८ वैशाख २०८१ शनिबार
समाज

एअरपोर्टबाट लुत्तै छिर्छ सुनको भारी

गौशाला, पिंगलास्थानमा बिहीबार सुन जाँच्दै प्रहरी। युइईबाट सुन ल्याइँदै छ भन्ने सुराकीका आधारमा पछ्याउँदै प्रहरीले ३४ किलो सुन बरामद गर्‍यो भने ल्याउने र जिम्मा लिन पुगेका दुईसहित तीन जनालाई पक्राउ गर्‍यो। तस्बिर सौजन्य : प्रहरी

काठमाडौं- कुख्यात अपराधी चाल्स शोभराजले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा निकाय र भन्सार अधिकारीको मिलेमतोमा हुने गरेका तस्करीबारे कुनै बेला भनेका थिए– नेपालको एअरपोर्टबाट म हात्ती छिराइदिन सक्छु।'

सत्य रहेछ!

नत्र लगेजमा हिफाजतसाथ राखेर युएईबाट ल्याइएको ३४ किलो सुन कसरी विमानस्थलबाट सुत्तै बाहिरिन सक्छ? सायद भन्सारका सबै अधिकारी बेहोस थिए अनि सुरक्षा अंगका सबै अधिकारी निदाइरहेका थिए!

शोभराजको भनाइ पुष्टि गर्ने गरी बिहीबार भएको यस घटनाले विमानस्थलमा भन्सार अधिकारी, सुरक्षा अधिकारी र तस्करको त्रिपक्षीय मिलेमतो उदांग पारिदिएको छ। यस घटनाले मिलेमतोमा हवाई तथा स्थलमार्गबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको समेत पुष्टि गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले विदेशबाट पाएको सूचनाका आधारमा बिहीबार विमानस्थल भन्सार जाँच पास भएर बाहिरिएलगत्तै एक यात्रुको लगेजबाट ३४ किलो सुन बरामद गरेको हो।

टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका एक यात्रुको लगेजबाट २ सय ८२ थान सुनका बिस्कुट बरामद गर्‍यो। एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगन्जका गोपालबहादुर शाहीलाई गौशाला, पिंगलास्थानबाट लगेजसहित पक्राउ गर्‍यो। सुन लिन गएका दुई व्यक्तिसमेत पक्राउ परे।

एसपी मीरा चौधरीका अनुसार सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा४च ९११४ नम्बरको टेरियस गाडीसहित समातिएका हुन्। प्रहरीले शाहीले ल्याएको लगेजमा काटो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्राममा बनिबनाउ गहना बरामद गरेको हो। ब्युरो अधिकारीका अनुसार १९ थान आंैठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्ट्समा लुकाएर सुनका बिस्कुट ल्याइएको थियो।

प्रहरी उच्चस्रोतका अनुसार विमानस्थलमा स्थापित तस्करीको यो सञ्जाल लामो समयदेखि ठूलो परिमाणमा अवैध सुन भिœयाउन सक्रिय छ। काठमाडौंमा स्थापित व्यापारीको समूहले सुन भिœयाउन वैदेशिक रोजगारमा नेपाल फर्कनेलाई प्रयोग गर्दै आएका छन्। हङकङबाट आउने सुनका लागि त सरकारी कर्मचारीसमेत प्रयोग हँुदै आएको छ।

'सुनको बिस्कुट लगेजमा लुकाएर राख्ने, पक्राउ र बरामदको शृंखलाका लागि बनिबनाउ सुनका गहना देखाउने गर्दै आएका थिए,' प्रहरी स्रोतले भन्यो, 'डलरमा देखिएको संकटपछि राष्ट्र बैंकको सल्लाहमा ब्युरोले अप्रेसन गरेको हो।'

स्रोतका अनुसार हुन्डी, सुन तस्करी र मोतीको अवैध व्यापारका लागि नेपालमा जम्मा हुने डलर तस्करमार्फत तेस्रो देश पुग्न थालेपछि प्रहरीको एउटा एकाइलाई सक्रिय पारिएको थियो। सुन र मोतीको तस्करीमा चिनियाँ र भारतीय अधिकारीले समेत चासो राख्न थालेपछि प्रहरी थप चनाखो भएको हो।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले ब्युरोमा विदेशबाट आएको सूचनाका आधारमा बिहीबार सुन बरामद भएको बताए। उनले सुन बोकेर आउने र लिन आउने युवाका माध्यमबाट सुन धनीसम्म पुग्ने गरेको खुलाए।

'सूचनाका आधारमा खानतलासी गर्दा अवैध सुन बरामद भएको हो, पक्राउ परेका व्यक्ति र बरामद सवारीसाधनका आधारमा सुन धनीको पहिचान गरी कारबाही अघि बढाइनेछ,' सिलवालले भने।

भन्सार र विमानस्थल प्रहरी अनभिज्ञ

विमानस्थलमा रहेको भन्सार कार्यालय र ड्युटीमा खटिएका तीनै सुरक्षा निकायका अधिकारीले ब्युरोले सुन बरामद गरेको घटना सञ्चार माध्यमबाट थाहा पाएको प्रतिक्रिया दिएका छन्। विदेशबाट आउने यात्रुको लगेज जाँच गर्ने जिम्मेवारी पाएको भन्सार र शंकास्पद देखिए खानतलासी अधिकार राख्ने प्रहरी दुवैले यात्रुको लगेजमा ठूलाठूला फलामका पाटर््स र फलामकै भाँडाकुँडा भित्रँदासम्म पत्तो नपाउनु हास्यास्पद भएको ब्युरोका अधिकारीले बताए।

