१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरी जोगाउँदै पानीका मूल बढाउँदै

दाप्चा(काभ्रे)-‘उतिखेर गाउँभरि पोखरी र कुवा छ्यापछ्याप्ती थिए । पोखरी बनाउने र जोगाउने पुस्तौनी ज्ञान थियो । यिनै पोखरी र कुवाको पानीले कैयौं पुस्ता हुर्के बढे ।’

‘अहिलेको पुस्तालाई यी कुरा एकादेशका कथाझैं लाग्छ । नहोस पनि किन? अब न त पोखरी नै बाँकी छ । न पोखरीका कथाहरुलाई सुन्ने र पछिल्लो पुस्तालाई बुझाउने समाज नै बाँकी छ’, दाप्चा काशीखण्ड–१४, अधिकारीथोकका माधवप्रसाद अधिकारीले पोखरीको महत्व बुझाउने क्रममा भने ।

गाउँकै जोगीपानी कुवाको पानी खाएर हुर्के बढेका अधिकारीलाई कुवालाई पानीको भरथेग गर्ने जोगीपानी पोखरीलाई जोगाउने चिन्ता रहेको छ । उनी नेपाल राष्ट्र बैंकको जागीरे जीवन सकिएपछि गाउँमै बस्दै आएका छन् ।

‘बर्खेझरीमा पोखरीमा जम्मा भएको पानी यतिखेर सुकेको छ । तैपनि त्यहीबेलाको पानीले होला कुवामा अझै पानी आइरहेको छ’, अधिकारीले भने, ‘मूल अति छिटो सुक्छ भन्ने कुरा हामीले जोगाएको पानीले पोखरी कति भरिएको भन्नेमा निर्भर गर्छ । यस पटकको वर्षात धेरै भएन त्यसैले मूलमा कमी हुँदै गयो’, उनको अनुभवले भन्छ ।

१४ वर्ष अघि अधिकारीथोकमै बुहारी भएर भित्रिएकी शर्मिला अधिकारीले एक दशकसम्म जोगीपानीकै कुवाको भरमा घरधन्धा चलाउन भ्याइन् । केही वर्षदेखि कुवामा पानी कम हुँदै गएपछि पानीको अभाव हुन थाल्यो । टाढादेखि पानी ल्यानु पर्दा उनले घरधन्धाको तारतम्य मिलाउनमात्रै सकिनन्, गाउँको फेदीदेखि पानी ओसार्दा रोगसमेत ब्यहोर्नु प¥यो ।

‘कुवा सुकेपछि गाउँमुनिको चिलाउने खोल्साबाट भ्याट(प्लाष्टिकको सानो ट्यांकी) मा ४० लिटरसम्म पानी बोकेर ल्याउँथे । भात पकाएर ख्वाउन नभ्याएर सुख्खा चिउराको भरमा केटाकेटीलाई धेरै पटक स्कूल पठाउनु पथ्र्यो’, शर्मिलाले भनिन् ।

पानीकै अभावमा घरधन्धा र बस्तुभाउ स्याहार्न समस्या भइरहेको अवस्थामा शर्मिलाको गाउँमा तीन वर्ष अघि इसिमोड र नेपाल पानी सदुपयोग फाउण्डेशनले ‘मूल, भण्डारण र पानी स्तम्भ’ सम्बन्धी कार्यमूलक अनुसन्धान कार्यक्रम लिएर प्रवेश ग¥यो ।

‘घरनजिकैको जोगीपानी पोखरीलाई मर्मतसम्भार गरेर बर्खे पानीलाई जोगाउँदा जोगीपानी कुवामा पानी बढ्छ भनेर सम्झाउन बुझाउनु भयो । पोखरी र कुवाको सम्बन्ध थाहा थिएन, उहाँहरुको कुरा पत्यार लागेन’, शर्मिलाले भनिन् ।

धेरै वर्षदेखि पानी नअडिएको पोखरीको मर्मत सम्भार र पानी अड्याउने भित्तालाई बनाउनका लागि रकम पाएपछि सोही वर्ष पोखरीमा पानी जम्मा भयो । पानीको स्रात बढाउन मद्दत गर्ने रुखहरुको संरक्षण गरियो भने पानी बढाउन मद्दत गर्ने विरुवाहरु पनि पोखरी वरिपरि रोप्ने कामहरु भए ।

‘२०७१ सालको जेठमा पोखरीलाई मर्मत सम्भार गरियो । मज्जाले पोखरी भरिएर ओभर पनि भएको थियो । त्यस वर्षको हिउँदमा कुवामा पानी सधैंभरि भइरह्यो’, अधिकारीथोक माथ्लोगाउँ टोल विकास संस्थाको अध्यक्ष समेत रहेकी शर्मिलाले भनिन् ।

फाउण्डेशनले स्थानीयलाई पुनर्भरण(रिचार्ज) पोखरी बनाउँदा या सम्भार गर्दा पानीको मूल पलाउने ज्ञानसहितको सीपयुक्त तालिम दिएको थियो । यही सीपलाई जोगीपानी पोखरीमा स्थानीयले लागू गरे । सो वर्षको हिउँदभरिको अवधिमा कुवामा प्रति मिनेट एक लिटरका दरले पानी बढेको फाउण्डेशनको अध्ययनले देखाएको छ ।

‘यो वर्ष गाउँमा धेरैतिर मूल सुक्दासमेत जोगीपानी कुवामा पानी सुकेको छैन । हामीलाई त्यही पानीले मद्दत गरिरहेको छ । यदि धेरै अगाडिबाट पोखरीको संरक्षण गर्न जानेका भए हाम्रो गाउँवरिपरिका सबै मूलहरु नसुक्ने रहेछन्’, शर्मिलाले थपिन् ।

