१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डोनाल्ड ट्रम्पका कारण विश्वका अर्बपति उत्साही

काठमाडौं– भलै २०१६ मा लोकप्रिय मतदानले राजनीति र शक्तिमा अमेरिका र युरोपलाई हल्लाइदिने किसिमको परिवर्तन देखायो, विश्वका धनीहरुको खातामा भने २ सय ३७ अर्ब डलर थपिएको छ।

सन् २०१५ को तुलनामा यति बढी रकम उनीहरुको खातामा थपिएको हो । अर्थात, अर्बपतिहरु अझै बढी अर्ब थप्न सफल भएका छन्।

यो उछालले अर्बपतिहरुको सम्पूर्ण सम्पत्तिमा ४.४ ट्रिलियन थपिदिएको छ ।

वर्षको सुरुमा चीनको आर्थिक सुस्तता र बेलायतले युरोपेली संघ छाड्ने तनावसँगै अर्बपति डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिका रुपमा चयनले पुँजी बजारमा ठूलो फरक ल्याउने आशंका गरिए पनि त्यस्तो केही भएन । बरु उल्टै पुँजीबजारमा उछाल आएको छ। यो उछालले अर्बपतिहरुको सम्पूर्ण सम्पत्तिमा ४.४ ट्रिलियन थपिदिएको छ ।

यस वर्ष सबैभन्दा बढी कमाउनेमा वारेन बफेट परेका छन् । उनले अघिल्लो वर्षभन्दा यस वर्ष ११.८ अर्ब डलर सम्पत्ति उनको कम्पनी बर्कसायर हाथावेमा थपेका छन् । खासगरी हाथावेको लगानी रहेका बिमान र बैंकिङ क्षेत्रमा ट्रम्पको विजयपछि त आश्चर्यजनक तरिकाले सम्पत्ति थपिएको हो । गएको जुलाईमा हाथावेको सम्पत्ति २.६ अर्ब डलर कमाइ भएको आँकलन गरिएको थियो ।

यो कमाइसँगै बफेटको सम्पत्ति १९ प्रतिशतले बढेको छ । उनी ७४.१ अर्ब डलर सम्पत्तिको मालिक बन्न पुगेका छन् । अमेरिकी सेयर बजारमा यतिबेला उछाल आएको छ र यसको फाइदा बफेटले उठाएका छन् । ट्रम्पको राष्ट्रपतीय कार्यकालमा सम्पत्ति र विविध किसिमका अंकुश हट्ने आसमा सेयर बजार बढेको हो ।

संसारका धनीका रुपमा रहेका बिल गेट्सको सम्पत्ति पनि बढेको छ । उनी नं. १ मै रहेका छन् । उनको निजी सम्पत्ति ९१.५ अर्ब डलर पुगेको छ । वर्षमा सबैभन्दा बढी कमाउने व्यक्तिमा ह्यारोल्ड ह्याम रहेका छन्। पछिल्लो समय कच्चा पेट्रोलियम पदार्थको मोल बढेपछि उनको सम्पत्तिको मूल्यांकन पनि बढेको हो।

रोचक त के छ भने, ट्रम्पको विरोध गर्नेहरु नै उनको विजयले फलिफाप पाउनेमा परेका छन्। अर्का अर्बपति मार्क क्युबनले त ट्रम्प विजयी भए सेयर बजार २० प्रतिशतले ओरालो झर्ने घोषणा नै गरेका थिए। ट्रम्पका विरोधीमा वारेन बफेट, बिल गेट्स र अन्य थिए।

पुँजीवादको ‘जनावर नियत’का कारण ट्रम्पको शासनकालमा अझै बढी सेयर बजारमा उछाल आउने अर्बपति रे डालियोले आँकलन गरेका छन् । डालियो आफैं ६३ औं नम्बरका अर्बपति हुन् । उनको कुल सम्पत्ति १४.१ अर्ब डलर आँकलन गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो मन्त्रिमण्डलमा अर्बपतिहरुलाई नै छानेका छन् । तीमध्ये एक विल्बर रोसले वाणिज्य मन्त्रालय सम्हाल्ने छन् । त्यस्तै गोल्डम्यान साक्स ग्रुप इन्कका पूर्व कार्यकारी स्टेभन नुचिनले अर्थ मन्त्रालय सम्हाल्ने छन् ।

