उपत्यकाका इँटा उद्योग प्रदूषणमुक्त

सोमबार, ११ पुष २०७३, १० : ३८ सन्तोष न्यौपाने  | @santyneupane


काठमाडौं- काठमाडौं उपत्यकामा रहेका अधिकांश इँटा उद्योगहरू प्रदूषणमुक्त भएका छन्। गत वर्षको भूकम्पमा भत्केका चिम्नीलाई प्रदूषणमुक्त बनाउने गरी 'जिग–ज्याग' प्रविधि अनुसार पुननिर्माण गरिएपछि पहिलाजस्तो कालो धुँवा फाल्न छाडेका हुन्। परम्परागत रुपमा चल्दै आएका इँटा उद्योगलाई प्रदूषणमुक्त र ऊर्जा खपत कम गर्न बनाइएको नयाँ मोडल नै 'जिग–ज्याग' प्रविधि हो।

काठमाडौं उपत्यकाका १ सय १२ वटा इँटा उद्योगले नयाँ मोडल अनुसार आफ्ना चिम्नीलाई निर्माण गरिसकेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए। 'उपत्यकाभित्र रहेका सम्पूर्ण इँटा उद्योगहरू जिग–ज्याग मोडलमा निर्माण भइसकेका छन्,' चित्रकारले भने, 'अब काठमाडौं उपत्यकामा इँटाभट्टाबाट कालो धुँवा देख्न गाह्रो पर्छ। कहिलेकहीँ अपरेसन फेल भए बेग्लै कुरा।'

भूकम्पपछि भत्केका इँटा उद्योगलाई 'जिग–ज्याग' प्रविधिबाट निर्माण गर्दा वातावरण प्रदूषण कम भएको छ भने व्यवसायीलाई प्रत्यक्ष रुपमा बढी आम्दानी भएको छ।

गत वर्षको शक्तिशाली भूकम्पका कारण उपत्यकामा रहेका इँटा उद्योगका सम्पूर्ण चिम्नीमा क्षति पुगेको थियो। पुनर्निर्माणको यही मौकालाई अवसरका रुपमा लिँदै महासंघ, इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) र अन्य संस्थाको संयुक्त प्रयासमा इँटाभट्टाका लागि भनेर आधुनिक प्रविधिको जिग–ज्याग मोडल तयार गरेका थिए। गत असोज १४ गते तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले 'डिजाइन म्यानुअल फर इम्प्रुभ्ड फिक्स्ड चिम्नी जिग–ज्याग ब्रिक किल्नस्' भनेर उद्घाटन गरेको मोडल उपत्यकामा सम्पूर्ण उद्योगले अपनाइसकेको र देशका अन्य क्षेत्रमा यही प्रविधि अनुसरण गर्न सुरु गरिसकेको चित्रकारले बताए।

सुरुमा ९ वटा इँटा उद्योगबाट सुरु गरेको यो प्रविधि अत्यन्तै सफल भएको इसिमोडकी वायुमण्डलीय वातावरण विशेषज्ञ (एट्मोस्फेरिक इन्भयरोमेन्ट स्पेसलिस्ट) विद्या वनमाली प्रधानले बताइन्। नयाँ प्रविधि अनुसार चिम्नी निर्माण गर्दा खासगरी तीनवटा फाइदा प्रत्यक्ष रुपमा हुन्छ। पहिलो वातावरण प्रदूषण कम, दोस्रो कोइलाको खपत कम र गुणस्तरीय इँटा उत्पादन र तेस्रो भूकम्प प्रतिरोधात्मक र मजदुरलाई सुरक्षित वातावरण।

यस प्रविधि अनुसार चिम्नीभित्र जलेको कोइलाको कालो धुवाँ सिधै बाहिर निस्किँदैन। कालो धुवाँलाई फिल्टर गर्ने, कोइला राम्रोसँग जल्ने र बाहिर निस्ँिकदा  नदेखिने सेतो धुवाँ मात्र निस्कने गरी चिम्नीको निर्माण गरिएको भक्तपुर ताथलीमा श्वेतभैरव फिक्स्ड चिम्नी इँटा उद्योगका सञ्चालक राजकुमार लाखेमरुले बताए। 'यो प्रविधीबाट इँटा पोलिरहेको बेला पनि धुवाँ बाहिर निस्किएको देख्नुहुन्न,' लाखेमरुले भने, 'मैले त धुवाँ पानीमा फिल्टर हुने, स्प्रे गर्ने जस्ता थप प्रविधि पनि अपनाएको छु।'

सुरुमा निर्माण गरिएका ९ वटा इँटा उद्योगमा धुवाँको अवस्था मापन गर्दा मापदण्डभित्रै पाइएको वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधानले बताइन्। 'हामीले नयाँ प्रविधिमा निर्माण भएका इँटा उद्योगका धुवाँ नापेर परीक्षण गरिसकेका छौं,' उनले भनिन्, 'वातावरण प्रदूषण धेरै नै कम भएको छ।'

