coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली बजारमा ४३ सय मोडलका मोबाइल

काठमाडौं- देशमा अहिलेसम्म ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट भित्रिसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' गराएर कानुनी रुपमा उक्त संख्यामा मोबाइलका मोडल भित्रिएका हुन्।

विदेशबाट कुनै पनि ब्रान्डको मोबाइल आयात गर्न प्राधिकरणबाट स्वीकृति लिनु पर्छ। निश्चित मापदण्ड पूरा गरी प्राधिकरणसँग मोबाइल आयात गर्न स्वीकृत लिनुलाई 'टाइप एप्रुभल' भनिएको हो। 

'हालसम्म करिब ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट प्राधिकरणले टाइप एप्रुभल गरिसकेको छ,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, 'टाइप एप्रुभलको मापदण्ड पूरा गरेका मोबाइल सेट नेपालमा भित्रिएका हुन्।'

त्यसरी स्वीकृति लिएकामध्ये करिब १ हजार २ सय ४३ मोडल 'पर्मानेन्ट टाइप एप्रुभल'का रुपमा छन्। कुनै पनि मोबाइलको मोडल लगातार ५ वर्षसम्म आयात भइरहेमा त्यसलाई 'पर्मानेन्ट टाइप एप्रुभल'का रुपमा राख्ने गरिएको छ। लगातात पाँच वर्षसम्म आयात भइरहने मोडलको संख्या धेरै कम हुने भएकाले 'पर्मानेन्ट टाइप एप्रुल'को संख्या कम हुने खनाल बताउँछन्।

व्यक्तिगत रुपमा पनि देशमा मोबाइल भित्रने गरेको छ। प्राधिकरणको तथ्यांक अनुसार वैशाखदेखि मंसिर मसान्तसम्म व्यक्तिगत रुपमा ३ हजार ३ सयभन्दा धेरै आइएमइआई नम्बर (मोबाइल सेट) दर्ता भएका छन्।

बजारमा अनाधिकृत रुपमा मोबाइल हेन्डसेट आउन नदिन प्राधिकरणले टाइप एप्रुभल लिनुपर्ने नियम बनाएको हो। बजारमा कम गुणस्तरका मोबाइल सेट भित्रने र त्यसले उपभोक्ता मारमा पर्ने भएकाले कुनै पनि व्यवसायीले मोबाइल सेट आयात गर्न प्राधिकरणले निर्धारण गरेको मापदण्ड पूरा गर्नुपर्छ। 

कुनै पनि मोबाइल सेटको टाइप एप्रुभल गराउन उत्पादक कम्पनीसँग सहमति, ब्रान्ड, मोडलको विस्तृत विवरण, ल्याब टेस्टको विवरण लगायत विभिन्न प्रमाणित तथ्य प्राधिकरणलाई बुझाउनु पर्छ। 'ग्रे मार्केटलाई निरुत्साहित गर्न हामीले टाइप एप्रुभल सुरु गरेका हौं,' खनालले भने, 'यसमा केही मापदण्ड तयार भएको छ। व्यवसायीले कुनै पनि मोडलको मोबाइल ल्याउन त्यो मापदण्ड पूरा गर्नु पर्छ।'

व्यवसायीका अनुसार नेपालमा हाल ४० देखि ४५ वटा ब्रान्डका मोबाइल आयात भइरहेका छन्। जसमध्ये २२–२५ वटा मात्र अन्तर्राष्ट्रिय स्तरका संसारभर चलेका ब्रान्ड रहेको आयातकर्ता बताउँछन्। त्यसबाहेक बाँकी आइरहेका ब्रान्डहरू कुनै एक देशमा चलेको हुन्छ भने कुनै अर्को देशमा। त्यस्ता ब्रान्डका मोबाइल एकपटक आएपछि अर्कोपटक आउने निश्चित हुँदैन्। यसले उपभोक्तालाई हानी पुर्‍याउँछ।

'केही ब्रान्डका मोबाइल एकपटक आउने अर्कोपटक आउँछन् आउँदैनन् निश्चित हुँदैन,' मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा भन्छन्, 'ह्वार्र आएर हराउने मोबाइलले गर्दा उपभोक्ता ठगिने डर हुन्छ।' गुणस्तरीय ब्रान्डका मोबाइल बजारमा ल्याउन कोसिस भइरहेको मल्होत्रा बताउँछन्।

व्यवसायीका अनुसार देशमा अहिले करिब २५ व्यवसायीले मोबाइल आयात गरिरहेका छन्। तीमध्ये १६ जना एसोसिएसनमा आवद्ध छन्। केही मोबाइल आयातकर्ता एकपटक सामान ल्याएर बजारमा पठाउने र अर्को पटक नल्याउने किसिमका छन्। यसरी अन–ब्रान्डेड मोबाइलहरू ल्याएर दीर्घकालीन व्यवसायभन्दा पनि छोटो समयको लागि 'ट्रेडिङ'मात्र गरिरहेका छन्।

अन–ब्रान्डेड मोबाइलबाट गाउँका उपभोक्ता बढी ठगिने गरेको व्यवसायीको भनाइ छ। सहरका उपभोक्ताले ब्रान्डबारे जानकारी लिइरहने तर गाउँघरमा अहिले पनि यसबारे थाहा नभएकाले अन–ब्रान्डेड मोबाइलमा फस्ने गरेको व्यवसायी बताउँछन्।

केही खुद्रा व्यवसाय भने 'टाइप एप्रुभल' गराउने प्रक्रिया झन्झटिलो भएकाले मोबाइल आयातमा एकाधिकार रहेको बताउँछन्। 'टाइप एप्रुभल गराउन २–३ सय पानाको विवरण बुझाउनु पर्छ,' नेपाल मोबाइल व्यवसायी संघका संयोजक पुरुषोत्तम बस्नेतले भने, 'यसले गर्दा धेरै व्यवसायीले मोबाइल आयात गर्न सकेका छैनन्।'

त्यसलाई सरलीकरण गरेर न्यूनतम मापदण्ड पूरा गर्ने कम्पनीलाई मोबाइल आयात गर्न सक्ने बनादिनुपर्ने बस्नेतको धारणा छ। अन्य व्यवसायीले पनि सजिलो तरिकाले मोबाइल फोन आयात गर्न पाउने हो भने ग्रे मार्केट घट्ने बस्नेत बताउँछन्।

अहिले कानुनी माध्यमबाट मात्रै विभिन्न मोडलका मासिक ४ लाख सेट आयात हुन्छन्। देशमा अ्कझै पनि ६० प्रतिशत जनसंख्यामा स्मार्टफोन पुग्न नसकेको व्यवसायी बताउँछन्।

स्मार्टफोनको यही बजार देखेर हरेक वर्ष नयाँ नयाँ ब्रान्डका मोबाइल सेट भित्रिरहेका छन्। केही वर्षदेखि मोबाइल व्यवसाय ४० प्रतिशतका दरले वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०७२/०७३ मा देशभर झन्डै २५ अर्बको मोबाइल फोनको व्यापार भएको थियो। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब जतिको व्यापार भइसकेको छ भने चालु आर्थिक वर्षभरमा ३६ अर्ब बराबरको व्यापार पुग्ने देखिन्छ।

मोबाइल आयातकर्ताहरू यहाँ मागभन्दा पनि वितरण धेरै भएको बताउँछन्। जसले मोबाइल बेच्ने प्रतिस्पर्धाभन्दा पनि अवस्थ प्रतिस्पर्धा बढाइरहेको व्यवसायीको बुझाइ छ।  

प्रकाशित: २१ पुस २०७३ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App