८ वैशाख २०८१ शनिबार
विचार

बदलिँदो समाजमा सामुदायिक रेडियो

सूचना तथा सञ्चारको अभूतपूर्व विकासले विश्व एउटा सानो गाउँमा बदलिएको छ। ढोल, घण्टी बजाएर र कराएर खबर आदान–प्रदान गर्ने समाज आज कम्प्युटरको सानो चिप्समार्फत कोठामा बसेर संसार पढ्न, देख्न, बुझ्न, मूल्यांकन गर्न, विश्लेषण गर्न अनि धारणा बनाउन सम्भव भएको छ। सूचना सञ्चारको इतिहास केलाउँदा मान्छेले दौडेर, चिच्याएर अनि ढोल ठोक्दा–ठोक्दै हलाक, छापाखाना, टेलिफोन, आकाशवाणी हुँदै आज मोबाइल, इन्टरनेट, इमेल र अनलाइनको वरिपरि मानव जगत रमाइरहेको देख्दा पत्याउनै मुस्किल हुन्छ।

सहकारी, सहभागितामूलक, स्वतन्त्र, वैकल्पिक, लोकप्रिय एवं शैक्षिक रेडियो भएकाले यसको विस्तार/विकास नाटकीय ढंगले हुनु स्वाभाविक देखिन्छ।

सञ्चार माध्यमहरुको विकासक्रममा मार्कोनीले सन् १८९५ मा वेतार संप्रेषण विधि पत्तो लगाएपछि सूचनाको क्षेत्रमा नयाँ आयाम थपिएको देखिन्छ। त्यसपछि सन् १९०६ मा भ्याक्युम ट्युब नामक रिसिभिङ सेट आविष्कार भयो। यो पहिलो रेडियो सेट थियो। छिटो, व्यावहारिक, भरपर्दो, पहुँचगम्य र सरल साधन रेडियो नै हो। यसको विश्व इतिहास हेर्दा सबभन्दा पहिलो प्रशारण अमेरिकाबाट सन् १९२० मा भएको थियो। त्यसपछि अन्य भागमा पनि विस्तार र विकास नाटकीयरूपमा हुन थाल्यो। देश, काल परिस्थितिमा आएको फेरबदल र गतिशील समाजको नियमअनुरूप यसको आवश्यकता चौतर्फी महसुस भयो। सञ्चालन विधि, प्रक्रिया, उद्देश्य, लक्षित स्रोता र आधारभूत मूल्य/मान्यताको कोणबाट रेडियोको प्रकृति फरक–फरक रूपमा विकास हुन थाल्यो। आज हाम्रो समाजमा सरकारी, सार्वजनिक, व्यावसायिक र सामुदायिक रेडियो सञ्चालनमा छन्। यिनीहरुको प्रकृति, पक्ष, विधि र प्रक्रियामा आधारभूत भिन्नता छ।

विश्वमा सबैभन्दा पहिलो सामुदायिक रेडियो सन् १९४९ मा बोलिभियाका खानी मजदुरले सञ्चालन गरेका थिए। त्यसपछि त्यहाँका खानी क्षेत्रमा थुप्रै सामुदायिक रेडियो स्थापना भयो। यसको उद्देश्य खानी मजदुरलाई सुसूचित, संगठित गर्दै उनीहरुका समस्या उजागर गर्नु थियो। सन् १९७० सम्म आउँदा बोलिभियामा मात्र २६ वटा सामुदायिक रेडियो स्थापना भइसकेको देखिन्छ। यता सत्तरीकै दशकबाट विश्वको अन्य भागमा समेत सामुदायिक रेडियो तीव्ररूपमा खुल्न थाल्यो। अमेरिकामा सन् १९७५, वेलायतमा सन् १९७८, त्यसपछि नब्वेको दशकपछि फिलिपिन्स, आयरल्यान्ड, अर्जेन्टिना, दक्षिण, अफ्रिका, नेपाल, भारत, इन्डोनेसियालगायत विश्वका ११० भन्दा बढी मुलुकमा सामुदायिक रेडियो प्रशारण सञ्चारको भरपर्दो र व्यावहारिक माध्यम बनेको छ।

नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथा रेडियोले २०५४ सालबाट प्रशारण शुरु गर्‍यो। यसले आफ्नो २० वर्षे इतिहासमा ठूलै छलाङ मारेको छ। हाल नेपालमा झण्डै ३ सय सामुदायिक रेडियो यसको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घमा दर्ता छन्। लगभग पचास वटा रेडियो स्टेसन दर्ता गरी सञ्चालन प्रक्रियामा छन्। स्थापनाका आधारमा सामुदायिक रेडियोको इतिहास कलिलो छ। तर यसले अन्य जेठो सार्वजनिक र व्यावसायिक रेडियोलाई मात्रात्मक र गुणात्मकरूपमा उछिन्नुका साथै सिंगो सञ्चार क्षेत्रमा सिर्जनात्मक आयम थपेको छ।

