सर्वनाममा थारु किशोरीको सपना

बिहिबार, २१ पुष २०७३, ०९ : ३० मदन चौधरी  | @tharuketo

काठमाडौं- पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्। थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक प्रणव आकाशले देखाउन खोजेका छन्, भुरभुरा नाटकमार्फत। नाटक कालिकास्थानस्थित सर्वनाम नाटकघरमा गत शुक्रबारबाट मञ्चन भइरहेको छ।

नाटककी मुख्य पात्र गुल्पी (अञ्जु चौधरी) गरिब परिवारकी हुन्छिन्। अन्य किशोरीजस्तै उनी पनि साथीसँग सखिया नाच्न चाहन्छिन्। तर सखिया नच्ने दिन आउँदासमेत उनले मजुरा र भुरभुरा जुटाउन सक्दिनन्, आफ्नै टोलमा संगी मादलको तालमा सखिया नाचिरहँदा गुल्पी भने ओछ्यानमा पटकपटक भक्कानिन्छन्, सुत्न सक्दिनन्। गुल्पीको अनुपस्थिति उनका संगीले पनि खल्लो महसुस गर्छन्। सखिया नाच्ने रहर हुँदाहुँदै मजुरा र भुरभुराका कारण नाच्न नआएको बताइरहँदा गुल्पी बरर्र आँसु झार्छिन्। गुल्पीलाई उनका सहपाठीले सान्त्वना दिए पनि दर्शक भावविह्वल बन्छन्।

गुल्पीका बुडी सरिता चौधरी अर्थात् हजुरआमाले उनको दुःख बु‰िछन्। उनले छोरा जलवीर (नन्दु चौधरी)  र बुहारी टेंग्नीलाई डाकेर यसबारे सल्लाह गर्छन्। नातिनीको इच्छा पूरा गर्न आमा र हजुरआमाले आफ्नो गहना बेच्न बाध्य हुन्छन्। हजुरआमा र आमा कुनामा बसेर रोइरहेको दृश्यले थारु समाजको यथार्थ बोलिरहेको हुन्छ। यता गुल्पी भने नाच्न पाउने आशामा दंग हुन्छिन्। बजार गएका बाबालाई उनी घन्टौँ बाटो कुरेर बस्छिन्। बाबाले ल्याइदिएको मजुरा र भुरभुरा लिएर उनी पन्छीझैँ उड्न थाल्छिन्। संगीहरुसँग सखिया नाच्ने गुल्पीको सपना पूरा हुन्छन्। सपना पूरा भएको रात एक्लै मजुरा बजाएर गीत गाएको दृश्यले पनि ती थारु परिवारलाई बयान गर्छ, जसले आर्थिक अवस्था कमजोर भएर आफ्ना छोरीलाई कमलरी राख्न बाध्य छन्।

थारु समाज देखाउन नाटकमा कलाकारको त्यहीअनुसारको पहिरन छ। स्टेजमा थारु गाउँ नै बनाइएको छ। थारु गाउँजस्तै घर बनाइएको छ। थारु गाउँमा किशोरकिशोरीको क्रियाकलाप देखाइएको छ। बठिनिया अर्थात् किशोरीले माछा मारेको दृश्यले थारु समुदायमा माछाप्रतिको लगावलाई झल्काउँछ।

लेखक चौधरीले भुरभुरा रहरको अर्थ पनि किशोरकिशोरीको रहर भएको बताए। 'मुजुरामा हालिएको रिबन, जुन हावाको झोँक्कामा हल्लिन्छन्, किशोरीले पनि त्यही भावना राख्छन्। त्यो भुरभुरा उड्नु र किशोरीको भावना उड्नु एउटै कुरा हो,' उनले भने।

कुनै बेला अहिलेका चर्चित कलाकार सुनील पोखरेल, राजन खतिवडासँग रंगमञ्चमा अभिनय गरेका चौधरीलाई थारुभाषामै नाटक मञ्चन गर्ने सपना थियो। उनको सपना रंगमञ्चमा जमिरहेका प्रणव आकाशले पूरा गरिदिएका छन्।

'राजधानीमा अहिले नाटकले राम्रो व्यावसायिक उचाइ हासिल गरेको छ। यही माहोलमा थारुभाषाको नाटक पनि किन मञ्चन नगर्ने भइरहेको थियो। प्रणवको आग्रहमा दिमागमा रहेको ड्राफ्टलाई उनले पेपरमा उतारे, जुन अहिले सर्वनाम थियटरमा मञ्चन पनि भइरहेको छ।

'कथा सत्य घटनामा आधारित छ। गाउँघरमा यस्ता धेरै घटना छन्, साथीहरुको जस्तो लुगा लगाउन नपाउँदा, गहना लगाउन नपाउँदा छोराछोरी रुने, पीडा व्यक्त गर्ने गर्छन्,' उनले भने, 'त्यसलाई आर्थिक समस्या र सांस्कृतिक उत्पीडनसँग जोडेर कथा तयार पारेको हुँ।'

चौधरीले नाटकका गुल्पी पात्र समाजमा धेरै भएको बताए। जसले आफ्नो सपना पूरा गर्न पाइरहेका छैनन्। 'थारु समाजका धेरै गुल्पी पात्रले आत्महत्या पनि गरेका छन्। त्यही मानवीय संवेदना उतार्न खोजेको छु,' उनले भने। त्यो बेला सखिया नाच्न नपाउनु भनेको मरेतुल्यसरह हुने उनले बताए। पहिचानको सबाल उठिरहेका बेला उनले नाटकमा पनि सांस्कृतिक परिवेशको पहिचान दिन खोजेको बताए। 'छोरीको रहर पूरा गर्न आमाको गहना बेच्नुपर्दाको जस्तो पीडा केही हुन सक्दैन,' उनले भने, 'उनीहरुको रहर पूरा गर्न अभिभावकले खेल्नुपर्ने दायित्वबारे पनि नाटकले सन्देश दिन खोजेको छ।'

निर्देशक प्रणवले नाटकमा ५० वर्षअघिको पश्चिमी थारु समाज देखाउन खोजेको बताए। नाटक दंगौराभाषी लवजमा छ। '५० वर्षअघिको थारु समाजलाई नाटकमा उतार्ने प्रयास गरेको छु,' उनले भने, 'जसका लागि महिनौँ थारु गाउँका बूढापाकासँग त्यस बेलाको भाषा, संस्कृतिबारे अध्ययन गरे।'










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad