coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

टेलिकमको फोर-जी सुरु

सन्तोष न्यौपाने/सन्तोष पोखरेल

काठमाडौं/पोखरा- नेपाल टेलिकमले चौथो पुस्ताको प्रविधि (फोर–जी/एलटिई) मा आधारित सेवा सुरु गरेको छ। ग्राहकको लामो प्रतीक्षापछि नेपालमै पहिलोपटक सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक टेलिकमले आइतबार फोर–जी सेवा सुरु गरेको हो। फोर–जी भनेको थ्री–जीको विकसित रुप हो, जुन द्रुत गतिको हुनेछ।

हालको लागि टेलिकमले काठमाडौं उपत्यका र पोखराका पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि मात्र फोर–जी सेवा उपलब्ध गराएको छ। प्रिपेड ग्राहकले भने माघ २२ गतेपछि मात्र प्रयोग गर्न पाउने छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले फोर–जी/एलटिईको 'सफ्ट लन्च' गरे।

पोखरामा टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले सेवाको सुरु गरेका थिए।

'हालका लागि हामीले काठमाडौं उपत्यका र पोखराका पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि मात्र फोर–जी सेवा सञ्चालन गरेका छौं,' टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, 'माघ २२ गते टेलिकमको वार्षिकोत्सवका दिनदेखि प्रिपेड प्रयोगकर्तालाई पनि उपलब्ध गराउने छौं।'

हालको लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ रोडभित्र, इन्द्रायणी, गोदावरी, गोकर्ण रिसोर्ट क्षेत्र, भक्तपुर र पोखरामा पोस्टपेड ग्राहकले मात्र उपभोग गर्न पाउने छन्। काठमाडौं उपत्यकाका ३०८ बिटिएस टावर र पोखराका २५ बिटिएस टावर क्षेत्रभित्र पर्ने ३ लाख ५० हजार ग्राहकले सेवा उपभोग गर्न पाउने छन्। छिट्टै थप ५९ वटा बिटिएस टावरमा यो सेवा सञ्चालन हुने प्रविधि जडान गर्ने टेलिकमको योजना छ।

पूर्ण क्षमतामा फोर–जी सेवा सञ्चालन गर्न बाँकी रहेको बेला टेलिकमले थ्री–जीकै शुल्कमा फोर–जी सेवा चलाउन दिएको छ। टेलिकमका अनुसार फोर–जीबाट पनि एक मेगाबाइट डाटा प्रयोग गरेको शुल्क १ रुपैयाँ लाग्ने छ।

अधिकांश फोर–जी सेवा चल्ने हेन्ड सेटहरूमा सफलतापूर्वक फोर–जीको परीक्षण गरिसकेको टेलिकमले जनाएको छ। यो सेवा एन्ड्रोइड एप्लिसकेन भएका सबै र आइफोनका मोडलमा मात्र चल्छ। सेवा सञ्चालन हुन नसक्ने केही मोडलमा सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित कम्पनीसँग सम्पर्क गरिरहेको टेलिकमले जनाएको छ।

फोर–जी सेवा सञ्चालन गर्न 'स्टार ४४४ ह्यास' डायल गर्नु पर्नेछ। टेलिकमका पुराना केही जिएसएम सिममा यो सेवा सञ्चालन नहुने भएकाले ५० रुपैयाँ शुल्क तिरेर नयाँ सिम (युसिम) लिनु पर्नेछ। नयाँ सेवा सञ्चालन गरेको अवसरमा जनवरी महिनाभित्र फोर–जी रजिस्टर गर्ने पोस्टपेड सेवाग्राहीलाई '४ जिबी प्रोमोसनल प्याकेज'को रुपमा प्रतिदिन एक जिबी डाटाको दरले ४ दिनको लागि ४ जिबी निःशुल्क उपलब्ध गराउने छ।

उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर एक रुपैयाँ प्रतिएमबी लाग्नेछ। हालै, जिएसएम पोस्टपेड मोबाइल बोक्ने ग्राहकलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेज लिई फोर–जी सेवा उपभोग गर्न सकिन्छ।

