१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पाँच कलाकारले पोखे रंगहरूको तरंग

काठमाडौं- पाँच नेपाली कलाकारले आफ्ना रंगीन कलाको तरंग क्यानभासमा पोखेका छन्। क्लासिक ग्यालरीको आयोजनामा पाटनस्थित नेवा छे आर्ट ग्यालरीमा बुधबारदेखि सुरु भएको तरंग नामक प्रदर्शनीमा पाँच कलाकारका कलात्मक रंग पोखिएका हुन्। कला प्रदर्शनीको प्रतिष्ठित उद्योगपति सौरभ ज्योतिले उद्घाटन गरे। उनले नेपालको कला उद्योगका रूपमा फस्टाउन पनि प्रदर्शनीले सहयोग गर्ने उल्लेख गरे।

कलाकार कृष्ण गोपाल श्रेष्ठ, सन्ध्या सिलवाल, सरिता डंगोल, सञ्जित महर्जन र सत्यशीला कसजूका कला तरंगमा समेटिएका छन्।

पाँच कलाकारले फरक–फरक परिकल्पनाका क्यानभासमा रंग छरेका छन्। डेढ दशक बढी समयदेखि कला कोरिरहेकी कलाकार सरिता डंगोलका कला खुर्सानीको जीवनमा केन्द्रित छ। 'एक दिन मैले तरकारीसँगै खुर्सानी किनेर फ्रिजमा राखेकी थिएँ,' उनले खुर्सानी कलाबारे भनिन्, 'तर तरकारीसँगैका ती खुर्सानी मैले खानै नपाई ओइलिए।' ल्याएकै भोलिपल्टदेखि भोज, भतेरका कार्यक्रम परेकाले उनले त्यो पकाउन पाइनन्। 'जब फ्रिज खोल्थेँ, ती खुर्सानीले मलाई केही भनेझैँ लाग्थ्यो,' उनी सम्झन्छिन्, 'हरेक दिन खुर्सानीको रंग फेरिँदै ओइलायो, एक दिन सुक्यो।' त्यही भावना उनका कलामा देख्न पाइन्छ। हरेक प्राणीमा प्राण हुन्छ, जुन निश्चित अवधिसम्म रहन्छ। त्यही समयभित्र त्यसको उपयोग हुनुपर्छ भन्ने कुरालाई उनले मानवीय जीनवसँग तुलना गर्दै कला कोरेकी छिन्। उनका पाँच कलाकृतिमा फरक–फरक भावभंगिमा बोकेका खुर्सानी मन भेटिन्छन्।

अर्का कलाकार कृष्णगोपाल श्रेष्ठका कला भने नेपालका सांस्कृतिक सम्पदासँग नजिक छन्। 'भूकम्प गएपछि झन् बढी यिनका कला कोर्न थालेँ,' उनी भन्छन्,'त्यसै पनि संरक्षण नभइरहेका सुन्दर सम्पदा झनै नाजुक बनेका छन्।' तिनै सम्पदाले जीवन पाउनुपर्ने आशा उनका कलाले बोल्छन्। ती निर्जीव वस्तु भए पनि तिनका आवाज चित्रबाट व्यक्त गराउन उनले भत्केका सम्पदा क्षेत्रका तीन प्रतिनिधि पात्रका रूपमा झ्याल, घन्टा, रूपीलाई चित्रमा समेटेका छन्।

कलाकार सन्ध्या सिलवालका कलामा जीवनका अस्तित्वको कथा छ। संसारमा जीवनको अस्तित्व निरन्तर चलिरहने प्रक्रियाका रूपमा उनले चित्रमा उल्लेख गरेकी छिन्। त्रिभुजाकारभित्र उमि्ररहेका बिउका चम्किला चित्रले चम्किलो जीव अस्तित्व साकार पारेकी छिन्। 'धार्मिक मान्यताअनुसार तल फर्केको त्रिभुजले महिला र माथि फर्केको त्रिभुजाकारले पुरुषको प्रतिनिधित्व गर्छ,' उनले चित्रको गाम्भीर्यता खुलाइन्, 'तिनीहरूभित्रकै वीज नै मानव अस्तित्वको एउटा मानक हो।' उनले अर्को चित्रमा घुमिरहने चक्रभित्रको भू्रणका रूपमा पनि जीव अस्तित्वकै कुरा झल्काएकी छिन्। उनका तीनवटा चित्र प्रदर्शनीमा छन्।

सञ्जित महर्जनका कलामा चार फरक–फरक परिकल्पना छन्। कालो दिन शीर्षकको उनको कलाले भूकम्प गएको दिन स्मरण गराँउछ। घडीमा १२ बजिरहेको, गोदावरीमा लागिरहेको बाह्रवर्षे मेला अनि घरीघरी चिसो हुँदै पानी पर्ने गर्दाको त्यो त्रासमय क्षण चित्रित छ। उनका अपेक्षा र यथार्थ, राज्यको संक्रमण, राज्यको दिमाग शीर्षकका कला प्रदर्शनीमा छन्।

सत्यशीला महर्जनले कलामा परिवर्तनको सम्भावना औँल्याएकी छिन्। छिनछिनमा मुहार परिवर्तन गरिरहने आकाशको बादलको चित्रण निकै कलात्मक रूपमा उनले गरेकी छिन्। बादलभन्दा तल उडिरहेको पिपलका पातले जीवनका रंग समयअनुसार परिवर्तन हुन्छन् भनेर संकेत गर्छ। केही हरिया त केही पहँेला अनि केही सुकेर जाली परेका पिपलको पातले समयसँग बग्ने जीवनको अस्तित्व देखाउने उनले सनाइन्। आफ्नै घरको भग्नावशेषमाझ पलाएको बिरुवालाई उनले विनाशपछिको नयाँ आशाका रुपमा उनले चित्रित गरेकी छिन्। पाँचै कलाकारले एक्रेलिक रंग चित्रमा सजाएका छन्।

यो प्रदर्शनी भारतको कलामित्र फाउन्डेसनको आमन्त्रणमा बैंग्लोरमा प्रदर्शनी हुनुअघि भएको हो। लगत्तै यी कला  भारतमा प्रदर्शनीका लागि जाँदैछन्। देशका कला पारखीले कस्तो प्रतिक्रिया जनाउँछन् भनेर बुझ्नका लागि पनि प्रदर्शनी गरिएको कलाकार सरिता डंगोलले बताइन्। नयाँ वर्ष सन् २०१७ को १६ जनवरीदेखि चार दिन भारतमा कला प्रदर्शनी सुरु हुँदै छ। एकदिने आर्ट क्याम्सपसँगै भारतका ६ र नेपालका पाँच कलाकारले त्यहाँ कला प्रस्तुत गर्नेछन्। जसबाट आपसी संस्कृति र संस्कारका रंग कलामार्फत साटासाट गर्नेछन्। नेवा छे आर्ट ग्यालरीको कला प्रदर्शनी भने दश दिन चल्नेछ। कला पारखीले मन परेमा नौ हजार पाँच सयदेखि एक लाख रुपैयाँ मूल्यका चित्र खरिद गर्न सक्नेछन्।

प्रकाशित: १४ पुस २०७३ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App