coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भद्रगोल र विवादले हदै फितलो

विवादित खेल सकिएपछि पश्चिमाञ्चल पुरुष भलिबल टोलीलाई सुरक्षित स्थानतर्फ लैजाँदै सशस्त्र प्रहरी। तस्बिर: चुमन बस्नेत

विराटनगर-  रेफ्रीको निर्णयमा असहमत पश्चिमाञ्चलका एक खेलाडीले मंगलबार रेफ्रीमाथि हातपात गरे।

– मंगलबारै भलाद्मी खेल क्रिकेटको महिला फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफले खेल परित्याग गर्दा पूर्वाञ्चलले स्वर्णपदक जित्यो ।

– निर्णायकको निर्णयमा विरोध जनाउँदै आर्मीका खेलाडीले आइतबार घन्टौं करातेका खेल अवरुद्ध पारे ।

पूर्वाञ्चलमा अत्यन्तै अव्यवस्थित रुपमा जारी सातौं राष्ट्रिय खेलकुदमा बेथितिका उदाहरण यत्तिमै सीमित छैनन् । व्यवस्थापनले टाई–सिटअनुसार खेल नगराउँदा एथलेटिक्समा सोमबार आयोजक र सहभागी टोलीबीच विवाद भएको थियो । किक बक्सिङमा विवादको बहानामा व्यवस्थापनले ६० केजी तौल समूहको फाइनल खेलाउनै सकेन । सेमिफाइनल जितेका खेलाडी फाइनल नखेली फर्किनुपरेको छ ।

‘विद्यालय प्रतियोगिताको स्तरमा राष्ट्रिय खेलकुद गरेपछि यस्ता बेथिति भोगिरहनुपर्छ,’ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव एवं करातेका निर्णायक दीपक श्रेष्ठको गुनासो छ, ‘राष्ट्रिय खेलकुद परिषद्ले यसलाई राम्ररी गर्न चाहेको देखिएन । पदाधिकारी जसरी पनि राष्ट्रिय खेलुकद सक्न मात्र चाहन्छन् । परिषद्ले नै महŒव नदिएकाले राष्ट्रिय खेलकुदलाई खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री सबैले हल्का रुपमा लिएका छन्, सबै माथिबाटै बिग्रिएको छ ।’

रेफ्रीको निर्णय चित्त नबुझेपछि पश्चिमाञ्चल भलिबल टोलीका उपकप्तान संजुसिंह राणाले मंगलबार रेफ्री विनय राईमाथि हातपात गर्दा प्रतियोगिता अन्योलमा परेको थियो । त्रिभुवन आर्मी क्लबविरुद्ध सेमिफाइनल खेल सकिनासाथ विपक्षी टोली तथा निर्णायकसँग हात मिलाउने क्रममा राणाले रेफ्रीलाई मुक्याएका थिए ।

सेनाले ३–१ सेटमा जित हासिल गरेको खेलको अन्तिम सेटमा रेफ्री राईले राणालाई चेतावनीस्वरुप पहेंलो कार्ड देखाएका थिए । खेलमा अपशब्द प्रयोग गरेबापत् उनले पहेंलो कार्ड हेर्नुप¥यो । अन्तिम सेटमा राणाले चेतावनी पाउँदा आर्मी १६–६ ले अघि थियो । पूरा खेल अवधिभर अत्यन्तै आक्रोशित राणाले खेल सकिनेबित्तिकै इटहरी रंगशालाको भलिबल कोर्टमा रेफ्रीलाई हात हाले ।

रेफ्री संघले तत्काल बैठक गरेर राणा तथा उनको टोली पश्चिमाञ्चललाई आवश्यक कारबाही नगरे फाइनल नखेलाउने निर्णय ग¥यो । ‘रेफ्रीबाट गल्ती हुनसक्छ तर खेलाडी अनुशासनमा बस्नुपर्छ । रेफ्रीको सुरक्षा ग्यारेन्टी नहुने र खेलभावना पालना नगर्ने हो भने राष्ट्रिय खेलकुद गर्नुको अर्थ रहन्न,’ खेलाडीको ‘सिकार’ बनेका रेफ्री राईले नागरिकसँग भने, ‘त्यो खेलाडी पहिल्यैदेखि अनुशासनहीन थियो । झापाको धाइजनमा हालै भएको राष्ट्रिय स्तरको प्रतियोगितामा पनि उसले यस्तै झगडा गरेको थियो ।’

पश्चिमाञ्चल टोलीका एक पदाधिकारीले पनि आफ्ना खेलाडीबाट अनुशासनहीन व्यवहार भएको स्विकारे । ‘रेफ्रीको निर्णय सही थिएन तर हामीसँग त्यसलाई मान्नुको विकल्प हुँदैन । चित्त नबुझेको निर्णयप्रति हामी अपिल गर्ने तयारीमा थियौं । खेलाडीले उत्तेजित भएर गल्ती गर्दा हामी तल परेका छांै,’ ती अधिकारीले भने ।

