५ वैशाख २०८१ बुधबार
कला

हिरालालकाे चरा प्रेम

अाफ्नाे पेन्टिङका साथ हिरालाल

काठमाडौं– राजमान चित्रकारको निधन पछि चराका चित्र बनाउने कलाकारका रुपमा उदाए चित्रकार हिरालाल डंगोल । उनले ६० वर्ष लामो चराचित्रकलामा गुजारे । अहिले उनीसँग उनका चारसन्तानले पनि उनकै पथ पछ्याएका छन् । मंगलबार बर्डस अफ नेपाल पुस्तक निकालेको ५० वर्ष पुगेको अवसरमा डंगोल सहित उनका परिवारले संयुक्त चित्रकला प्रदर्शनी आयोजना गरेका छन् । नेपाल कला परिषदमा शुरु भएको चित्र प्रदर्शनीमा एकसय बढी चित्रहरु चराकै छन् ।

‘मैले आफुमात्र काम गरेर भएन,’ उनले भने ,‘मेरा सन्तानलाई पनि सिकाउनु पर्यो ।’ पुस्तौपुस्ताका लागि आफ्नो छाडेर जानकै लागि उनले सन्ततीलाई आफ्नो कला पुस्तान्तरण गरेका हुन् । उतिबेला चरा पकडेर त्यसको प्वाँख,ठुड अनि खुट्टाका नग्रा केलाउदै चित्र बनाएको डंगोललाई अझै याद छ । ‘चराको चित्रमा लगाउने रंग लण्डनबाट ल्याउँथ्यौ,’ डंगोलले सम्झे,‘ एउटा ट्युबको पचास रुपैयाँ पथ्र्यो अहिले ६ सय पर्छ ।’ ’छोराछोरीलाई सिकाउन त्यति गाह्रो उनलाई परेन् । ‘बुबाले रंगीचंगी चरा बनाएको हेर्दाहेर्र्दै सिक्यौ,’ जेठो छोरा पुष्पलाल डंगोलले भने,‘ रंग हाल्न पनि केही तरिका उहाँले छुट्टै सिकाउनु भयो ।’ उनले भने झै वंशजको चित्रकला जान्न पिताका लागि रंग,पानी क्यानभास ओसार्दा ओसार्दै चरामा मन बसेको छोरी मिना डंगोल उल्लेख गर्छिन ।

‘हामीले आफ्ना चित्रमा भने पिताका जस्तो परम्परागत धार मात्र राखेका छैनौ,’ छोरी प्रतिमा डंगोल थप्छिन् ,‘केही फरक तरिकाले चित्र बनाएका छौं ।’ उनले भने झै नयाँ पुस्ताका सन्ततीको चित्र हिरालालका भन्दा केही भिन्न छन् । पुष्पलालले बनाएको सबैभन्दा ठूलो चित्रमा वनमा मयुर डुलीरहेको चित्र छ । जसलाई बनाउन उनले मयुरको प्वाँख अगाडी राखेर रंग संयोज गरेका थिए ।

कान्छा छोरा इश्वर डंगोल पनि पिताको चित्रकला पथमै छन् । उनीपनि पिताको जस्तै चराका चित्र कोर्न रुचाउँछन् । कला प्रदर्शनीको उद्घाटन श्रीलंकाली राजदुत डब्लु.एस.परेडाले गरिन् । पचास वर्ष अघि हेम पौडेल,लैनसिंह वांगदेल,डाक्टर फ्लेमिगं र हिरालाल डंगोल मिलेर बर्डस अफ नेपाल नामको नेपालका चराका चित्रको पुस्तक निकालेका थिए । त्यसैको सम्झनामा आयोजित चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा सपरिवारका चित्र समेटिएको अर्को पुस्तक द आर्ट अफ हिरालाल डंगोल एण्ड हिज फ्यामिलीको बिमोचन समेत गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथी सताब्दी पुरुष सत्यमोहन जोशीले चराको चित्र बनाउने राजमानपछिको राम्रो कलाकार हिरालाल नै रहेको बताए । चराविद डा.हेमसागर बरालले चराको चित्र बनाउनु कठिन काम रहेको औंल्याए । ‘ठुड,प्वाँख वा कुनै अंगको रंगमात्र मिलेन भने चराको अस्त्त्विममै फरक पर्छ,’बरालले भने ,‘यस्तो कठिन काम गरेर चराको चित्र बनाउनेमात्र हैन नेपालका चरा संरक्षणमा पनि डंगोलको ठूलो योगदान छ ।’

उनका अनुसार नेपालमा ८ सय ८६ प्रजातीका चरा छन् । जसमा आठ प्रजातीका चरा लोप भैसकेका छन् । चरा संरक्षण नेपालका कार्यकारी अधिकृत तथा संरक्षणकर्मी नरेन्द्रमानबाबु प्रधानले चराको पुस्तक निकालेर सिंगो नेपालीलाई चराका बारेमा सिकाउने डंगोल भएको जनाए । आफ्ना सन्तानलाईमात्र नभई हरेक नेपालीलाई चरा के हो भनेर सिकाउने एउटा सिद्धहस्त कलाकार डंगोल रहेको चर्चा उपस्थित अतिथीहरुले गरे । चराचित्र प्रदर्शनी भने दशदिन चल्ने जनाईएको छ । थरीथरीका चराका चित्र बनाउन पानी रंग र एक्रेलिक रंगसँगै चराकै प्वाँखको समेत प्रयोग गरिएको छ ।

प्रकाशित: २० पुस २०७३ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App