काभ्र्रेको प्रसिद्ध तीर्थस्थल नमोबुद्ध नजिकै रहेको यो गाउँभिर जताततै पोखरी र मध्यभागमा रहेको एउटा विशाल पोखरीकै नाममा डराउनेपोखरी गाविस नामाकरण भएको हो ।

गाउँका धेरै पोखरीमा स्कूल, सरकारी कार्यालय र निजी घरहरु बनिसकेका छन् । बाँकी एउटै डराउने पोखरी रहेको छ । यसलाई जसरी पनि जोगाउनु पर्छ भन्ने नगरवासीहरुमा चेतना जागेको हुँदा दाप्चा काशीखण्ड नगरपालिकाले समेत दुई वर्षदेखि बजेट दिँदै आएको छ ।

‘डराउने पोखरी भएको डाँडाबाट झर्दै भकुण्डेवेंशीसम्म पुग्ने क्रममा सो क्षेत्र अन्यत्रभन्दा रसिलो देखिन्छ । गाउँको सिरानमै मूलहरुको संरक्षक डराउने पोखरी भएर होला, बाटैभरि एकपछि अर्को मूलहरु देख्न सकिन्छ’, कार्यकारी अधिकृत डम्बरु दाहालले भने ।

पहाडी भूधरातलयुक्त क्षेत्रफल धेरै भएको नगरपालिका भएकै कारण तत्कालै सबै भूभागमा खानेपानी सुविधा पु¥याउन असम्भव देखेर दुई वर्षदेखि नगरपालिकाले पोखरीहरुको संरक्षण गदै सबैलाई पुनर्भरण (रिचार्ज) पोखरीमा रुपान्तरण गर्ने नीति लिएको छ ।

‘हामीले इसिमोड र नेपाल पानी सदुपयोग फाउण्डेशनले बरबोटको पोखरी, हुमागाईथोक पोखरी र जोगीपानी पोखरीमा गरेको अनुसन्धानको नतिजाबाट प्रभावित भएर पोखरीको संरक्षणबाट पानीको मूललाई जोगाउनकै लागि भनेर वार्षिक बजेट छुट्याउन थालेका छौं’, कार्यकारी अधिकृत दाहालले भने ।

वातावरणमैत्री स्थानीय सुशासन कार्यक्रम(ईएफएलजी) मार्फत आर्थिक वर्ष ०७२÷७३ मा नगरपालिकाले ७ वटा पोखरी र दुई वटा खानेपानी मूलको मर्मतसम्भार तथा संरक्षणको कार्य सम्पन्न गरेकोे दाहालको भनाई छ, ‘यीनमा डराउने पोखरी, सिम्लेलहरे पोखरी, नेपाने पोखरी, सिम पोखरी, महादेव पोखरी, हिले पोखरी र ढकाल थुम्का पोखरीको काम सकिएको छ भने खानेपानीको मूलतर्फ नागस्थान मूल र जगबैजेश्वर मूललाई संरक्षण र विकास गरिएको छ’, उनले थपे ।

यो क्रमलाई नगरपालिकाले चालू आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ । गाउँभरिकै प्रमुख डराउने पोखरीसहित धोबी धारा पोखरी, मयलपानि पोखरी, जोगीमारा पोखरी, चिहानडाँडा पोखरी, पिपल चौर पोखरी र भैरब कुण्ड पोखरीमा कामहरु भईरहेको छ । खानेपानीको मूल तर्फ बग्मारा मूल, हिले मूल र ढोडेनी मूल रहेको छ ।

‘आर्थिक वर्ष ०७४÷७५ को नगर विकास योजनाका लागि बस्ती र वडास्तरको योजना तर्जुमा कार्यक्रम सम्पनन भइसकेको छ । यस पटक पनि विभिन्न वडाबाट पोखरी तथा मूल संरक्षण र पुनर्भरण पोखरी निर्माणका योजनाहरु माग भई आएका छन् । हामी नगरवासीको दैनिक जीवनसँग प्रमुख सरोकार राद्यने पानीका निम्ति प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने योजनामा रहेका छौं’, दाहालले थपे । कार्यक्रमअनतर्गत नै पानीको मूल पलाउन सहयोग गर्ने विरुवाहरु रोप्नसमेत स्थानीयलाई अभिप्रेरित गरिने उनको भनाई छ ।

जलवायु परिवर्तनलगायत अन्य कारणले पछिल्ला वर्षहरुमा वर्षात्को स्वरुपमा परिवर्तन आइरहेको इसिमोडका विज्ञ निलहरि न्यौपानेको भनाई छ, ‘पानीको मूलको स्रोत नै आकाशे पानी भएको र वर्षाको झरीलाई पुनर्भरण पोखरी या अन्य कुनै माध्यमबाट जमीनमुनि पठाउँदा मूल जोगिने कुरा दाप्चा–काशीखण्ड र पाँचखाल नगरपालिकामा भएको अनुसन्धानले प्रमाणित गरेको छ’, उनले थपे ।

इसिमोड र फाउण्डेसनले पाँचखालका मण्डने पोखरी, ठाँटी पोखरी र तिनपिप्ले क्लब पोखरीलाई नयाँ निर्माण, पुनस्र्थापन तथा मर्मत सम्भार गर्दा ती पोखरी तल रहेका मण्डने कुवा, भष्मे मूल र सीमको इनारमा पानीको परिमाण बढेको देखाएको छ, ‘मण्डने कुवामाथि पोखरी बनाउँदा प्रति मिनेट शून्य दशमलव ६६ लिटर पानी बढेको देखियो,’ कार्यमूलक अनुसन्धान प्रतिवेदनमा भनिएको छ । 

 

 

प्रकाशित: १६ पुस २०७३ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App