टेलिकमले १८ सय मेगाहर्ज ब्यान्ड प्रयोग गरी १५ मेगाहर्ज ब्यान्डविथलाई रि–फ्रेमिङ गरी १० मेगाहर्जमा जिएसएम र ५ मेगाहर्जमा फोर–जी (एलटिई) सेवा सुरु गरेको टेलिकम वायरलेस सेवाका निर्देशक अशोक थापाले बताए। ५ मेगाहर्ज ब्यान्डविथ प्रयोग गरी फोर–जी सञ्चालन गर्न ३२.४ एमबिपिएससम्म सपभोग गर्न सकिने छ। सोभन्दा बढी सेवा पुर्‍याउन थप ५ मेगाहर्ज चाहिने छ। उक्त मेगाहर्ज उपलब्ध गराइदिन नेपाल दूरसञ्चार प्राधिकरणसँग पत्राचार गरिसकेको थापाले जानकारी गराए।

फोर–जी सेवा सञ्चालन गर्न ५ मेगाहर्जले हुँदैन। यसमा फोर–जीको प्रकृति अनुसारको स्पिडमा चल्दैन। टेलिकमले नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग थप ५ मेगाहर्ज मागेको छ। प्राधिकरणले ७०० र २६०० ब्यान्डमा बढाबढ गर्दैछ।

फोर–जी सेवा सञ्चालन गर्न निकै ढिला भएको भन्दै प्राधिकरणका अध्यक्ष दीगम्बर झाले यो सेवालाई ८० प्रतिशत ग्राहकसमक्ष पुर्‍याउन सकेमात्र प्रत्यक्ष फाइदा पुग्ने बताए। 

दक्षिण एसियाली सहयोग संगठन (सार्क) मै पहिलोपटक थ्री–जी सेवा सुरु गरे पनि फोर–जी ल्याउन भने सात वर्ष लागेको छ। विश्वमा फोर–जी सेवा सञ्चालन भएको सात वर्षपछि नेपालमा सुरु भएको हो। विश्वमा सन् २०१० मा स्विडेनबाट फोर–जी सेवा सुरु भएको थियो। हाल विश्वका १ सय ६० दूरसञ्चार कम्पनीहरूले यो सेवा सञ्चालन गरिरहेका छन्। ह्वावे टेक्नोलोजीले टेलिकमको फोर–जी सेवा विस्तार गरिरहेको छ। टेलिकमले फोर–जी सेवा सञ्चालन गर्न ३६ लाख अमेरिकी डलर (३८ करोड ८८ लाख रुपैयाँ) लगानी गरेको जनाएको छ।

मन्त्री कार्कीले गाउँगाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकममात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउन समेत सघाउ पुर्‍याउने बताए। सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै फोर–जी सेवाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री बनाउन समेत सहयोग पुग्ने बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोर–जी सेवाबाट सेवाग्राहीको मन जित्न सफल हुने र देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा पुर्‍याउने लक्ष्यका साथ गृहकार्य अघि बढेका जानकारी गराइन। उनले यो सेवा सञ्चालनपछि देशको आर्थिक गतिविधि र राजस्व पनि बढ्ने विश्वास व्यक्त गरिन।

उता, पोखरामा २५ बिटिएसबाट पहिलो चरणमा फोर–जी सेवा दिइने टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यले बताएका छन्। पोखराका व्यापारिक केन्द्र लेकसाइड, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार, अमरसिंह, लगायत ठाउँबाट पहिलो चरणमा सेवा दिइएको छ। 'व्यापारिक र पर्यटकीय क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो। त्यसपछि अन्यत्र पनि सेवा विस्तार हुने छ,' शाक्यले भने।

शाक्यका अनुसार प्रत्येक टावरसँग हजार ग्राहकलाई सेवा दिने क्षमता छ। त्यसैले पहिलो चरणमा पोखरामा २५ हजार ग्राहकले मात्र फोर–जी सेवा पाउनेछन्।

फोर–जीमा उच्च गतिको इन्टरनेट चल्ने भएकोले चलचित्र, युट््युब, प्रत्यक्ष रुपमा टिभी हेर्न सकिने शाक्यले जानकारी गराए।

मोबाइल डाटा फोर–जीमा चले पनि भ्वाइस भने टू–जी र थ्री–जीमा चल्ने शाक्ले जानकारी दिए। 'फोर–जी चलिरहेको बेला फोन आयो भने भ्याइस सेवा स्वतः टुजी र थि्रजीमा बदलिन्छ। फोनमा कुरा सकेपछि डाटा पुन फोर–जीबाट चल्न थाल्छ,' उनले भने, 'भ्वाइस सेवा पनि फोर–जीमा चलिसक्दा अहिलेको प्रविधिमा धेरै नै परिवर्तन भइसक्छ।'

प्रकाशित: १८ पुस २०७३ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App