भन्सार विभागप्रमुख शिशिरकुमार ढुंगानाले घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी रहेकाले कमजोरीका विषयमा बताउन नसकिने जवाफ दिए। उनले बरामद सुनका विषयमा विभागले अनुसन्धान थालेको बताए। उनले भने, 'भन्सारबाट कसरी भित्रियो, ड्यटीमा रहेका अधिकारीसँग सोधपुछ भइरहेको छ, थप विवरण आएपछि सार्वजनिक हुनेछ।'

विमानस्थल भन्सारप्रमुख नारायणप्रसाद सापकोटाले आफू कार्यक्रमका सिलसिलामा मन्त्रालयमा रहेको समयमा घटना भएकाले के भएको जानकारी लिँदै गरेको बताए। उनका अनुसार सुन भन्सारबाटै कसरी भित्रियो, अनुसन्धान हुनेछ। केही महिनाअघि सरुवा भएर गएका सापकोटाले आफू बाहिर भएकाले आफ्नो कुनै कमजोरी नभएको बताउँदै ड्युटीमा रहेका अधिकारीसँग सोधपुछ भइरहेको बताए।

सुन तस्कर सक्रिय कि प्रहरी?

प्रहरी तथ्यांकअनुसार २०७१ को अन्त्यसम्म बारम्बार प्रहरीका युनिटले गर्दै आएका अवैध सुन बरामद क्रम एकाएक रोकियो। भूकम्पले तातोपानी नाका अवरुद्ध गरेसँगै सुनको अवैध तस्करी रोकिएको अनुमान गरियो। करिब दुई वर्षसम्म सुन बरामद भएन।

प्रहरीले बिहीबार ठूलो परिमाणमा सुन बरामद गर्नुअघि पुस १४ मा अपराध महाशाखाले रसुवा भएर आएको सात किलो सुन बरामद गरेको थियो। सेनासहित चारै सुरक्षा अंग रहेको केरुङ नाकाबाट सुन भित्रनुअघि मंसिर १८ मा बौद्ध प्रहरीले सोही क्षेत्रबाट आएको १० किलो सुन बरामद गरेको थियो। बौद्ध प्रहरीले मंसिर १२ मा पनि सिन्धुपाल्चोक गुम्बा–३ घर भएका २३ वर्षीय विकास तामाङलाई १ केजी सुनसहित पक्राउ गरेको थियो।

प्रहरी वृत्त, बौद्धबाट गस्तीमा खटिएको प्रहरी टोलीले गत शनिबार जम्बुडाँडास्थित सडकखण्डमा शनिबार बा७६प २८३७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको सुन बरामद गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले २०७० असार २६ गते ३५ किलोग्राम सुनसहित ग्याम्जो लामा, मोहनकुमार अग्रवाल र नांगेल भन्ने ओमबहादुर बज्राचार्यलाई पक्रेको थियो। अनुसन्धानमा त्यो सुन ग्याम्जोले मगाएको खुल्यो। अग्रवालले भारत लैजाने तथा बज्राचार्यले तस्करीका लागि आफ्नो सवारीसाधन उपलब्ध गराएका थिए। यस्तै, २०७० जेठ २ मा ब्युरोकै टोलीले १६ किलोग्राम सुनसहित सानु शेर्पा, नाम्गेल शेर्पा, ज्ञाने शेर्पा, सोनम शेर्पा र  गाम्पो भोटियालाई पक्रेको थियो।

प्रहरीको ब्युरो, महानगरीय अपराध महाशाखा र तीनवटै परिसरले २०६९ देखि २०७२ सम्म महिना बिराउँदै अवैध सुन र तस्कर पक्राउ गर्दै आएको थियो। भूकम्पपछि तातोपानी नाका बन्द भएपछि हङकङबाट सुन हवाई मार्ग हँुदै आउने गरेको अनुमान गरिएको थियो जसलाई बिहीबारको घटनाले पुष्टि गरेको हो।

बरामद सुनमा सुराकी छैन्न :  ब्युरो

प्रहरीले बरामद सुनमा सुराकीबापत पाउने कमिसन बिहीबार बरामद ३४ किलोग्राम सुनमा नहुने भएको छ। ब्युरोले बरामद सुनको सुराक विदेशबाट आएकाले सुराकीको विवरण राजस्व नपठाउने जनाएको हो। ब्युरोका डिआइजी सिलवालले सूचना विदेशबाट आएकाले सुराकी नभएको स्पष्ट पारेका हुन्।

ब्युरोले सुनसहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरीमा राखेर सञ्चारकर्मीको रोहबरमा लगेज खोलेको थियो। सुनका बिस्कुट निकाल्दा, गन्दा र तौलँदासम्म ब्युरोले सञ्चारकर्मीलाई सँगै राखेको थियो।

प्रहरीमा सुनको सुराकीका विषयमा विवाद हुँदै आएको छ। अघिल्लोपटक ब्युरोले नै बरामद गरेको ३५ किलोग्राम सुनको सुराकीका विषयमा विवाद हुँदा प्रहरी अधिकारी अख्तियारमा बयान दिन जानुपरेको थियो। उक्त घटनामा प्रहरीले बरामद सुनका मालिक पक्राउ गरेको दाबी गरे पनि पक्राउ परेका व्यक्तिले सुन आफ्नो नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

प्रकाशित: २२ पुस २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App