८ वैशाख २०८१ शनिबार
कला

चलचित्र जमेका 'पदमप्रसाद बा'

काठमाडौं- ७९ वर्षे पदमप्रसाद पौडेल। जसले ३० वर्ष शिक्षण पेसामा बिताए भने २२ वर्ष पत्रकारितामा। जीवनको उत्तरार्धमा उनी नेपाली चलचित्र क्षेत्रमा ऊर्जाशील जीवन बिताउँदैछन्। अभिनय गर्न थालेको भर्खरै त हैन। यो क्षेत्र उनका लागि ऊर्जाशील बनेको छ। उनी गीत, कविता लेख्न पनि निकै मन पराउँछन्। ०१६ सालताका साहित्यको झोला नामको पुस्तक उनले प्रकाशन गरेका थिए। जसमा नेपाली साहित्यका पुराना कुरा थिए। उनको लाहुरेको चिठी नामको गीतिसंग्रह पनि प्रकाशित छ।

तथापि बाटामा हिँडेका बेला कसैले 'यी त फिल्म खेल्ने पदमप्रसाद बा हैनन् र?' भनी नमस्कार गर्दा उनलाई आनन्द लाग्छ। 'मेरो कुनै पुस्ता यसरी फिल्म खेलेकै थिएनन्,' उनी भन्छन्, 'गाउँ संखुवासभा जाँदा छरछिमेकले ए कसरी खेल्छौ फिल्ममा भनेर हैरानै पार्छन्।' तर उनलाई त्यही हैरानी निकै प्यारो लाग्छ।

पहिलोपल्ट निर्देशक शिव रेग्मीले हामी तीनभाइमा खेल्न खेल्न बोलाएको अझै याद छ उनलाई। 'धुम्रपान, मदिरापान गर्दैनन् पदमबा सजिला छन्। काम गरेपछि यिनको हात खालि नपठाउनू भनेर भन्थे,' उनले शिव रेग्मीसँग काम गर्दाका दिन स्मरण गरे। अभिनय सुरु गरेको भने उनले सन्तोष पन्तको हिजो आजका कुरा टेलिसिरियलबाट हो। उतिबेलाको निकै मन पराइएको सिरियलमा उनले मौका पाउनु ठूलो कुरा भएको बताए।

एउटा कार्यक्रममा भेट्दा 'तपाईंजस्तो मान्छे चाहिएको छ' भनेर सन्तोष पन्तले बोलाएपछि उनी सहर्ष गएका थिए। रमा थपलियाको दाइ बनेर उनले अभिनय गरे। त्यसपछि पुरेत होस् वा गाउँको बुज्रुक न्यायाधीश वा वलिक। घरमूली होस् वा जान्नेसुन्ने। सबै भूमिकामा पदमबा फिल्मकर्मीको रोजाइ बने। शोभित बस्नेतको राजुराजाराम, धुम, चट्टान, राजधानी  जस्ता फिल्म गरे। जसमा राजेश हमालसँग काम गरेका थिए। दयाराम दाहालको म त तिमीबिना मरिहाल्छु खेले। अहिले नयाँ लैबरी लै गरे। फिल्म चोर सिपाहीमा पनि उनको अभिनय छ। अभिनय गर्ने सोख भने उनीमा हिन्दी सिनेमाका देवानन्दले भरिदिएका हुन्। देवानन्द अभिनीत संसार फिल्म हेरेपछि उनीजस्तै बन्ने भूत चढेको उनी बताउँछन्।

 उनले अभिनय गरेका नेपाली फिल्म ६२ वटा पुगिसके। फ्रान्सेली टोलीले सरुभक्तले लेखेको कथामा बनाएको छोटो फिल्म 'मलामी'को नौलो अनुभव उनीसँग छ। गाउँका सबै पुरुष बिदेसिएपछि महिला आफैँ शव बोकेर जलाउन मलामी गएको मार्मिक कथा त्यसमा छ। विदेशीले गरेको काममा पैसा पनि राम्रै दिए, फिल्म विदेशमा पनि चल्यो।

उपहार चिया, मकैको चिउरालगायत विज्ञापन फिल्ममा समेत उनको अभिनय देख्न पाइन्छ।

 जीवनमा एउटा काम गरेर बाँकी समय सुतेर बिताउन नहुने उनी बताउँछन्। 'म मर्र्नु अघिसम्म पनि यसैगरी काम गर्न पाउँ,' उनी भन्छन्, 'आजसम्म छोराछोरीका अघि हात पसार्नुपरेको छैन। भोलि पनि नपरोस्।' बिहे गरेपछि घरपरिवारको जिम्मेवारी पूरा गर्दै शिक्षण पेसामा लागे। 

संखुवासभाको पहिलो पत्रकारका रुपमा उनले २२ वर्ष राष्ट्रिय समाचार समितिमा काम गरेर बिताए। बाँकी जीवन फिल्म क्षेत्रमा खर्चने उनी बताउँछन्। उनी लोकबाजा संरक्षण गर्न टोलीसहित देश–विदेश भ्रमणमा समेत जाने गर्छन्। आफूसँगै पत्नी देवकुमारी पौडेललाई पनि उनले सँगै अभिनयमा सक्रिय बनाउँदै छन्। उनी नयाँ पुस्तालाई प्रेरणा दिँदै भन्छन्, 'काम सानो ठूलो हुन्न, ठास्सठुस्स परेर रिस गर्न हुन्न, फिल्म क्षेत्र रमाइलो छ।'

पाँच छोरा, दुई छोरी चौध नातिनातिनाका हजुरबुबा पदमप्रसाद चलचित्र कलाकार संघको आजीवन सदस्य हुन्।

प्रकाशित: १९ पुस २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App