coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो सहभागितामै स्वर्णमा ह्याट्रिक

इटहरी- कांस्य पदकसम्म जित्ने लक्ष्य लिएर सातौं राष्ट्रिय खेलकुदको ट्र्याकमा उत्रेका त्रिभुवन आर्मीका सोमबहादुर कुमाल पहिलो सहभागितामै स्वर्ण पदक जित्दा औधी दंग छन्। तर उनी एउटा स्वर्णमा नै रोकिएनन्, बरु स्वर्ण पदकको ह्याट्रिक गरेपछि मात्र सुस्ताए।
सोमबहादुरले मंगलबार ४ सय मिटर दौडमा स्वर्ण पदक जितेसँगै एथलेटिक्समा स्वर्ण पदकको ह्याट्रिक पूरा गरे । उनले निर्धारित दूरी ४९.६८ सेकेन्डमा पार गरे । उनले ४ चार सय मिटरसँगै एथलेटिक्सतर्फ पुरुष ८ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौडमा पनि स्वर्ण पदक जिते । तेस्रो स्वर्ण जितेपछि उनले मंगलबार दिउँसो भने, ‘मैले आज जे उपलब्धी हासिल गरें, त्यो सबै संगठनले दिएको सुविधा अनि हौसलाले सम्भव भएको हो । त्यसैले नै म पहिलोपल्टको सहभागितामै तीन स्वर्ण पदक जित्न सफल भएँ।’
 गोरखाका सोमबहादुर २०६९ सालमा सेनामा भर्ती भएका हुन् । सेनामा भर्ती हुनुअघि स्कुले जीवनमा उनी फुटबललाई प्राथमिकता दिन्थे, त्यसपछि मात्र एथलेटिक्समा भाग लिन्थे । त्यही भएर होला उनी स्कुल खेलकुदमा उनी कहिल्यै उत्कृष्ट हुन सकेका थिएनन् । ‘जब आर्मीमा भर्ना भएँ अनि खेलकुदका लागि आवश्यक सबै सुविधा पाएर अहिले यस्तो सफलता हात पार्दा ज्यादै खुसी लागेको छ,’ उनले भने ।
सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत भएका इभेन्टमा सेना नै शीर्ष स्थानमा छ । मंगलबार नै भएको ४ सय मिटर दौडमा सेनाकै हिमाल केसीले निर्धारित दूरी ५१.८६ सेकेन्डमा पूरा गरी दोस्रो भएर रजत पदक जिते भने सशस्त्र प्रहरी एपिएफका शिवराज पार्कीले ५२.५३ सेकेन्डमा दौड पूरा गरेर कांस्य पदक जिते ।
महिला ४ सय मिटर दौडमा सेनाकै संगीता मेचेले स्वर्ण पदक जितिन् । उनले १ मिनेट २.६० सेकेन्डमा निर्धारित दूरी पार गरिन् । सेनाकी कृष्ण चौधरीले १ मिनेट ४.६० सेकेन्ड लगाएर रजत र सशस्त्र प्रहरी एपिएफकी भगिरथीकुमारी थारुले १ मिनेट ५.३० सेकेन्ड लगाएर कांस्य पदक जितिन् ।
एथलेटिक्समा सुरुआतदेखि नै सेनाको बर्चश्व रहेकोमा पुरुष ४ गुणा सय मिटर रिले दौडमा सेनाका छविलाल चौधरी, जीवन चौधरी, हिमाल केसी र आनन्द चौधरीले स्वर्ण पदक जिते । आर्मीको टोलीले ४३.८६ सेकेन्डमा तोकिएको दूरी पार गरेको थियो । यो दौडमा मध्यमाञ्चलका अरुण महत्तो, खिलबहादुर कार्की, आशिष खत्री र शिखर उप्रेतीले ४४.७६ सेकेन्डमा दूरी पार गरी रजत पदक जिते । यस्तै, सशस्त्र प्रहरी एपिएफका सत्य बुढा, शिवराज पार्की, नारायण र आशिष चौधरीले ४४.५० सेकेन्डमा दौड पूरा गरी कांस्य पदक जिते ।
महिला ४ गुणा सय मिटर रिलेमा सेनाका रमिता चौधरी, दुर्गा देवकोटा, संगीता मेचे र कृष्ण चौधरीले ५२.२० सेकेन्डमा निर्धारित दूरी पार गरी स्वर्ण पदक जिते । यस्तै, मध्यपश्चिमाञ्चलका प्रमिला थारु, जयरानी चौधरी, विष्णु आले र रुपा थारुले ५३.८३ सेकेन्डमा दौड पूरा गरी रजक पदक हात पारे । सशस्त्र प्रहरी एपिएफका सविता चौधरी, सरस्वती भट्टराई, शीला चौधरी र दिलमाया थापाले ५३.८८ सेकेन्डमा दौड पूरा गरी कांस्य पदक जिते ।
१ हजार मिटरको दौडमा सशस्त्र प्रहरी एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी पार गर्दा ३१ मिनेट ३९.५ सेकेन्ड लगाए । यस्तै, सेनाका कृष्ण बस्नेतले ३१ मिनेट ४४.५ सेकेन्डमा निर्धारित दूरी पार गरी रजक पदक पाए । सेनाकै हरिकुमार रिमालले ३१ मिनेट ५९.८४ सेकेन्डमा दौड पूरा गरी कांस्य पदक जिते । महिलातर्फ १० हजार मिटरमा सशस्त्र प्रहरी एपिएफकी कान्छीमाया कोजुले निर्धारित दूरी ३७ मिनेट १६.९० सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । सेनाकी विश्वरुपा बुढाले ३८ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरी रजत पदक जितिन् भने लक्ष्मी पाण्डेले ३९ मिनेट ३२.५५ सेकेन्डको समयसहित कांस्य पदक जितिन् ।
एथलेटिक्सको पुरुष ४ सय मिटर हर्डल्स सेनाकै रामप्रसाद थारुले ५८.७० सेकेन्डमा पार गरी स्वर्ण पदक कब्जा गरे । सेनाकै विशेष महत्तोले १ मिनेट ०१.२९ सेकेन्डको समयले रजत जिते भने मध्यपश्चिमाञ्चलका रमजान सलमानीले १ मिनेट ०२.४८ सेकेन्डको समयसहित कांस्य पदक जिते ।
एथलेटिक्सको महिला हर्डल्समा सेनाकी दुर्गा देवकोटाले स्वर्ण जितिन् । सशस्त्र प्रहरीकी सविता चौधरीले रजत र पूर्वाञ्चलकी सविता श्रेष्ठले कांस्य पदक जिते ।
एथलेटिक्सको पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल र महिलातर्फ नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे उत्कृष्ट खेलाडी घोषित भइन् ।

प्रकाशित: १३ पुस २०७३ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App