coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोषण सुरक्षासँगै आम्दानीको दरिलो माध्यम बन्दै घरबगैंचा

पात्लेखेत (काभ्रे)- कुनै समय थियो, पात्लेखेत–८, कल्छेबेसी गाउँका बासिन्दा किनमेल र काम विशेषले नजिकैको पाँचखाल बजार पुगेका बेलामा तरकारी किनेर ल्याउँथे। त्यही तरकारीले धेरै छाक टार्दथे।

यतिखेर स्थिति ठ्याक्कै फेरिएको छ। सबै गाउँलेले बासस्थानसँगै घरबगैंचा बनाएका छन्। सागसब्जी, तरकारी, फलफूल, मसलाहरु फलाउँछन्। आफू खान्छन्। बचेखुचेको बजारमा लैजान्छन्।

यो क्रम चलेको धेरै वर्ष भएको छैन। यसअघि बजारको भरमा भान्छा हाँकिरहेका कल्छेबेसीका गृहिणीको व्यवहार कसले फेरिदियो त?

‘तीन वर्षअघि सिप्रेडका प्राविधिक हाम्रा गाउँमा आउनुभयो। हामीहरुले गर्दै आएको खेती किसानीमा धेरै कुरा सुधार गर्न सकिने तालिम दिनुभयो। सुरुमा पत्याउनै मुस्किल भयो,’ तल्लो टोलकी नानीमैयाँ ढुंगानाले भनिन्।

पाँचखालको होक्सेबाट ३३ वर्षअघि कल्छेबेसीमा बस्दै आएका ढुंगाना परिवारले तीन दशक नसोचेको हण्डर खानु पर्‍यो। हपहपी गर्मी, हिउँद लाग्नासाथ जताततै पानीको अभाव। खेतीका नाममा अन्नबाली मात्रै। हरियोपरियो सागसब्जी त देख्नै मुस्किल।

अब ती दिन फेरिएको ढुंगानाको भनाइ छ। ‘के खानेकुरा खानुपर्छ भन्ने थाहा थिएन। सधैंभरि एकैनासको खाना खाने गथ्यर्ौं। छोरा हुर्काउँदा जसोतसो हुर्काइयो। अहिले नाती हुर्काउँदा उनीहरुलाई तागत पुग्ने सबै खानेकुरा, सागसब्जी, फलफूलजस्ता चीजबीज घरबगैंचाबाटै पाइएको छ,’ उनले थपिन्।

घरबगैंचामा उपलब्ध फरक–फरक पौष्टिक तत्व भएका खानेकुराको नियमित सेवनले बालबच्चामात्रै नभई आफूमा पनि परिवर्तन आएको ढुंगानाको अनुभूति छ। ‘केही समय पहिले गाउँ घुम्न पाहुनाहरु आउनुभएको थियो। उहाँहरुले मेरो उमेर सोध्नुभयो। मैले ५४ पुगें भन्दा मेरो अनुहार हेरेर उहाँहरुले पत्याउनु नै भएन। खानपानमा राम्रो भएर हो कि!’ उनले भनिन्।

अघिल्ला तीन वर्षको दाँजोमा कल्छेबेसीका महिला तथा बालबालिकाको पोषणको अवस्था निक्कै सुधि्रएको पात्लेखेत स्वास्थ्य चौकीको अभिलेखले समेत पुष्टि गरेको छ। ‘विशेषगरी गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिकाको तौलको अनुगमन प्रतिवेदनले समेत सुधार आइरहेको देखाएको छ। सन्तुलित आहार नियमित उपलब्ध भएर होला, कुपोषणको अवस्था घटेको छ। स्थानीयको पोषण सुरक्षाको स्थितिमा सुधार आएको देखिन्छ,’ हेल्थ असिस्टेन्ट महेश भट्टराईले भने।

पात्लेखेत गाविसको माथिल्लो भूभाग हुँदै गएको बिपी राजमार्ग आसपासको अवस्था देख्दा जो कोहीले पूरै गाउँ समृद्ध देखेर दंग पर्छन्। तर, यही गाविसको पुछारमा रहेको पात्लेखेतकै कर्णाली भनिने कल्छेबेसीको व्यथा कसैले बुझेको थिएन।

