८ वैशाख २०८१ शनिबार
अर्थ

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

ललितपुर–  लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको  काम थालको छ ।

आयोजनाले ०७४ असोज २६ मा सक्ने गरी गत जेठ २६ गते समानान्तर निर्माण प्रालिलाई सडक विस्तारको जिम्मा दिएपछि सडक विस्तार कार्य सुरु भएको हो  । सडक विस्तारको ठक्का पाएको ठेकदार कम्पनीले अहिले सडकछेउका बिजुली पोल व्यवस्थापन गर्ने, स्थानीयलाई घरजग्गाको मुआब्जा दिने, रुख काट्ने लगायत काम गरिरहेको छ भने लगनखेलदखि आर्मी ब्यारेकसम्म सडक चौडा बनाइसकेको ठेकदार कम्पनीले जनाएको छ ।  

उक्त सडक ललितपुरको जाम हुने मुख्य सडकमध्ये पर्छ । ‘सडक विस्तार कार्य सुरु भएपछि सर्वसाधारण जामको सकसबाट मुक्त हुनेछन्,’ समानान्तर निर्माण प्रालि प्रमुख नीरजकुमार थपलियाले भने, ‘सडक साँघुरो भएकै कारण यो सडकमा अत्यन्तै जाम हुन्छ ।’ उनले आउँदो असोजसम्म काम सकिने जानकारी दिए ।

विस्तार आयोजना प्रमुख दीपक केसीका अनुसार ६ करोड ४९ लाख ८१ हजार रुपैयाँ अनुमानित लागतमा १६ महिनामा सक्ने गरी ठेकदार कम्पनीलाई ठेक्का दिइएको थियो । ‘हामीले १६ महिनामा विस्तार कार्य सक्ने गरी ठेक्का दिएका छौँ,’ उनले भने, ‘सडकछेउका रूख, टेलिफोन तार, बिजुलीका पोल व्यवस्थापन र सडकछेउका घर भत्काउनुपर्ने भएकाले सुरुको ६ महिना काम देखिएको छैन, अझै केही रुख काट्ने र स्थानीयलाई घरजग्गाको मुआब्जा दिन बाँकी छ । यी काम सकिएपछि द्रूत गतिमा सडक फराकिलो र कालोपत्र गर्न थाल्छौँ ।’

उनले सडक विस्तारका क्रममा पर्ने खानेपानीका पाइप, बिजुलीका पोल, घर भत्काएर स्थानीयलाई मुआब्जा दिने कार्य आयोजनाले नै गर्ने सम्झौता भएकाले अहिले उक्त काम भइरहेको जनाए ।
प्राधिकरण आयुक्त कार्यालय ललितपुर प्रमुख नारायणराज भण्डारीले सडकछेउमा स्थानीयले घरको मुआब्जा दिने र निर्माण सामग्री जुटाउने कार्य भइरहेको जानकारी दिए । ‘हामीले स्थानीयलाई क्षतिपूर्ति दिँदै घर भत्काउन थालेका छौँ,’ उनले भने ।

 

प्रकाशित: २० पुस २०७३ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App