१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन महिनामै क्षतविक्षत

काठमाडौं-पुरानो बानेश्वर–सिनामंगल क्षेत्रका बासिन्दा निकै हर्षित थिए। नहुन् पनि किन ? महिनौंदेखि धुलो र हिलो खाएर बाँच्नुपर्ने विवशताबाट मुक्ति पाएका थिए उनीहरूले। विस्तारका नाममा सडक खनेर लामो समय अलपत्र छाडिँदा स्थानीयदेखि यात्रुसम्मलाई सास्ती थियो । वरिपरिका पसल धुलोले हेरिनसक्नु हुन्थे । कतिपय पसल सञ्चालक बिरामी नै परे । बाक्लो दबाब र संघर्षपछि बल्लतल्ल सफा अनि कालोपत्रे सडक पाएका थिए उनीहरूले ।
तर, यो खुसी तीन महिना पनि टिक्न पाएन । राम्ररी सवारीसाधन गुडिनसक्दै करिब १० करोड रुपैयाँ खर्चिइएको उक्त सडक फेरि क्षतविक्षत भइसकेको छ । ठूल्ठूला खाल्डा परेका छन् । कतिपय स्थानमा कालोपत्र धुलिएर उप्किन थालेको छ ।
अब भन्नै परेन, सडक निर्माणमा चरम लापरबाही भएको छ ! राज्यको करोडांै रकम खन्याइएको राजधानीकै मुख्य सडक यति छिट्टै भत्कुनमा दोषी को त ?
सडक विभागका प्रवक्ता दयाकान्त झा ठेकेदार कम्पनीले लापरबाही गर्दा नयाँ सडक तीन महिनामै भत्किएको बताउँछन् । ‘सडकमा सवारी चापका आधारमा डिजाइन गरेर कालोपत्रे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, यति छिट्टै भत्किनुले निर्माणक्रममा ठेकेदारको कमजोरी प्रस्ट भएको छ ।’
प्रवक्ता झाले उक्त सडकका विषयमा आवश्यक अध्ययन गरी दोषीलाई कारबाही गर्न मध्यमाञ्चल क्षेत्रीय सडक कार्यालयलाई निर्देशन दिइसकेको बताए । उनका अनुसार सामान्यतया पाँच सेन्टिमिटर बाक्लो कालोपत्र गरिएको सडक कम्तीमा पाँच वर्ष टिक्नुपर्छ ।
सेतोपुलदेखि सिनामंगलसम्मको उक्त सडक ‘लामा बिल्डर्स–विरुवा–च्याङमिला’ कम्पनीले निर्माण गरेको हो। दुई किलोमिटर निर्माण गरेबापत कम्पनीले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट ९ करोड ६३ लाख ६६ हजार ३ सय ३८ रुपैयाँ लिएको छ ।
ठेकेदार कम्पनीले भने उक्त सडकमा पाँच सेन्टिमिटर बाक्लो कालोपत्र गरिएको दाबी गरेको छ । तर, सडकका विभिन्न ठाउँमा कालोपत्र पातलो भएर माटोको तह देखिन थालिसकेको छ ।
विभाग प्रवक्ता झा ठेकेदारको यो दाबी पत्याउन तयार छैनन् । उनका अनुसार दुई सेन्टिमिटर मात्रै कालोपत्र गरिएको सडक पनि यत्ति छिट्टै उप्किने र भत्किने हुँदैन ।
ठेकेदार कम्पनीले उक्त सडक गत चैत ८ गते निर्माणसम्पन्न गरेको हो । तीन महिनामै सडकका विभिन्न स्थानमा खाल्डा पर्नु र कालोपत्र उप्किनुमा ठेकेदारकै चरम लापरबाही देखिएको आयोजनाका एक कर्मचारी पनि बताउँछन् । ‘सडक बिग्रिएपछि आयोजनाका तर्फबाट भएको निरीक्षणमा ठेकेदारले छेउछाउमा मात्र  मापदण्डअनुसार ५ सिएम कालोपत्र गरेको र धेरै ठाँउमा २ सिएम मात्र गरेको पाइएको छ,’ उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा नै निर्माणमा कम्पनीको कमजोरी देखिन्छ ।’
सेतोपुलबाट पुरानो बानेश्वरतर्फ जाने खण्डमा सबैभन्दा बढी भत्किएको छ । आयोजनाप्रमुख मनोज श्रेष्ठले सडक भत्किएलगत्तै कम्पनीलाई सेतोपुलनजिकैको ओरालोमा ढलान र अन्य स्थानमा पनि मर्मत गर्न निर्देशन दिइएको बताए । ‘यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ उनले भने, ‘कम्पनीलाई बिग्रिएका स्थानमा पुनः सडक निर्माण गर्न भनिसकेका छौँ ।’ पुरानो बानेश्वर ओरालोमा निरन्तर पानी बगिरहने समस्या रहेकाले त्यहाँ ढलान नै गर्नुपर्ने उनको भनाइ छ ।
सडकको सिनामंगल खण्डमा पनि केही ठाउँ भासिएको छ भने कतिपय स्थानमा कालोपत्र डल्ला परेको छ। ठेकेदार कम्पनीले सडक ठेक्का पाएदेखि नै निर्माणमा लापरबाही गर्दै आएको थियो । लापरबाहीकै कारण निर्धारित मितिभन्दा झन्डै ९ महिना ढिला काम सकिएको थियो ।
