४ वैशाख २०८१ मंगलबार
कला

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

हरिभक्त मचामसीसहितको भजन टोली भजन गर्दै।

भक्तपुर– ‘जीवनको धेरै समय यहाँको कला, संस्कृति, जनजीवनलाई जीवन्त राखिराख्न बिताउन पाएकामा गर्व लाग्छ,’ ८२ वर्षीय हरिभक्त मचामसी भन्छन्, ‘यही कारण छोराछोरीलाई पनि बाजागाजा, भजन सिकाएको छु, उनीहरु त्यो प्रशिक्षणमा उत्कृष्ट पनि भए ।’

१२ वर्षको कलिलो उमेरदेखि बाँसुरी बजाउन सुरु गरेका मचामसीको अधिकांश समय अहिले पनि बाजागाजा बजाउनमै बित्छ ।
प्रत्येक १५ दिनमा चाडपर्व आउँछन्, ती पर्वमा सार्वजनिक स्थानमा बाजागाजा बजाइन्छ । दसैं, बिस्केट, गाईजात्रा लगायत चाँडपर्व, जात्रा पर्वमा उनी स्वयंसेवकका रुपमा काम गर्छन् । दसैं, बिस्केटमा यहाँ हप्तौँसम्म नगर नै बाजागाजामय हुन्छ । यो बेला उनको समय त्यही बाजागाजा बजाउनमै बित्छ । यसका साथै भक्तपुर नगरका विभिन्न ठाउँमा विभिन्न अवसरमा हुने भजनकीर्तन, बाजागाजा बजाउन उनी पुग्छन् । विशेष गरेर व्रतबन्ध, दाफा पूजा लगायत कसैको व्यक्तिगत सांस्कृतिक पर्वदेखि अनेक सांस्कृतिक कार्यक्रममा उनी सरिक हुन्छन् ।

एक सय २६ वर्षअगाडि स्थापित डम्बरेश्वर भजनमण्डल याता गोल्मढी भक्तपुरमा आबद्ध भएर उनी कला संस्कृतिमा रमाएका हुन् ।

भक्तपुर नगरपालिका– ७  गोल्मढीस्थित डम्बरेश्वर भजनमण्डल आबद्ध उनकै नेतृत्वमा भजन सञ्चालन हुन्छ । यो भजनमण्डलमा उनले स्वयंसेवकका रुपमा सरिक हुन्छन् । स्वयंसेवाबापत उनले कहीँकतैबाट एक पैसा पनि पाउँदैनन् । बरु कुनै पारिवारिक समूहले बाजागाजा बजाउन बोलाउँदा एक छाक भोज खान पाउँछन् ।

डम्बरेश्वर भजन मण्डल याता गोल्मढीका सदस्य हरिकृष्ण सुकुपायोले एक सय २६ वर्षअगाडि स्थापित डम्बरेश्वर भजन मण्डलका सदस्यमध्ये हरिभक्त सबैभन्दा ज्येष्ठ रहेको बताए । जसले अहिले पनि निरन्तर यहाँको भजनकीर्तन, बाजा, धिमे बजाएर जीवन बिताइरहेको उनले जनाए ।

कला, संस्कृति, भजन महागुठी अध्यक्ष जननीप्रसाद मूल भक्तपुरलाई कला संस्कृतिको नगर बनाउन हरिभक्तजस्ता धेरै भक्तको भक्तिभाव रहेको बताए ।

वृद्ध हरिभक्त घरखर्चका लागि अहिले पनि खेतको काम गर्छन् । साथै आफ्नो खेतमा फलाएको तरकारी फुटपाथमा राखेर बेच्छन् । उनी अहिले ठूलो छोरासँग छन् । उनकी पत्नीको ६ वर्षअघि नै निधन भएको थियो ।


 

प्रकाशित: २० पुस २०७३ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App