उपाध्यक्ष याम गुरुङले भने मंगलबार खेलाडीलाई गरिएको कारबाही नेपाल भलिबल संघको आधिकारिक नभएको बताए । उनले भने, ‘खेलाडीले अनुशासनहीन काम गरेकाले अर्को खेल खेल्न नपाउने कारबाही गरिएको हो । तर एक वर्षसम्म प्रतिबन्ध लगाउन संघले कुनै आधिकारिक निर्णय गरेको छैन । त्यसबारे संघको पूर्ण बोर्ड बैठकले निर्णय गर्छ ।’

उपाध्यक्ष गुरुङले रेफ्री कमिसनका संयोजक गौतमप्रसाद लासिबाले खेलाडीलाई एक वर्ष संघले गर्ने प्रतियोगिता खेल्न नपाउने गरी कारबाही गर्न मौखिक जानकारी गराएको बताए । उनले भने, ‘रेफ्री कमिसनले मौखिक रुपमा संघलाई बताएको छ । लिखित रुपमा पत्र पठाए हामी संघको बैठकमा छलफल गरेर निर्णय गर्छौं ।’

भलिबलमा खेलाडीले रेफ्री पिटेको एक घन्टा नबित्दै इटहरीमै विभागीय टोली एपिएफले महिला क्रिकेटमा खेल परित्याग गर्दा राष्ट्रिय खेलकुदको छवि थप धुमिल बन्यो । पूर्वाञ्चलविरुद्धको महिला क्रिकेट फाइनलमा २ विकेट हातमा रहँदा एपिएफलाई ६४ रनको लक्ष्य पूरा गर्न ९ बलमा ९ रन चाहिएको थियो । पूर्वाञ्चलकी कविता गौतमको बलमा रितु कनौजियाको सटले विवाद निम्त्यायो । उनको प्रहार बाउन्ड्रीमा रहेकी फिल्डर अप्सरी बेगमले डाइभ गरेर चौका जोगाइन् । भलाद्मीको खेलमा अम्पायरले प्रस्ट नदेख्दा वा थर्ड अम्पायर नहुँदा अम्पायरले सम्बन्धित फिल्डरसँग सोध्ने प्रचलन छ । क्रिकेटमा फिल्डरले ढाँट्दैन भन्ने विश्वास गरिन्छ । विपक्षी टोली र अम्पायरले पनि त्यसलाई मान्ने गर्छन् । त्यसैले क्रिकेटलाई भलाद्मीको खेल भनिएको हो ।

अम्पायर अधिप प्रधानले फिल्डरलाई सोधे । फिल्डरले चौका नभएको बताएपछि एपिएफले त्यो बलमा दुई रन मात्र जोड्न सक्यो । त्यसपछिका दुई बल कविताले वाइड फालिन् । अब एपिएफलाई जितका लागि ८ बलमा ५ रन जोडे पुग्ने भयो । प्लेयर बक्सबाट छाड्न दबाब आएपछि खेलाडीले मैदान छाडे र पूर्वाञ्चल स्वर्णपदकको हकदार बन्यो ।

चौकाको विवादमा एपिएफले खेल परित्याग गरेको बताए पनि त्यसपछि टोलीले दुई बल खेलेको थियो । खेल परित्याग गरे पनि एपिएफले उपविजेताको पदक भने थापेको थियो । त्यसअघि पूर्वाञ्चलले १८.४ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । एपिएफले खेल परित्याग गर्दा पनि खेल १८.४ ओभरमा सकिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर दुर्गानाथ सुवेदीले भलाद्मीको खेलमा विवादका कारण मैदान छाड्नु गलत भएको बताए । ‘यस्तो अवस्थामा सबै अम्पायरले फिल्डरलाई नै सोध्ने हो । एपिएफका खेलाडीलाई पनि यो थाहा हुनुपर्छ । उनीहरुले त्यो विवाद भएपछि पनि तीन बल खेलेका छन्,’ सुवेदीले भने ।

दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण जितेर कीर्तिमान बनाएका स्टार तेक्वान्दो खेलाडी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले व्यवस्थापन, निर्णायक, खेलाडीलगायत सबै पक्षले यसपाली राष्ट्रिय खेलकुदमा राम्रो काम नगरेको अनुभव सुनाए । ‘व्यवस्थापनले मिठा भाषण गरे पनिसाँचो अर्थमा खेललाई महŒव दिएको छैन । राष्ट्रिय खेलकुद खेलाडीका लागि ठूलो चाड हो तर व्यवस्थापकहरु यसलाई कर्मकाण्डी बनाउन चाहन्छन्,’ अनुशासन मिच्ने जोकोहीलाई पनि कडा कारबाही गर्नुपर्ने बताउँदै उनले थपे, ‘कमजोर निर्णय गर्ने निर्णायकलाई पनि कारबाही हुनुपर्छ तर त्यसको अर्थ खेलाडीले निर्णायकलाई हात हाल्ने, खेल रोक्ने वा खेल छाड्ने होइन । खेलकुदमा अनुशासन सबभन्दा महत्वपूर्ण कुरा हो । यहाँ सबै समस्याका वैधानिक समाधान छन् । प्रशिक्षकले आफ्ना खेलाडीलाई अनुशासनमा राख्न सक्नुपर्छ । अनुशासनमा नबस्नेलाई कडा कारबाही गर्नुपर्छ ।’