ठेकेदारले सडकको गुणस्तरमा ध्यान नदिएको अहिले प्रस्ट भएको प्रवक्ता झाले बताए । ‘एक त उक्त सडक बनाउन नै निकै ढिला भएको थियो,’ उनले भने, ‘बल्लबल्ल बनाइएको सडक पनि भत्किन थाल्नु सरासर ठेकेदार कम्पनीको कमजोरी हो ।’ उनका अनुसार नियमअनुसार सडक निर्माण भएको एक वर्षसम्म कुनै समस्या देखिए ठेकेदार कम्पनीले आफ्नै खर्चमा निर्माण गरिदिनुपर्छ ।
कम्पनीले सडक निर्माणका लागि नियामक निकाय आयोजनासँग २०७० माघ १३ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७२ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो । तर, सरकारी निकाय र ठेकेदार कम्पनीकै लापरबाहीका कारण तीन महिनाअघि चैतमा मात्र निर्माण सम्पन्न भएको थियो ।
मध्य सहरभित्रको दुई किलोमिटर सडक निर्माणमा विभिन्न बहानाबाजी गर्दै आलटाल गर्दै आएको ठेकेदार कम्पनीले सर्वत्र आलोचना र चर्को दबाबपछि मात्र कालोपत्र गरेको हो । सडक निर्माणमा लापरबाही गरेको विषयमा स्थानीयदेखि प्रधानमन्त्री कार्यालयबाटसम्मबाट दबाब परेको थियो ।
कम्पनीको बहानाबाजीमा सही थाप्दै गएको पाएपछि प्रधानमन्त्री कार्यालयले आयोजनाका कर्मचारी तथा सडक विभागका कर्मचारीलाई स्पष्टीकरणसमेत मागेको थियो । कार्यालयले सडक निर्माणमा लापरबाही गर्ने कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि कम्पनीले निर्माण तीव्र पारेको थियो ।
निर्माणमा ढिलाइ गरेको विरोधमा गत साउनमा स्थानीयले सडकमै रोपाइँ गरेका थिए भने फागुन अन्तिममा सवारी आवतजावत ठप्प पारेका थिए । चर्को दबाबपछि बनाइएको सडक गुणस्तरहीन निस्किएपछि स्थानीय आजित छन् ।
उपत्यकामा नयाँ बनाइएको सडक केही दिनमै भत्किएको यो पहिलो घटना भने होइन । यसअघि कति सडक एक सातामै भत्किएका उदाहरण पनि छन् । केही समयअघि पुरानो बानेश्वर–नयाँ बानेश्वर सडक खण्डको एपेक्सकलेज नजिकै र सिफलबाट चाबहिल जाने सडकको बीचमा भासिएर खाल्डो परेको थियो ।
नयाँ कालोपत्रे गरिएका केही सडक त तीन दिनमै पनि भत्किएका छन् । सडक विस्तार अभियानयता उपत्यकाका विभिन्न खण्डमा गरी जम्मा १ सय २० किलोमिटर सडक मात्र पिच भएका छन् । सडक विस्तारमा हालसम्म २० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, सबैजसो सडक खाल्डाखुल्डी पर्ने र भत्कन थालेपछि राज्यको यति धेरै लगानी पानीमै बगाएसरह भएको छ ।
उपत्यकाका सडक निर्माणको जिम्मेवारी पाएका निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजना, तीनवटै जिल्लाका डिभिजन सडक कार्यालय र काठमाडौं महारनगरपालिकाले निर्माण गरेका सडक बनाउन नपाउँदै भत्कने गरेका छन् । विज्ञहरुका अनुसार एकपटक बनाइएको कालोपत्रे सडक पाँचदेखि सात वर्षसम्म टिक्नुपर्ने हो । तर, डिल्लीबजार–महाराजगन्ज, कमलपोखरी–रातोपुल, गैरीधारा–बालुवाटार, डिल्लीबजार–कालिकास्थान, मित्रपार्क–गौरीघाट, भत्केको पुल–चावहिल, बालाजु–बाइपास र भक्ति थापा मार्ग सडकका कुनै न कुनै खण्डमा पिच उप्कने, खाल्डा पर्ने र चर्किने समस्या देखिएको छ ।
विस्तारित नयाँ सडकको पिच सबैभन्दा बढी कमलपोखरी–ज्ञानेश्वर मार्ग र डिल्लीबजार–नक्साल खण्डमा भत्किएको थियो । कालिकास्थान–डिल्लीबजार खण्ड र गैरीधारा–बालुवाटार–टिचिङ खण्ड पनि लामो समय टिकेनन् । ज्ञानेश्वर खण्डको सडक पिच गरेको तीन दिनमै भत्किएको थियो । जिम्मेवार निकाय भने तीव्र वर्षा र ढल व्यवस्था नहुनुलाई दोष देखाएर उम्कने प्रयासमा छन्।

 

प्रकाशित: २० असार २०७३ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App