८ वैशाख २०८१ शनिबार
अर्थ

पैसा सकिएपछि राष्ट्र बैंकको आस

काठमाडौं- कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको छ। निक्षेपको ब्याजदर बढाउँदासमेत रकम संकलन हुन नसकेपछि बैंकहरू नेपाल राष्ट्र बैंकसँग लगानी गर्ने पैसा माग्ने तयारीमा छन्।

लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या जटिल बन्दै गएको नेपाल बैंकर्स सघंका अध्यक्ष अनिल शाहले बुधबार नागरिकलाई बताए। 'लगानीयोग्य पुँजी अभाव हुन थालेपछि राष्ट्र बैंकलाई सहज बनाउन आग्रह गरेका छौं,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाहले भने, 'तरलताको जटिल समस्या समाधान गर्न राष्ट्र बैंकलाई भनेका छौं।'

सघंले सोमबार गभर्नर चिरञ्जीवी नेपाललाई भेटेर तरलता समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ। उक्त अवसरमा बैंकरले अहिले देखिएको लगानीयोग्य पुँजीे अभाव समाधान गर्ने उपायबारे सुझाव दिएको अध्यक्ष शाहले बताए।

गभर्नर नेपालले संघका तर्फबाट लिखित सुझाव ल्याउन आग्रह गरेका थिए। 'गभर्नरले लिखित रुपमा सुझाव मागेकाले एक साताभित्र तरलता अभाव समाधान गर्नेसहितका सुझाव दिँदै छौं,' उनले भने, 'यसबीच अर्थमन्त्रीलाई पनि भेट्दै छौं।'

पछिल्लो समय बैंकहरुमा कर्जा माग गर्नेको संख्या बढ्दै गएको बैंकर बताउँछन्। नेपाल बैंकर्स सघंको पछिल्लो साताको तथ्यांक हेर्ने हो भने कर्जा प्रवाह ५ अर्ब हुँदा निक्षेप संकलन १ अर्ब मात्र छ।

पुस १ देखि ८ गतेसम्म एक सातामा निक्षेपभन्दा कर्जा प्रवाह पाँच गुणाले बढेको संघको तथ्यांक छ। पुस १ सम्म बैंकले १५ खर्ब २३ अर्ब लगानी गरेका थिए। त्यसको एक सातापछि पुस ८ गते लगानी ५ अर्बले बढाएर १५ खर्ब २८ अर्ब पुगेको छ।

यसैगरी,  पुस १ गतेसम्म बैंकमा निक्षेप १८ खर्ब ६२ अर्ब रुपैयाँ थियो। त्यसको एक सातापछि पुस ८ गतेसम्म निक्षेप जम्मा १ अर्ब संकलन गरेर १८ खर्ब ६३ अर्ब पुगेको छ।

कर्जा माग बढेको तर निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। 'ठूलो ऋण माग्न आउनेलाई दिन सकिँदैन भन्ने स्थिति आएको छ,' नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष एवं सल्लाहकार अशोक राणाले भने, 'सरकारसँग रहेको रकम खर्च गर्न नसकेका कारण यस्तो स्थिति आएको हो।'

सरकारसँग रहेको करिब २ खर्ब रुपैयाँ खर्च हुन नसकेको संघका अध्यक्ष शाहले बताए। 'पुसभित्र थप ३५ अर्ब सरकारको खातामा जम्मा हुन्छ,' उनले भने, 'यसले गर्दा लगानीयोग्य पुँजी अभाव झनै जटिल हुने देखिन्छ।'

कर्जाको माग बढेको र निक्षेप संकलनमा सुस्तता आएका कारण बैंकलाई समस्या परेको संघका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका राणाले बताए। 'अप्ठेरो स्थितिमा छौं,' उनले भने, 'यो स्थितिको समाधान नगर्ने हो भने जटिल अवस्था आउने निश्चित छ।'

लगानी गर्न बैंकमा रकम अभाव भएको पनि उनले बताए। 'ऋण बढाउन बैंक अक्षम छन्,' उनले भने, 'ऋण लगानी गर्न नसक्दा बैंकको नाफामा पनि असर पर्नेछ।'

तरलता अभाव समस्या जटिल बन्दै गएको उनको भनाइ छ। 'पैसाजति सरकारको खातामा जम्मा भएको छ,' संघका अध्यक्ष शाहले भने, 'खर्च हुन नसक्दा बैंकिङ प्रणालीमा रकम अभाव देखिएको छ।'

बैंकले राष्ट्र बैंकको खातामा राखेको केही रकम खर्च गर्न दिने हो भने पनि यो समस्या केही सहज हुने संघका अध्यक्ष शाहको भनाइ छ। 'यसो भएमा बैंकिङ प्रणालीमा रकम प्रवाह हुन्थो र लगानी गर्न सकिन्थ्यो,' उनले भने।

'बैंकलाई लगानीयोग्य रकम अभाव हुन दिनु हुँदैन,' एक बैंकरले भने, 'आवश्यक लगानीयोग्य रकम सरकारले उपलब्ध गराउनुपर्छ।'

लगानीयोग्य रकम अभावको मारमा लगानीकर्ता परेका छन्। अहिले उनीहरूले बैंकबाट ऋण लिन सकिरहेका छैनन्। सरकारसँग भएको रकम खर्च नगरेसम्म बैंकमा लगानीयोग्य पुँजी अभाव हुने पनि ती बैंकरले बताए। 'लगानीयोग्य पुँजी अभावले आर्थिक वृद्धिमा समेत नकारात्मक असर पार्छ,' उनले भने, 'सरकारसँग भएको रकम खर्च गरेमात्र यो अभाव अन्त्य हुन्छ।'

केही महिनाअघिसम्म बैंकसँग ३०–३५ अर्ब हाराहारी लगानीयोग्य रकम थियो। अहिले घटेर ५ अर्बमा खुम्चिएको राष्ट्र बैंकको भनाइ छ।

पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन्। बैंकिङ प्रणालीमा तरलता कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन्। बैंकले १४ प्रतिशतसम्म ब्याजमा ऋण दिँदै आएका छन्।

गत वर्ष भूकम्प, नाकाबन्दी, तराई–मधेस आन्दोलनका कारण बैंकले लगानी गर्र्न सकेका थिएनन्। उनीहरूले त्यस बेला मुद्दती खातामा २–३ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए। तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा १० प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन थालेका छन्। 'लोन (ऋण) को माग बढेको छ। निक्षेप कम छ,' एक बैंकरले भने, 'यस्तो अवस्थामा ब्याजदर बढाएर निक्षेप लिन बैंक बाध्य भएका छन्।'

प्रकाशित: २१ पुस २०७३ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App