त्यस्तै, नयाँ प्रविधि अनुसार इँटा उद्योग सञ्चालन गर्दा कोइला खपत धेरै कम मात्रामा झरेको छ। नयाँ मोडलमा कोइलाको प्रयोग 'सिंगल फायरम्यान' विधिबाट गरिन्छ। 'सिंगल फायरम्यान' अर्थात कोइला पकाउन एकजनाले मात्र निश्चित मात्रामा कोइला हाल्छ।

पहिला २–३ जनाले कोइला हालेको हाल्यै गर्थे। त्यसो गर्दा कोइला राम्रोसँग जल्न पाउँदैनथ्यो। 'त्यसो गर्नु राम्रो रहेनछ,' लाखेमरुले भने, 'अहिले एकजनाले मात्र निश्चित मात्रामा कोइला हाल्छ जसले गर्दा कोइला पूर्णरुपमा जल्छ र कालो धुवाँ कम हुन्छ।'

'सिंगल फायरम्यान' विधि अपनाउँदा प्रत्यक्ष रुपमा व्यवसायीलाई फाइदा पुगेको छ। यो विधि अपनाउँदा कम्तीमा २० देखि ३० प्रतिशत कोइला बचत भएको महासंघका अध्यक्ष चित्रकार बताउँछन्। इँटा उद्योग सञ्चालनको लागि चाहिने खर्चमध्येे ४० देखि ४५ प्रतिशत खर्च ऊर्जामा मात्र खर्च हुन्छ। अहिले त्यसबाट ३० प्रतिशतसम्म बचत गर्नु भनेको व्यवसायीको लागि ठूलो फाइदा भएको चित्रकारको भनाइ छ। 'यो विन विनको अवस्था हो,' चित्रकारले भने, 'एकातिर वतावरण बच्ने अर्कोतिर व्यवसायीको खर्च पनि कम हुने।'

नयाँ विधि अपनाउँदा व्यवसायीको लागि अर्को फाइदा भनेको गुणस्तरीय अर्थात एक नम्बरको इँटा पहिलेको तुलनामा धेरै मात्रामा उत्पादन हुन थालेको छ। चित्रकारका अनुसार पहिलो इँटा पोल्दा जम्मा इँटामध्ये ६० देखि ७० प्रतिशतमात्र एक नम्बरको आउँथ्यो भने अहिले यो प्रविधिपछि ९० प्रतिशतसम्म एक नम्बरका इँटा निस्किन थालेका छन्।

त्यस्तै, नयाँ प्रविधिबाट इँटा भट्टाको संरचना बनाउँदा भूकम्प प्रतिरोधात्मक बनाउन इसिमोडले डिजाइन तयार गरेको छ। भूकम्पकै कारण अधिकांश इँटा भट्टा भत्केकाले उद्योग र कामदारको सुरक्षालाई ध्यानमा राख्दै भूकम्प प्रतिरोधात्मक संचरना निर्माण गरिएको छ। नयाँ संरचना ८ रेक्टरस्केलसम्म थाम्न सक्ने गरी निर्माण गरिएको विद्या वनमाली प्रधानले बताइन्। पहिला चिम्नीलाई माटो जोडेर बनाइन्थ्यो भने अहिले सुधार गरेर सिमेन्ट जडानबाट बनाइएको छ। 

भूकम्प प्रतिरोधात्मकका साथै मजदुरमैत्री वातावरण पनि बनेको छ। मजदुरका लागि काम गर्न सजिलो, आगोमा धेरै बस्नु नपर्ने, खुला ठाउँ, प्रदूषण कमले गर्दा मजदुरको स्वास्थ्य र सुरक्षामा सुधार भएको व्यवसायी बताउँछन्।

उपत्यका बाहेक विराटनगर, वीरगन्ज, भैरहवा, महेन्द्रनगर लगायत ठाउँमा पनि नयाँ प्रविधिबाट इँटा उद्योग निर्माण सुरु भइसकेको चित्रकारले बताए। उपत्यकाबाहिरको लागि भने अलि अप्ठेरो भइरहेको र देशभरमा जसरी तालिम दिनुपर्थ्यो त्यो हुन नसकेको उनको भनाइ छ।

पछिल्लो समय बेलायती सहयोग नियोग (डिएफआइडी) को आर्थिक र इसिमोडले कार्यान्वयन चरणमा सहयोग गर्ने गरी देशभरमा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको चित्रकारले जानकारी गराए। '३–४ वर्षमा देशभरका सबै इँटा उद्योगलाई नयाँ प्रविधिमा लैजाने योजना अनुसार काम सुरु हुन लागेको छ,' चित्रकारले भने, 'बाहिरी जिल्लामा यो अलि गाह्रो काम पनि छ।'

अर्को चरणमा देशभरका कम्तीमा ८० प्रतिशत इँटा उद्योगलाई नयाँ डिजाइनमा लैजाने योजना रहेको इसिमोडकी वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधानले बताइन्। महासंघका अनुसार देशभरमा फिक्स्ड चिम्नी भएका ८ देखि ९ सय इँटाभट्टा छन्। यसबाहेक केही भुसे इँटाभट्टा पनि सञ्चालनमा छन्।   







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...