सुरु भएको थियो। तर राखेपकै तर्फबाट समयमा रकम निकासा नभएकाले ढिलाइ भएको स्थानीय पदाधिकारीले बताए।

यसैगरी इटहरी रंगशालामा भएको भलिबल कोर्टमा र्‍यापिस समेत ओछ्याइएको छैन भने तेक्वान्दो खेलाइने कभर्डहलको छानो पनि पालको छ।

प्रकाशित: ११ पुस २०७३ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App