८ वैशाख २०८१ शनिबार
कला

नेपाली फिल्मका दर्शक बढे

काठमाडौं- 'म त लुट–२ फर्स्ट रिलिज फर्स्ट सो हेर्छु हेर्छु,' लाजिम्पाट बस्ने सुनिता न्यौपाने नेपाली फिल्मप्रति क्रेज देखाउँदै भन्छिन्, 'लुटजस्तै पक्कै राम्रो होला त्यो पनि।'  उनले छक्कापन्जा, पशुपतिप्रसाद कबड्डी कबड्डी, जात्रा र पुरानो डुंगा हेरिसकेकी छन्। उनीजस्तै भक्तपुरका समीर चित्रकार फेरि राम्रो नेपाली फिल्मको प्रतीक्षामा छन्। उनले श्रीकृष्ण श्रेष्ठको कोहिनुरपछि पशुपतिप्रसाद र छक्कापन्जा हेरे। उनीहरु जस्तै अहिले मल्टिप्लेक्स हलमा जाने दर्शकको पहिलो रोजाइ नेपाली फिल्म नै बन्ने गरेको छ।

'नेपाली फिल्म कुन चलेको छ, त्यसको टिकट दिनुस् न भनेको मैले आफैँ देखेँ,' यसपालिको हिट फिल्म छक्कापन्जाकी निर्देशक दीपाश्री निरौला भन्छिन्, 'राम्रो बन्यो भने नेपाली फिल्म दर्शकले हेर्ने बेला आएको छ।'

आफ्नै परिवेशका अर्ग्यानिक कथाका नेपाली फिल्मले दर्शकलाई हलतिर तान्दै छ। अरुका कपी–पेस्ट हैन, अब हाम्रै कथा फिल्मका विषय बन्न थाल्नु राम्रो अभ्यासको सुरुवात भएको निरौला उल्लेख गर्छन्। एक सय दिन मनाएको छक्कापन्जाले श्रीकृष्णको कोहिनुरले कमाएको आठ करोड रुपैयाँको रेकर्ड तोड्दै १६ करोड कमाई गर्‍यो। यही नै नेपाली फिल्ममा दर्शक बढेको राम्रो उदाहरण हो। दीपाश्री निरौला, दीपकराज गिरीसहितका हास्य कलाकार सहभागी यो तेस्रो फिल्म हो। यसअघिका ६ एकान ६, वडा नम्बर ६ हिट भयो। यसै वर्ष वैदेशिक रोजगारीले सिर्जना गरेका समस्यामा केन्द्रित फिल्म छक्कापन्जा ल्याए। यसले अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्मको सूचीमा आफ्नो स्थान कायम गर्‍यो। हास्य रसको फिल्म टेलिभिजनमा मात्र हैन, ठूलो पर्दामा पनि हेर्न दर्शक पुग्ने नयाँ सिलसिला यो फिल्मले कायम राख्यो।

युवा निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल नौ वर्षअघि नेपाली फिल्म क्षेत्रमा छिर्दा यहाँ पुरानै ढर्राका फिल्मको जगजगी थियो।

'टाउको हेरेर हलवालाले फिल्म लिन्थ्यो,' उनी सम्झन्छन्, 'राजेश हमाल छ कि छैन, निखिल उप्रेती छ कि छैन, नाम चलेको हिरोइन छ कि छैन त्यो गनेर मात्र फिल्मलाई ठाउँ दिइन्थ्यो।'

अहिले भने फिल्म क्षेत्रमा अर्ग्यानिक युग आएको अनुभूति उनले गरेका छन्। उतिबेला उनले नयाँ ढर्राका फिल्म चलाउन निकै हन्डर खेपे। एकैचोटि नयाँ ढर्रामा जानुभन्दा मिश्रण गरेर फिल्म धर्मा र द युगदेखि युगसम्म निर्माण गरे। यी फिल्म खासै चलेनन्। नयाँ कथामा 'चपली हाइट' बनाएपछि भने उनी चले।

थि्रडी प्रविधिबाट भिजिलान्ते बनाए, डार्क कमेडीका रूपमा दयाहाङलाई हिरो बनाएर 'झोले' बनाए, ती औसत रहे। कबड्डी बनेपछि भने उनले नयाँ मौलिक धारमा टेक्ने ठाउँ भेटाए। 'त्यो राम्रो चल्यो। पशुपतिप्रसादपछि हाम्रो आफ्नै कथा दर्शकले मन पराउने दिन आएको छ,' उनले भने। हलको मेनुमा पनि अर्ग्यानिक फिल्म पर्न थालेको उनले बताए। पशुपतिप्रसादकै सिक्वेलका रूपमा उनले फेरि 'धनपति' ल्याउँदै छन्। जसको सुटिङ माघबाट हुँदै छ। आममानिसको प्रेमकथामा बनेको 'लभ लभ लभ' वैशाखमा रिलिज हुँदै छ। उनी भन्छन्, 'केटाकेटी टाइपको मायापिरती हैन, एउटा संवेदनशील मान्छेको प्रेमकथा हो यो।'

उनको पशुपतिप्रसादले झन्डै तीन करोड आम्दानी गर्न सफल भएको थियो। जसमा खगेन्द्र लामिछाने नायक थिए।

अर्ग्यानिक जीवनकथा मन पराउने अर्का व्यक्ति हुन्, रवीन्द्रसिंह बानियाँ। टलकजंग भर्सेज टुल्केका निर्माता अनि भर्खरै हलमा दर्शकको वाहवाही बटुलेको जात्राका निर्माता हुन् उनी। पुशपतिप्रसादका हनुमान पात्रका रुपमा पनि उनी चर्चित छन्। 'अलिकति हेर्न हुने फिल्म बनायो भने दर्शक हलमा आउँछन् नै,' बानियाँले भने, 'हामी कति राम्रो बनाउँछौँ भन्ने हो।'

दर्शकको विश्वास नेपाली फिल्मप्रति बढ्दै गएको उनी सुनाउँछन्। टलकजंग भर्सेज टुल्केले एक करोड रुपैयाँभन्दा बढी कमायो। जात्राले हलमा दर्शक भिœयाएरै तीन करोडभन्दा बढीको आम्दानी गरेको छ। 'जात्राको हिसाबकिताब अझै चल्दै छ,' बानियाँले थपे, 'अर्ग्यानिक फिल्मको नयाँ स्वाद दर्शकले मन पराएका छन्।' नेपाली फिल्म सबल बन्नुमा मौलिक कथासँगै प्राविधिक सफलता भएको निर्माता निर्देशक उल्लेख गर्छन्। 'पहिले फिल्मका सबैजसो प्राविधिक काम भारतमा हुन्थ्यो,' दीपेन्द्र के खनाल सुनाउँछन्, 'अहिले विश्वका सबैभन्दा राम्रा क्यामेरा र प्राविधिक उपकरण नेपालमै छन्।' त्यसले पनि फिल्म राम्रो बनाउन सघाएको छ।

प्रकाशित: १८ पुस २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App