आज संसारैभर सामुदायिक रेडियोप्रतिको लहर उर्लंदो छ। यसमा मुख्य चार कारणले भूमिका खेलेको देखिन्छ। पहिलो यो गैरनाफामुखी हुन्छ। दोस्रो यो समुदायको पूर्ण स्वामित्व र नियन्त्रणमा हुन्छ। तेस्रो यो पूर्णरूपमा समुदायको सहभागितामा प्रशारण गरिन्छ। चौथो यो दुर्गम तथा विकट क्षेत्रमा सानै स्केलमा स्थापना गरिन्छ। यस अतिरिक्त यसले अग्रगामी परिवर्तनलाई आत्मसात गर्नुका साथै समाजको गतिशीलतालाई पनि आत्मसात गर्छ। यसका साथसाथै गणतन्त्र, संघीय शासन–प्रणाली, कानुनी राज्य, वर्गीय, जातीय, क्षेत्रीय, लिंंगीय विभेदको समूल अन्त, राजनीतिक, आर्थिक, सामाजिक र सास्ंकृतिक रूपान्तरण, सामाजिक न्याय, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, नागरिक शिक्षा, भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, राज्यको सबै अंगमा पूर्ण समावेशी चरित्र साथै पछाडि पारिएका सबै समुदायका पक्षमा न्यूनतमरूपमा वकालत गर्नु नै सामुदायिक रेडियोको सफलताका मख्य कडी हुन्।

     यस अतिरिक्त यो विकासको न्यूनतम पूर्वाधारहरु निर्माण नभएको दुर्गम ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ। त्यसकारण यो अत्यन्तै व्यावहारिक, भरपर्दो, धनी–गरिब र शिक्षित/अशिक्षित सबैको समान पहुँच भएको माध्यम भएको छ। अर्को अर्थमा यो ग्रामीण रेडियो हो। सहकारी, सहभागितामूलक, स्वतन्त्र, वैकल्पिक, लोकप्रिय एवं शैक्षिक रेडियो भएकाले यसको विस्तार विकास नाटकीय ढंगले हुनु स्वाभाविक देखिन्छ।

अर्को यो समुदायका लागि, समुदायकै सवालमा र समुदायद्वारा सञ्चालित रेडियो हो। यसले सरकारी र व्यावसायिक रेडियोले जस्तो औपचारिक र बनावटी भाषालाई प्राथमिकतामा राख्दैन। यसलेे स्थानीय परिवेशको लवज मिल्ने स्वाभाविक भाषाको प्रयोग गर्नुपर्छ। व्यावसायिक रेडियोले जस्तो नाफा आर्जन, खरो प्रचार र शक्तिको पछि लाग्ने विकृत परम्परालाई इन्कार गर्छ। यसको मूलभूत मिसन भनेको समुदायमुखी, नाफारहित, सेवामुखी, ग्रामीणमुखी, प्रगतिमुखी, परिवर्तनमुखी र चेतनामुखी चरित्रलाई संस्थागत ढंगले विकास गर्नु हो।

यसरी समाजको गतिशीलता बुझ्ने, परिवर्तन चुम्ने अनि समुदायको आत्मगत र वस्तुगत परिवेशसँग मेल खाने समाजोपयोगी, जनोपयोगी र राज्योपयोगी रेडियोका लागि छुट्टै स्पष्ट केन्द्रीय नीति जरुरी हुन्छ। सञ्चार मन्त्रालयले जारी गरेको आमसञ्चार नीतिमा यसबारे विशेष व्यवस्था गरिएको छ। समुदायको हितार्थ अहोरात्र लागिपरेको सञ्चारमाध्यमलाई राज्यले नीतिगत, विधिगत र व्यवहारगत अनुगमन र नियन्त्रण गर्नु अनिवार्य हुन्छ। आमसमुदायलाई सुसूचित गर्ने, सचेत गराउने, सामाजिक विकृतिको ठाउँमा सुकृति र सभ्य समाज निर्माण गर्ने अनि परिवर्तनको पक्षमा वकालत गर्दै विविधखाले विभेद, शोषण–उत्पीडनविरुद्ध समग्र राष्ट्रिय कार्यक्रम ल्याउनु राज्यको मूलभूत दायित्व हो। यसमा सामुदायिक रेडियो राज्यसँग सहकार्य गर्न तयार छ।

यो राज्यको दायित्वमा परिपूरक बनेपछि राज्यले यसको संस्थागत विकास, विस्तार र स्तरीकरणका लागि राजकीयरूपमा सोंच्नुपर्ने हुन्छ। नत्र लक्ष्य र मिसन आमजनसमुदायमा केन्द्रित भए पनि यो व्यावसायिक र सरकारी रेडियोले जस्तै औपचारिकता, फेसन, खरो प्रचार र नाफाको दलदलमा फस्ने खतरा हुन्छ। सामुदायिक रेडियो विश्वकै महत्वपूर्ण एवं व्यावहारिक सञ्चार माध्यम बन्दै गइरहेको सत्य हो। २० वर्षपहिले औंंलामा गन्न सकिने सामुदायिक रेडियो आज विश्वका ११० भन्दा बढी मुलुकमा हजारौँंको संख्यामा सञ्चालन भइरहेका छन्। इन्डोनेसियामा मात्र २ हजारभन्दा बढी सामुदायिक रेडियो सञ्चालनमा छन्। विश्व सामुदायिक रेडियोको छाता संगठन अमार्क र अन्य क्षेत्रीय संगठन संसारैभर क्रियाशील छन्।

सल्लाहकार, सञ्चार मन्त्री

प्रकाशित: २२ पुस २०७३ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App