यही गाउँलक्षित गर्दै इसिमोडअन्तर्गतको हिमालयन जलवायु परिवर्तन अनकूलन कार्यक्रम (हाइक्याप)को सहयोगमा सिप्रेडले तीन वर्षदेखि अनुकूलनका विभिन्न उपायलाई प्रयोगमा ल्याइरहेको हो।

‘जलवायुमैत्री गाउँ (रेजिलेन्स माउन्टेन भिलेज–आरएमभी) कार्यक्रम लिएर कल्छेबेसी पुग्दा सुरुमा उहाँहरुले पानी नै नहुने ठाउँमा कसरी खेती हुन्छ भनेर सहभागी हुनसमेत आनाकानी गर्नु भएको थियो,’ सिप्रेडका कृषि प्राविधिक सुमिता बस्नेतले विगत सम्भि्कइन्।

परीक्षणकै क्रममा भएकाले एकैपटक धेरै जग्गामा गर्दा सम्भव नहुने र सिकाउनसमेत समस्या हुने भएकाले सुरुमा घरबगैंचा बनाउने अभियानलाई जोड दिइएको उनको भनाइ छ, ‘जुठेल्नुबाट खेर गइरहेको पानीलाई केन्द्रबिन्दु बनाएर कार्यक्रम थाल्यौं। लुगा धुँदा र नुहाउँदा निस्कने पानीसमेत संकलनबाट घरबगैंचामा सिँचाइ पुर्‍यायौं। सिँचाइले तरकारीलगायत बाली राम्ररी सप्रन थालेपछि बिस्तारै उहाँहरुले पत्याउन थाल्नुभयो,’ बस्नेतले भनिन्।

सिप्रेडले तल्लोटोलकी ढुंगानाकै घर वरिपरिको एक रोपनी जमिनमा घरबगैंचा कार्यक्रमबाट पाइला चालेको थियो। यस काममा जुठेल्नुबाट खेर गइरहेको पानीले प्रमुख भूमिका खेल्यो। सिप्रेडले यसलाई ‘वाटर स्मार्ट टेक्नोलोजी’ का रुपमा परिचित गराउँदै आएको छ।

‘कुरा त सानै रहेछ। तर, बु‰दै जाँदा यसले ठूलो काम गर्दो रहेछ। पानीको जोहो गर्नुपर्छ भन्ने ज्ञान पाएपछि नुहाएको, लुगा धोएको, भाँडा माझेको पानी जम्मा गर्न थाल्यौं। यही पानीले घरबगैंचा हराभरा हुन थाल्यो,’ ढुंगाना भन्छिन्।

बगैंचा वरिपरि रहेका पुराना आँप, लिची, हलुवाबेद, अम्बा, मेवाजस्ता फलफूलका बोटको स्याहारसुसार बढाइएको उनको भनाइ छ। ‘केरा, अमला, अनार, कागती, उखु रोपियो। सिमी, बोडी, काउली, ब्रोकाउली, गान्टेमूला, मूला रातो–सेतो, बन्दागोभी, धनियाँ, चम्सुर, पालुंगो, बकुल्ला, काँडे रायो, रातो रायो, गोलभेंडा, आलु रोपियो। मसलाका लागि धनियाँ, बेसार, अदुवा, अलैंची, लसुन, प्याज लगाइयो। बाबरी, तुलसीका साथै विभिन्न फूलहरु रोपियो। बस्तुभाउ छँदै थिए, मौरीघार थपियो,’ घर वरिपरिको स्वरुपको वर्णन गर्दै ढुंगानाले भनिन्।

रोग किरा नियन्त्रणमा पहिलाझैं रासायनिक विषादीको प्रयोग गर्न समेत छाडेको ढुंगानाको भनाइ छ। ‘राम्रो उब्जनीका लागि झोलमल प्रयोग गर्ने गरेका छौं। माटोमुनिको कीरा नियन्त्रण र मलको कामका निम्ति झोलमल–१, ढुसी, विभिन्न रोग र कीरा नियन्त्रणका लागि झोलमल–२ र किरा, झुसिल्किरा, पात खाने किरा नियन्त्रण गर्न झोलमल–३ को प्रयोग गर्दै आएका छौं,’ उनले थपिन्।

