coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘कनिका झैँ छरियो’ निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट

खोटाङ– खोटाङका दुवै निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ। एमालेबाट निर्वाचित क्षेत्र नम्बर १ का सांसद पिके राई र क्षेत्र नम्बर २ का सांसद विशाल भट्टराईले ५०÷५० लाख रुपैयाँ रकम विनियोजन गरेका हुन्।

यसअघिका वर्ष ‘विवाद र चर्काचर्की’बीच निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजन हुँदै आएकोमा यसपल्ट सुटुक्कै विनियोजन गरिएको छ। कुनै एक क्षेत्र विशेषलाई प्राथमिकतामा राख्नुभन्दा पनि बजेटलाई ‘कनिका छरेझैँ’ छुट्ट्याइएको पाइएको छ। सांसद राईले पूर्वाधारतर्फ ३३ लाख ७५ हजार र सामाजिक विकासतर्फ १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन्।

सांसद भट्टराईले पूर्वाधारतर्फ २४ लाख २५ हजार र सामाजिक विकासतर्फ २५ लाख रुपैयाँ विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित रकममध्ये सामाजिक विकासतर्फका प्रायः बजेट कामै नगरी फरफारक गर्ने गरिएको जनगुनासो आउने गरेको छ।

‘एउटा नाममा बजेट विनियोजन गरिन्छ, तर ४–५ जनालाई भागबण्डा गर्नुपर्छ,’ एमाले स्रोतले भन्यो, ‘विनियोजित सबै रकम पनि हात पर्दैन, नढाँटी भन्ने हो भने यो कार्यकर्ता खुसी बनाउन बाँडिने रकम बनेको छ।’

जिविस स्रोतका अनुशार सांसद राईले पूर्वाधारतर्फ जालपा–कादेल–सप्तेश्वर–बाक्सिला सडक स्तरोन्नतिका लागि १० लाख, खार्ताम्छा फोदी ग्रामीण सडक निर्माणका लागि ५ लाख, कुभिण्डे जिरो प्वाइन्टदेखि हौँचुर ग्रामीण सडक स्तरोन्नतिका लागि ३ लाख, कुभिण्डे दम्कु ग्रामीण सडक निर्माणका लागि ३ लाख, बुइपा लाखेचौर मञ्च निर्माणमा २ लाख, नुनथला भुलडाँडादेखि खाम्ला ग्रामीण सडक निर्माणका लागि २ लाख रुपैयाँ विनियोजन गरेका छन्।

त्यस्तै नुनथला भञ्ज्याङ पानीट्यांकी हुँदै ग्रामीण सडक निर्माणका लागि १ लाख, फेदी धोद्रे ग्रामीण सडक निर्माणका लागि १ लाख ५० हजार, दुवेकोल चिण्डेश्वर मगरगाउँ ग्रामीण सडकका लागि १ लाख, मंगलटार पातलपानी गैरीगाउँ पिपलडाँडा खानेपानी आयोजनाका लागि १ लाख २५ हजार, बाकाचोल आलु चिस्यान भण्डारण निर्माणका लागि १ लाख, पातेखा रैकर बाबरी ग्रामीण सडक निर्माणका लागि १ लाख, माला विजयखर्क गाविस भवन ग्रामीण सडक निर्माणका लागि १ लाख र विजयखर्क ढकालबेसी सिँचाइ कुलो निर्माण योजनाका लागि १ लाख गरी पूर्वाधारतर्फ ३३ लाख ७५ हजार रुपैयाँ वजेट विनियोजन गरिएको हो।

त्यस्तै, सामाजिक विकासतर्फ ऐसेलुखर्क नेवार सामाजिक गुठीको लागि समाग्री खरिदमा ३ लाख, मदन भण्डारी पुस्तकालय व्यवस्थापनका लागि ८ लाख ५० हजार, सुत्केरी ढुंगा कृषि सहकारी संस्था समाग्री खरिद अर्खौलेका लागि २ लाख, किरात राई यायोख्खा कार्यालय व्यवस्थापन दिक्तेलका लागि १ लाख र स्वर्गीय युवराज पोखरेल प्रतिष्ठान व्यवस्थापन कुभिण्डेका लागि १ लाख रुपैयाँ विनियोजन गरेका छन्।

सांसद भट्टराईले पूर्वाधारतर्फ दिक्तेल–खाल्ले सडक निर्माण योजनाका लागि ५ लाख, सप्तेश्वर छितापोखरी खेल मैदान निर्माण योजनाका लागि ३ लाख, निर्मलीडाँडा पेलुङ सडक निर्माणका लागि ५ लाख, छोरम्वु रोबुलुङ बतासे सडक निर्माणका लागि ३ लाख, खावाडाँडा सडक मर्मत योजना चिउरीडाँडा–३ का लागि २ लाख, चिसापानी खानेपानी मर्मत योजनाका लागि १ लाख, नेर्पा मूलकुलो देवीस्थान मर्मत योजनाका लागि १ लाख २५ हजार, मझुवागढी संरक्षण पूर्वाधार निर्माणका लागि २ लाख र डडेफूल डाँडाखर्क सडक निर्माण योजनाका लागि २ लाख रुपैयाँ गरी २४ लाख २५ हजार रुपैयाँ विनियोजन गरेका छन्।

त्यस्तै, सामाजिक विकासतर्फ मदन भण्डारी पुस्तकालय व्यवस्थापनका लागि १० लाख, महेन्द्रोदय उमावि समाग्री खरिद योजनाका लागि ५ लाख, श्री मावि बाँसबोटे समाग्री खरिद योजनाका लागि ३ लाख, सहिद मुक्सन स्मृति प्रतिष्ठान समाग्री खरिदका लागि १ लाख, नेपाल राष्ट्रिय दलित समाज कल्याण कार्यालय व्यवस्थापनमा १ लाख र अन्नपूर्ण मावि चिउरीडाँडा समाग्री खरिदका लागि ५ लाख रुपैयाँ रकम छुट्ट्याइएको छ।

प्रकाशित: २० पुस २०७३ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App