coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजधानीमा सास फेर्नै सकस

काठमाडौं- बढ्दो धुलो र प्रदूषणले राजधानीवासीलाई सास फेर्नै सकस हुन थालेको छ। यही कारण उपत्यकावासीमा श्वासप्रश्वासजन्य रोग संक्रमण बढ्दै गएको छ। पाँच वर्षदेखि जारी सडक तथा खानेपानी पाइप विस्तार, पुराना मोटर, कलकारखाना, भूकम्प र अन्य प्रदूषणका कारण हुने श्वासप्रश्वासजन्य बिरामीको संख्या पाँच वर्षमा झन्डै दोब्बर भएको पाइएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्को अध्ययनले बिरामीको प्रदूषण बढेको अवस्थामा श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतसम्मले बढ्ने गरेको छ।

प्रदूषणजन्य पुराना समस्यामा पाँच वर्षयता धुलोसमेत थपिँदा राजधानीवासीलाई 'सास लिनै सकस' बढ्दै गएको चिकित्सक बताउँछन्। स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने निकाय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को तथ्यांकले नै पाँच वर्षमा श्वासप्रश्वासजन्य बिरामीको संख्या दोब्बर भएको देखाएको हो।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच वर्षअघि श्वासप्रश्वासजन्य प्रमुख रोगका रुपमा लिइने 'क्रोनिक अब्सटक्टिभ पल्मोनरी डिजिज' (सिओपिडी) का बिरामी १५ हजारबाट ३० हजार हाराहारी पुगेको पाइएको छ।

सम्बन्धित स्वास्थ्य संस्थाले वार्षिक रुपमा पठाउने रिपोर्टका आधारमा एचएमआइएस शाखा तथ्यांकको एकीकृत व्यवस्थापन गर्छ। तथ्यांकअनुसार सन् २०१५ मा उपत्यकाका अस्पताल तथा स्वास्थ्य संस्थाका ओपिडी (बहिरंग) को सिओपिडीका मात्रै १५ हजार ९ सय ९८ जना बिरामी भेटिएका थिए। यो संख्या क्रमशः वृद्धि हुँदै गएको  देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०६९/७० मा १९ हजार ८ सय ४४, ०७०/०७१ म्ा  १९ हजार ४ सय १, ०७१/७२ मा २४ हजार ९ सय २४ र चालु आर्थिक वर्षको पाँच महिनामै २८ हजार ५ सय ५४ श्वासप्रश्वासका बिरामी भेटिइसकेका छन्। उपत्यकाका तीनै जिल्लाको तथ्यांक छुट्टाछुट्टै विश्लेषण गर्दासमेत सबै जिल्लामा बिरामी दर बढ्दै गएको पुष्टि हुन्छ।

पाँच वर्षअघि २ हजार ७ सय मात्रै सिओपिडी बिरामी भेटिएको ललितपुरमा यसपालि ८ हजार ५ सय ३५ बिरामी स्वास्थ्य संस्था पुगिसकेका छन्। सुरु वर्ष प्रमुख समस्या नभएको भन्दै श्वासप्रश्वास रोगको छुट्टै  रिपोर्टिङ नै नगरिएको भक्तपुरमा अहिले ३ हजार ८ सय ६१ बिरामी भेटिइसकेका छन्।

स्वास्थ्य अधिकारीले कतिपय रिपोर्टिङ प्रक्रियामा नआएका चिकित्सकका क्लिनिक रेकर्ड नआइपुग्ने हुनाले बिरामीको संख्या अझै बढी हुन सक्ने अनुमान गरेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अस्पताल भर्ना हुनुका प्रमुख आठ कारणमध्ये चिसोसँग सम्बन्धित रोग निमोनिया चौथो नम्बर तथा दम र खोकी छैटौँ नम्बरमा छन्। अस्पताल भर्ना भएपछि मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयश्कमा श्वासप्रश्वास संक्रमण पर्छ।

सरकारी तथ्यांकबाहेक प्रदूषणजन्य समस्याका कारण बिरामी दर बढेको अनुसन्धानले समेत देखाएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले समेत गत वर्ष वायुप्रदूषणको मात्रासँगै अस्पतालमा भर्ना भएका बिरामीको समेत तथ्यांकको एकीकृत अनुसन्धान गर्दासमेत बिरामीको संख्या बढिरहेको देखाएको अनुसन्धानकर्ता डा. कृष्ण अर्यालले बताए।