आरएमभी कार्यक्रमकै अर्को आयाम खाद्य तत्व व्यवस्थापन प्रविधिअन्तर्गत ढुंगाना र उनका छिमेकीले गोठ सुधार गरेका छन्। पशुबस्तुको मुत्र संकलन गर्न पोखरी बनाएका छन्। ‘तीनवटै तरिकाको झोलमल घर–घरमा आफैंले तयार गर्दै आएका छौं। गाउँमै पाइने तीतेपाती, बनमारा, खिर्राे, सिस्नु, मेवाको पात, गाइभैंसीको गहुँत, पानी, जिवातु (सुक्ष्म जीवाणु) प्रयोग गर्छौं। मल र विषादी किन्नु नपर्दा खर्च पनि जोगिएको छ,’ उनले भनिन्।

परिवारले खाएर र कोसेली पठाएपछि बचेखुचेको उब्जनी बेचेर ढुंगानाले घरबगैंचाबाटै अघिल्लो सिजनमा ५० हजार रुपैयाँ आम्दानी गरिन्। यसबाट उनी अझै हौसिएकी कृषि प्राविधिक सुमिता बस्नेतको भनाइ छ।

‘यदि व्यावसायिक खेतीको उत्पादन बेच्ने भए उहाँ एक्लैले निर्णय गर्नु हुन्थेन। घरबगैंचा थोरै खर्चको परियोजना भएकाले आँट गर्नु भएको हो। उब्जाउ भएका सागसब्जी, तरकारी र फलफूल केही मात्रामा खानुभयो। केही किलो कोसेली पठाउनुभयो। उब्रिएको चिजबिज बेच्न कोही डराउँदैनन् भन्ने उदाहरणले महिलाको निर्णय क्षमता समेत बढेको छ,’ उनले थपिन्।

आहारमा विविधता, पारिवारिक पोषण सुरक्षा र उपभोगपछि बाँकी रहेको उत्पादन बेचेर आम्दानीसमेत हुन थालेपछि कल्छेवेंशीमा घरबगैंचा अभियानले व्यापकता लिन थालेको छ। ढुंगानाका छिमेकी महिलाले पनि यस कार्यलाई सहजै अपनाउन थालेका छन्। ‘थोरैथोरै तरकारी बेच्न लैजानलाई लाज लाग्थ्यो। सुमिता मिसले धेरै कर गर्नु भएपछि बेच्न लगेँ। बेसिजनमा उब्जाएको धनियाँ, सागबाट राम्रै आम्दानी भयो। जुकिनी फर्सीमात्रै २५ हजारको बेचें,’ मिठु तिमल्सिनाले सुनाइन्।

तल्लो टोलकै हरिमाया पाण्डेले झोलमलको प्रयोगबाट घरबगैंचामा ७ किलोसम्मको काउली फलाउन सफल भइन्। एक रोपनी क्षेत्रफलको घरबगैंचामा बचेखुचेको तरकारी बेचेरै ५४ हजार रुपैयाँ आम्दानी लिन सफल भइन्। यतिखेर पाण्डेजस्तै कल्छेबेसीका २४ घरधुरीले घरबगैंचाको मद्दतबाट पोषण सुरक्षाका साथै आयआर्जनसमेत गरिरहेका छन्। प्रत्येक घरबगैंचामा तरकारी, मसला, फलफूल, जडिबुटी, घाँस गरी कम्तीमा ११ देखि २५ थरिका प्रजाति लगाइएको छ।

एक अध्ययनले नेपाली विपन्न किसान परिवारको खाद्य तथा पोषणसुरक्षा जोखिमपूर्ण अवस्थामा रहँदै आएको देखाएको छ। यस्ता जोखिममा रहेको परिवारलाई घरबगैंचाको माध्यमबाट पोषण सुरक्षा दिन सकिने विज्ञको भनाइ छ।

