८ वैशाख २०८१ शनिबार
विचार

'भोको घर' को आत्मा

काठमाडौँ मलस्थित थियटरमा प्रतिभाशाली निर्देशक केदार श्रेष्ठले एउटा स्वादिलो नाटक पस्केका छन्, भोको घर। गोविन्द गोठाले लिखित यो एकांकी आधुनिक नगर जीवनको अवसादबाट सुरु भएर वेदनाको चुलीमा पुगेर सकिन्छ।

काठमाडौँमा नाटकको संस्कृति राणाकालमै सुरु भएको हो। त्यतिखेर त्यो राजा, महाराजा र राणा 'महाराज'हरूको दरबारमा सीमित हुन्थ्यो। पञ्चायतकालको उत्तरार्धमा नाटक सर्वसाधारणका लागि मनोरञ्जन र सांस्कृतिक जागरणको माध्यम हुनपुग्यो। त्यतिखेर 'मालती–मंगले' र 'मुनामदन' मात्र होइन, 'सिम्मा' 'अनि देउराली रुन्छ' जस्ता जनपक्षीय नाटक पनि हुनसम्म लोकप्रिय भए। आरोहण शनिबार र सर्वनामका नाटकहरूको बेग्लै महत्व हुन्थ्यो। नाटकमा पुनर्जागरणचाहिँ २०५९ मा आरोहण गुरुकूल स्थापनापछि भयो। स्थान अभावका कारण पछि गुरुकूल थियटर बन्द भए पनि त्यसको उत्तरदान थाम्न थुप्रै नाट्य संस्था प्रतिबद्ध भएर लागिरहेका छन्।

नेपाली मूलधारका सिनेमामा सबैभन्दा खट्कदो पक्ष नै अभिनय हुन्छ। नाटकका कलाकारले यसमा बाजी मारेका छन्।

निर्देशक तथा परिकल्पनाकार केदार श्रेष्ठका लागि गोठालेको 'भोको घर' त्यस्तो पाठशाला हो जसमा कुनै दिन उनैले नरमानको भूमिकामा अभिनय गरेका थिए। त्यसको निर्देशक थिए नवराज बुढाथोकी। आज त्यही नाटकमार्फत जनजीवनको खस्कँदो स्थिति देखाउँदा दर्शकको अपार माया पाउनु उनको अहोभाग्य हो। गोठालेको यो एकांकी संवाद प्रधान छ। यसको मूल स्वर अतियथार्थवाद। संवादको मर्मलाई उहीरूपमा कायम राख्दै दृश्यलाई उतार्न बारम्बार पढ्दा नाटकको गहिराइले उनलाई झनै छुँदै गयो। फलस्वरूप यो नाटक तयार भयो।

आत्मसम्मानको भोक

'भोको घर' नाटक काठमाडौँमा चलिरहँदा बाजुराका कतिपय गाउँमा भोकमरी चल्ने खतरा साक्षात्कार हुँदैछ। त्यहाँ कति गाउँका खेतीयोग्य जमिन खडेरीका कारण बाँझै छन्। जहाँ खेती नै सारा अर्थव्यवस्थाको मेरुदण्ड हुन्छ, त्यहाँ चार बाली लगाउन नपाउनु सानो दुर्दशा होइन। यस्तै बेला त अन्नकै लागि युद्ध गर्नुपर्ने स्थिति आउने हो। बाजुराली जनताको दुर्दशाको मूल कारण प्रकृति होला। ग्लोबल वार्मिङ होला। त्यस्तोमा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हो। सुखदुःख हरेक स्थितिमा कर तिरेर जनताले सरकारलाई सघाउँछ। तिनलाई दुःख पर्दा सरकारले सघाउनुपर्छ। हरेक व्यक्ति जन्मनेबित्तिकै राज्यको सन्तान हुन्छ। राज्यलाई सघाउनु उसको दायित्व हुन्छ भने उसको जिउज्यान र बाँच्ने हकको सुरक्षा गर्ने दायित्व राज्यको हुन्छ। तर, सत्तालाई यतातिर ध्यान दिने फुर्सद छैन। सरकार, प्रतिपक्ष र विद्रोही पक्ष सबै संघीयताको मर्ममाथि आ–आफ्नै प्रकारले खेलिरहेका छन्। मिलनविन्दु भेट्न कोही तयार देखिन्नन्।