उनका अनुसार सन् २०१४ को फेब्रुअरीदेखि ०१५ को फेब्रुअरीसम्म गरेको अध्ययनले काठमाडौं उपत्यकाको पिएम साइज २.५ भन्दा साना 'पोलुटेन्ड' (कण) को मात्रा औसतभन्दा दोब्बर बढी भएको पाइएको छ। यो साइजका पोलुटेन्ट फोक्सोबाट छिरेर रगतमार्फत सम्पूर्ण शरीरमा फैलिन सक्छ। यस्ता प्रदूषणमा अझै केमिकल छिरेमा असर झन् भयानक बन्छ। सामान्यतः यस्ता पार्टिकलको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा उपत्यकामा ८७ सम्म पाइएको छ।

'एकतिर प्रदूषण बढ्दा अर्कोतिर अस्पताल भर्ना दर पनि ह्वातै भएको देखिन्छ,' उनले भने, 'यो तथ्यांकले राजधानीवासीको प्रमुख जनस्वास्थ्य समस्या वायुप्रदूषण नै हो भन्ने देखाउँछ।'

उनले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएका विरामीमध्ये अधिकांश निमोनियाको भएको समेत जानकारी दिए।

अनुसन्धान प्रतिवेदनअनुसार धुलो र प्रदूषणका कारण सिओपिडी प्रमुख रुपमा र तीबाहेक मुटुको समस्या, दीर्घ खोकी, लामो समयसम्म रुघा तथा घाँटीको खसखस, दम, बढी थकान महसुस हुनेजस्ता समस्या बढी गराउँछ। चिकित्सकका अनुसार पिएम २.५ भन्दा साना कण रगतमा पुग्ने हुनाले क्रोनिक र मुटुका रोगसमेत बढ्दै गएको छ।

'जाडो मौसममा अझै प्रदूषण गहु्रगो हुनाले सतहमै हुन्छ र बढी असर गर्छ,' डा. अर्याल भन्छन्, 'जाडोमा प्रदूषणको मात्रा ८७ सम्म पुग्ने र बिरामी भर्नादर पनि पाँच प्रतिशतसम्म पुगेको पाइन्छ।'

विभिन्न अध्ययनअनुसार काठमाडौंमा धुलोका कण पिएम १० भन्दा बढी छ। त्यसैगरी, १० माइक्रोमिटरभन्दा साना धुलोका कणको मात्रा राष्ट्रिय मापदण्डभन्दा पाँचगुणा बढी हो। यस्ता कण श्वासनलीमा प्रत्यक्ष सिधै प्रवेश गर्न सक्छन् भने २.५ माइक्रोमिटर त फोक्सोसम्मै पुग्छ। विश्व स्वास्थ्य संगठनका अनुसार वर्षको ०.४ ग्रामले मानव स्वास्थ्यमा असर गर्छ।

सडक विस्तारका कारण थपिएको बाहेक सामान्य अवस्थामा पनि काठमाडौंका सडकमा हिँड्नेले दिनमा कम्तीमा दुई ग्राम धुलो खान्छ। पछिल्ला दिन बढी बिरामी विस्तार गरेका सडकछेउमा बसोबास गर्ने, सडक निर्माणमा संलग्न मजदुर, ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्नेहरू छन्। आकस्मिक कक्षमा आउने अधिकांश बिरामी श्वासप्रश्वाससँग सम्बन्धित रोगकै हुन्छन्। धुलोले सुरुमा घाँटी दुख्ने, चिलाउने, हाच्छि्युँ आउने र एलर्जी गराउने चिकित्सक बताउँछन्।

धुलोको सकस

पछिल्लो समय राजधानीमा सडक विस्तार, पुराना घर भत्काइने क्रम र भूकम्पपछिको अवस्थाका कारण धुलो बढ्दा स्वास्थ्य समस्यासमेत थपिएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. करवीरनाथ योगी बताउँछन्।

