७ वैशाख २०८१ शुक्रबार
कला

अब सम्झनामा कदी

काठमाडौं- 'तिम्रो वस्तु तिमीलाई नै सुम्पिएँ' यी उक्ति कार्यक्रम होस् वा भेटघाट, बारम्बार बोल्थे उनी। कसैले दिएको वस्तुमा उसैको अधिकार रहन्छ भन्ने उनले कहिल्यै बिर्सेनन्। गुणको बदला गुण चुकाउन उनी कहिल्यै चुकेनन्।

उनै कमलमणि दीक्षित जसले नेपाली साहित्य लेखनीमा ऊर्जा भर्दै मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार स्थापना गरेर लेख्नेलाई ऊर्जामात्र दिएनन्, साहित्यको भविष्य बलियो बनाउन पहिलोपटक निजी क्षेत्रबाट मदन पुरस्कार पुस्तकालय पनि स्थापना गरे।

नेपाली भाषा साहित्यको अनुसन्धान र लेखनीमा सक्रियताकै बीच उनी यो धर्तीबाट बिहीबार बिहान बिदा भए।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको अध्यक्षसमेत रहेका दीक्षितले ८७ वर्षको उमेरमा संसार छाडे, संसार त्याग्नुअघि आगामी पुस्ताका लागि एउटा बलियो जग बनाएर गए।

हस्ताक्षरमा आफ्नो नामको छोटकरी रुप अर्थात् कदी लेख्ने कमलमणि साहित्य लेखनीको सुरुमा अनुसन्धानमूलक लेख तथा पुस्तकका कारण चर्चित थिए। पछिल्लो समयमा भने नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रमा सक्रिय थिए। विसं २००० मा पहिलो साहित्यिक रचनाका रुपमा 'पुतली' कविता बनारसको 'उदय' मासिकमा छपाएपछि उनी यस क्षेत्रमा निरन्तर लागिरहे। उनका कवितासहितका फुटकर रचनामात्र दुई हजारभन्दा बढी छन्। उनको पछिल्लो कृतिका रुपमा धर्ती छाडेर गएकाहरूको स्मरणमा लेखिएको 'गएकाहरू' पुस्तक प्रकाशित भएको थियो। उनले छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरे।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको अध्यक्षसमेत रहेका दीक्षितले ८७ वर्षको उमेरमा संसार छाडे, संसार त्याग्नुअघि आगामी पुस्ताका लागि एउटा बलियो जग बनाएर गए।

केही महिना यता दीक्षित श्वासप्रश्वासको समस्यासँग जुध्दै थिए। पिता केदारमणि आचार्य र माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा विसं १९८६ भदौ कुशेऔंसीमा काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो। साहित्य उनको रगतमै थियो। उनका जिजुबुबा पण्डित काशीनाथले लेखेको 'भएका कुरा' शीर्षकको कृतिले त्यो कुरा पुष्टि गर्छ। उनका हजुरबुबा राममणि पनि नेपाली पत्रकारिता र भाषाका सेवक थिए। उनकै सम्पादनमा बनारसबाट विसं १९६५ मा 'माधवी' मासिक प्रकाशित भएको थियो। उनका पिता केदारमणि पनि आत्मकथा, संस्मरण, नियात्रा लेखनमा सक्रिय थिए।

दीक्षित २०१६ सालदेखि मदन पुरस्कार गुठीको मुखपत्र त्रैमासिक साहित्य पत्रिका 'नेपाली' को सम्पादक थिए। उनले 'कालो अक्षर' कृतिबाट निकै चर्चा कमाए। उनका बारेमा 'कालो अक्षरदेखि सग्लो अक्षरसम्म' नामक पुस्तक नै छापियो। लोप भएर जान थालेका मौलिक नेपाली साहित्यकृतिलाई उनी मनैदेखि माया गर्थे।