दुई दिनअघि विराटनगरको पुरुष टिम कातामा आर्मी र सशस्त्र प्रहरीबीच प्रतिस्पर्धा हुँदा निर्णायक समूहको निर्णयमा असहमति जनाउँदै आर्मीको टोलीले विरोध गर्दा घन्टौं खेल अवरुद्ध भएको थियो । विष्टले खेलाडी र निर्णायकलाई मात्र दोष दिएर कमजोर व्यवस्थापनको जिम्मेवारीबाट उम्किन नमिल्ने बताए । किक बक्सिङको पुरुष ६० केजीमा विवादका कारण व्यवस्थापनले फाइनल नै खेलाउन नसकेको प्रसंग कोट्याउँदै उनले प्रश्न गरे, ‘सेमिफाइनल जितेको खेलाडी फाइनल नखेली घर फर्किनुपर्नेसम्मको लाजमर्दो अवस्था छ यहाँ । त्यो खेलाडीले घर फर्किएर के भन्ने ? व्यवस्थापनले यसको जवाफ दिनुपर्दैन ?’

धरानमा सोमबार आर्मीका बद्री थापामगर र मध्यमाञ्च्लका सन्तोषकुमार लामाबीचको सेमिफाइनल विवादित भएपछि फाइनल स्थगित गरिएको थियो । अर्को सेमिफाइनलमा पूर्वाञ्चलका गोपाल सिंहले सुदूरपश्चिमका दिपेश थापालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । तर बद्री र सन्तोषकुमारबीचको सेमिफाइनलका पहिलो दुई राउन्ड बराबर भयो ।

तेस्रो राउन्डमा अनिवार्य निर्णय आउनुपर्ने नियम भए पनि निर्णायकले बराबरी गराए । पछि, मध्यमाञ्चललाई विजयी घोषित गरियो तर सेनाले निर्णय नमान्दा इभेन्ट नै विवादमा प¥यो । फाइनल अनिश्चितकालका लागि स्थगित गरियो । नेपाल फुल कन्ट्याक्ट कराते महासंघले यस विषयमा अझैसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलकुदमा स्थापनाकालदेखि नै अनुशासनहीनता व्याप्त रहेको तर्क गरे । ‘अनुशासनहीनता नेपालमा मात्र होइन, ओलम्पिकमा पनि छ । यसपालि मात्र भएको होइन, पहिले पनि भइरहन्थे,’ उनले नागरिकसँग भने । यसलाई एउटा सिस्टममार्फत दण्डनीय बनाउनुपर्ने उनले औंल्याए ।

‘हामी अनुशासनहीनता नहोस् भन्ने चाहिरहेका छौं,’ अनुशासन मिचिनुलाई नियमित प्रक्रियाका रुपमा बयान गर्दै विष्टले भने, ‘पुलिस छ भनेर चोर नहुने होइन । हाम्रोमा पनि नियम छ, दण्ड छ, सजाय छ, तर पनि यस्तो हुन्छ । यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ ।’

किक बक्सिङमा एउटा बाउट थाँती रहेको विषयमा उनको भनाइ थियो, ‘कतिपय खेलमा विवाद भइरहन्छ । कन्ट्याक्ट गेममा समस्या भइरहन्छ । बलमिच्याइँ गरेर खेलाडी र रेफ्री ल्याउने संस्कार संस्कृति अगाडि नै हुर्किएको हो । यसपालि मैले यसलाई धेरै निरुत्साहित गरेको छु । मैले सोचेजति विवाद भएको छैन । फुल कन्ट्याक्टको हकमा हाम्रो प्राविधिक समितिले निर्णय गर्छ ।’

भलिबलमा खेलाडीले रेफ्री पिटेको घटनालाई सदस्यसचिव विष्टले ‘ठूलो समस्या’ नभएको बताए । ‘सम्बन्धित खेलाडीले कागज गरेको भन्ने सुनेको छु र भलिबल संघले कारबाही प्रक्रिया अगाडि बढाउने भनेको छ रे ! मसम्म आधिकारिक रुपमा केही आएको छैन । यो ठूलो समस्या होइन ।’

 

 

 

प्रकाशित: १३ पुस २०७३ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App