डा. योगीका अनुसार अहिले धुलोका कारण एलर्जी प्रमुख समस्या बनेको छ। 'सुरुमा हाच्छि्युँ आउने, क्रमशः नाक बन्द हुने, घाँटी खससख र छालामा डाबरसमेत देखिने हुन्छ,'  डा. योगीले भने, 'यसको उपचार नभए घाँटी दुख्ने र खोकी लाग्ने समस्या बढ्छ।' त्यस्तो अवस्थामा पनि उपचार नगरे बोङ्केअस्थमा भनिने दमको रुप लिन्छ।

वरिष्ठ जनरल प्राक्टिसनर डा. डिपी सिंहका अनुसार धुलोका कारण श्वासप्रश्वास, दम, बोङ्काइटिस्ट मात्र होइन्, पेट, मुटुसम्बन्धी मानसिक, आँखा र छालाका बिरामी संख्या पनि उत्तिकै वृद्धि भएको छ। विज्ञका अनुसार धुलो र धुवाँमा भएका मसिना कण श्वासनली हुँदै फोक्सोमा पुगेपछि श्वास लिन र फाल्न कठिन हुन्छ। त्यसले श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग नभएकामा समेत बोङकाइटिस, दम, मुटु समस्या देखिने खतरा रहन्छ।

चिकित्सकका अनुसार धुलोले मुटुमा प्रत्यक्ष असर नगरे पनि श्वासप्रश्वास प्रणालीमा समस्या आएपछि मुटुमा पनि असर गर्छ। दीर्घ रोगहरु मधुमेह, दम, दोहोरिइरहने निमोनिया, कोलेस्टोरल, मिर्गौलाका रोगीमा फोक्सोले राम्रोसँग काम गर्न नपाएपछि मुटुसमेत बिग्रने जोखिम हुन्छ। 'फोक्सोका क्रोनिक समस्या भएकामा मुटु बिग्रने र मुटुरोगीको फोक्सोमा असर गर्ने खतरा हुन्छ,' डा. सिंह बताउँछन्।

धुलोका कारण लामो समयसम्म रुघा, श्वासप्रश्वास नलीको माथिल्लो भागमा पिनास, टन्सिलाइटिस र तल्लो भागमा निमोनिया, ब्रोङकाइटिस, दीर्घखोकी, घाँटीको एलर्जी र श्वासनलीमा संक्रमणजस्ता समस्या गराउँछ। यस्ता समस्यामा संक्रमण बिग्रिएर दीर्घ रोग दम हुन सक्छ।

चिकित्सकले सामान्य ठानेर धुलोसँग हेलचेक्र्यााइँ नगर्न सुझाएका छन्। यस्तो समस्या लामो समयसम्म रह्यो भने दममा परिणत हुन्छ। माक्स, मोटरसाइकल चढ्नेले भाइजर प्रयोग गरे मात्र पनि धुलो र यसका अन्य जोखिमबाट बच्न सकिने चिकित्सकको भनाइ छ।

चिकित्सकले धुलोका कारण मानसिक समस्यासमेत बढ्ने बताएका छन्। धुलोले टाउको दुख्ने र तातो हुने चिच्चटावट, अनिद्राको समस्या निम्त्याउँछ, जुन मानसिक समस्याको पनि कारण हो।

विकासका नाममा जथाभाबी सडक भत्काएर समयमा नबनाउने राज्यको रवैयाले राजधानीवासीलाई रोगी बनाइरहेको चिकित्सकको आरोप छ।

चिसो मौसममा धुलोले वृद्ध, बालबालिका, दीर्घ रोगका बिरामीमा धुलोले झन् जोखिम थप्ने बताएका छन्। चिसो मौसममा बढी निमोनिया, ब्रोङकाइटिस, एलर्जी राइनाइटिस, फोक्सो र नाकका समस्या बढी देखिन्छ। धुँलोले त्यहीँ असर थप्दा अवस्था झन् जटिल हुने गरेको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एक अध्ययनले पनि धुलोको कारण बालबालिकामा श्वासप्रश्वास र ब्रोङकाइटिसको खतरा बढाएको देखाएको छ।

प्रकाशित: १५ पुस २०७३ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App