उनका अघिल्ला पुस्ता मदन शमशेरका घरमा पुरेत्याइँ कामसँगै छिरेका थिए। पछि विश्वासपात्र बने। सन्तानविहीन मदनशमशेरलाई सेवा गर्ने विश्वासपात्रको खाँचो थियो। त्यसैले पनि सहृदयी दीक्षित परिवार उनको रोजाइमा पर्‍यो। मदनशमशेर र रानी जगदम्बाको सम्पत्ति दीक्षित परिवार र दरबारमा काम गर्नेहरूलाई बाँडियो।

सम्पत्ति पाए पनि कमलमणिले त्यो उनैका नाम चम्काउन उपयोग गरे। २०१२ सालमा रानी जगदम्बाको इच्छाअनुसार मदन पुरस्कार गुठी स्थापना गरी साहित्यको श्रीवृद्धिमा लगाए। रानीको निधनपछि २०४५ सालदेखि जगदम्बा श्री पुरस्कार दिने थीति बसाले। पछिल्लो पटक रामलाल जोशीको 'ऐना' कथासंग्रहका लागि मदन पुरस्कार र साहित्यकार लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री पुरस्कार उनको हातको अन्तिम पुरस्कार वितरण बन्यो। नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीको अभिलेख राख्ने उद्देश्यका साथ २०१२ सालमा स्थापना भएको मदन पुरस्कार पुस्तकालय देशकै सबैभन्दा ठूलो पुस्तकालय हो।

यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल भारत प्रतिष्ठानजस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थामा सक्रिय थिए। दीक्षितका दुई छोरा कुन्द दीक्षित र कनकमणि दीक्षितले उनकै धरोहर सम्हालिरहेका छन्।

नेपाली भाषा साहित्यको रक्षाका खातिर निरन्तर लाग्ने व्यक्ति कमलमणि भएको उनका सहधर्मी सत्यमोहन जोशी उल्लेख गर्छन्। 'क्षतिपूर्ति हुनै नसक्ने गरी गए,' जोशी मन मलिनो बनाउँछन्, 'जति उनको बारेमा बोले पनि कम हुन्छ।'

जोशी मदन पुरस्कार पुरस्कार पुरस्तकालय स्थापनालाई दीक्षितको महŒवपूर्ण सिर्जनाका रुपमा लिन्छन्। 'पुस्तकालय त सिंगो राष्ट्रका लागि उपलब्धि नै भयो', उनले औंल्याए, 'राज्यले गर्नुपर्ने काम दीक्षितले गरे।' सबैभन्दा धेर साहित्य संकलन भएको सुन्दर पुस्तकालय, जहाँ दीक्षित आफैं बसेर फेला परेका कृतिमा गाता हालेर पुस्तक टिलिक्क पार्थे अनि सजाउँथे र्‍याकमा। नयाँ होस् कि पुराना, अभिलेख नै किन नहोस्, चिठीचपेटा होस् वा इतिहासको धरोहर, सबै उनका पुस्तकालयमा अटाए।

मान्छे आउने जाने प्रकृतिको नियम हो तर दीक्षित नगइदिएका भए राम्रो हुन्थ्यो भन्ने भावना जोशीभित्र पलाएको छ। उनले चलाएको नेपाली त्रैमासिक स्रोत ग्रन्थका रुपमा जोगाउनुपर्ने उनी औंल्याउँछन्।

मदन पुरस्कार गुठीका सदस्य चूडामणि बन्धुले दीक्षितलाई सम्झेर भने, 'लेखनीमा लागेकालाई एककिसिमबाट प्रेरणा दिन्थे। अरुलाई कदर गर्ने, सम्मान गर्नेमात्र हैन, अरुका अघि अरुकै कुरा प्रशंसा गरिदिने गर्थे।' उनका अनुसार पछिल्लो दिनमा नेपाली साहित्यको इतिहास तयार गर्न कस्सिएका थिए दीक्षित। उनकै संंयोजकत्वमा चारभागको बृहत् इतिहास लेखनी चलिरहेको छ, जसमा ८० जना विद्वान् लेखक सहभागी छन्। 'उहाँकै जीवनमा निकाल्न त सकिएन तर एकदुई वर्षमा निस्कन्छ,' उनले भने, 'त्यसको सबै व्यवस्था गरेर जानुभएको छ।'

प्रकाशित: १५ पुस २०७३ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App