१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

पाँचथर- साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

ताप्लेजुङको जितसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। ताप्लेजुङका खेलाडीले पूरै अवधि खेलमा नियन्त्रण राख्दा तीन नाइजेरियाली खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्याइज लज्जास्पद हार बेहोरेर राजधानी फर्किएको छ।

अजय मार्टिन कायोडेको गोलमा चर्च ब्वाइजले १३ औं मिनेटमै अग्रता लिए पनि अग्रता कायम राख्न सकेन। ताप्लेजुङबाट खेलेका नाइजेरियाली खेलाडी पिटर सेगुनले ह्याटि्रक गरे। ताप्लेजुङको जितका लागि सुनिल बलले दुई र कप्तान निराजन खड्काले एक गोल गरे।

विपक्षी पोस्टबाट फर्किएको बल हेडमार्फत् गोल गर्दै मार्टिनलेे चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। ३८ औं मिनेटमा कर्नर पाएको बल हुलमुलमा गोल गर्दै निराजनले ताप्लेजुङलाई खेलमा फर्काए।

दोस्रो हाफमा भने ताप्लेजुङ विपक्षीमाथि पूर्ण रुपमा हाबी भयो। दोस्रो हाफको पहिलो मिनेटमै रेजिन सुब्बाको पासमा सेगुनले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाए। लगत्तै अर्को मिनेटमा सेगुनले दोस्रो व्यक्तिगत गोल गरेपछि चर्च ब्वाइज दबाबमा पर्‍यो।

५३ औं मिनेटमा रेजिनको पासलाई सुनिलले गोलमा परिणत गरे भने ७८ औं मिनेटमा निराजनको पासमा गोल गर्दै सेगुनले व्यक्तिगत ह्याटि्रक पूरा गरे। इन्जुरी समयमा समिर राईको पासमा सुनिलले दोस्रो व्यक्तिगत गोल गरेपछि साबिक विजेताको विजय अन्तर थप फराकिलो बन्यो।

ह्याटि्रक गरेका सेगुन म्यान अफ दि म्याच घोषित भए। ताप्लेजुङले सेमिफाइनलमा शुक्रबार सुनसरीको इलेभेन एरोज क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि बिहीबार पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले बिर्ता युथ क्लब झापा–११ को सामना गर्नेछ। फाइनल आइतबार हुनेछ।

प्रकाशित: २१ पुस २०७३ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App