पञ्चायतको आडमा राजा महेन्द्रले देशलाई ७५ भौगोलिक जिल्लामा विभाजन गरेर आदिवासी, जनजाति, मधेसी, मुस्लिम समुदायको सघन बसोवास र जनसंख्यालाई खण्डित गरे। उनीहरूको एकमात्र शक्ति भनेकै त्यही एकीकृत बस्ती थियो। यसरी आफ्नै थातथलोमा उनीहरू अल्पमतमा पारिए। पहिचानको मुद्दा त्यही गुमेको भाषिक, सांस्कृतिक अधिकार, आत्मसम्मानको पुनर्बहाली र राज्यका संरचनामा न्यायोचित सहभागिताको मागबाट उठेको थियो। केन्द्रीकृत एकजातीय, एक भाषिक, एक संस्कृतियुक्त राज्यविरुद्ध उत्पीडित र सीमान्तकृत समुदायले अढाई सय वर्षदेखि आवाज उठाउँदै र संघर्ष गर्दै आएका हुन्। सत्ताको सबै तह र अंगहरूमा सबै जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचान, समान अधिकार, समानुपातिक समावेशी प्रतिनिधित्व गराउनै संविधानसभा र राज्य पुनर्संरचनाको माग भएको थियो। पहिलो संविधानसभाले पहिचानसहितको १४ प्रदेशको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको पनि हो। पछि विवाद हुँदै जाँदा पनि ६०१ मध्ये ४१७ जना यसको पक्षमा प्रस्तुत भएका हुन्। राज्य पुनर्संरचना आयोगका ९ मध्ये छ सदस्यले पनि दलितका लागि एक गैरभौगोलिकसहित पहिचानयुक्त दश प्रदेशको सिफारिस गरेको थियो। ती सबै बिर्सेर छ प्रदेश बनाउँदा नै संघीयताको आत्मामाथि घात भइसकेको थियो। कर्णालीले त्यसमा विद्रोह गरेपछि सात प्रदेश बनाइयो। सुदूर पश्चिममा थारूले पनि विद्रोह गरे। त्यहाँ नृशंस हत्याकाण्ड पनि भयो। तर, थारूहरूको माग नाजायज थिएन। मधेसी आन्दोलनको सुनवाइ नगरी संविधान जारी गर्दा संविधान कार्यान्वयन गर्नै लगभग असम्भव भयो। विगतमा संघीयता पक्षधर नेताहरू नै संघीयताविरोधी अखण्ड सुदूर पश्चिमको आन्दोलनमा सरिक भए। अहिले प्रदेश नं ५ का केही भूभाग प्रदेश नं. ४ मा सार्ने प्रस्तावविरुद्ध ठीक त्यही शैलीमा संघीयता पक्षधर नेताहरू नै आन्दोलनमा सरिक छन्। यो त संघीयता पक्षधरहरूको संघीयताविरोधी क्रियाकलाप भयो।

संघीयताको अवधारणा नै पिछडिएका, उस्तै संस्कृति भएका जाति वा समुदायको बाहुल्य हुने गरी, उनीहरूलाई राज्य पुनर्संरचनामा सामेल गराउने गरी राज्य पुनर्संरचना गर्ने उद्देश्यसहित आएको हो। भनेपछि क्लस्टर मिलाउने उद्देश्यसहित गरिएको यस प्रस्तावमा संघीयता पक्षधर पार्टीहरूले यत्रो बितन्डा मच्चाउनुपर्ने कारण केही थिएन। यसमा दुइटा शंका व्यक्त गरिएको पाइन्छ। एक, पहाडबाट अलग गरी तराई भूभागको मात्र प्रदेश बनाउँदा ती भूभाग भारतसित विलय हुन जान्छन्। दुई, पहाडी प्रदेशलाई तिनले नाकाबन्दी गरिदिन्छन्। पहिलो शंका मधेसी जनताको देशभक्तिमाथिको चरम अविश्वास र तिनको अपमान हो। अहिलेकै संरचनाअनुसार तराईका अधिकांश जिल्लामा पहाडी भूभाग मिसिएको छैन। तराई भूभागको मात्र प्रदेश बनाउने भनेको यस्तै प्रशासनिक विभाजनमात्र हो। भारतसँग विलय हुने भए ती उहिल्यै भइसक्थे। जहाँसम्म दोस्रो शंका छ, तराई र पहाड मिलाएर प्रदेश बनाए पनि, तराईले चाहे आफ्नै प्रदेशको भूभागलाई पनि नाकाबन्दी लगाउन सक्छ। मुख्य कुरा, मधेसवासीलाई यो देश तिनको पनि हो भन्ने अनुभूति दिलाउने संरचना बनाउनु हो।

भोकको कथा

मधेसी, जनजाति, दलित र पिछडिएका वर्ग एवं क्षेत्रको भोक भनेको आत्मसम्मानको भोक हो। यता, गोविन्द गोठालेको एकांकी 'भोको घर' ले भने टाट पल्टिँदै गएको काठमाडौँवासी एक मध्यमवर्गीय परिवारको भोकको कथा भन्छ। गोठालेको लेखनको आत्मामाथि नाटक प्रस्तुतिमा राम्रो पकड छ। घरमूली नरमानले जागिर गुमाएपछि परिवारको दुर्गति सुरु हुन्छ। हुँदाहुँदा खानलाई घरमा केही बाँकी रहँदैन। टन्न खाएको त अब ती सपना र कल्पनामा मात्र देख्न सक्छन्। बाँकी ऋणमा डुबेको एउटा घर हुन्छ। नरमान त्यो बेचर आएको रकमले केके गर्न सकिन्छ भनेर गगनचुम्बी योजना बुन्छ। नरमानको सपना त्यतिखेर भत्कन्छ जब ऋणमा डुबेको घर छाड्दा पनि उसको भागमा चुनादाम नपर्ने स्थिति आउँछ। नाटक अभिनयका हिसाबले मात्र नभई प्रकाश, प्रस्तुति र परिकल्पनाका दृष्टिले पनि दर्शनीय छ। प्रकाशको माध्यमले देखाइने छायाँमा भोकको परिवेश र शून्यताबोध गराउनसक्ने कल्पनाशीलता प्रशंसनीय छ। नेपाली मूलधारका सिनेमामा सबैभन्दा खट्कदो पक्ष नै अभिनय हुन्छ। नाटकका कलाकारले यसमा बाजी मारेका छन्। 'भोको घर' मा आकाश मगर, शान्ति गिरी, सुदाम सीके, सञ्जिता सञ्जी, अभय बरालले अत्यन्त विश्वसनीय र प्रभावशाली अभिनय गरेका छन्। भोकमरी बाजुरामा आउने स्थिति छ। काठमाडौँमा कति परिवार भोकमरीको स्थितिमा छन्। त्यसलाई सम्बोधन गर्नुपर्ने राज्यले नै हो। गोठाले त्यस्ता लेखक हुन् जसका कथालाई समेत नाटकको रूप दिन सकिन्छ। नाट्यकर्मीले अन्तदर्ृृष्टि दिन सके उनका 'त्यो क्रान्तिको प्रतीक' 'निद्रा आएन', 'पियानानी' वा 'लक्ष्मीपूजा' जस्ता कथामा अझै मध्यमवर्गीय दुर्दशाको ढुकढुकी भेट्न सक्छन्।

प्रकाशित: १५ पुस २०७३ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App