‘अन्य अर्बपतिहरुले झैं म डोनाल्ड ट्रम्पको उति धेरै विरोध गर्दिनँ,’ साउदी अरेबियाका अर्बपति मोहमद बिन इसा अल जबारले भनेका थिए, ‘उनी क्षमतावान् व्यक्ति हुन् र एउटा व्यवसायीका रुपमा उनले जुन उपलब्धि हासिल गरेका छन्, त्यसलाई कम आँक्न मिल्दैन । उनको वरिपरि रहेका जति पनि व्यक्ति छन्, ती आफ्नो काममा सफल र निपूण दुवै छन् । त्यसैले उनको कार्यकाल पुँजी बजारका लागि अझ गज्जब हुने अपेक्षा गर्न सकिन्छ ।’

फ्रान्सेली अर्बपति बर्नार्ड आर्नोल्टले समेत यसपटक कमाएका छन् । उनको खातामा यसपटक ७.१ अर्ब डलर थपिएको छ । उनको कुल सम्पत्ति ३८.९ अर्ब डलर पुगेको छ । उनको कम्पनीले लक्जरी सामान उत्पादन गर्ने गर्छ र चीनमा उसले राम्रो व्यापार गरिरहेको छ ।

वर्षभरि नै बिल गेट्स संसारकै धनीका रुपमा रहिरहे । दोस्रो नम्बरमा युरोपका सबैभन्दा धनी तथा जारा कम्पनीका मालिक एमान्सियो ओर्टेगा दुई नम्बरमा रहे पनि नोभेम्बरको सेयर बजार उछालपछि उनको नम्बर वारेन बफेटले हत्याए । ओर्टेगा तेस्रो धनी बन्न पुगेका छन् । उनको कुल सम्पत्ति ७१.२ अर्ब डलर आँकलन गरिएको छ।

फेसबुकका जुकरबर्गले वर्षभरिमा ५.४ अर्ब कमाए ।

यसपटक चिट्ठा परेका व्यक्ति वाइल्ड क्याटर ह्याम हुन् । ट्रम्प प्रशासनले तेल प्रशोधनका कतिपय प्रावधान हटाउने अपेक्षाका साथ सेयर बजार बढ्दा उनको खातामा ८.४ अर्ब डलर थपिएको हो । यसले उनको निजी सम्पत्ति १५.३ अर्ब डलर पु¥याइदिएको छ ।

२०१६ मा प्रविधि उद्योगले सबैभन्दा राम्रो प्रगति गरेको छ । ५५ अर्बपतिहरुले ५० अर्ब डलर उनीहरुको सम्पत्तिमा थपेका छन् । बरु ट्रम्प प्रशासनले नयाँ नीति ल्याएको खण्डमा प्रविधि उद्योगलाई असर पर्न सक्ने आँकलन गरिएको छ । ‘ट्रम्प प्रशासनले कस्ता नीति ल्याउँछ त्यो हेर्न बाँकी छ,’ गुगलका सह–संस्थापक सर्गेई ब्रिनले गएको डिसेम्बरमा एउटा कार्यक्रममा भनेका थिए, ‘म के आशा गर्छु भने प्रशासनले बढी विज्ञान, प्रविधिजस्ता कुरालाई बढी हौस्याउने किसिमको नीति पारित गर्नेछ । यसले अमेरिकाको मात्र होइन, संसारकै भलो गर्नेछ ।’

अमेजन डट कम इन्कका संस्थापक जेफ बेजोसको सम्पत्ति पनि २०१५ को तुलनामा बढेको छ । ७.५ अर्ब बढेर बेजोस ६० अर्ब डलरका मालिक बनेका छन् । उनलाई फेसबुकका मार्क जुकरबर्गले कमाइमा पछ्याएका छन् । जुकरबर्गले वर्षभरिमा ५.४ अर्ब कमाए ।

यसैगरी चीनका अर्बपति ज्याक माले उनको कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडमा ३.६ अर्ब सम्पत्ति जोडेका छन् । यससँगै ३३.३ अर्ब डलरका मालिक बन्न पुगेका छन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । चीनमा ३१ जना अर्बपति छन् र उनीहरुको जम्मा सम्पत्ति २६२ अर्ब छ । अमेरिकामा १७९ जना अर्बपति छन् र तिनको कुल सम्पत्ति १.९ हजार अर्ब डलर छ । यस्तै जर्मनीमा ३९ अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति २८१ अर्ब डलर छ ।  (ब्लुमबर्ग बिजनेस विकबाट)

प्रकाशित: २० पुस २०७३ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App