६ वैशाख २०८१ बिहीबार
अर्थ

५० प्रतिशतले बढ्यो मूर्ति निर्यात

काठमाडौं- नेपालको परम्परागत संस्कृतिसँग जोडिएका कलात्मक धातुजन्य (मेटल) मूर्तिको अन्तर्राष्ट्रिय बजार बढ्दै गएको छ। साना उद्योगलाई टेवा पुर्‍याउँदै गत आर्थिक वर्षमा धातुजन्य मूर्तिको निर्यात ५० प्रतिशतले बढेको छ।

सरकारी तथ्यांक अनुसार नेपाली मूर्ति विश्वका ४५ देशमा निर्यात भएका छन्। गत आर्थिक वर्ष २०७२/०७३ मा नेपालबाट ५२ करोड १५ लाख रुपैयाँभन्दा धेरैको मूर्ति निर्यात भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा भने जम्मा २५ करोड ७५ लाख रुपैयाँको मात्र निर्यात भएको थियो।

सरकारी तथ्यांकमा ५२ करोडको मात्र रेकर्ड रहेको भए पनि नेपाली धातुजन्य मूर्तिको निर्यात एक अर्ब बराबरको हुने गरेको व्यवसायी बताउँछन्। 'सरकारी तथ्यांकमा भन्दा दोब्बर मूल्यका धातु मूर्ति निर्यात भइरहेका छन्,' ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी रविन्द्रराज ताम्राकार भन्छन्, 'व्यक्तिगत तथा उपहारको रुपमा सरकारी तथ्यांक बराबरै मूर्ति निर्यात भइरहेका छन्।'

नेपालबाट खासगरी 'स्ट्याचु एन्ड अदर अर्गामेन्टस् प्लेटेड विथ प्रिसियस मेटल' र 'स्ट्याचु अफ बेस मेटल' गरी दुई शीर्षकमा धातुजन्य मूर्ति निर्यात भइरहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए। तथ्यांक अनुसार गत वर्ष पहिलो शीर्षकमा २६ करोड ९२ लाख १५ हजार रुपैयाँको मूर्ति निर्यात भएको थियो भने दोस्रो शीर्षकमा २५ करोड २२ लाख ८७ हजार रुपैयाँको निर्यात भएको थियो।

नेपालबाट मूर्ति निर्यातको तथ्यांक हेर्ने हो भने पाँच वर्षअघि आर्थिक वर्ष २०६८/०६९ मा जम्मा १२ करोड ३९ लाख ५६ हजार रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०६९/०७० मा १७ करोड ३६ लाख ५२ हजार रुपैयाँ रहेको निर्यात आर्थिक वर्ष २०७०/०७१ मा ३३ करोड १७ लाख १० हजार पुगेको थियो।

नेपाली मूर्ति विश्वभर निर्यात भइरहेको तथ्यांक भए पनि मुख्य बजार चीन रहेको व्यवसायी बताउँछन्। गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै चीनमा मात्रै ४३ करोड ९२ लाखभन्दा धेरैको धातुजन्य मूर्ति निर्यात भएको छ।

चीनतिरको मूर्ति निर्यातमा हरेक वर्ष सुधार देखिएको छ। आर्थिक वर्ष २०६८/०६९ मा ९ करोड ४८ लाख ७३ हजार रुपैयाँको मूर्ति निर्यात भएको थियो भने आर्थिक वर्ष २०६९/०७० मा १२ करोड ५५ लाख ४४ हजार रुपैयाँ पुगेको तथ्यांक छ। त्यस्तै, आर्थिक वर्ष २०७०/०७१ मा २६ करोड ३ लाख ९१ लाख पुगेको निर्यात आर्थिक वर्ष २०७१/०७२ मा भने घटेको छ। उक्त आर्थिक वर्षको वैशाखमा गएको भूकम्पका कारण चीनतर्फको व्यापारिक नाका बन्द हँुदा १८ करोड ८२ लाख ६५ हजार ५७ हजार रुपैयाँको मात्र निर्यात भएको सरकारी तथ्यांक छ।

केही व्यवसायीले भने गत वर्षको भूकम्पले चीनतरिको आवातजावतमा असर गर्दा मूर्ति निर्यात पनि असर गरेको बताउँछन्। 'अहिले चिनियाँ व्यवसायी कम आएका छन्,' ललितपुर च्यासलमा २० वर्षदेखि मूर्ति व्यवसाय गर्दै आएका अर्दित महर्जनले भने। नेपाली मूर्तिको मुख्य बजार चीन, तिब्बतमा निर्यातमा पनि केही झन्झटिला समस्या रहेको व्यवसायीको भनाइ छ।

मूर्ति उत्पादन गर्दा चाहिने कच्चा पदार्थ आयातमा पनि केही समस्या रहेको व्यवसायीको भनाइ छ। मूर्ति बनाउन चाहिने कच्चा पदार्थ भारत र सिंगापुरबाट आउने गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउसमेत बढेको ताम्राकारले बताए। उनका अनुसार देशभित्र मूर्ति बनाउने दक्ष जनशक्तिको कमी छ। मूर्ति बनाउने कलाकारले भन्दा उनीहरूसँग किनेर निर्यातकर्ता समक्ष पुर्‍याउने बिचौलियाले धेरै नाफा राख्ने हुँदा दक्ष जनशक्ति पलायन भएको ताम्राकार बताउँछन्। 'मूर्ति बनाउन मेहनत गर्ने कलाकारको आम्दानी कम छ,' ताम्राकार भन्छन्, 'बिचौलियाले धेरै नाफा राख्ने प्रवृत्तिले कलाकार मारमा परेका छन्।'

धातुजन्य मूर्ति उत्पादन मुख्यगरी ललितपुर नगर क्षेत्रमा हुने गर्छ। सरकारी कार्यालयमा दर्ता भएर मूर्ति उत्पादन गर्ने ठूला उद्योग धेरै कम मात्रामा भएको र घरेलु तथा साना उद्योगका रुपमा धेरैजना मूर्ति उत्पादनमा लागेको ताम्राकार बताउँछन्।

प्रकाशित: २२ पुस २०७३ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App