‘खेतीपातीमा आधारित किसान तरकारी किन्नकै लागि बजारसम्म जाँदैनन्। सधैंभरि खर्च गर्ने हैसियत पनि हुँदैन। घरबगैंचामा परिवारलाई आवश्यक पर्ने तरकारी तथा फलफूलको उत्पादन हुँदा पोषण सुरक्षाको प्रत्याभूति हुने नै भयो। किन्नका लागि बजारसम्म जाने समय र रूपैयाँको बचत भयो भने बचेखुचेको बेच्दा थप आम्दानी पनि लिन सकिने भयोे,’ इसिमोडका इकोसिस्टम म्यानेजमेन्ट विज्ञ लक्ष्मीदत्त भट्टले भने।

घरबगैंचाको तरकारी र खाद्यवस्तुले दैनिकी चल्ने र आम्दानी हुने भएपछि दैनिक खेती किसानीमा व्यस्त हुने महिला बढी खुसी देखिन्छन्। ‘दिनभरि मेलापातबाट थाकेर आएका हुन्छौं। खेत टाढा छ, कहाँ पुग्न सक्नु। खुर्रर गयो, घरबगैंचाबाट तरकारी टिपेर ल्यायो, ओइरियो। केटाकेटीले पनि टिपेर ल्याउन सक्छन्। हामीलाई सजिलो पनि भएको छ,’ कमला तिमल्सिनाले भनिन्।

कल्छेबेसीका २४ घरधुरीबाट महिलामात्रै समूहमा आवद्ध भएका छन्। संस्थागत पहिचानका लागि श्रमजीवी महिला कृषक समूहलाई जिल्ला कृषि विकास कार्यालयमा दर्ता गराएका छन्। पछिल्लो समय धारालगायत वर्षातको पानी समेत संकलन गर्न सिकेका उनीहरुले व्यावसायिक रुपमै तरकारी खेती समेत गर्न थालेका छन्।

‘व्यावसायिक रुपमै तरकारी खेती अलग पाटो रह्यो। यसका लागि महिला पुरुष दुवै मिलेर योजना बनाउँछौं,’ समूहकी अध्यक्ष बिमला बजगाईंले भनिन्, ‘तर, आफ्नो परिवारका लागि बाह्रै महिना उपलब्ध हुने, सबै खालको पोषक तत्व पाइने खालको बालीहरु कहिले लगाउने, कति महिना खानलाई र कति महिना बेच्नका लागि भनेर बालीपात्रोसमेत बनाएका छौं।’

सांस्कृतिक र जातीय मूल्य मान्यता राख्ने बालीका प्रजातिलाई सम्बर्द्धन गर्न र स्थानीय तथा कम प्रयोगमा आएका बाली विविधिताको अनुसन्धान, संरक्षण तथा प्रवर्द्धन गर्न पनि घरबगैंचाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने सिप्रेडका जिल्ला संयोजक रोशन सुवेदीको भनाइ छ, ‘घरबगैंचाले महŒवपूर्ण स्थानीय कृषिबाली र बन प्रजातीको संरक्षण गरी जैविक विविधताको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ,’ उनले थपे। नेपाल सरकारको कृषि विकास रणनीति, तथा बहुआयामिक पोषण योजना २०१३–२०१७ ले समेत खाद्य तथा पोषण सुरक्षालाई जोड दिएको सन्दर्भमा घरबगैंचाले कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सक्ने सुवेदीको भनाइ छ।

विश्वव्यापी जलवायु परिवर्तनका सन्दर्भमा जोखिमपूर्ण परिस्थितिमा रहेका समुदायको सम्भावित खतरा कम गर्नसमेत घरबगैंचामा आधारित जैविक विविधता व्यवस्थापन प्रणालीले मद्दत गर्ने इसिमोडका इकोसिस्टम म्यानेजमेन्ट विज्ञ भट्टको भनाइ छ। ‘माटो, पानी, उर्जा र अन्य स्रोतको दिगो उपयोगका लागि बहुपक्षीय तरिकाले स्थानीय तहबाटै विभिन्न प्रयासको थालनी हुन थालेको छ। जलवायु मैत्री गाउँका लागि अनुकूलनको यो नै एउटा स्पष्ट मार्गचित्र हो,’ उनले भने।

प्रकाशित: ११ पुस २०७३ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App